छिमेकीको भाँडो र होज्जाको चतुराइ

एक दिन नसरुद्दीन होज्जाले आफ्नो छिमेकीसँग एउटा ठुलो भाँडो सापटी लिए। केही दिनपछि, जब उनले त्यसलाई प्रयोग गरेर सके, उनले भित्र एउटा सानो भाँडो राखेर त्यो फिर्ता पठाए।
“यो के हो?” छिमेकीले सानो भाँडोतर्फ देखाउँदै सोधे।
“तपाईंको भाँडोले बच्चा जन्मायो,” होज्जाले जवाफ दिए।
छिमेकीले केही टिप्पणी नगरी भाँडो लिए।

केही दिनपछि, होज्जालाई फेरि ठूलो भाँडो चाहियो। उनले छिमेकीसँग फेरि भाँडो सापटी मागे। छिमेकीले खुशीसाथउनलाई पहिलेकै भाँडो दिए।

केही समय बित्यो, तर भाँडो फिर्ता आएन। छिमेकी होज्जाकोमा गएर सोधे, “होज्जा, मेरो भाँडो के भयो?”
“तपाईंको भाँडो त मर्‍यो,” होज्जाले शान्त भएर भने।
छिमेकीले विरोध गर्दै भने, “धैत के कुरा गरेको ? कहीँ भाँडो पनि मर्छ?”
होज्जाले जवाफ दिए, “तपाईंको भाँडोले अघिल्लो पटक बच्चा जन्माएको कुरा विश्वास गर्नुभयो, अब त्यसरी बच्चा जन्माउने भाँडो मर्न सक्छ भन्ने कुरामा चाहिँ विश्वास किन गर्न सक्नुहुन्न?”

होज्जाको तर्क सुनेर छिमेकीले कुनै जवाफ नै फर्काउन सकेनन् । उनी चुपचाप फर्किए ।