सालिकमाथिको प्रहार कि स्मृतिमाथिको वर्गीय युद्ध?

कुनै समाजले कुन व्यक्तिको सालिक सार्वजनिक चोकमा उभ्याउँछ र कुन सालिक ढाल्छ भन्ने प्रश्न सौन्दर्यशास्त्रको मात्रै विषय होइन । अनि यो स्थानीय प्रशासनको निर्णयमा मात्रै तय गरिने कुरा पनि होइन । कसैको सालिक स्थापना गर्ने कुरा त्यो समाजको वैचारिक शक्ति-सन्तुलन, राजनीतिक परियोजना र ऐतिहासिक स्मृतिको दिशासँग जोडिएको प्रश्न हो। त्यसैले भारतको पश्चिम बङ्गालस्थित रानीगञ्जमा महापण्डित राहुल सांकृत्यायनको पूर्णकदको सालिक बेपत्ता बनाइएको घटना वा त्यसअघि त्रिपुरामा दक्षिणपन्थी शक्तिहरू सत्तामा पुगेलगत्तै लेनिनको प्रतिमा योजनाबद्ध रूपमा ढालिएको घटनालाई सामान्य तोडफोडका रूपमा मात्रै बुझ्नु इतिहास र राजनीतिप्रतिको गम्भीर अन्याय हुनेछ। यी घटनाहरू वास्तवमा सार्वजनिक स्मृतिमाथि चलाइएको वैचारिक युद्धका दृश्य अभिव्यक्तिहरू हुन्।

मार्क्सवादी दृष्टिकोणले राज्यलाई कुनै तटस्थ संस्था मान्दैन। कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले राज्यलाई शासक वर्गको राजनीतिक संगठनका रूपमा व्याख्या गरेका थिए। त्यसैले कुनै पनि राज्यको सांस्कृतिक नीति, इतिहासको व्याख्या वा सार्वजनिक स्मारकहरूप्रतिको व्यवहार अन्ततः सत्तारूढ वर्गीय हितसँग गाँसिएको हुन्छ। जब राज्य प्रत्यक्ष वा मौन रूपमा कुनै विशेष विचारधाराका प्रतीकमाथि हुने आक्रमणप्रति उदासीन रहन्छ भने त्यो उदासीनता आफैँमा राजनीतिक पक्षधरता हुन्छ। राहुल सांकृत्यायनको शालिक तोडफोड हुनु र वेपत्ता बनाइनुलाई यस पृष्ठभूमिमा हेरिनु पर्छ ।

राहुल सांकृत्यायन हिन्दी साहित्यका लेखक मात्रै थिएनन्। उनी भारतका महान यात्राविद्, इतिहासकार, बौद्ध चिन्तक, भाषाविद्, पुरातत्त्वविद् र सबैभन्दा महत्त्वपूर्ण कुरा, वैज्ञानिक भौतिकवाद र मार्क्सवादी दृष्टिकोणका प्रतिबद्ध बौद्धिक योद्धा थिए। उनले भारतको सामाजिक संरचनालाई धार्मिक मिथकभन्दा इतिहास र वर्गीय सम्बन्धका आधारमा बुझ्ने काम गरे र त्यसलाई त्यही रुपमा बुझ्नु वैज्ञानिक र वस्तुसम्मत हुने कुराको पक्षपोषण गरे ।  उनले ज्ञानलाई मठ, मन्दिर र सामन्ती संरचनाको पेवाबाट मुक्त गरेर जनताको सम्पत्ति बनाउन खोजे। त्यसैले राहुलको सालिक एउटा व्यक्तिको मूर्ति होइन। त्यो वैज्ञानिक चेतना, तर्कवाद, धर्मनिरपेक्षता र समाजवादी आकाङ्क्षाको सार्वजनिक उपस्थिति हो। यही कारणले प्रतिमामाथिको आक्रमण भौतिक विनाशको द्योतक मात्रै होइन ।  यसको उद्देश्य राहुलले प्रतिनिधित्व गर्ने विचारलाई सार्वजनिक जीवनबाट विस्थापित गर्नु हो। स्मृति राजनीतिमा प्रभुत्व कायम गर्ने यो पुरानो रणनीति हो।

