शीर्षस्थ नेताको हत्याले भारतीय माओवादी आन्दोलनलाई गम्भीर धक्का !

छत्तीसगढको नारायणपुर जिल्लामा भारतीय सुरक्षा बल र माओवादी विद्रोहीबीच भएको ‘दोहोरो भीडन्त’मा भारतको कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नम्बाला केशवराव उर्फ बसवराज को हत्या भएको खबर छ । उक्त भीडन्तमा बसवराजसहित २६ जना नक्सल लडाकुहरू मारिएका छन् । बसवराजको हत्याले माओवादी आन्दोलनको नेतृत्व र पुनःगठन क्षमतामाथि ठूलो आघात पुग्ने देखिन्छ ।

बसवराज नक्सलवादी आन्दोलनको सर्वोच्च नेतृत्वकर्ता थिए। उनी महासचिव मात्र नभई, संगठनको केन्द्रीय सैन्य आयोग (CMC) का प्रमुख समेत भइसकेका व्यक्ति थिए। एक प्रकारले हेर्दा उनी विद्रोही रणनीतिकार, सैन्य योजनाकार र राजनीतिक मार्गदर्शक – तीनवटै भूमिकामा थिए। उनको मृत्युसँगै विद्रोही संगठनले वैचारिक, रणनीतिक तथा सांगठनिक दृष्टिले अत्यन्तै मूल्यवान नेताको क्षति व्यहोर्नुपरेको छ । उनी विस्फोटक पदार्थसम्बन्धी ज्ञाता मानिन्थे । 

भारत सरकारद्वारा १.५ करोड रुपैयाँको इनाम तोकिएका बसवराज भारतका सबैभन्दा खोजी गरिएका माओवादी नेतामध्ये एक थिए। करिब ७० वर्षका बसवराज आन्ध्र प्रदेशको श्रीकाकुलम् जिल्लास्थित जियन्नापेटा गाउँका बासिन्दा थिए। यथार्थमा उनी केवल बन्दुक उठाउने विद्रोही मात्र थिएनन्, उनी एक शिक्षित क्रान्तिकारी पनि थिए - वारङ्गलको क्षेत्रीय इन्जिनियरिङ कलेज (REC) बाट बीटेक पास गरेका इञ्जिनियर।

बसवराज १९७० को दशकदेखि माओवादी आन्दोलनमा लागेका थिए, जब भारतका ग्रामीण क्षेत्रहरूमा सामाजिक अन्याय र राज्यविरुद्धको असन्तोषले विद्रोहको रूप लिन थालेको थियो। आन्दोलनमा समर्पित बसवराजले गङ्गन्ना, कृष्ण, नरसिंह र प्रकाशजस्ता नामहरू प्रयोग गर्दै भूमिगत रूपमा लामो समयसम्म आफ्नो गतिविधि सञ्चालन गरेका थिए।

सन् २०१८ मा उनले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को महासचिवको जिम्मेवारी सम्हाले। यसअघि उक्त पद मुप्पाला लक्ष्मण राव (गणपति) ले सम्हालेका थिए । उनले २००४ मा पीपुल्स वार ग्रुप र माओवादी कम्युनिस्ट सेन्टर (MCC) को एकीकरणपछि पार्टीको पहिलो महासचिवको रूपमा नेतृत्व गरेका थिए। गणपति करिब एक दशकसम्म संगठनको शीर्षमा बसेपछि फिलिपिन्सतर्फ पलायन भएको विश्वास गरिन्छ।

बसवराजलाई केवल नेतृत्वको उत्तराधिकारी होइन, रणनीतिक योजनाकारको रूपमा पनि चिनिन्थ्यो। भारतमा भएका थुप्रै रक्तपातपूर्ण माओवादी हमलाहरूमा उनको प्रत्यक्ष संलग्नता रहेको ठानिन्छ। उनका योजनाहरूले भारतको सुरक्षा संयन्त्रलाई पटक-पटक चुनौती दिएको थियो, र राज्यसत्तालाई झस्काउने काम गरेको थियो।

उनको उदय र्‍याडिकल स्टुडेन्ट्स युनियनबाट भएको थियो । उक्त युनियनलाई दशकौंदेखि माओवादी विचारधाराको उत्पादन केन्द्र मानिने गरिन्छ । यो युनियन दक्षिण भारत, विशेष गरी तेलङ्गाना र आन्ध्र प्रदेशका विद्यार्थी आन्दोलनहरू नक्सली आन्दोलनको ‘विश्वविद्यालय’जस्तै नै थियो, जहाँबाट बसवराज जस्ता नेताहरू जन्मिए।

'अपरेसन कागर' र राज्यपक्षको सफाया रणनीति

बसवराजको हत्या भारत सरकारले चलाएको 'अपरेसन कागर' अन्तर्गत भएको हो । अपरेसन कागज अबुझमाडइन्द्रावती राष्ट्रिय निकुञ्ज आसपासका घना जंगलहरूमा विद्रोहीहरूलाई लक्षित गरी सुरक्षा बल परिचालन गरिएको विशेष सैन्य अभियान हो। त्यसक्षेत्रबाट माओवादी आन्दोलनलाई खसाप पार्ने उद्देश्यका साथ परिचालित उक्त अभियानमा डिस्ट्रिक्ट रिजर्भ गार्ड (DRG), COBRA कमाण्डोज, र छत्तीसगढको प्रहरी फोर्सको संयुक्त टोली सहभागी थियो।

