इजरायली अत्याचारविरुद्ध जुलुस र विरोधसभा
‘प्यालेष्टिनीहरुमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान, नेपाल’ले मंसिर ८ गते शनिवार राजधानी काठमाडैमा माइतीघर–नयाँ वानेश्वर मार्च गर्नुका साथै माइतीघर मण्डलामा विरोधसभा गरेको छ ।
माइतीघर मण्डलामा भेला भएको जनसमूहले माइतीघरबाट नयाँ वानेश्वरतिर मार्च गर्दै अघि बढेको थियो । सोही क्रममा प्रहरीले जुलुसलाई नयाँ वानेश्वर निषेधाज्ञा क्षेत्र रहेको र बिजुलीबजारको पुलबाट उता जान नपाइने बताएपछि जुलुस पुलबाट फर्केर पुन: माइतीघर मण्डलामा आइपुगेर जनसभामा परिणत भएको थियो ।
उक्त जनसभालाई सम्बोधन गर्दै वृहत् नागरिक आन्दोलनका डा. सञ्जीव उप्रेतीले आफूहरुले इजरायलले प्यालेष्टिनीहरुमाथि गरिरहेको अत्याचारका विरुद्ध बारम्बार आवाज उठाउँदै आइरहेको जनाउँदै कुनै पनि अत्याचारका विरुद्ध हुने यस किसिमको कार्यक्रममा सधैं साथ समर्थन रहने जनाएका थिए । उनले कुनै बेला आफैं उत्पीडित रहेको इजरायल यतिखेर भने उत्पीडकको भूमिकामा रहेको बताएका थिए ।
जनसभालाई अभियानमा सम्मिलित विभिन्न दलका प्रतिनिधिहरुले पनि सम्बोधन गरेका थिए । कार्यक्रमको वीचमा कलाकारहरुले प्यालेष्टिनीमाथि भइरहेको अत्याचारलाई झल्काउने मार्मिक सडक नाटक पनि प्रदर्शन गरेका थिए । त्यसैगरी कलाकारहरुले गीतसंगीत प्रस्तुत तथा कविहरुले कविता वाचन समेत गरेका थिए ।
जनसभाको सभापतित्व अभियानका संयोजक श्याम श्रेष्ठले गरेका थिए । प्रगतिशील रुपान्तर आन्दोलनका समेत संयोजक रहेका श्रेष्ठले इजरायलले गत अक्टोबर ७ पछि युद्ध शुरु गरेयता ४४ हजार प्यालेष्टिनीहरुको हत्या गरिसकेको बताएका थिए । विश्वचर्चित जर्नल ल्यान्सेटको हवाला दिँदै श्रेष्ठले औपचारिक रुपमा ४४ हजार माथि बताइए पनि त्यसरी मारिनेको संख्या १ लाख ८० हजारभन्दा बढी पुगिसकेको बताएका थिए ।
स्मरण रहोस्, ‘प्यालेष्टिनीहरुमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान, नेपाल’ले २१ औं शताब्दीकै सबैभन्दा बर्बर घटनामध्येको एक इजरायलले ‘आत्मरक्षाको अधिकार’को नाममा विगत एक वर्षदेखि प्यालेष्टाइनको गाजाक्षेत्रमा तथा पछिल्ला महिनाहरुमा लेवनानमा समेत चलाइरहेको मानवताविरोधी युद्ध र जनसंहारको विरुद्ध संयुक्त संघर्ष गर्दै आइरहेको छ । यसै सिलसिलामा यसअघि बृहत् अन्तर्क्रिया, इजरायली दूतावासमा धर्ना एवं ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न गरिसकेको छ भने भने उक्त घटनामा नेपाल सरकारले अपनाएको उदेकलाग्दो तटस्थताको नीतिलाई परित्याग गरेर ‘प्यालेस्टिनीमाथि भइरहेको इजरायली अत्याचारको विरुद्ध उभिन आव्हान गर्दै सम्माननीय प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र समेत बुझाइसकेको छ ।
प्रगतिशील रुपान्तरण आन्दोलनको पहलमा गठित उक्त अभियानमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बहुमत), नेकपा (संयुक्त), नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनता समाजवादी पार्टी, नेपाल, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल, बृहत नागरिक आन्दोलन, सामाजिक दायित्वका लागि चिकित्सकहरू, पिपुल्स हेल्थ मुभमेण्ट, नेपाल, विभिन्न ट्रेड युनियन संगठन तथा महासंघ, नेपाल फर प्यालेस्टाइन पिपुल, प्यालेस्टाइन सोलिडारिटी नेपाल, मानव अधिकारवादी संगठन र व्यक्तित्वहरु, बौद्धिक व्यक्तित्वहरू संलग्न रहेका छन् ।
प्रतिक्रिया