चिक्सुलब क्रेटर: डायनोसर लोप गराइदिने भयानक घटनाको उपज

यस संसारबाट जीवनलाई नष्ट गरिदिने थुप्रै घटनाहरु भएको विश्वास गरिन्छ । त्यसमध्येको एउटा भयानक घटना पृथ्वीमा उल्कापिण्ड ठोक्किँदा भएको थियो, जुन घटनाले यस धर्तीमा कुनैबेला रजगज गरेर विचरण गर्ने समुच्च डायनोसरहरु लगायत थुप्रै जीवजन्तुहरुको नामोनिशान मेटाइदिएको थियो । सोही घटनाको साक्षी बनेर रहेको एउटा विशाल खाल्डो अर्थात् क्रेटर मेक्सिकोको युकाटन प्रायद्वीपमा छ । उक्त विशायल क्रेटरलाई चिक्सुलब क्रेटर (Chicxulub Crater)  भनिन्छ ।

चिक्सुलब क्रेटर पृथ्वीको भूगर्भीय इतिहासमा एक अत्यन्तै महत्वपूर्ण स्थल हो। यो क्रेटर मेक्सिकोको युकातान प्रायद्वीपमा अवस्थित छ र समुद्र तथा भूमिमा फैलिएको छ। यो लगभग १८० किलोमिटर चौडा र २० किलोमिटर गहिराइ भएको क्रेटर हो, जुन करिब ६६ मिलियन वर्षअघि, एक महाकाय उल्का (asteroid) पृथ्वीमा ठोक्किँदा बनेको थियो। यो ठक्करले पृथ्वीको जलवायु, वातावरण, र जीवाश्मीय संरचनामा व्यापक परिवर्तन ल्याएको थियो।

चिक्सुलब क्रेटर कसरी बन्यो?

त्यसबेला करिब १०–१५ किलोमिटर चौडाइको उल्का (क्षुद्रग्रह) पृथ्वीको वायुमण्डलमा प्रवेश गरी तीव्र गतिमा पृथ्वीमा ठोक्किएको थियो। त्यस ठक्करको समयमा असीमित ऊर्जा उत्सर्जन भएको थियो । वैज्ञानिकहरुको अनुमानमा त्यो बेला पैदा भएको उर्जा १०० मिलियन मेगाटन TNT बमको विष्फोट बराबरको ऊर्जा थियो ।

उक्त  ठक्करले एक विशाल ज्वालामुखीय विस्फोट, अत्यधिक ताप, र विशाल आगोको लप्कालाई उत्पन्न गरेको थियो। ठक्करपछि धुलो, ग्यास, र धुवाँको बादलले सम्पूर्ण वायुमण्डललाई ढाकिदियो, जसले घामको प्रकाशलाई करिब करिब पूरै रोकिदियो । घामको प्रकाश धर्तीसम्म आउन नसकेपछि  पृथ्वीको तापक्रममा ठूलो गिरावट आयो । यस प्रक्रियाले त्यसबेला ग्लोबल कूलिङ (global cooling) वा "विनाशकारी हिउँयुग" (impact winter) निम्त्यायो।

घटनाको महत्त्व

चिक्सुलब क्रेटरको ठक्करले पृथ्वीमा रहेका ७५% जीव प्रजातिहरूलाई नष्ट गरिदिएको विश्वास गरिन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, उक्त घटनाले त्यसबेला पृथ्वीमा राज गरेर बसेको जीव डायनासोरहरूको समूल अन्त्य गर्‍यो । त्यो त्यसबेलाको सबैभन्दा भयानक एवं दु:खद घटना थियो । तर उक्त घटनाको सकारात्मक पक्ष के रह्यो भने त्यसले साना स्तनधारीहरूको विकासको लागि मार्ग प्रशस्त गर्‍यो। कतिसम्म भन्ने गरिन्छ भने सोही घटनाले गर्दा नै पृथ्वीमा मानव जातिको क्रमिक विकास सम्भव भएको थियो। वैज्ञानिकहरूका अनुसार, यदि चिक्सुलब घटनाले डायनासोरहरूलाई नष्ट नगरेको भए, सम्भवतः मानव लगायतका अहिले पृथ्वीमा अस्तित्ववान रहेका स्तनधारीहरू विकसित हुने नै थिएन । त्यस अर्थमा उक्त घटनालाई मानव जातिको हितमा इतिहासकै अत्यन्तै महत्त्वपूर्ण घटना मान्ने गरिन्छ ।

मानव जातिका लागि सन्देश

चिक्सुलब क्रेटरको अस्तित्वले हामीलाई प्रष्ट रुपमा नै पृथ्वीमा कुनै पनि बेला जीवनलाई समाप्त पारिदिन सक्ने खगोलीय घटनाहरु हुन सक्ने कुरामा सजग गराउँदछ । त्यसले प्राकृतिक एवं ब्रह्माण्डीय घटनाहरू, जस्तै क्षुद्रग्रहको ठक्करले पृथ्वीको जलवायु, पर्यावरण, र जीवनको संरचनालाई व्यापक रूपमा परिवर्तन गर्न सक्छ भन्ने कुराबारे हामीलाई सचेत गराउँदछ ।

जीवाश्मा विज्ञानले त्यस किसिमका ठूला ठक्करहरूले ठूलो मात्रामा जीवहरूको विनाश गर्ने तथा पृथ्वीको जैविक सन्तुलनमा परिवर्तन ल्याउने सम्भावनालाई उजागर गर्दछ । त्यसले हामीलाई जीवनको अनिश्चिततालाई स्वीकार्न र प्राकृतिका बदलाहरूसँग जुध्न तयार रहन चेतावनी दिन्छ।

तर साथसाथै त्यसले सकारात्मक पाटोतिर पनि हामीलाई संकेत गर्छ । विशेष गरी उक्त ठक्करले नै पृथ्वीमा स्तनधारीहरूको युग ल्यायो, जसले अन्ततः मानव जातिको उदयको लागि मार्ग प्रशस्त गरिदिएको थियो। यसले देखाउँछ कि प्राकृतिक आपदाहरूको नतिजा विध्वंशकारी भए पनि त्यस सँगसँगै केही सकारात्मक कुराहरु पनि बोकेर आएको हुन्छ ।  

सारमा भन्दा चिक्सुलब क्रेटरको निर्माण केवल एउटा खगोलिय घटना मात्र नभएर पृथ्वीको जीवन चक्रमा निर्णायक मोडको प्रतीक हो। यसको उत्पत्ति, प्रभाव, र परिणामले हामीलाई जीवन, प्रकृति, र पृथ्वीको भविष्यको विषयमा गम्भीर सोच्न बाध्य बनाउँछ। यस घटनाले मानवजातिलाई आफूलाई जोगाउन र भविष्यमा यस्ता सम्भावित घटनाहरूसँग सामना गर्नका लागि प्रविधि र वैज्ञानिक ज्ञानको विकासमा निरन्तर ध्यान दिनुपर्छ भन्ने महत्त्वपूर्ण सन्देश पनि दिन्छ ।

Image: https://www.dinosaur-universe.com