कोरियाली प्रायद्वीपको भविष्यमा नयाँ मोड: उत्तर कोरियाको एकीकरण नीति परिवर्तन

केही हप्ता अगाडि, उत्तर कोरियाले प्रायद्वीपको दक्षिणी भागसँग जोडिएका दुई मुख्य राजमार्गका भागहरू विस्फोट गरेर ध्वस्त पारेको थियो। पश्चिमी तटको ग्यङ्गुई लाइन र पूर्वी तटको डोङहे लाइन, जसले उत्तर र दक्षिणलाई जोड्ने दुई प्रमुख सडक र रेलमार्गको भूमिका निर्वाह गर्छ, विस्फोटक प्रयोग गरेर नष्ट गरियो। यसअघि नै प्योङयाङले दक्षिण कोरियाबाट आफूलाई "पूरै अलग्ग्याउने" उद्देश्यसहित दुई देशलाई जोड्ने सबै सडक र रेलमार्ग विच्छेद गर्ने चेतावनी दिएको थियो। यी सडक र रेलमार्गहरूलाई दुई कोरियाबीचको सहकार्यको प्रतीकका रूपमा लिइन्थ्यो।

उत्तर कोरियाले अहिले गरिरहेको काम अचानक गरेको होइन। यसको पछाडि उत्तर कोरियाको राज्यले आफ्ना नीतिमा ल्याएका केही परिवर्तनहरू रहेका छन्। सन् १९१० देखि १९४५ सम्म कोरिया जापानको उपनिवेश थियो। दोस्रो विश्वयुद्धको अन्त्यतिर सोभियत लाल सेनाले जापानी सेनालाई पराजित गर्दै कोरियाली प्रायद्वीपको उत्तरी भागलाई मुक्त गर्‍यो। सोभियत सेनाले चाहेको भए सजिलै पूरै कोरियालाई पनि कब्जा गर्न सक्थ्यो। तर दोस्रो विश्वयुद्धको समयमा अमेरिकासँगको गठबन्धनका कारण सोभियत सेना कोरियाको आधा भागमा सीमित रह्यो र दक्षिणी भाग अमेरिकालाई छोडिदियो। यसको केही समयपछि मात्रै अमेरिकी सेना दक्षिण कोरियामा प्रवेश गरेको थियो। सोभियत संघको अधीनमा रहेको भागमा किम इल सुङ्गको नेतृत्वमा कम्युनिस्ट सत्ता स्थापित भयो भने दक्षिणमा अमेरिका समर्थक सिङ्गम्यान रीको नेतृत्वमा सरकार बन्यो।

उत्तर कोरियाको सरकारले आफ्नो स्थापनाकालदेखि नै कोरियाको एकीकरणलाई आफ्नो मूल उद्देश्य मान्दै आएको थियो। एकीकरण गर्ने उद्देश्यकै कारण सन् १९५० मा कोरियाली प्रायद्वीपमा युद्ध सुरु भयो। तीन वर्षसम्म चलेको यस युद्धमा लाखौं मानिस मरेका थिए। सुरुमा उत्तर कोरियाली सेनाले सजिलै दक्षिण कोरियाको राजधानी सोल कब्जा गर्‍यो। पछि अमेरिकाले दक्षिण कोरियाको पक्षमा लड्दै उत्तर कोरियाली सेनालाई लखेट्दै चीनको सिमानासम्म पुर्‍यायो। त्यसबेला उत्तर कोरियाको समर्थनमा चीनले हस्तक्षेप गरेको थियो। चीनले लाखौं जन स्वयंसेवक सेना उत्तर कोरिया पठायो।

चिनियाँ सेनाले अमेरिकी सेनालाई पराजित गर्दै उनीहरूलाई दक्षिण कोरियातर्फ लखेट्यो। यो युद्ध तीन वर्षसम्म चल्यो। दशौं लाख मानिसहरूको मृत्युको बाबजुद पनि युद्ध त्यही पुरानो सीमाना अर्थात् ३८ औं समानान्तरमा समाप्त भयो, जहाँबाट यसको सुरुआत भएको थियो। कोरियाली युद्ध समाप्त भए पनि कोरियाली प्रायद्वीपको शान्तिपूर्ण एकीकरण उत्तर कोरियाली राज्यको विचारधाराको प्रमुख तत्व रहँदै आएको थियो। तर गत वर्षदेखि अचानक उत्तर कोरियाले एकीकरण सम्बन्धी आफ्नो नीतिमा आमूल परिवर्तन ल्याएको छ। सन् २०२४ को सुरुआतमै उत्तर कोरियाली नेता किम जोङ्ग उनले दक्षिण कोरियासँग मेलमिलापको खोजी नगर्ने र शान्तिपूर्ण एकीकरणको नीतिलाई संविधानबाट हटाउन निर्देशन दिएका थिए।