इतिहासले बारम्बार पुष्टि गरेको कुरा के हो भने कुनै पनि प्रभुत्वशाली शक्ति वर्तमानमाथि शासन गरेर मात्र सन्तुष्ट हुँदैन। उसले अतीतलाई पनि आफ्नो अनुकूल पुनःनिर्माण गर्न खोज्छ, ताकि भविष्य स्वतः आफ्नो पक्षमा मोडियोस्। विश्वविख्यात मार्क्सवादी चिन्तक एन्टोनियो ग्राम्सीले ‘सांस्कृतिक वर्चस्व’ को अवधारणामार्फत शासक वर्गले केवल आर्थिक वा राजनीतिक शक्ति प्रयोग गरेर मात्र होइन, संस्कृति, शिक्षा, धर्म, इतिहास र नैतिकतामाथि नियन्त्रणमार्फत पनि आफ्नो प्रभुत्व कायम गर्ने तर्क गरेका थिए। आज भारतमा देखिँदै आएको सांस्कृतिक वर्चश्वको राजनीतिले ग्राम्सीको यही विश्लेषणलाई स्मरण गराउँछ। इतिहासका पात्रहरूको पुनर्मूल्याङ्कन, पाठ्यपुस्तकहरूको पुनर्लेखन, मुगलकालीन इतिहासको पुनर्व्याख्या, धार्मिक प्रतीकहरूको राजनीतिक उपयोग र अब प्रगतिशील व्यक्तित्वहरूको स्मारकमाथिको आक्रमण एउटै सांस्कृतिक परियोजनाका विभिन्न आयामजस्ता देखिन्छन्।

यस सन्दर्भमा एउटा प्रश्न उठाइनु जरुरी छ । विचारसँग असहमति छ भने त्यसको उत्तर बहस हुनुपर्ने कि बुलडोजर? पुस्तक हुनुपर्ने कि हथौडा? लोकतान्त्रिक समाजको उत्तर स्पष्ट हुनुपर्छ। विचारको प्रतिवाद विचारले गरिन्छ। तर जब कुनै राजनीतिक शक्ति विचारसँग बहस गर्न असमर्थ हुन्छ, तब उसले प्रतीकमाथि प्रत्यक्ष वा परोक्ष रुपमा आक्रमण गर्छ। किनभने प्रतीक ध्वस्त पारेर इतिहासको सामूहिक स्मृतिलाई कमजोर बनाउन सकिन्छ भन्ने पश्चगमनकारी विश्वास उसले राख्छ।

लोकतान्त्रिक मूल्यको वास्तविक परीक्षा भनेको आफू असहमत भएको विचारको अस्तित्वलाई पनि स्वीकार गर्ने आँट कौशलमा निहित हुन्छ। तर भारतमा अहिले देखिएको प्रवृत्तिको विशेषता के हो भने यसले विशिष्ट प्रकारको वैचारिक छनोट देखाउँछ। प्रगतिशील, तर्कवादी, धर्मनिरपेक्ष र समाजवादी परम्पराका प्रतीकहरू लगातार आक्रमणको केन्द्रमा पर्दै आएका छन्। त्यसैले यी घटनाहरूलाई अलग अलग संयोगका रूपमा हेर्न कठिन हुन्छ। यिनले एउटा दीर्घकालीन वैचारिक पुनर्संरचनाको संकेत दिन्छन्।

राहुल सांकृत्यायनका पुत्र प्राध्यापक जेता सांकृत्यायनले जारी गरेको वक्तव्यमा पनि यही चिन्ता प्रकट भएको छ। उनले प्रतिमामाथिको आक्रमणलाई केवल व्यक्तिगत अपमान नभई राहुलको सम्पूर्ण बौद्धिक विरासत, भारतीय स्वतन्त्रता आन्दोलनमा उनको योगदान तथा प्रगतिशील मूल्यहरूमाथिको आक्रमणका रूपमा व्याख्या गरेका छन्। उहाँले यस घटनालाई इस्टर्न कोलफिल्ड्सको निजीकरण, मजदुर आन्दोलनको कमजोरी र संघ परिवारको सांस्कृतिक राजनीतिक परियोजनासँग जोडेर हेरेका छन् । यद्यपि यी दाबीहरू राजनीतिक विश्लेषण हुन् र स्वतन्त्र न्यायिक अनुसन्धानबाट प्रमाणित हुन बाँकी छन्, तथापि उनले औँल्याएको एउटा महत्त्वपूर्ण पक्ष सांस्कृतिक संघर्ष र आर्थिक पुनर्संरचनाबीचको सम्बन्धलाई भने बेवास्ता गर्न सकिँदैन।

