गाजा र लेवनानमा इजरायली बर्बरता ‘युद्ध अपराध’को तहमा: नेपालका प्रगतिशीलहरु विरोधमा उत्रिए !

Image: https://cdn.presstv.ir

गत वर्षको अक्टोबर ७ मा प्यालेष्टिनी प्रतिरोधी समूह हमासले इजरायली भूमिभित्र आकस्मिक हमला गरी ११३९ जनाको हत्या तथा २०० जनालाई बन्धक बनाएपछि इजरायल सरकारले प्यालेष्टिनीहरु विरुद्ध वर्बर युद्ध चलाउँदै आएको छ । रोम विधानलगायत विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुले समेत निषेध गरेको ‘युद्धको समयमा समेत गैरसैनिक इलाकाहरुमा आक्रमण गर्न नहुने’ प्रावधानहरु तथा मानवतालाई समेत धज्जी उडाउँदै इजरायलले नागरिक आवास क्षेत्र, अस्पताल, शरणार्थी शिविरहरुमा समेत बमबर्षा गरी हज्जारौँ निर्दोष प्यालेस्टाइनी र लेबनानी जनतामाथि अन्धधुन्ध बमबर्षा गरेर निर्ममतापूर्वक सामूहिक हत्याकाण्ड मच्चाउँदै आएको छ ।

प्रतिशोधको अन्धता अनि युद्धको दावानालमा आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्ने लहडमा इजरायली प्रधानमन्त्री नेतेन्याहुको सरकारले पत्रकार, मानवीय सहायताकर्मी, स्वास्थ्यकर्मी तथा राष्ट्रसंघीय शान्ति सेनाहरुलाई समेत तारो बनाउँदै आएको छ भने राष्ट्रसंघका महासचिवलाई इजरायल प्रवेश गर्न रोक लगाउने काम समेत गरेको छ ।

अचम्म र उदेकलाग्दो कुरा त के छ भने ‘इजरायलको आत्मरक्षा गर्ने अधिकार’को नाममा उसको यस बर्रबरतालाई ‘विश्व प्रजातन्त्रका ठेकेदार’ अमेरिका तथा उसका पिछलग्गु पश्चिमा मुलुकहरुले समेत साथ दिँदै इजरायललाई विनाशकारी हतियार तथा आर्थिक सहयोग गर्दै आएको छ । इजरायलले मच्चाएको यो बर्बरतासामु संयुक्त राष्ट्रसंघ समेत निरीह र र नाकाम देखिएको छ । भनिबस्नै पर्दैन, यस घटनामा नेपालले पनि उदेकलाग्दो तटस्थता देखाएर ‘इजरायलको युद्धअपराधका नैतिक समर्थक’का रुपमा आफूलाई उभ्याउँदै आएको छ ।

यस विषम परिस्थितिमा इजरायलको बर्बर एव नृशंस नरसंहार र जातीय सफायाविरुद्ध बोल्न र आफूलाई उभ्याउन नेपाल सरकारले तीघ्रा कमाए पनि नेपालका प्रगतिशील समूहले भने आवाज मुखर गर्न थालेका छन् । यसक्रममा प्रगतिशील रुपान्तरण आन्दोलनको पहलकदमीमा इजरायलको बर्बरताविरुद्ध आवाज उठाउने विरोध गर्ने काम शुरु भएको छ । त्यसैको पछिल्लो कडीमा ‘इजरायलले गरेको नृशंस नरसंहार र जातीय सफायाविरुद्ध’ विभिन्न वामपन्थी पार्टीहरु, प्रगतिशील समूह तथा व्यक्तित्वहरुले एक संयुक्त प्रेस वक्तव्य जारी गरेका छन् ।

यो पनि पढ्नुहोस्

के नेपाली समाज मृत समाजमा रूपान्तरित भएकै हो त ?

