८ लाख वर्षअघिको अस्तित्व संकट: जब मानव जाति लोप हुने अवस्था नजिक पुगेको थियो !

मानव जातिको इतिहासमा एक यस्तो कालखण्ड पनि आएको थियो, जब हाम्रो अस्तित्व नै संकटमा परेको थियो। करिब ८ लाख वर्षअघि, पृथ्वीमा मानव पूर्वजहरूको संख्या अत्यन्तै घटेर केवल १,२८० प्रजननयोग्य व्यक्तिमा सीमित भएको वैज्ञानिकहरूले बताएका छन्। यो जनसंख्या सङ्कुचन झण्डै १ लाख १७ हजार वर्षसम्म चलेको अनुमान गरिएको छ, जसले प्रारम्भिक मानव वंशको लगभग ९८.७ प्रतिशत हिस्सा समाप्त गरिदिएको थियो।

कसरी थाहा पाइएको यस्तो पुरानो घटना?

वैज्ञानिकहरूले 'FitCoal' नामक नवीनतम जीन विश्लेषण प्रविधिको प्रयोग गरेर आधुनिक मानवहरूको जीनोम (DNA) अध्ययन गरेका छन्। यस प्रविधिबाट हजारौं वर्षअघिको जनसंख्याको उतारचढाव पत्ता लगाउने प्रयास गरिएको हो। जीनमा देखिने विविधताको विश्लेषण गरेर, वैज्ञानिकहरूले अतीतमा घटेका जनसंख्या सङ्कुचनहरूको अनुमान गर्न सकेका छन्।

किन आइलाग्यो त्यस्तो संकट?

वैज्ञानिकहरूको अनुमान अनुसार, त्यतिबेला पृथ्वीमा अत्यधिक जलवायु परिवर्तन, लामो खडेरी, र आहार स्रोतको अभाव जस्ता कारणहरूले गर्दा मानव पूर्वजहरूको जनसंख्या अत्यन्तै घटेको थियो। त्यस्तो भयानक संकटको समयमा, बाँकी रहेका थोरै मानिसहरूले कसरी बाँचे भन्ने विषयमा पनि केही अनुमानहरू छन्-शायद तिनीहरूले आगोको प्रयोग गर्न थालेका थिए, वा आफ्नो बुद्धिको प्रयोग गरेर नयाँ तरिकाले बाँच्ने उपाय अपनाएका थिए।

के यसले हाम्रो विकासमा असर गर्यो?

यो जनसंख्या सङ्कुचनले हाम्रो जैविक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको हुनसक्ने वैज्ञानिकहरूको विश्वास छ। उदाहरणका लागि, यस्तै संकटको समयमा मानव क्रोमोसोमहरूको फेरबदल (chromosome fusion) भएको अनुमान गरिएको छ । त्यसैको परिणामस्वरुप आधुनिक मानव (Homo sapiens) लाई अहिले लोप भइसकेका नियन्डरथल्स (Neanderthals) वा डेनिसोभान्स (Denisovans) जस्ता अन्य मानव प्रजातिहरूबाट फरक बनायो।

तर के यी कुरा निश्चित छन्?

यहाँ एक महत्वपूर्ण कुरा याद गर्नुपर्छ- यी सबै वैज्ञानिक निष्कर्षहरू प्राप्त केही तथ्यहरुका आधारमा गरिएका अनुमानमा आधारित छन्, पूर्ण प्रमाणमा होइन। आधुनिक जीनमा देखिने चिन्हहरूको अध्ययन गरेर अतीतको कथा बनाउने काम सधैं निश्चित हुँदैन। वैज्ञानिकहरूले आफूले देखेका संकेतहरूको व्याख्या गर्छन्, तर त्यहाँ अन्य सम्भावनाहरू पनि लुकेका हुनसक्छन्।

केही वैज्ञानिकहरू भन्छन् कि पृथ्वीका विभिन्न भागहरूमा मानिसहरू स्वतन्त्र रूपमा विकसित भइरहेका थिए । यस पृष्ठभूमिमा एउटै संकटले सबैलाई असर पारेको भन्ने कुरा पूर्ण रूपमा निश्चित छैन। त्यस्तै, जीवाश्मा अभिलेखहरूमा देखिने 'रिक्त स्थानहरू' सधैं मानिस नै नभएको प्रमाण होइन । कहिलेकाहीँ जीवाश्मा नपाइनु खोजीको अभाव वा संरक्षणको कठिनाइका कारण पनि हुन सक्छ।

किन महत्त्वपूर्ण छ यस्तो अध्ययन?

हाम्रो इतिहास बुझ्नु केवल जिज्ञासाको कुरा होइन- यो बुझाइले भविष्यका संकटहरूबाट जोगिने चेतना र उपायहरु पनि दिन्छ। मानव जातिले विगतमा यस्ता गम्भीर चुनौतीहरु कसरी पार गरेर बाँचेको थियो भन्ने कुरा जान्नु निक्कै महत्त्वपूर्ण हुन्छ । त्यस्तो जानकारीले हामीलाई आजको  जस्तै जलवायु परिवर्तन वा प्राकृतिक आपत् जस्ता विश्व समस्याहरूलाई पनि गहिरो दृष्टिकोणबाट हेर्न र त्यसबाट बच्ने उपायहरु पहिल्याउन मद्दत पुग्न सक्छ ।

हामीले बुझ्नुपर्ने कुरा के पनि हो भने मानव जातिको कहानी जीनको उतारचढावको कुरा मात्रै होइन; यो त बाँच्ने सीप, बुद्धिको प्रयोग, सामाजिक सहयोग, र निरन्तर अनुकूलनको कथा पनि हो।

निष्कर्षमा भन्दा, यस किसिमको अध्ययन तथा त्यसबाट प्राप्त जानकारीहरुको विश्लेषणले हामी कहाँबाट आएका हौं ? प्रतिकूल पारिस्थितिकीय अवस्थामा पनि किन र कसरी बाँच्न सक्यौं ? अनि  के कारण हामी अन्य प्रजातिहरूबाट फरक भयौं ? भन्ने कुराका बारेमा गहिरो जानकारी दिन्छ।

तर यो नै अन्तिम सत्य भने होइन । हामीले ख्याल गर्नैपर्ने कुरा के पनि हो भने विज्ञान सधैं नयाँ प्रमाणको खोजीमा रहन्छ। यस आधारमा अहिले प्राप्त निष्कर्षहरूनै अन्तिम र अकाट्य सत्य भने होइनन् । यी त अतीत बुझ्ने एउटा महत्त्वपूर्ण प्रयास हुन्।यससम्बन्धी पछि प्राप्त हुने तथ्य र प्रमाणहरुले यस कुरालाई थप पुष्टि गर्न पनि सक्छ वा नयाँ फरक दृष्टिकोण पनि दिन सक्छ भन्ने कुरा भुल्नु हुँदैन ।