उनको यो भाषणपछि उत्तर कोरियाको राजधानी प्योंगयांगमा रहेको एकीकरणको प्रतीकका रूपमा बनाइएको स्मारक आर्क अफ युनिफिकेसनलाई विस्फोट गरेर ध्वस्त पारिएको थियो। किम जोङ्ग उनका अनुसार यो स्मारक आँखा बिझाउने काँडाजस्तै बनेको थियो। यो मूर्ति वर्तमान नेता किम जोङ्ग उनका पिता किम जोङ्ग इलले निर्माण गर्न लगाएका थिए। सन् २००१ मा अनावरण गरिएको यस स्मारकमा परम्परागत पोशाक लगाएका दुई जना कोरियाली महिलाले संयुक्त रूपमा एकीकृत कोरियाली प्रायद्वीपको चित्रलाई उठाएका थिए। स्मारकले उत्तर कोरियाली सरकारको दुई देशलाई पुनर्मिलन गर्ने चाहनालाई प्रतिबिम्बित गर्थ्यो। किमको यही धारणा अनुसार सन् २०२४ को अक्टोबर महिनामा उत्तर कोरियाको संसदले दक्षिणसँगको शान्तिपूर्ण एकीकरणको नीतिलाई परित्याग गर्दै त्यस देशलाई शत्रु राष्ट्र घोषित गर्‍यो।

त्यस्तै उत्तर कोरियाले दक्षिण कोरिया र जापानमा रहेका कोरियालीहरूलाई लक्षित गरेर प्योंगयांग प्रसारण स्टेशनबाट निरन्तर रेडियो प्रसारण गरिरहन्थ्यो। यो प्रसारण सन् १९५५ बाट सुरु गरिएको थियो। यस स्टेशनले उत्तर कोरियाको विचार र दृष्टिकोण प्रवाह गर्थ्यो। उत्तर कोरिया र दक्षिण कोरिया बीचका अनेकौं उतारचढावका बाबजुद पनि यो प्रसारण ६८ वर्षसम्म निरन्तर कायम रह्यो। दुवै देशबीच एक अर्काविरुद्ध प्रचारबाजी नगर्ने सहमति हुँदासमेत यो रेडियोको प्रसारण सेवा सुचारु थियो। तर यस वर्ष उत्तर कोरियाले यो रेडियो सेवा बन्द गर्‍यो।

कोरियालीहरूले कहिलेपनि आफुलाई अलग ठान्दैनन्। उनीहरूले आफूलाई सधैं एक ठान्छन्। कोरियाली भाषामा एउटा शब्द छ, मिन्जोक (Minjok), जसले सामान्यतया "राष्ट्र" वा "जातीय समूह" लाई जनाउँछ, तर यसले कोरियाली पहिचानको सन्दर्भमा गहिरो र सांस्कृतिक रूपमा विशिष्ट अर्थ राख्दछ। यसले मात्र साझा वंश, भाषा, र संस्कृतिको धारणा समेट्दैन, बरु ऐतिहासिक चेतना र सामूहिक एकताको भावना पनि समावेश गर्दछ।

कोरियाली प्रायद्वीप विभाजनको ७९ वर्षपछि उत्तर कोरियाले दक्षिणसँग लिएको शान्तिपूर्ण एकीकरण परित्यागको नीति निकै अनौठो मानिएको छ। उत्तर कोरियाको ठीक विपरीत, दक्षिणले भने अझै पनि एकीकरणको सम्भावनालाई कायम राखेको छ।

अगस्त २००१ मा किम इल सुङ्गले प्रस्ताव गरेको कोरियाली पुनर्मिलनको सम्झनामा बनाइएको पुनर्मिलनको स्मारक, जसलाई आधिकारिक रूपमा राष्ट्रिय पुनर्मिलनको तीन-बिन्दु चार्टरको स्मारक भनिन्छ । यो कलात्मक स्मारक उत्तर कोरियाको राजधानी प्योंगयाङको दक्षिणतर्फ अवस्थित छ । Image: https://en.wikipedia.org