मार्क्सवादी समाजशास्त्री जेम्स पेट्रासको निधन

विश्वप्रसिद्ध मार्क्सवादी समाजशास्त्री, सार्वजनिक बौद्धिक व्यक्तित्व, तथा ल्याटिन अमेरिकी राजनीति र विश्व अर्थतन्त्रका विद्वान  प्राध्यापक जेम्स पेट्रासको निधन भएको छ । ८९ वर्षको उमेरमा १७ जनवरी २०२६ अमेरिकाको सियाटलमा उनको  निधन भएको हो। प्रखर विद्वान  जेम्स पेट्रासले आफ्नो सम्पूर्ण जीवन सक्रिय अभियन्ताका रूपमा सत्ता, साम्राज्यवाद र असमानतालाई चुनौती दिने कार्यमा समर्पित गरे।

पेट्रास अमेरिका, युरोप र मध्य पूर्वमा सामाजिक न्यायका लागि एक सम्झौताहीन अथक योद्धा थिए। उनको जीवनको कार्यले कक्षाकोठा, लेखन, र श्रमिक, किसान तथा सामाजिक आन्दोलनका संघर्षहरूलाई जोड्ने काम गर्‍यो । उनको जीवन र कर्मले एक शक्तिशाली बौद्धिक र नैतिक विरासत छोडेको छ। पेट्रास आफ्नो लेखनको व्यापकता र परिमाणका लागि प्रसिद्ध थिए । उनका लेखन र कर्मले उनलाई आफ्नो पुस्ताकै सबैभन्दा प्रभावशाली आलोचनात्मक समाजशास्त्रीहरूमध्ये एक बनायो।

प्राज्ञिक क्षेत्रभन्दा बाहिर, पेट्रासले चिलीका साल्भाडोर एलेन्डे, ग्रीसका एन्ड्रियास पापान्ड्रेउ, भेनेजुएलाका ह्युगो चाभेज जस्ता नेताहरूसँग सहकार्य गरे र आफ्नो जीवनको उत्तरार्धमा फिडेल क्यास्ट्रोसँग भेटघाट गरे। सामाजिक न्यायप्रतिको उनको प्रतिबद्धता ब्राजिलको 'भूमिहीन श्रमिक आन्दोलन' (Brazilian Landless Workers’ Movement) सँगको ११ वर्षको कार्यमा झल्किन्छ। सन् १९७३-१९७६ मा, उनी ल्याटिन अमेरिकामा हुने दमनविरुद्ध गठित 'बर्ट्रान्ड रसेल ट्रिब्युन'का सदस्य थिए। पेट्रासको मान्यतामा ‘विद्वताले न्यायका लागि हुने संघर्षहरूलाई समर्थन गर्नुपर्छ !’ यो सोच र वैचारिकीले उनको अध्यापन र व्यापक सार्वजनिक संलग्नता दुवैलाई प्रभावित गर्‍यो।

जेम्स पेट्रास विशेष गरी अमेरिकी साम्राज्यवाद, भूमण्डलीकरण र ल्याटिन अमेरिकी राजनीतिको आलोचनात्मक विश्लेषणका लागि चिनिन्थे। उनले ६२ भन्दा बढी पुस्तकहरू लेखेका छन्, जुन २९ भाषाहरूमा अनुवाद भएका छन्। उनका सबैभन्दा प्रभावशाली कृतिहरूमा 'अनमास्किङ ग्लोबलाइजेसन: इम्पेरियलिज्म अफ द ट्वेन्टी-फर्स्ट सेन्चुरी' (२००१), 'एम्पायर विथ इम्पेरियलिज्म' (२००५), 'रुलर्स एण्ड रुल्ड इन द यूएस एम्पायर: बैंकर्स, जाइोनिस्ट एण्ड मिलिटेन्ट्स' (२००७) समावेश छन्। यी कृतिहरू प्रायः पूँजीवाद, सामाजिक आन्दोलन र परराष्ट्र नीतिको सम्बन्धमा केन्द्रित छन्।

Image: https://gz.diarioliberdade.org