थाहा हुनेले थाहा नहुनेलाई बताइदिनू !

नसरुद्दीन नाम चलेका विद्वान थिए । एक दिन उनलाई प्रवचन दिन गाउँमा बोलाइयो। जब उनी मञ्चमा पुगे, उनले सोधे, "के तपाईंहरूलाई थाहा छ म के विषयमा कुरा गर्न गइरहेको छु?"

दर्शकहरूले "छैन" भनेर उत्तर दिए। त्यसपछि उनले भने, "म तिनीहरूलाई प्रवचन दिन चाहन्न जसलाई थाहा नै छैन कि म के बारेमा कुरा गर्नेछु!" त्यति भनेर उनी त्यहाँबाट हिँडेर गए।

यो देखेर सबैलाई लाज लाग्यो, र भोलिपल्ट फेरि उनलाई बोलाइयो। यस पटक पनि नसरुद्दीनले सोधे, "के तपाईंहरूलाई थाहा छ कि म के विषयमा कुरा गर्न गइरहेको छु?" दर्शकहरूले "हो" भनेर जवाफ दिए।

त्यसपछि नसरुद्दीनले भने, "ठिक छ, तपाईंहरूलाई थाहा नै छ भने म तपाईंहरूको समय बर्बाद गर्दिन।" र फेरि उनी हिँडेर गए।

अब सबै साँच्चै अचम्ममा परे। अन्ततः, नसरुद्दीनलाई फेरि फकाइयो र प्रवचन दिन बोलाइयो । मञ्चमा पुगेपछि फेरि उनले सोधे, "के तपाईंलाई थाहा छ कि म के विषयमा कुरा गर्न गइरहेको छु?"

यस पटक, केहीले "थाहा छ" र केहीले " थाहा छैन" भनेर जवाफ दिए।

त्यो सुनेर नसरुद्दीनले हाँस्दै भने, "जसलाई थाहा छ, उसले थाहा नभएकालाई बताइदिनुहोस् !" यसो भनेर फेरि उनी मञ्च छाडेर हिँडे ।