मार्क्सवादी विश्लेषणमा अधिरचना अर्थात् संस्कृति, धर्म, शिक्षा र विचारधारालाई आर्थिक आधारबाट अलग गरेर बुझिँदैन। जब नवउदारवादी अर्थतन्त्रले सार्वजनिक सम्पत्तिको निजीकरण, श्रम अधिकारको संकुचन र पूँजीको केन्द्रीकरणलाई तीव्र बनाउँछ, त्यसलाई सामाजिक वैधता दिन नयाँ सांस्कृतिक आख्यान पनि आवश्यक पर्छ। त्यस अवस्थामा वर्गीय प्रश्नलाई राष्ट्रियता, धार्मिक पहिचान वा सभ्यतागत गौरवजस्ता विमर्शले विस्थापित गर्न खोजिन्छ। यही कारण सांस्कृतिक राष्ट्रवाद र आक्रामक बजारवादी अर्थनीतिबीच सहकार्य देखिनु कुनै संयोग होइन भन्ने तर्क धेरै मार्क्सवादी विश्लेषकहरूले गर्दै आएका छन्। तर जब्बर प्रश्न के हो भने के प्रतिमा भत्काएर विचार समाप्त हुन्छ? इतिहासले त्यसको उत्तर बारम्बार नकारात्मक दिएको छ। जर्मनीमा नाजीहरूले पुस्तक जलाए, तर विचार बाँचे। ल्याटिन अमेरिकाका सैनिक तानाशाहहरूले हजारौँ बुद्धिजीवीलाई हत्या गरे, तर जनआन्दोलन रोकिएन। दक्षिण अफ्रिकामा रंगभेद शासनले नेल्सन मण्डेलालाई दशकौँ जेल हाल्यो, तर स्वतन्त्रताको आकाङ्क्षा समाप्त भएन। विचारहरू मूर्तिमा होइन, जनचेतनामा बाँच्छन्। यद्यपि यसको अर्थ सालिकमाथिको आक्रमणलाई सामान्य मान्नुपर्छ भन्ने होइन।

स्मारकहरू सामूहिक स्मृतिका सार्वजनिक विद्यालय हुन्। नयाँ पुस्ताले तीमार्फत इतिहाससँग संवाद गर्छ। जब कुनै समाजले आफ्ना प्रगतिशील चिन्तकहरूको स्मारक जोगाउन सक्दैन, त्यसले एउटा संरचना मात्र गुमाउँदैन। उसले आफ्नै बौद्धिक परम्पराको एउटा सार्वजनिक सन्दर्भ पनि गुमाउँछ। राहुलको सालिक गायब पारिएको घटनाले भारतको लोकतान्त्रिक अवस्थाबारे पनि गम्भीर प्रश्न उठाउँछ। लोकतन्त्र निर्वाचनको प्रक्रिया मात्र होइन। लोकतन्त्र भनेको असहमत विचारसँग सहअस्तित्वको क्षमता पनि हो। कुनै विचारधाराले सार्वजनिक स्थानमा आफ्नो प्रभुत्व कायम गर्न विपक्षी स्मृतिलाई नै मेटाउनुपर्ने अवस्था सिर्जना गर्छ भने त्यो आत्मविश्वासको होइन, वैचारिक असुरक्षाको संकेत हो। आज आवश्यक कुरा राहुल सांकृत्यायनको प्रतिमाको पुनःस्थापना मात्र होइन। आवश्यक कुरा राहुललाई पुनःपढ्नु हो। उनको भोल्गादेखि गङ्गासम्म, दर्शन-दिग्दर्शन, वैज्ञानिक भौतिकवाद तथा अन्य कृतिहरूलाई नयाँ पुस्तासम्म पुर्‍याउनु हो। किनभने विचारको सबैभन्दा बलियो सालिक ढुङ्गाले होइन, पाठकले निर्माण गर्छ। त्यसैले कुनै पनि विचारधारासँग असहमत भए पनि इतिहासका चिन्तक, साहित्यकार र सामाजिक आन्दोलनका प्रतीकहरूको संरक्षण लोकतान्त्रिक संस्कृतिको न्यूनतम आधार हुनुपर्छ।

