पृथ्वीमा विचरण गरेका मानव जाति हामी मात्र होइनौं !

आधुनिक मानव अर्थात् हामी होमो सेपियन्स हौं । धेरैलाई लाग्न सक्छ यस पृथ्वीमा विचरण गरेका मानव जाति हामी मात्रै हौं । तर यो कुरा सत्य होइन । इतिहासका कालखण्डमा फरक फरक प्रजातिका मानव जातिहरु यस पृथ्वीमा अस्तित्वमा आएका थिए र विलोप पनि भएका थिए । कतिसम्म भने अहिले अस्तित्वमा रहेका आधुनिक मानव प्रजाति होमोसेपियन्ससँग एक नजिकको सम्बन्धी पनि कुनै कालखण्डमा सँगसँगै विचरण गर्ने गर्थे । तिनको नाम हो- नेआन्डरथल्स वा होमो निएन्डरथालेन्सिस ।
यी मानव जातिको दुखद इतिहास छ ।मुख्य रूपमा युरोप र पश्चिम एशियामा बसोबास गर्ने गरेका हाम्रो नजिकको नातेदारहरू निएन्डरथालेन्सिसहरू लगभग ४०-४५ हजार वर्ष पहिले विलुप्त भएका थिए । हामी अहिले पनि नेआन्डरथल्ससँग ९९.७% डीएनए साझेदारी गर्छौं । अर्थात् नेआन्डरथल र आधुनिक मानवको डीएनएको बेस पेयरहरूको ९९.७% हिस्सा एक अर्कासँग समान छ। सामान्यत: गैर-अफ्रिकी मानिसहरू (non-African populations) मा नेआन्डरथलहरूको २ देखि ४ प्रतिशत सम्मको डीएनए अंश भेटिन्छ भने अफ्रिकी मूलका मानिसहरूमा नेआन्डरथल डीएनए विरलै हुन्छ । यसो हुनुको कारण नेआन्डरथल अफ्रिकामा कहिल्यै थिएनन्। उनीहरू मुख्यत: युरोप र पश्चिम एसिया क्षेत्रमा बसोबास गर्थे। मानव जाति अफ्रिकाबाट बाहिरिएपछि नेआन्डरथलहरूसँग भेट भयो र तिनीहरूसँग प्रजनन भयो।
आधुनिक मानवहरूको तुलनामा, नेआन्डरथल्स अलि पुड्को र मोटा थिए, तिनीहरूको बङ्गारा भएको भाग बढी विकसित थियो तर चिउडो कमजोर थिए। तिनीहरूका नाक पनि ठूला प्वाल भएका थिए जसले उनीहरुलाई युरोपको चिसो हावामा श्वास फेर्न मद्दत गर्थ्यो। अझ रोचक कुरा त के छ भने, नेआन्डरथल्सका टाउको र मस्तिष्क आकार हाम्रो पूर्वजको भन्दा ठूलो थियो। सामान्यत: ठूलो मस्तिष्कलाई चतुरतासँग जोडेर हेर्ने गरिन्छ । तर यो कुरा अझै प्रष्ट छैन कि त्यो ठूलो टाउको र मस्तिष्कको संरचनाले तिनीहरूलाई विशेष रूपमा चतुर बनायो कि बनाएन ?
एउटा प्रश्न जब्बर रुपमा उठ्ने गर्छ- हामी धेरै कुरामा नेआन्डरथल्ससँग समानता राख्ने खालका थियौं भने हामी अझै बाँचिरहँदा उनीहरू किन विलुप्त भए?
वास्तवमा, नेआन्डरथल्स विभिन्न समय बिन्दुमा युरोपका विभिन्न भागहरूबाट विलुप्त भए। तिनीहरूको विलुप्तिको कारणहरू पनि स्थान अनुसार भिन्न थिए।
अत्याधुनिक जनावरहरूको विलुप्ति भए जस्तै गरी नेआन्डरथल्स पनि प्रतिस्पर्धा र वातावरणीय कारकहरूको कारणले पनि विलुप्त भएको हुनसक्छ। अहिले आधुनिक मानिसको रुपमा विकिसत भएका हाम्रा पुर्खाहरु पनि शताब्दीयौंसम्म नेआन्डरथल्ससँगै सहअस्तित्वमा बाँचिरहेका थिए । पछिल्ला अध्ययन र तथ्यहरुले त के पनि देखाएको छ भने त्यस दौरानमा दुवैले परस्पर प्रजनन गरिसकेको थियो र त्यसले आधुनिक मानिसहरूको विकासलाई आकार दियो।
नेआन्डरथल्सको शरीर चिसो सहन गर्नको लागि विकसित भएको थियो, जबकि होमो सेपियन्सहरुले प्रविधिको विकास गर्न सिकेका थिए । मानिसहरूले सुइको प्रयोग गरेर कपडा सिउन तथा जटील खालका आश्रयस्थलहरुमा बसोबास गर्न सिकेका थिए । उनीहरुले बाँण र भालाको मद्दतले थरिथरिका खालका जनावर, चरा र माछाहरुको शिकार गर्ने गर्थे । नेआन्डरथल्सको तुलनामा, हाम्रो पूर्वजहरू सम्भवत: ठूलो समूहमा बसेर बाँच्न सिकेका पनि हुन सक्छन्। यी सबै पक्षहरुले होमो सेपियन्सहरुले बाँच्ने राम्रा तरिकाहरु जानेका सिकेका हुन सक्छन् । त्यही समयमा, नेआन्डरथल्सको भने आयु छोटो थियो। तिनीहरूको बालबालिका सानै उमेरमा मर्ने गरेका थिए।यो पनि हुन सक्छ कि एक नयाँ प्राविधिक रूपमा उन्नत अहिलेको मानिस भनिने प्रजातिले नेआन्डरथल्सहरुमाथि अत्यधिक प्रतिस्पर्धा र दबाब सिर्जना गर्यो।
