के छाला जिउँदो हुन्छ?

तपाईंको शरीरलाई ओभरकोटजस्तै घेर्ने छाला एक बलियो, जलरोधक, रोगाणुरोधक तह हो, जसले तपाईंको शरीरको भित्री भागलाई कठोर बाहिरी संसारबाट अलग गर्छ। यसमा स्पर्श, दबाब, तापक्रम, चिसो, र पीडा अनुभव गर्ने ग्राहीहरू (receptors) पनि हुन्छन्। छालामा दुई भाग हुन्छन्: एपिडर्मिस र डर्मिस। सुरक्षात्मक एपिडर्मिसले लगातार कोषहरू उत्पादन गर्छ, जुन माथि सतहतर्फ निरन्तर सर्ने गर्छ । त्यसरी सर्ने क्रममा ती चिप्लिन्छन्, मर्छन्, र छालाका कणहरूका रूपमा झर्छन्। पूरै जिउँदो, तल्लो डर्मिसमा रगतका नलीहरू, कपालका जराहरू, पसिना ग्रन्थीहरू, र संवेदीग्राहीहरू (sensory receptors) हुन्छन्।
छालाको रङलाई के निर्धारित गर्छ?
एपिडर्मिसको गहिराइमा मेलानोसायट (melanocytes) भनिने कोषहरूले मेलानिन नामक खैरो रङको ‘पिग्मेन्ट’ उत्सर्जन गर्छन्, जसले तपाईंको छालाको रङ निर्धारण गर्छ। मेलानिनले छालाका कोषहरूलाई क्षति पुर्याउन सक्ने सूर्यको हानिकारक पराबैजनी किरणहरू छान्ने काम गर्छ ।हामी सबैको शरीरमा करीब करीब एउटै संख्यामा मेलानोसायटहरू रहेका हुन्छन्, तर अलि गाढा रङ्गको छाला हुनेहरूमा यी कोषहरूले बढी मेलानिन उत्पादन गर्छन्।
गर्मी हुँदा किन पसिना आउँछ ?
तपाईंको छालाले तपाईंको शरीरको तापक्रमलाई स्थिर ३७°C (९८.६°F) मा राख्न मद्दत गर्छ। यदि गर्मी छ भने, छालाको सतहमा निस्किएको पसिना वाष्पीकरण भएर तपाईंलाई शितल बनाउँछ। त्यही समयमा, छालाको सतह नजिकका रक्तनलीहरू फराकिलो भएर ताप उत्सर्जन गर्छन्। यदि चिसो छ भने, पसिना उत्पादन रोकिन्छ र ती रक्तनलीहरू सङ्कुचित भएर ताप ह्रास रोक्छन्। र हामीलाई न्यानो अनुभूति हुन्छ ।
मेरा औँलाका छापहरू किन अनौठा छन्?
तपाईंको औँलामा भएका साना, घुमाउरा किनाराहरूले वस्तुहरू समात्न मद्दत गर्छन्। यिनले पसिनायुक्त ढाँचाहरू (sweaty patterns) पनि छोड्छन्, जसलाई औँठाछाप भनिन्छ। यी किनाराहरू हामी जन्मनुअघि नै विकसित भएका हुन्छन्, जसलाई आमाको गर्भाशयभित्रको वातावरणले निश्चित आकार दिन्छ। ती वातावरणीय सर्तहरू हरेक व्यक्तिका लागि फरक हुन्छन्, यहाँसम्म कि एउटै जुम्ल्याहा दाजुभाइ वा दिदीबहिनीमा पनि फरक हुन्छन्, जसका कारण औँठाछाप करिब करिब सबैमा भिन्नभिन्न अर्थात् नमिल्ने खालका हुन्छन्।
किन कपाल काट्दा दुख्दैन?
कपाल, नङ, र एपिडर्मिसको माथिल्लो तहमा एउटै विशेषता हुन्छ: ती जिउँदा कोषहरूद्वारा उत्पादित गरिए तापनि ती प्रायः मृत कोषहरू हुन्छन्, जसमा केराटिन नामक बलियो, जलरोधक प्रोटिन भरिएको हुन्छ। कपालको तन्तु (shaft) मृत कोषहरूले बनेको हुन्छ, त्यसैले कपाल काट्दा दुख्दैन। यही कारणले नङ काट्दा पनि पीडा हुँदैन।
औँलाका नङहरू कति छिटो बढ्छन्?
नङहरूले औँलाका टुप्पाहरूलाई सुरक्षा दिन्छन्, साना वस्तुहरू उठाउन मद्दत गर्छन्, र शरीर चिलायो भने कन्याउन सजिलो बनाउँछन्। नङको जराबाट बढ्दै, नङको शरीर अगाडि सर्दै नङको सतहमा फैलिन्छ, गर्मी महिनामा महिनाको करिब ५ मि.मि. (०.२ इन्च) बढ्छ, तर जाडो महिनामा बिस्तारै बढ्छ।
केही रोचक तथ्यहरू:
– अत्यन्त पातलो भए तापनि, ५ के.जी. (११ पाउन्ड) वजनसहित छाला शरीरको सबैभन्दा भारी अङ्ग हो । हाम्रो शरीरबाट प्रत्येक मिनेटमा ५०,००० छालाका कणहरू गुम्ने गर्छ।
– तपाईंको टाउकोमा करिब १,००,००० कपालका तन्तुहरू हुन्छन्, जुन प्रत्येक महिनामा करिब १० मि.मि. (०.४ इन्च) बढ्छ।
– दैनिक रूपमा ७५ देखि १०० कपाल झर्छन् र त्यसलाई नयाँ कपालले प्रतिस्थापन गर्छ।
Human Body, everything you never know about the human body बाट
सम्बन्धित सामग्री |

'प्राकृतिक छनौटद्वारा जातिहरूको उत्पत्ति' - संक्षिप्त अध्ययन

टाढा यात्राका लागि नक्सा

पेन्सिलिन: संयोगवश भएको एउटा महान आविष्कार !

चिनियाँ एआई डीपसिकको झट्का

क्वान्टम सिद्धान्त र द्वन्द्वात्मक भौतिकवाद

३३ अर्ब सूर्य बराबरको ब्लाकहोल पत्ता लाग्यो !

ला नीना र त्यसले पार्ने सम्भाव्य नकारात्मक असरहरु

प्रतिक्रिया