आज राहुलको प्रतिमा हट्छ भने भोलि अर्को विचारधाराको प्रतीक पनि हट्न सक्छ। स्मृति मेटाउने राजनीति अन्ततः सबैका लागि खतरनाक हुन्छ। सालिकहरू आफैँले समाज परिवर्तन गर्दैनन्। तर तिनले समाजले कुन मूल्यलाई सम्मान गर्छ भन्ने देखाउँछन्। त्यसैले राहुल सांकृत्यायन र लेनिनका प्रतिमामाथिको आक्रमणलाई ढुङ्गा भत्किएको घटनाका रूपमा सामान्यकृत गरेर होइन, इतिहास, संस्कृति, वर्गीय राजनीति र लोकतान्त्रिक बहुलवादबीचको गहिरो संघर्षको अभिव्यक्तिका रूपमा बुझ्नुपर्छ। विचारमाथि विजय हथौडाले होइन, तर्कले हुन्छ। यदि कुनै समाजले यो सामान्य सत्य बिर्सिन्छ भने त्यसले एउटा सालिक मात्र गुमाउँदैन, आफ्नै लोकतान्त्रिक आत्मालाई पनि क्रमशः क्षय गराउँदै लैजान्छ।


राहुल सांकृत्यायनका सालिक तोडफोडबारे छोरा जेता सांकृत्यायनको वक्तव्य

सन् १९९४ मा, महापण्डित राहुल सांकृत्यायनको जन्मशताब्दीको अवसरमा, पश्चिम बंगालको रानीगञ्जमा राहुल सांकृत्यायन जन्मशताब्दी आयोजक समितिद्वारा राहुलजीको ९-फिट अग्लो पूर्णकदको प्रतिमा स्थापना गरिएको थियो। यस समितिका अध्यक्ष सांसद हाराधन राय र श्री विवेक चौधरी सचिव हुनुहुन्थ्यो। यस जन्मशताब्दी समितिको गठन रानीगञ्ज, बर्धमान जिल्लामा कोलियरी मजदूर सभा अफ इन्डिया’ (CMSI), इस्टर्न कोलफिल्ड्स लिमिटेड (ECL) को पहलमा भएको थियो।

दुई दिनअघि, बिहान करिब ११:३० बजे, मैले रानीगञ्जबाट एउटा टेलिफोन सन्देश पाएँ, जसमा मलाई रानीगञ्जमा अवस्थित राहुलजीको पूर्णकदको प्रतिमा अज्ञात उपद्रवीहरूद्वारा नष्ट गरिएको जानकारी दिइयो। मसँग मेरा दिवंगत बुबाको आदरणीय बौद्धिक विरासतको यस बर्बर अपमानमा राहुलजीको परिवारको प्रतिक्रिया मागियो।

हिजो बेलुकादेखि नै मलाई प्रेस र सार्वजनिक सञ्चारमाध्यमबाट लगातार फोनहरू आइरहेका छन्, जसले मेरो व्यक्तिगत टिप्पणी जान्न चाहिरहेका छन्।

यतिबेला मेरो स्वास्थ्य निकै कमजोर भएकाले, म आफ्नो धैर्य नगुमाई यस तोडफोडको आघातलाई सहन र सम्हाल्ने प्रयास गरिरहेको छु, जसले ममाथि ठूलो तनाव पैदा गरिदिएको छ।

विनाशको यो कार्य बंगालमा भाजपाको उदयसँग धेरै नजिकबाट मिल्दोजुल्दो छ, जसका साथै संघ परिवारलाई राहुलजीको जीवन, भारतको स्वतन्त्रता संग्राममा उहाँको योगदान र उहाँको हिन्दी साहित्यिक लेखनले पुर्‍याएको योगदानसँग जोडिएका हरेक पक्षको महत्त्वलाई कम गर्ने तीव्र आवश्यकता महसुस भइरहेको छ।