असोज ३० गते जारी गरिएको उक्त प्रेस वक्तव्यको पूर्ण पाठ यस प्रकार रहेको छ–

इजरायलले गरेको अत्याचारको प्रतिरोध स्वरुप गत वर्ष हमासले गरेको आक्रमणको बदलामा इजरायल सरकारले हज्जारौँ निर्दोष प्यालेस्टिनी र लेबनानी सर्वसाधारण जनताको ज्यान लिएको र लाखौँलाई नियतपूर्वक आफ्नो जन्मभूमिबाट लखेटेको घटनाबाट नेपाली जनता अत्यन्त आक्रोशित र दुःखित भएका छन् । गाजाको निर्वाचित सरकारको आधिकारिक तथ्याङ्कअनुसार गत वर्ष ७ अक्टोबरयता इजरायली आक्रमणबाट मात्र ६९ प्रतिशत महिला र केटाकेटीसहित ४२ हजारभन्दा ज्यादा निर्दोष प्यालेस्टिनी सर्वसाधारण जनता मारिएका छन् । गाजा क्षेत्रबाट मात्र १९ लाख प्यालेस्टिनी अर्थात त्यस क्षेत्रको ८५ प्रतिशत जनसंख्यालाई आफ्नो घर र बासस्थान छोडेर विस्थापित हुन बाध्य तुल्याइएको छ । इजरायलको आक्रमणबाट गत एक वर्षमा गाजामा मारिएका बालबालिका र महिलाको संख्या त्यति नै हुन्छ, जति गएको बीस वर्षमा विश्वभरिको युद्धमा मारिएका बालबालिका र महिलाको संख्या हुन्छ । यो घटनालाई एक्काइसौँ सताब्दीकै सबैभन्दा ठूलो जातीय नरसंहार एवं जातीय सफाया भन्न सकिन्छ । हामी यस राज्य–नियोजित हिंसाको घोर निन्दा एवं भर्त्सना गर्दछौँ ।

यो इतिहाससिद्ध तथ्य हो कि समग्र प्यालेस्टाइन प्यालेस्टिनी जनताको युगौँदेखिको आफ्नो मातृभूमि हो । परन्तु युरोपमा छरिएर रहेका यहुदीहरूलाई देश प्रदान गर्ने ध्येयले तत्कालीन ब्रिटीश उपनिवेशवादले सैन्यशक्तिकै आडमा संयुक्त राष्ट्रसंघको एउटा प्रस्तावमार्फत प्यालेस्टाइनलाई टुक्र्याएर सन् १९४८ मा ‘इजरायल’ जन्माएको जगजाहेर छ । प्यालेस्टिनी जनताको तीब्र बिरोधका बाबजुद त्यतिबेला छुट्ट्याइएको त्यही सीमामा मात्र इजरायल शान्तिपूर्वक रहेको भए ‘सहअस्तित्वको सिद्धान्त’लाई ढिलो छिटो स्विकार्न विश्व जनमतलाई त्यति गाहो हुने थिएन । तर नयाँ महाशक्ति अमेरिकाको उक्साहट र पृष्ठपोषणमा इजरायलको यहुदीवादी सरकार भीषण दमन र राज्य आतङ्कको सहाराले योजनाबद्ध ढंगले प्यालेस्टिनी भूमि बलपूर्वक खोस्दै–खुम्च्याउँदै, प्यालेस्टिनी जनतालाई आफ्नै भूमिबाट बिस्थापित गराउँदै आफ्नो सीमा विस्तारको कार्यमा लाग्यो । अहिले त हिजबोल्लाहले आक्रमण गरेको निहुँमा ऊ लेबनानमाथि समेत आक्रमण गर्न अघि सरेको छ । यो द्वन्द्वले अब इरानलगायत पुरै पश्चिम एसियालाई अँचेट्ने छाँट देखिँदैछ । अमेरिकाको हातहतियारजन्य रणनीतिक आडभरोसा र इजरायल सरकारको विस्तारवादी मानसिकता नै पश्चिम एसियामा आजको हिंसात्मक द्वन्द्वको मूल श्रोत हो भत्रे हामीलाई लागेको छ । इजरायलको यो घृणित विस्तारवादी परियोजनालाई साथ दिने कुनै पनि शक्ति/महाशक्तिप्रति हामी खेद प्रकट गर्दछौँ ।

