कमिलाले पनि शल्यक्रिया गरेर घाइते साथीको ज्यान बचाउँछ !
कमिलाहरूले शल्यक्रिया गरेर आफ्नो घाइते साथीहरूको जीवन बचाउँछन् भन्ने कुरा सुन्दा के तपाईंलाई विश्वास लाग्छ ? पक्कै पनि लाग्दैन । कहीँ कमिलाले पनि शल्यक्रिया गर्छ र ? स्वभाविक रुपमा तपाईंको मनमा यो प्रश्न उब्जिइहाल्छ । तर अचम्म नमान्नुहोस्, यो कुरा सत्य हो । आफ्ना कुनै साथी कमिला घाइते हुँदा उसलाई सहयोग पुर्याउन कमिलाले अनौठो तर प्रभावकारी उपाय अपनाउँछन्। कतिसम्म भने घाइते साथीहरूको खुट्टा काटेर उनीहरूले संक्रमण फैलिनबाट जोगाउँछन्।
कमिलाहरूको अंग काट्ने प्रक्रिया
घाइते साथी कमिलाहरूको खुट्टामा चोटपटक लाग्दा, उनीहरूले घाउ ठूलो हुन नदिन र संक्रमण (इन्फेक्शन) फैलन नदिन उसको अंग काटिदिने गर्छ। यस प्रक्रियाद्वारा घाइते कमिलाको संक्रमित अंग हटाइन्छ र उक्त संक्रमण कमिलाको शरीरका स्वस्थ भागमा फैलिन पाउँदैन र घाइते कमिलालाई बाँच्न सहयोग मिल्छ। यो शल्यक्रिया जस्तो देखिने प्रक्रिया कमिलाहरूको प्राकृतिक व्यवहारकै एक हिस्सा हो। यसअघि अन्य कीराहरूमा घाउ चाटेर सफा गर्ने प्रवृत्ति रहेको पाइन्छ । तर यसरी घाइते अङ्गलाई नै काटेर फ्याँक्ने गरेको तथा कुनै जनावरले यस किसिमले जटिल उपचार विधि अपनाएर घाउ ठीक गरेको चाहिँ कमिलामा पहिलो पटक पाइएको हो।
घाउको प्रकारअनुसार फरक प्रतिक्रिया
अनुसन्धानले देखाएको छ कि कमिलाहरूले घाउको स्थान अनुसार त्यसको उपचार गर्ने क्रममा भिन्न व्यवहार गर्छन्। यदि घाउ माथिल्लो खुट्टामा छ भने, साथी कमिलाहरूले त्यहाँको अंग काट्छन्। तर यदि तल्लो खुट्टामा चोट लाग्छ भने, चाटेर सफा गर्ने प्रयास गर्छन्। कमिलाहरूमा संक्रमण छिटो फैलिने भएकाले उनीहरूले कसरी घाउको प्रकारअनुसार प्रतिक्रिया दिन्छन् भन्ने कुरा विशेष अध्ययनको विषय बनेको छ।
शल्यक्रिया किन प्रभावकारी छ?
शल्यक्रियाले संक्रमण फैलनबाट रोक्न मद्दत गर्छ। खासगरी माथिल्लो खुट्टाको अंग काट्दा जीवित रहने सम्भावना बढी हुन्छ, जबकि तल्लो खुट्टाको संक्रमणले कमिला छिटो मर्छ, किनकि त्यस क्षेत्रको संक्रमणले रक्तसञ्चार प्रणालीलाई प्रभावित गर्छ।
सामाजिक कीराहरूको अद्भुत अनुकूलन
यो अनुसन्धानले समूहमा बस्ने अर्थात् सामाजिक कीराहरू (जस्तै कमिला) ले आफ्नो बस्तीलाई बचाउन अपनाएका अनुकूलनहरू देखाउँछ। धेरैजसो कमिलाहरू खाना खोज्ने क्रममा वा बाहिरी शत्रुको हमलाबाट आफ्नो गुँड जोगाउने क्रममा घाइते बन्ने गर्छन् । त्यसरी घाइते बनेका कमिलाको घाउको उपचारले तिनीहरूलाई काममा फर्केर बस्तीलाई सहयोग गर्न सक्षम बनाउँछ।
सारमा भन्दा, कमिलाहरूको यो अनौठो व्यवहारले सामाजिक कीराहरूमा अनुकूलनका क्रममा विकास भएका जटिल व्यवसहार तथा परिपक्वतालाई देखाउँछ।
प्रतिक्रिया