वामपन्थी नेता प्रदीप नेपालको अन्त्येष्टि सामान्य नागरिक सरह

इच्छापत्रअनुसार औपचारिक कार्यक्रमविना बिदाइ

नेकपा (एमाले) का वरिष्ठ नेता तथा प्रगतिशील आन्दोलनका एक अगुवा तथा पूर्वमन्त्री समेत रहेका प्रदीप नेपालको निधन भएको छ । निधन भएकै दिन वैशाख २३ गते मंगलवार साँझ पशुपति विद्युतीय शवदाह गृहमा उनीप्रति श्रद्धाञ्जली अर्पण गरिँदै अन्त्येष्टि सम्पन्न भएको छ। नेपालको अन्तिम इच्छापत्रअनुसार उनलाई औपचारिकता र राजकीय सम्मानविनै, एक साधारण नागरिक सरह अन्तिम बिदाइ दिइएको हो।

आफ्नो अन्तिम इच्छापत्रमा स्वर्गीय नेपालले आफन्त र पार्टीका सहकर्मीहरूलाई स्पष्ट सन्देश दिएका थिए कि आफ्ना मृत्युपछि कुनै औपचारिक श्रद्धाञ्जली सभा वा पार्टी झण्डा ओढाउने कार्यक्रम नहोस्।

त्यसो त नर्भिक अस्पतालमा सिकिस्त अवस्थामा भर्ना भएको बेलासम्म उपप्रधानमन्त्री प्रकाशमान सिंह, एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, पूर्वउपप्रधानमन्त्री वामदेव गौतम लगायत थुप्रै नेताहरू अस्पताल पुगेका थिए। पशुपतिस्थित शवदाह गृहमा पनि शोक सन्देश र भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नेहरूको बाक्लो उपस्थिति थियो।

खरो विचारक–कुशल संगठक

स्वर्गीय प्रदीप नेपालको व्यक्तित्व बहुआयामिक थियो—राजनीतिक कार्यकर्ता, मन्त्री, साहित्यकार तथा स्पष्ट विचार बोकेको चिन्तक। उनी विद्रोही नेता, कुशल संगठक, राजकीय भूमिका निर्वाह गर्ने व्यक्ति र सशक्त साहित्यिक व्यक्तित्वका रुपमा स्थापित थिए ।

भोजपुरको गोगनेमा वि.सं. २०१० पुस २७ गते जन्मिएका नेपाल किशोरावस्थामै वामपन्थी साहित्यप्रति आकर्षित भएका थिए। २०२६ सालतिर विद्यार्थी राजनीतिमा प्रवेश गरेपछि उनी पञ्चायतविरुद्धको भूमिगत संघर्षमा सक्रिय बने। नख्खु जेल ब्रेक, कोके (कोअर्डिनेशन केन्द्र) को स्थापना, मुक्ति मोर्चा–कोके एकता, झापा आन्दोलनलाई देशव्यापी बनाउने कार्यमा उनको प्रभावशाली योगदान रह्यो।

२०३५ सालमा गठित नेकपा (माले) मा उनी संस्थापक सदस्य बने। यद्यपि पदका दृष्टिले उनी पार्टी स्थायी समिति सदस्यभन्दा माथि कहिल्यै उक्लन सकेनन्। २०६५ को महाधिवेशनमा महासचिव पद र २०७१ मा उपाध्यक्ष पदमा पराजित भए पनि पार्टीभित्र उनको वैचारिक र कार्यकर्ता–मैत्री छवि यथावत रह्यो ।

आर्यघाटको ब्रम्हनालमा नतेर्सिएसम्म पद ओगटेर बस्ने कुराको घोर विरोधी थिए उनी । नेताहरुमा पनि उमेरको हद लागू हुनुपर्छ भन्ने कुराको खरो पक्षपाती थिए  प्रदीप नेपाल । आफ्नो त्यही मान्यताअनुसार उनले ६० वर्षको उमेर कटेपछि आफूलाई सक्रिय राजनीतिबाट विमुख पारेका थिए । 

जबजप्रति समर्पित, प्रचार अभियन्ता

२०४७ सालमै ‘बहुदलीय जनवादबारे केही कुरा’ नामक पुस्तिका प्रकाशन गरेर पार्टीभित्र जबजको बहस अगाडि बढाउने प्रारम्भ गर्ने प्रदीप नेपालले पछि मदन भण्डारीका रचनाहरू प्रकाशन गर्ने, पार्टीको मुखपत्र नवयुगलाई जन–जनसम्म पुर्‍याउने कार्यमा नेतृत्व गरे। कुशल पत्रकार समेत रहेका नेपालले प्रचार विभागको नेतृत्व सम्हाल्दा सहकारी माध्यमबाट समाचार प्रकाशन, आमसञ्चारसँगको सम्बन्ध विस्तारजस्ता कार्यमा विशेष अगुवाइ गरेका थिए ।

प्रगतिशील साहित्यको फाँटमा स्थापित नाम सञ्जय थापा

राजनीतिमा प्रदीप नेपाल नाम जति स्थापित छ, त्योभन्दा बढी स्थापित उनको नाम प्रगतिशील साहित्यमा पनि छ । भूमिगत जीवनमा 'सञ्जय थापा' को नामबाट लेखन कार्य निरन्तर राखेका नेपालले ४६ भन्दा बढी पुस्तकहरू प्रकाशन गरेका छन्—जसमा ‘नओइलाउने फूल’, ‘पूर्वतिर’, ‘देउमाइको किनार’, ‘मुक्त आकाशको खोजी’ लगायतका कृतिहरू विशेष चर्चित छन्। उनी छलफल, दृष्टि, प्रकाश जस्ता साप्ताहिक पत्रिकाका सम्पादक र स्तम्भकारसमेत थिए। उनका लेखनीकलाले थुप्रै युवाहरुलाई वामपन्थतिर आकर्षित तुल्याएको थियो ।

प्रष्ट अडान, प्राविधिक अग्रसरता

राजनीतिक, वैचारिक र साहित्यिक पक्षबाहेक प्रदीप नेपालको अर्को चिरपरिचित परिचय थियो—स्पष्ट अडान। पार्टीभित्र बहस गर्ने, निर्णयमा दृढ रहने र नेतृत्वलाई गम्भीरतापूर्वक चुनौती दिने क्षमताका कारण उनी कार्यकर्ता र सहकर्मीहरूमाझ भरोसाका पात्र थिए। उनी मनमा लागेका कुराहरु बिना लप्पनछप्पन खुलेरै राख्ने गर्थे । त्यसले कतिपय अवस्थामा उनलाई अप्ठ्यारोमा पनि पार्ने गर्थ्यो ।

प्रदीप नेपालको बिदाइ पनि उनले चाहे जस्तै साधारण रुपमा सम्पन्न भयो। पद र प्रतिष्ठाको चाहनाभन्दा पर गएर जन–नेता बन्ने बाटो रोजेका नेपालले अन्त्यमा पनि आफ्नो जीवन–दृष्टिकोण अनुसारको बिदाइ चाहेका थिए—सामान्य नागरिकको शैलीमा।

राजनीति, विचार, संगठन र साहित्यको चौरस्तरीय योगदान दिएका नेपाललाई नेपाली राजनीतिक इतिहासमा ‘साधारण शैलीका फरक नेता’ का रूपमा सदैव सम्झिने गरिनेछ।