प्यालेस्टिनी तथा लेबनानी जनताको भूअखण्डता र सार्वभौम अधिकारको सम्मान गर्दै र उनीहरूको न्यायपूर्ण आवाजप्रति गहिरो ऐक्यबद्धता जनाउँदै हामी इजरायलले गरेको क्रुर र बर्बर युद्ध तुरुन्त बन्द गर्न माग गर्दछौँ । इजरायलको यो बर्बरतापूर्ण हिंसाको बिरुद्ध प्यालेस्टिनी तथा लेबनानी जनताका पक्षमा देशको मत अभिव्यक्त गर्न हामी नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ । ज्यान जाने भयले गत वर्षयता ५ लाखभन्दा ज्यादा इजरायलीहरू आफैँले इजरायल छोडेको स्थिति छ । यस्तोमा आफ्नो जीवनमाथि खेलवाड हुनेगरी मृत्युको धराप जस्तो भएको इजरायल, गाजा र लेबनानमा कदापि नजान हामी सबै नेपाली नागरिकलाई हार्दिक आह्वान गर्दछौँ । युद्ध चलिरहुञ्जेल श्रमको सिलसिलामा इजरायल र लेबनान गएका नेपालीको जीवनरक्षाको लागि बेलैमा उनीहरूलाई नेपाल फर्काउने कदम चाल्न तथा तुरुन्तै पठाउन लागेको नेपाली श्रमिकलाई निश्चित समय रोक्न पनि हामी नेपाल सरकारलाई अपील गर्दछौं । बिपीन जोशीलाई यथाशीघ्र नेपाल फर्काउनका लागि कूटनीतिक/राजनीतिक सम्बन्धका सबै उपाय अपनाउन समेत हामी नेपाल सरकारलाई आग्रह गर्दछौँ । राष्ट्रसंघीय शान्तिसेनामाथि इजरायलले थालेको आक्रमण तुरुन्त रोक्न हामी आग्रह गर्दछौ । साथै, न्याय र शान्तिको पक्षमा उठेको विश्वव्यापी आवाज, अन्तर्राष्ट्रिय नियम मर्यादाको उल्लंघन गर्ने, युद्ध अपराध गर्ने, तथा गाजा क्षेत्रमा चरम मानवीय संकट सिर्जना गर्ने इजरायलको अन्धयहुदीवादी सरकारलाई सशक्त कारबाही गर्न विश्व समुदायलाई आह्वान गर्दछौँ ।

हामी इजरायल सरकारलाई अबिलम्ब सम्पूर्ण आक्रामक गतिविधि, नृशंस नरसंहार र जातीय सफायाका गतिविधि रोक्न, राष्ट्रसंघलाई पुनर्निर्माण र मानवीय सहायताका कार्य गर्नंदिन, विस्थापित प्यालेस्टिनीहरूलाई आफ्नो बासस्थानमा फर्किन दिन जोडदार माग गर्दछौँ। साथै द्वन्द्वरत सबै पक्षहरूलाई आक्रमण रोकेर तुरुन्तै युद्धविराम गर्न र सम्वादबाट समस्याको दिगो समाधान निकाल्न आह्वान गर्दछौँ।

उक्त वक्तव्यमा हस्ताक्षर गर्नेहरुको नामावली यस प्रकार रहेको छ–

मोहनविक्रम सिंह, महामन्त्री, नेपाल कम्युनिष्ट पार्टी (मसाल)

देव गुरुङ, महासचिव, नेकपा (माओवादी केन्द्र )

घनश्याम भुसाल, महासचिव, नेकपा (एकीकृत समाजवादी)

राजेश नेपाली, अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल

कृष्ण शर्मा, प्रवक्ता, नेपाल समाजवादी पार्टी

दीपक चलाउने, कार्यालय सदस्य, नेकपा बहुमत

लोकनारायण सुवेदी, संयोजक, राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल

श्याम श्रेष्ठ, संयोजक, प्रगतिशील रुपान्तरण आन्दोलन,नेपाल

डा.महेश मास्के, प्रमुख सम्पादक, वामपन्थ

डा.गणेश गुरुङ, अध्यक्ष, सामाजिक उत्तरदायित्वको लागि चिकित्सक नेपाल

डा शरद वन्त, संयोजक, पिपुल्स हेल्थ मुभमेण्ट,नेपाल

डा. सञ्जीव उप्रेती, वृहत् नागरिक आन्दोलन

मीना पौडेल, सामाजिक अनुसन्धानकर्ता

उषा तितिक्षु, प्यालेष्टिनी सोलिडारिटी फोरम नेपाल

ज्योतिलाल वन, उपसंयोजक, प्रगतिशील रुपान्तरण आन्दोलन, नेपाल