उक्त अपरेसन माओवादीहरुलाई सैन्य रुपमा खसाप पार्ने कुरामा मात्रै लक्षित थिएन; यो विद्रोहीहरूका आधार इलाकाहरू ध्वस्त पार्ने र पुनःसंगठन रोक्ने प्रयास पनि हो। माओवादी विद्रोहीहरूका लागि अबुझमाड र दण्डकारण्य क्षेत्र लामो समयदेखि सुरक्षित आश्रयस्थल बन्दै आएको छ । ती क्षेत्रमा राज्यको उपस्थिति लगभग शून्य थियो, जसका कारण त्यहाँको भूगोल नै विद्रोहको आधारइलाका बनिरहेको थियो।

माओवादी आन्दोलनको रणनीतिक र मनोवैज्ञानिक क्षति

बसवराजको मृत्यु केवल नेतृत्वको क्षतिमा सीमित छैन; यसले विद्रोहीहरूको मनोबलमाथि पनि गहिरो प्रभाव पार्नेछ। सन् २००४ मा पीपुल्स वार ग्रुपएमसीसी को एकीकरणपश्चात् बनेको CPI (माओवादी) को संगठनात्मक ढाँचा अर्धसैन्य किसिमको थियो, जसमा नेतृत्वको निर्देश बिना क्षेत्रीय इकाइहरूले दीर्घकालीन सञ्चालन गर्न कठिन मानिन्छ।

भारतको शासक वर्गले सीमित मुठ्ठीभर पुँजीपतिहरुलाई पोस्न र आदिवासी क्षेत्रबाट त्यहाँका भूमिपुत्रहरुलाई विस्थापित गर्ने गरी लिएको नीतिका विरुद्धमा माओवादीहरुले जनतालाई संगठित गर्ने र सशस्त्र प्रतिरोध गर्ने काम गर्दै आइरहेको छ । तर मपछिल्ला वर्षहरूमा राज्यले लिएको कठोर दमनकारी नीति, गैरकानूनी हत्या लगायतका कारणले माओवादी आन्दोलनप्रति स्थानीय जनताको समर्थन घट्दै गएको छ । यतिखेर राज्यले विकास तथा सशस्त्री दबाबमार्फत उनीहरूको प्रभाव क्षेत्र खुम्च्याउँदै लगेको देखिन्छ।

२०१० को दशकको तुलनामा आज माओवादीहरू झन् विकेन्द्रित, विभाजित र गम्भीर संकटग्रस्त  अवस्थामा पुगेका छन्। पहिले जस्तो बिहार, झारखण्ड, ओडिशा, महाराष्ट्र र आन्ध्रप्रदेशमा प्रभाव जमाएका माओवादीहरू अहिले मुख्यतः छत्तीसगढ, ओडिशाको सीमावर्ती क्षेत्र र केही मध्य भारतको वन क्षेत्रमा सीमित छन्। कुनैबेला आक्रामक रहेका तथा त्यस क्षेत्रमा आधार इलाका नै खडा गरेर बसेका माओवादी आन्दोलन यतिखेर प्रतिरक्षात्मक अवस्थामा पुगेको छ ।

विद्रोही आन्दोलनको भविष्य

बसवराज तहको नेता समेतको हत्या भएको पछिल्लो घटनाले माओवादी विद्रोहको रणनीतिक भविष्य र राजनीतिक सम्भाव्यतामाथि गम्भीर प्रश्न उठाएको छ। नेतृत्व संकट, आधार क्षेत्र गुमाउँदै जानु, जनसमर्थनमा गिरावट, र राज्य पक्षबाट बढ्दो दमन- यी सबैको जम्मा योगले  भारतमा माओवादी  विद्रोहको आगामी यात्रालाई अप्ठेरो बनाएका छन्।

यद्यपि, यसै घटनाको आधारमा माओवादी आन्दोलन पूरै समाप्त भयो  भन्नु हतारो हुनेछ। राज्यको विभेदकारी नीति जारी रहेसम्म  स्थानीय असन्तोष हल हुनेछैन र जनपक्षीय शक्तिहरुले  त्यसलाई नेतृत्व गर्ने पक्का छ । तर, बसवराजजस्तो करिश्म्याटिक नेतृत्वको अभावमा संगठनमा अनुशासन, समन्वय र पुनर्संरचना गाह्रो हुने कुरा चाहिँ पक्का हो ।

 

सम्बन्धित सामग्रीहरु

क्रान्तिकारी आन्दोलनदेखि प्रहरी ‘इन्काउन्टर’ सम्म गुमुडावेल्ली रेणुकाको संघर्ष

बस्तरमा नरसंहार

नक्सलबाडीदेखि बस्तरसम्म: भारतीय माओवादी आन्दोलनको ‘उत्थान र पतन’को अन्तरकथा