मरेपछि हाम्रो शरीरमा के हुन्छ ?

मस्तिष्कले काम गरिरहनु, मुटुको घड्कन कायम रहनु, शरीरमा रक्त प्रवाह भइरहनु, हामीले सास फेर्न सक्नु,  हिँडडुल गर्न, बोल्न, देख्न, खान सक्नु लगायतका कुराहरुले हामी जीवित रहेको कुरा देखाउँछ । तर जब हाम्रो शरीरले ती कामहरु गर्न छोड्छन्, तब हामी मर्छौं । अर्को भाषामा भन्दा, हामी मरेपछि हाम्रा शारीरिक क्रियाहरु रोकिन पुग्छ ।

"मर्नु" भन्नाले जीवनको अन्त्य हुनु, वा शरीरको जैविक क्रियाकलापहरू स्थायी रूपमा बन्द हुनु हो । हामी मरेपछि हाम्रा शरीरका सबै प्रमुख अंगहरूको क्रियाकलाप रोकिन्छ, जस्तै हृदयको धड्कन, श्वासप्रश्वास र मस्तिष्कको कार्य। मर्नु भनेको जीवित रहनका लागि आवश्यक सबै जैविक र रासायनिक प्रक्रियाहरूको स्थायी रोकावट हो।

हाम्रो मृत्यु भएपछि शरीरलाई जीवित राख्ने जटिल कार्यहरू बन्द हुन्छन्।

मुटुले शरीरमा रगत पठाउने कार्य गर्न रोकिएपछि शरीरका कोषहरुमा अक्सिजन जान पाउँदैन । फलत:  शरीरका कोषिकाहरू मर्न थाल्छन्। मांसपेशीहरूले प्रारम्भिक रूपमा तिनीहरूको तनाव गुमाउँदै, पूर्ण रूपमा विश्राम गर्छन् - यसलाई प्राथमिक मांसपेशी सुस्ती (primary flaccidity) भनिन्छ। यस्तो हुनुको एउटा कारण चाहिँ पहिले मांसपेशीका संकुचनले थामेर राखेका शरीरका तरल पदार्थले आफ्नो स्थानमा अडिएर रहन नसक्नु पनि हो ।

ताजा रगतको प्रवाह नपाउँदा छाला पहेलो वा फुस्रो देखिन थाल्छ । एकाध घण्टामा नै शरीरमा मृत्युका प्रत्यक्ष संकेतहरु देखिन थाल्छन् जसलाई रिगर मोर्टिस (rigor mortis) भनिन्छ। यस अवस्थामा शरीरका मांसपेशीहरु कडा भएर तन्किन तथा कक्रिन थाल्छ । शरीरका मांसपेशीहरूको यो विशिष्ट कठोरता मांसपेशीका रेशाहरूको भित्र चल्ने बायोकेमिकल परिवर्तनहरूको कारणले हुन्छ । मांसपेशीहरूलाई खुम्चाउने र फैलाउने तत्त्वहरु ऊर्जा सञ्चयको कमीले कक्रिन थाल्छ । रिगर मोर्टिस प्रायः पहिले अनुहार र मस्तिष्कको साना मांसपेशीहरूमा देखा पर्छ, र त्यो  शरीरभरि फैलिन्छ। करिब १२ घण्टाको समयावधिमा यो तीब्र रुपमा घटिन हुन्छ र उच्चतम तीव्रता पुग्छ । त्यसबेला पूरै शरीर कक्रिन्छ । तर  त्यसको दुईदेखि तीन दिनमा त्यो प्रक्रिया क्रमशः घट्न थाल्छ। शरीर पनि प्रतिघण्टा करिब  १.५°F (०.८°C) को दरले चिस्सिन थाल्छ । यस प्रक्रियालाई अल्गोर मोर्टिस (algor mortis) भनिन्छ।

मृत शरीरले आफ्नो तापक्रमलाई स्थिर राख्न सक्दैन । त्यो वरिपरिको  वातावरणको तापक्रमसँग अनुकूल हुन थाल्छ। रिगर मोर्टिस शुरु हुँदादेखि नै शरीरका मांसपेशीहरु भित्रबाट सड्ने प्रक्रियाको थालनी भइसकेको हुन्छ ।  यसलाई अटोलेसिस (autolysis) भनिन्छ। यो "आत्मपाचन" प्रक्रियामा कोषिकाहरूका एन्जाइमहरू अब आफ्नो कोषिकाका सिमानाभित्र मात्र सीमित नरही बाहिर निस्कन्छ र वरिपरिका कोशिकाहरूलाई भत्काउन थाल्छ। अर्थात शरीर आफैंलाई भित्रबाट सड्ने गल्ने प्रक्रिया चल्न थाल्छ ।

