चिनियाँ राजदूतको अभिव्यक्तिले पैदा गरेको तरङ्ग

भदौ १६ गते शनिवार यता नेपालमा एउटा बिषयलाई निकै जबर्जस्त ढगले बहसको बिषय बनाइदै छ । त्यो हो, ‘फाउन्डेसन अफ ट्रान्स हिमालयन रिसर्च एन्ड स्टडिजले आयोजना गरेको ‘विश्व अर्थतन्त्रमा चीन र नेपालमा यसको प्रभाव’ शीर्षकको कार्यक्रममा नेपालका लागि चीनका राजदूत छन सोङले राखेको मन्तव्य।
त्यसबेला उनले राखेका मन्तव्यको सार यस्तो थियोः
– नेपालले गर्व गर्ने उत्पादनहरुमध्ये एक विजुली हो । नेपालका राजनीतिज्ञ, नेता, व्यवसायी र आम जनता बढी भन्दा बढी विजुली निर्यात गर्ने र त्यसपछि स्वतन्त्र अर्थतन्त्र बन्नेछौं भनेर कुरा गरिरहेका छन् । त्यसको वास्तविकता भने फरक छ ।
–नेपालले गत आर्थिक वर्षमा भारतलाई १० अरबको विजुली निर्यात गर्दा १९ अरबको विजुली आयात गर्यो । अर्थात् विजुली व्यापारमा घाटा व्यहोर्यो ।
–नेपालले विकासको मामिलामा चीनबाट सिक्न सक्छ। चीन नेपालको विकासमा सहयोगी बन्न सक्छ र नेपाली उत्पादनहरु खरिद गरेर नेपालको व्यापार घाटा काम गर्न तयार छ ।
उनका यी आशयका भनाइले ‘कुटनीतिक मर्यादा तोडेको’ आरोप लागेको छ । यो प्रसङ्गमा नेपालको सदनमा पनि प्रश्नहरु उठेका छन् । सामाजिक संजाल तथा सञ्चार माध्यमहरुमा पनि यसबारे मन्थन भइरहेका छन् ।
राजदूत छनको यो भनाइलाई तरङ्ग पैदा गर्नेगरी नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भदौ ३० मा न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिई त्यतैबाट असोज ५ मा बेइजिङ जाने कार्यक्रम तय भएको सेरोफेरोमा प्रचार गरिएको छ ।
उनको भनाइले कुटनीतिक मर्यादा उलंघन गर्यो वा गरेन त्यो अवश्य पनि बहस र छलफलको विषय हो तर उनले उठाएको कुरा गलत हो भनेर भन्न सकिने आधार र तथ्यहरु भने छैनन् । यसै कारण ‘राजदूत छनले सही बोलेका हुन्’ भन्ने जनमत पनि उत्तिकै सक्रिय देखिन्छ ।
त्यसो त सदैव शान्त कुटनीतिको हिमायती तथा अरुको आन्तरिक मामिलामा खासै मुखर भएर नबोल्ने चीनको कुटनीतिक शैली देखिंदै आएको छ । त्यस्तो नीतगत झैँ प्रतित हुने प्रचलनविपरीत जस्तो देखिनेगरी उनको भनाइ आएका कारण पनि अलि बढी नै तरङ्ग पैदा भएको हो कि भन्न सकिन्छ ।
यो किन पनि भने नेपालको राजनीतिमा यसरी मुखर भएर बोल्ने पहिलो मुलुक चीन होइन । नेपालका आन्तरिक राजनीतिमा ठाडो हस्तक्षेप गर्दै राणा शासनकालदेखि नै भारतीय शासकवर्गका प्रतिनिधिका रुपमा नेपालमा रहने राजदूतका नाङ्गो गतिविधि चल्दै आएको छ । नेपाली राजनीतिमा भारतले सधैं आफूलाई ‘किङ्ग मेकर’को रुपमा उभ्याउने गरेको र यहाँको राजनीतिको ‘माइक्रोम्यानेजमेन्ट’मा टुप्पी कसेर लाग्ने गरेको कुरा नौलो होइन ।
त्यसवाहेक, विगतदेखि वर्तमानसम्मै युरोपियन युनियनका राजदूत–प्रतिनिधिहरु तथा अमेरिकी राजदूतका गतिविधिहरुले बारम्बार कुटनीतिक मर्यादाको धज्जी उडाउँदै आएका छन् । यस अर्थमा चिनियाँ राजदूतका भनाइले कुटनीतिक मर्यादामाथि हस्तक्षेप भएको छ भने उनीमात्रै हैन, कुनै पनि मुलुकका राजदूतहरुबाट हुने वा हुँदै आएका कुटनीतिक मर्यादाविरुद्धका गतिविधिहरुलाई अङ्कुश लगाउने विधि, नीति–नियमहरु बनाउन सरकार गम्भीर हुनैपर्छ ।
चिनियाँ राजदूतको भनाइ कुटनीतिक मर्यादाभित्र रहे–रहेन भनेर माथापच्ची गरिरहँदा हामीले भुल्नै नहुने कुरा के हो भने– उनले उठाएका कुराहरु तथ्य र तर्कसम्मत छन् कि छैनन् ? अनि राजदूत जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले किन त्यसरी मुखर भएर बोले होलान् ? यसबारेमा पनि गम्भीर हुनैपर्छ ।
यसकारण पनि यो सवालमा नेपाली पक्ष गम्भीर हुनैपर्छ कि विगतमा चिनियाँहरुले निर्माण जिम्मेवारी पाएका जलविद्युत आयोजनाहरु भकाभक खोसेर भारतीयहरुलाई बुझाउने काम भइरहेको छ । उता १० हजार मेगावाट विजुली नेपालबाट खरिद गर्ने सैद्धान्तिक सहमति प्रदान गर्ने भारतले चिनियाँ लगानी र प्राविधिक वा जनशक्तिको संलग्नता भएका नेपालका जलविद्युत आयोजनाहरुबाट बिजुली किन्दै नकिन्ने नीति नै बनाएको छ ।
त्यसमाथि थप, नेपालबाट सस्तोमा बिजुली किन्ने र आवश्यकता पर्दा चाहिँ नेपाललाई महंगोमा बिजुली बेचेर भारतले नाफाको अकण्ट व्यापार त चलाउँदै आएकै छ ।

प्रचण्डको हातबाट ‘हिन्दू गणतन्त्रात्मक राज्य’ घोषणा गराउने चलखेल ?

कालजयी कृतिहरुका रचनाकार लीलबहादुर क्षेत्रीको अवसान

पारिजात सम्मानको घोषणा

काठमाडौं स्कुल अफ लको चेतावनी

वरिष्ठ साहित्यकार नेपाललाई हृदयचन्द्र स्मृति सम्मान

पारिजातसम्बन्धी अध्ययनलाई हटाइएकोमा पारिजात स्मृति केन्द्रको आपत्ति

संविधानको अग्रगामी संशोधनका लागि ज्ञापनपत्र

प्रतिक्रिया