आधुनिक चलचित्रको निर्देशक अन्तिम रुपले जिम्मेवार व्यक्ति हो
सर्वोत्तम चलचित्रहरु भनेका शक्तिशाली निर्देशकहरुका कलात्मक र व्यक्तिगत अभिव्यक्तिहरु हुन्

चलचित्रमा सबभन्दा महत्वपूर्ण भूमिका निर्देशकको हुने गर्छ । तर सन् १९५५ भन्दा अगाडिसम्म चलचित्रलाई त्यसको निर्माताको वस्तुको रुपमा नै बुझ्ने गरिन्थ्यो । जीन लुक गोदार, क्लाड सावारोल र फ्राँ स्वाँ त्रुफोजस्ता फ्रान्सका प्रतिभाशाली चलचित्रकर्मीहरुले चलचित्रको नयाँ धारालाई अगाडि बढाउने क्रममा चलचित्र भनेको मूलतः निर्देशकको रचना हो भन्ने मान्यता स्थापित गरे । उनीहरु राम्रा चलचित्रहरु बनाइरहेका थिए र ती चलचित्रहरुमा निर्देशकको सम्पूर्ण क्षमताले नै तिनीहरुको गुणस्तर निर्माण गरेका हुन्थे । त्यहीताका त्रुफोको निर्देशनमा बनेको चलचित्र– फोर हण्ड्रलेड ब्लोज क्यान्स महोत्सवमा प्रतिस्पर्धाको निम्ति छानियो । र, यो चलचित्रले त्यस महोत्सवमा निर्देशकको फिल्मको रुपमा पहिलोचोटि पुरस्कार पायो । त्यो चलचित्रलाई नयाँ धाराको चलचित्र भनिएको थियो । यही चलचित्रपछि नै चलचित्रलाई निर्देशकको रचना भन्ने मान्यता प्राप्त भयो । यही बेलादेखि नै चलचित्रमा निर्देशकको सर्वोपरि स्थान स्थापित भयो र फिल्मको पोस्टर र कास्टिङको पहिलो शटमा ‘ए फिल्म वाइ गोदार’ वा ‘ए फिल्म वाइ त्रुफो’ भनेर लेख्न थालियो । भारतका मृणाल सेन, मणिकौल र कुमार साहनीजस्ता चलचित्र निर्देशकहरु फ्रान्सबाट शुरु भएको चलचित्रको नयाँ धाराबाट प्रभावित भए र उनीहरुले त्यही प्रवृत्ति तथा विचारमा चलचित्रहरु निर्माण गर्न थाले ।
चलचित्रसम्बन्धी जानिफकारहरु भन्छन्: चलचित्र व्यक्तिगत कलात्मक अभिव्यक्तिको माध्यम हो, यो कुरालाई नयाँ ढंगले जोड दिने प्रमाणहरु भनेका स्पेन र मेक्सिकोमा लुइस बुनाएल, स्वेडेनमा इङ्गमार वर्गम्यान, जापानमा अकिरा कुरोशावा र भारतमा सत्यजीत रेका चलचित्रहरु हुन् । यो भनाइले चलचित्रको प्रमुख व्यक्ति निर्देशक नै हो भन्ने पुष्टि गर्दछ ।
शुरुका दिनहरुमा सन् १९२० को दशकसम्म चलचित्रको बारेमा गम्भीरतापूर्वक लेख्ने गरेका प्रशिद्ध समीक्षकहरुले चलचित्रको सफलता र असफलताको निम्ति निर्देशकलाई जस वा अपजस दिने लठारो गरेनन् । सन् १९२७ देखि १९४८ सम्मको स्टुडियो पद्धतिको ठूलो युगमा सिनेमाका शक्तिशाली निर्देशकहरुले सिनेमा बनाउने त्यस्ता कारखानाहरुको अवस्थालाई समेत उछिनेर आफ्नो योग्यता दर्शाएका थिए । त्यसबेला शक्तिशाली व्यक्तित्व भएका फ्रयाङ्ग काप्रा, हावार्ड हक्स, जोहन फोर्ड र अर्नेष्ट लुविजजस्ता निर्देशकहरुलाई निर्माताहरुले पर्याप्त स्वतन्त्रता त दिन्थे, तर पनि ती निर्देशकहरुले स्टुडियोहरुसँग अनुबन्धित अभिनेता र अभिनेत्रीहरु, स्टुडियोले छानेको पटकथा र पटकथाकारहरुसँग तालमेल मिलाएरमात्र काम गर्नुपर्दथ्यो । साथै उनीहरुले प्रयोगशीलताका निमित्त पर्याप्त नहुने सम्बन्धित स्टुडियोले तोकेको समय सीमाभित्र रहेर काम गर्नुपर्दथ्यो ।
तर अचेल, आधुनिक चलचित्रको निर्देशक भनेको चलचित्रको शैली, संरचना र गुणवत्ताको निम्ति अन्तिम रुपले जिम्मेवार व्यक्ति हो । चलचित्रका ज्ञाताहरुका अनुसार, सर्वोत्तम चलचित्रहरु भनेका शक्तिशाली निर्देशकहरुका कलात्मक र व्यक्तिगत अभिव्यक्तिहरु हुन् । सन् १९५० को दशकमा स्टुडियो पद्धतिको अवशान भएपछि नै चलचित्रमा निर्देशकको नियन्त्रण र प्रतिभा प्रस्फुटन हुन थालेको हो ।
–नवयुवाबाट

फासीवादी उत्पीडनलाई दर्शाउने चलचित्र ‘पुतलीको जिब्रो’

दर्शकहरुले हेर्नुपर्ने एउटा सार्थक चलचित्र ‘लाल सलाम’

पाब्लो पिकासोको जीवनसँग जोडिएको एउटा रोचक मिथक

इजरायली अत्याचारका विरुद्ध कलाकारहरुको प्रतिरोध नाटक

‘कति समयसम्म संसारले यो अकारण क्रूरताको दृश्य सहनेछ?’

यौन उत्पीडनविरुद्धको सफल र प्रेरक संघर्ष गाथा: नर्थ कन्ट्री !

कर्पोरेट पूँजीको चपेटामा परेका गरिब किसानको संघर्षगाथा– 'द ग्रेप्स अफ र्याथ'

प्रतिक्रिया