अब मृत शरीर गल्ने प्रक्रिया तीब्र हुन थाल्छ । यसमा शरीरिभत्र तथा बाहिर रहेका ब्याक्टेरियाहरुले मुख्य भूमिका खेल्न थाल्छ । कुहाउने ब्याक्टेरियाहरुको संख्यामा तीब्र बृद्धि भएर जान्छ ।  त्यसबाहेक, परजीवी कीराहरुपनि मृत शरीरमा आकर्षित भएर त्यसमा अण्डा पार्न थाल्छ ।  

यी जीवाणुहरूले सडिरहेका टिश्युहरूलाई पचाउन थाल्छ । यसक्रममा उत्पन्न हुने ग्याँसहरूले मृत शरीर फुल्लिन पनि सक्छ । जति जति मृत शरीर भित्रभित्रै सड्ने प्रक्रिया तीब्र हुँदै जान्छ, मृतकको  छाला हरियो वा बैजनी रंगको हुने सम्भावना हुन्छ। हप्ता र महिनाको अन्त्यमा, मृत शरीरको सबै मांसपेशीहरु गलेर–पचेर केवल हड्डी र दाँत मात्र बाँकी रहन्छ। शरीरको अन्तिम अवस्थामा हड्डीको रूपको परिवर्तनलाई स्केलेटनाइजेसन (skeletonization) भनिन्छ।

पर्यावरणीय घटकहरूले यो प्रक्रिया कति समय लाग्नेछ भन्ने कुरा निर्धारण गर्न ठूलो भूमिका खेल्दछन्। तातो र आर्द्र अवस्थामा, स्केलेटनाइजेसन एक वा दुई वर्ष भित्र हुन सक्छ। चिसो, सुख्खा जलवायुमा वा  हिँउ, बरफमा पुरिएको अवस्थामा वा शवगृहमा सुरक्षित राखिएको अवस्थामा यो प्रक्रियाले दशकौं वा शताब्दीयौं समय पनि  लिन सक्छ।

खासगरी, वातवरणको तापक्रम, आर्द्रता, लासभक्षी जनावरहरूको पहुँच, मृत्युको कारण, र यहाँसम्म कि लुगाको उपस्थितिले सडनको समयरेखा र रूपलाई प्रभावित गर्न सक्छ। मृत्युपछि शरीरको रूपलाई केही समयसम्म जोगाएर राख्न, केही व्यक्तिहरूले आफ्ना प्रियजनहरूलाई रासायनिक विधिबाट सुरक्षित राख्न पनि सक्छन् । यस प्रक्रियालाई एम्बालम (Embalm) भनिन्छ । यो भनेको  शरीरलाई संरक्षण गर्ने प्रक्रिया हो जसमा विशेष रासायनिक पदार्थहरूको प्रयोग गरी मृत शरीरलाई सड्नबाट रोक्न प्रयास गरिन्छ। यो प्रक्रिया विशेषगरी शवलाई केही समयसम्म राम्रो अवस्थामा राख्नका लागि गरिन्छ, ताकि अन्तिम संस्कार वा अन्त्येष्टि कार्यहरू गर्न सजिलो होस्। एम्बाल्मिंगको मुख्य उद्देश्य भनेको मृत शरीरमा रहेका जैविक प्रक्रियाहरूलाई रोक्नु हो, जसले शरीरलाई तत्काल विग्रनबाट बचाउँछ।

एम्बाल्मिंगमा प्रायः रासायनिक पदार्थहरू, जस्तै फर्माल्डिहाइड, मेथानोल र अन्य संरक्षकहरूलाई शरीरमा प्रवाह गरिन्छ। यसले ब्याक्टेरिया तथा अन्य सूक्ष्म जीवहरूको वृद्धि रोक्छ, जसले सडनको प्रक्रिया ढिलो पार्छ। यो विधि विशेष गरेर प्राचीन मिस्रको ममी बनाउने प्रक्रियामा प्रचलित थियो, जहाँ मृत शरीरलाई लामो समयसम्म संरक्षित गर्नका लागि विशेष उपायहरू अपनाइन्थ्यो।

वास्तवमा मृतशरीर सड्ने गल्ने र माटोमा मिल्ने प्रक्रियाले पोषक तत्वहरू वातावरणीय प्रणालीमा पुन: जाने काम सम्पन्न भइरहेको हुन्छ ।

 

सम्बन्धित

मरेपछि किन शरीर कक्रिन्छ ?