हालसालै पत्ता लागेका तथ्यहरुले भने नेआन्डरथल्स पनि होमो सेपियन्स जस्तै चतुर थिए भन्ने देखाएको छ । उनीहरुले पनि होमो सेपियन्सहरुकै जस्ता उपकरणहरु तथा आफ्नै संस्कृतिको विकास गरेका थिए । ।
यी दुई पृथक प्रजातिहरुका बीच सबैभन्दा ठूलो भिन्नता तिनीहरूको समूहको आकारमा देखिन्छ। तिनीहरूले साना समुदायहरू बनाए जसले एक अर्काबाट टाढा बस्न थाल्यो। साना समूहहरूको अलग बसाइले तिनीहरूको संस्कृति र प्रगतिमा पनि बाधित गरेको थियो । अर्को एक मान्यताअनुसार जलवायुमा आएको परिवर्तनले पनि नेआन्डरथल्सको विलुप्तिमा भूमिका खेल्न सक्छ। ७०,००० देखि १२,००० वर्ष अघि, जलवायुमा ठूलो उतार-चढाव भएको थियो।
नेआन्डरथल्सको विलुप्तिसँग मेल खाने गम्भीर चिसोका लहरहरूको प्रमाण छ। मानौं तपाई न्यानो र मध्यम जलवायु भएको वातावरणमा बस्न अभ्यस्त हुनुहुन्छ । तर अचानक तपाई कठ्याङ्ग्रिने चिसो वा उग्ररुपमा सक्रिय ज्वालामुखीहरूको बस्नुपर्ने बाध्यता आइलाग्यो भने के गर्नुहुन्छ ?
त्यस्तो अवस्थामा अवश्य पनि आफ्ना आश्रयहरू पुनःनिर्माण गर्नुपर्ने, नयाँ प्रजातिहरूको शिकार गर्न र नयाँ बोटहरू संकलन गर्नमा अभ्यस्त हुनुपर्ने हुन सक्छ ।
त्यसो त अचानक रुपमा भएको ठूलो वातावरणीय परिवर्तनले नेआन्डरथल्सलाई मारेको बारे कुनै भरपर्दो प्रमाणहरु फेला परेका छैनन् । तर निरन्तर जलवायु परिवर्तनका कारण तिनीहरूको बाँच्ने स्थिति प्रतिकूल बन्दै गइरहेको र त्यसको अनुकूलनमा ढल्न नसक्दा नेआन्डरथल्स विलोप हुने अवस्था सिर्जना भएको हुन पनि सक्छ ।
त्यसो त नेआन्डरथल्सले आफ्नो प्रतिद्वन्द्वी होमो सेपियन्ससँग हिंसात्मक टकरावमा संलग्न भएको पनि हुनसक्छ। यद्यपि यो सम्भव छैन किनभने नेआन्डरथल्स शक्तिशाली शिकारी थिए जसलाई युद्धमा सजिलै हराउन सक्दैन। अर्को सिद्धान्तले आहारमा कमीले गर्दा नेआन्डरथल्सहरु मासिएको परिकल्पना गर्छ । जलवायु परिवर्तनका कारण पैदा भएको भयानक शीतकालमा उर्जाका स्रोतहरु मासिन जाँदा नेआन्डरथल्स विलोप भएको हुन सक्ने मान्यता पनि प्रचलित छ ।
वास्तवमा, नेआन्डरथल्स कहिल्यै मरेका थिएनन्। उनीहरू हामीमा जीवित छन्।
हाम्रो पूर्वजहरूले नेआन्डरथल्ससँग परस्पर प्रजनन गरिसकेका कारण नै तिनीहरूको डीएनए हामीलाई सर्न सकेको हो । मानव डीएनएको विश्लेषणले देखाउँछ कि आधुनिक मानवको डीएनएको ४% ले नेआन्डरथल्सबाट आएको हुनसक्छ।
त्यसो त नेआन्डरथल्स मात्र एक्लै हराएको मानव प्रजाति होइन।
साइबेरिया क्षेत्रका अर्का मानव प्रजाति डेनिसोभानहरूले पनि हाम्रो पूर्वजहरू बिस्तारै विश्वभर फैलिनुका कारण त्यही प्रतिकूल परिस्थितिको सामना गर्नुपरेको र मासिन पुगेको हुन सक्छ ।
त्यसो त इतिहासको एक कालखण्डमा सह-अस्तित्व र प्रतिस्पर्धा गर्ने फरक फरक मानव प्रजातिहरू बीचको अन्तर्क्रियालाई बुझ्नका लागि हामीसँग धेरै थोरै तथ्यहरु मात्र उपलब्ध छन् । भविष्यमा यसबारे हुने अनुसन्धान तथा प्राप्त हुने नयाँ नयाँ तथ्यहरुले हाम्रो नातेदार प्रजातिहरूबारेको हाम्रो अहिलेसम्मको बुझाइ र दृष्टिकोणलाई उथलपुथल हुने गरी सधैंका लागि परिवर्तन गर्ने निश्चित छ ।

ब्रम्हाण्ड सम्बन्धी ठूला प्रश्नहरूको संक्षिप्त उत्तर

मानव समाजलाई निश्चित आकार दिने 'प्रविधि' को ऐतिहासिक विकासक्रम

सभ्यताको गति बदलिदिने आविष्कार पाङ्ग्रा !

सबै चीजको सिद्धान्त - संक्षिप्त अध्ययन

मानिसले कहिलेदेखि खेतीपाती थाले होलान् ?

बृहस्पति– पृथ्वीका रक्षक !

एक ग्लोबको इतिहास

प्रतिक्रिया