रसुवाको भीषण बाढीले धनजनको ठूलो क्षति

चीनको तिब्बत मूल उत्पत्ति थलो भएको भीषण बाढीले रसुवामा ठूलो क्षति पुर्याएको छ। शनिबार रातिदेखि आएको बाढीका कारण ६ जना चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन्, भने ९ जनालाई जीवितै उद्धार गरिएको छ। रसुवाको तातोपानी क्षेत्र हुँदै बग्ने भोटेकोसी नदीमा अत्यधिक पानीको बहाव आएपछि यो विनाश निम्तिएको हो।

बाढीले नेपाल-चीन सिमानास्थित मितेरी पुल समेत बगाएको छ। सिमाना नजिकै रहेको कन्टेनर यार्ड, तातोपानी भन्सार क्षेत्र र सयौं मिटर सडकखण्डमा बाढी पस्दा दर्जनौं कन्टेनर, मालबाहक ट्रक, इलेक्ट्रीक सवारीसाधन (EV) र अन्य गाडीहरू बगाएका छन्।

सार्वजनिक भएको जानकारीअनुसार शुक्रबार रातिबाटै उत्तरी रसुवामा भारी वर्षा भइरहेको थियो। त्यसको असर शनिबार मध्यराततिर खोटाङ खोलादेखि भोटेकोसी नदी हुँदै तातोपानीतिर बढ्दै गयो। तिब्बततर्फको क्षेत्रबाट आएको बाढी एक्कासि भोटेकोसी नदीमा मिसिँदा पानीको बहाव अत्यधिक बढेको थियो।

जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार राति नै चेतावनी जारी गर्दै भोटेकोसी नदीमा ठूलो बाढीको सम्भावना रहेको उल्लेख गरेको थियो। विभागले 'रेड अलर्ट' जारी गर्दै सतर्क रहन आग्रह समेत गरेको थियो। विभागका अनुसार, तिब्बत क्षेत्रमा परेको भारी वर्षाले उच्च पहाडी भू-भागमा नदीहरूको बहाव आकस्मिक रुपमा बढेको हो।

बाढीपछि अहिलेसम्मको विवरणअनुसार ६ जना चिनियाँ नागरिक सहित १८ जना वेपत्ता भएका छन् भने९ जनाको उद्दार गरिएको छ । बाढीका कारण तातोपानी भन्सार नजिकैको कन्टेनर यार्डमा राखिएका मालबाहक गाडी, कन्टेनरहरू, मोटरसाइकल र इलेक्ट्रीक गाडीहरू (EVs) बाढीले बगाएको छ। सिन्धुपाल्चोक र रसुवाको सिमानामा पर्ने मितेरी पुल पूर्णरूपमा बगाएपछि दुई देशबीचको आवतजावत अवरुद्ध भएको छ।बाढीले कन्टेनरहरू नदीको बिचभागसम्म पुर्याएर बगाएका छन्। यस क्षेत्रमार्फत चीनबाट आउने प्रमुख व्यापारिक सामग्रीहरूमध्ये धेरै सामान बगिएको आशंका गरिएको छ।

तातोपानी भन्सार क्षेत्र नेपालको दोस्रो सबैभन्दा ठूलो व्यापारिक नाका हो। यही नाकामार्फत चीनबाट आउने औद्योगिक सामग्री, विद्युतीय सामान, कपडा तथा दैनिक उपभोग्य वस्तुहरूको आयात हुने गर्दछ। यो नाका बगाउँदा व्यापारमा ठूलो असर पर्न सक्ने चिन्ता स्थानीय व्यापारीहरूले गरेका छन्। यसैगरी, रसुवागढी हुँदै निर्माणाधीन जलविद्युत् आयोजना र सडक विस्तार परियोजनामा समेत असर परेको हुनसक्ने अनुमान छ।

सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय जनप्रतिनिधिहरू अहिले बचाउ कार्यमा खटिएका छन्। उद्धारका लागि थप जनशक्ति परिचालन गरिएको छ भने बेपत्ताहरूको खोजी कार्य जारी छ। गम्भीर घाइतेहरूको हेलिकप्टरमार्फत काठमाडौंतर्फ लैजाने तयारी गरिएको छ।

प्रदेश सरकार, गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयले क्रमशः स्थानीय प्रशासनसँग सम्पर्कमा रहेर निगरानी र आवश्यक सहयोगको आश्वासन दिएका छन्।

जल तथा मौसम पूर्वानुमान महाशाखाको बाढी पूर्वानुमान शाखाले यस बाढीलाई उच्च जोखिमको संकेत दिएको छ। नदीहरूमा पानीको बहाव अत्यधिक रहेकाले सिन्धुपाल्चोक, रसुवा, दोलखा, भक्तपुर र काभ्रे जिल्लाका नदी तटीय बस्तीलाई सर्तक रहन अनुरोध गरिएको छ।