यस घटनापछि, मैले आगन्तुकहरू र प्रेस प्रतिनिधिहरूसँग घण्टौंसम्म कुरा गर्नुपरेको छ, र लामा व्यक्तिगत तथा टिभी मिडिया अन्तरवार्ताहरू दिनुपरेको छ। सिलीगुढीमा पनि सार्वजनिक विरोध सभाहरू हुनेछन्, जसमा मैले सहभागी हुनुपर्नेछ।

यसलाई टार्न सकिँदैन, किनकि यो मेरा बुबाको स्मारक प्रतिमा हो जसलाई एउटा सुनियोजित षड्यन्त्र अन्तर्गत जानाजानी नष्ट गरिएको छ। सम्पूर्ण भारतभर विरोध प्रदर्शन भइरहेका छन्, र जब मानिसहरू राहुलजीको छोराको रूपमा कुरा गर्न मसँग सम्पर्क गर्न चाहन्छन्, तब म आफ्ना बुबाप्रतिको कर्तव्यको भावनाबाट पन्छिन सक्दिनँ, र यसको सट्टा मेरो मिर्गौलाको गम्भीर रोगको उपचारका लागि डायलासिस क्लिनिक जानु छ भन्ने बहाना बनाउन सक्दिनँ।

रानीगञ्जमा राहुलजीको स्मारकमाथिको आक्रमण, बलिया कोलियरी ट्रेड युनियनहरूलाई समाप्त पार्ने र इस्टर्न कोलफिल्ड्सलाई भारतका नयाँ ऊर्जा-सामन्तहरू’ (एनर्जी-ब्यारन्स) को हातमा सुम्पिएर निजीकरण गर्ने भगवा लहरको अर्को कडी हो...

र राहुलजीको प्रतिमा ढलाइनु—जुन त्रिपुरामा भगवा कब्जापछि लेनिनको प्रतिमालाई जानाजानी नष्ट गरिए जस्तै हो। संघको त्यो चाहनाको प्रतीक हो जसअन्तर्गत उनीहरू ती प्रत्येक कुरालाई नष्ट गरिदिन चाहन्छन् जसका लागि राहुलजी उभिनुभएको थियो र लेख्नुहुन्थ्यो, विशेष गरी हिन्दी-बेल्टमा, जहाँ युवा पाठकहरू आज पनि उहाँलाई पढेर प्रेरणा पाउँछन्। राहुलको ठाउँमा रामलाई स्थापित गरेर, प्रगतिशील विचारधारालाई सधैंका लागि समाप्त पार्ने एक सचेत प्रयास भइरहेको छ।

म केवल एक व्यक्ति हुँ, जसको उमेर अब ७२ वर्ष भइसकेको छ। मेरो स्वास्थ्य पनि निकै कमजोर छ, र मसँग न त त्यति धेरै व्यक्तिगत साधनहरू छन् न त पहुँच नै कि म यो सन्देशलाई अखिल भारतीय जन-संगठनहरू, हिन्दी साहित्यिक जगत् र सम्पूर्ण भारतका सचेत बुद्धिजीवीहरूसम्म पुर्‍याउन सकूँ।

म केवल उहाँहरूको सामूहिक ऐक्यबद्धता, सद्भाव र विवेकलाई अपिल गर्न सक्छु कि उहाँहरू अगाडि आउनुहोस्, यस बर्बर घटनाको कडा शब्दमा निन्दा गर्नुहोस्, र दोषीहरूलाई तुरुन्तै पक्राउ गरी कडाभन्दा कडा सजाय दिइयोस् भन्ने माग गर्नुहोस्।

- प्रोफेसर जेता सांकृत्यायन

(१७ जुलाई २०२६)

 

 दायित्वबोधको विशेष अनुरोध

वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ?

के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ?

दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ !

तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ?

सामर्थ्यअनुसारको आर्थिक सहयोग गरेर ।

विचारप्रधान लेखरचनाहरु उपलब्ध गराएर ।

दायित्वबोधमा छापिएका लेखरचनाहरु शेयर गरेर ।

दायित्वबोधको फेसबुक पेजयुट्युबट्विटरटिकटक लगायतका सामाजिक सञ्जाल पेजहरु लाइक–शेयर–सब्स्क्राइब गरेर ।

दायित्वबोधलाई आर्थिक सहयोग गर्नका लागि

https://dayitwabodh.com/page/support-us/