काश्मीरमा पर्यटकहरूमाथि आतङ्कवादी हमला : पुनः बल्झिएको हिंसाको डढेलो

मंगलबार पर्यटकीय गन्तव्य पहलगाममा आक्रमणकारीहरूले पर्यटकहरूमाथि गोली चलाएपछि, भारतीय सुरक्षाकर्मीहरू जम्मु–काश्मीरको अनन्तनाग जिल्लास्थित एक अस्पतालमा सुरक्षा दिँदै। – डार यासिन / एपी

भारतको केन्द्रशासित प्रदेश जम्मु–काश्मीरमा पर्यटकहरूमाथि भएको भीषण आतङ्कवादी आक्रमण विगत दुई दशकमा घटेको सबैभन्दा घातक नागरिक लक्षित हिंसाको घटना बनेको छ। भारतको पहाडी पर्यटनस्थल पहलगामको मिडोज क्षेत्रमा मंगलबार साँझ भएको गोलीकाण्डमा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। मृतकमध्ये २५ जना भारतीय नागरिक तथा एक जना नेपाली नागरिक रहेको प्रहरी स्रोतले जनाएको छ।

यो घटना २००८ को मुम्बई हमलापछिको सबैभन्दा ठूलो नागरिक जनधनको क्षतिको घटना हो। पछिल्लो केही वर्षयता आतंकवादी गतिविधिमा भारतीय सुरक्षाफौजले कडाइका साथ नियन्त्रण गरेको थियो र काश्मीर क्षेत्रमा पर्यटक आगमन बढ्दो अवस्थामा थियो । त्यसले त्यहाँको स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारिरहेको थियो। तर यस आक्रमणले शान्तिको संकेत गरिरहेको वातावरणमाथि पुनः शंकाको बादल ल्याएको छ।

उक्त घटनाको कारण प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरबको दुईदिने भ्रमण छोट्याउँदै बुधबार बिहानै दिल्ली फर्किए। अर्थमन्त्री निर्मला सीतारमणले पनि अमेरिकातर्फको आफ्नो भ्रमण तत्काल अन्त्य गरी स्वदेश फर्किने निर्णय गरिन्। प्रधानमन्त्रीले विमानस्थलमै सुरक्षा सल्लाहकार, विदेश मन्त्रीलगायत उच्च अधिकारीहरूसँग आपतकालीन बैठक गरेका थिए ।

सामाजिक सञ्जालमार्फत ‘काश्मिर रेसिस्टेन्स’ नाम गरेको समूहले घटनाको जिम्मेवारी लिएको छ। हालसम्म खासै चर्चामा नरहेको सो समूहले काश्मीर क्षेत्रमा बाह्य बासिन्दाको संख्यामा वृद्धि भएको भन्दै "जनसांख्यिकीय परिवर्तन" विरुद्ध असन्तुष्टि व्यक्त गरेको छ। भारतीय सुरक्षा निकायहरूले भने उक्त समूह पाकिस्तानमा आधारित लश्कर-ए-तैयबा र हिज्बुल मुजाहिदीनजस्ता आतङ्कवादी संगठनहरूको सामुहिक मोर्चा हुन सक्ने आशंका गरेका छन्।

पाकिस्तानको परराष्ट्र मन्त्रालयले भने "पर्यटकहरूको ज्यान गएको घटनामा दु:ख व्यक्त गर्दछौँ र घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ" भन्ने औपचारिक वक्तव्य जारी गरेको छ। भारतमा हुने आतंकवादी घटनामा पाकिस्तानको हात रहने गरेको भारतले आरोप लगाउने गरेको छ । तर पाकिस्तानले आफूहरु काश्मिरी जनताको आत्मनिर्णयको अधिकारको पक्षमा रहेको र त्यसका लागि त्यहाँका जनताले गर्ने  विद्रोहलाई नैतिक र कूटनीतिक समर्थन मात्रै गर्ने गरेको दाबी गर्दै आएको छ।

उक्त घटनाले स्थानीय स्तरमै आक्रोश र तनावको स्थिति उत्पन्न गराएको छ । घटनाको विरोधमा १२ भन्दा बढी स्थानीय  सामाजिक समूहहरूले आक्रमणको विरोधस्वरूप बन्दको आह्वान गरेका छन्। धेरै विद्यालयहरू बन्द गरिएका छन्।

घटनापछि पर्यटकहरू त्रसित भएर काश्मीर छोड्न थालेका छन्। भारी वर्षाले श्रीनगर–जम्मु राजमार्ग क्षतिग्रस्त भएकाले हवाई मार्गको माग एकाएक बढेको छ। नागरिक उड्डयन मन्त्री राममोहन नायडु किन्जारापुका अनुसार श्रीनगरबाट दिल्ली र मुम्बई तर्फ चार विशेष उडानको व्यवस्था गरिएको छ भने थप आवश्यकता अनुसार थप उडान तयार अवस्थामा राखिएको छ। उड्डयन मन्त्रालयले हवाई भाडा वृद्धि नगर्न र नियमित दरमै सेवा प्रवाह गर्न सबै एयरलाइन्सलाई निर्देशन दिएको छ।

इतिहास र वर्तमानको सङ्घर्ष

काश्मीरमा भारतविरुद्धको विद्रोह सन् १९८९ देखि सुरू भएको हो। यस विद्रोहमा हालसम्म हजारौं मानिसहरूले ज्यान गुमाएका छन्। सन् २०१९ मा भारत सरकारले जम्मु–काश्मीर राज्यको विशेष हैसियत (अनुच्छेद ३७०) खारेज गरी त्यसलाई दुईवटा केन्द्रशासित प्रदेशमा विभाजन गरेको थियो — जम्मु–काश्मीर र लद्दाख। त्यसपछिका कदमहरूले बाह्य बासिन्दाहरूलाई काश्मीरमा बसोबास र सम्पत्ति खरिद गर्ने अधिकार दिएको थियो, जसलाई धेरैले विवादास्पद "जनसांख्यिकीय परिवर्तन"को प्रक्रिया मानेका छन्।

यो हमलाले काश्मीरको सुरक्षा व्यवस्थामाथि पुनः प्रश्न उठाएको छ। पर्यटकप्रति लक्षित यसप्रकारको हिंसाले स्थानीय विकास, व्यापार, र विश्वासमा चोट पुर्‍याएको छ। यस्तो बेलामा भारत सरकारले तुरुन्त र दीर्घकालीन सुरक्षा रणनीति अवलम्बन गर्नु आवश्यक देखिन्छ, जसले निर्दोष नागरिक तथा पर्यटकहरूलाई सुरक्षाको प्रत्याभूति दिन सकोस् ।

यसबीच एक ट्वीट गर्दै नेपालका परराष्ट्रमन्त्री आरजु देउवाले काश्मिरको पाहलगममा हिजो भएको आतङ्ककारी हमलामा परी मृत्यु हुने नेपाली नागरिक वुटवल–११, कालिकानगर रुपन्देहीका सुदिप न्यौपाने रहेको जनाएकी छिन् ।

image: https://media.cnn.com