जीवन संघर्षको लागि आगो जीवन्त राख्नुपर्छ
"आगो" ले विनाश होइन समाजलाई न्यानो प्रदान गरोस्: दीर्घ बहादुर चन्द “सुमन”
क्रिकेटमा ‘टेस्ट म्याच’ भन्दा ‘टि-ट्वान्टी म्याच’हरु बढी रुचाइने वर्तमान समयमा साहित्यमा पनि छोटा र विशेष गरेर काव्य विधामा लघु कविताहरु बढी पढिने र रुचाइने गरेको छ । जसले गर्दा नेपाली लघु कविताका अनेकौं उपविधाहरु अस्तित्वमा आएका छन् । जसमध्ये एक हो, आगो । बि. स. २०७७ सालमा पाँच पाँच अक्षरका दुई पंक्तिमा जम्मा दस अक्षरको रचनाका रुपमा लघु कविताको उपविधा "आगो" पहिलोपटक प्रकाशमा आएको हो । आगो अस्तित्वमा आए पश्चात अनेकौं श्रष्टाहरुले आगो विधामा कलम चलाएका छन् । उपविधा आगोका परिकल्पनाकार दीर्घ बहादुर चन्द “सुमन” हुन् ।
उनै चन्दले रचना गरेका दुईवटा कृतिहरु आगो (सिद्धान्त र प्रयोग) र सप्तरंगी सुमन आगो लघुकविता सदन (आलस)ले हालै लोकार्पण गरेको छ । यसै सन्दर्भमा आगोका परिकल्पनाकार चन्दसँग “सुमन”को “आगो” लघुकविता विधा र भर्खरै लोकार्पण गरिएका कृतिहरु आगो (सिद्धान्त र प्रयोग) र “सप्तरंगी सुमन” बारे दायित्वबोधले कुराकानी गरेको छ । प्रस्तुत छ, सो संवादको सम्पादित अंश :
उपविधाको नाम आगो नै किन ?
सर्वप्रथम शाब्दिक अर्थतर्फ लागौं । नेपाली बृहत् शब्दकोष अनुसार"आगो – ना. [सं – अग्नि] १. तेज पुँज वा दाहक तत्वको दृश्यरुप; माथितिर ज्वाला उठ्ने प्रकाशक वस्तु; २. रीस, क्रोध" हो । त्यसैगरी विकिपीडियाका अनुसार"आगो" एक दहनशील पदार्थहरूको तीव्र अक्सीकरण हो, जसले उष्मा, प्रकाश र अन्य अनेक रासायनिक प्रतिकारक उत्पादन जस्तै: कार्बनडाइअक्साइड र पानी उत्पन्न गर्दछ। सामान्य रूपमा आगो दाह पैदा गर्दछ जसमा भौतिक रूपबाट पदार्थहरूलाई क्षतिग्रस्त गर्ने क्षमता छ।
मैले कल्पना गरेको "आगो"को परिभाषा पनि माथि उल्लेख गरे जस्तै नै हो । "आगो" समाजमा विद्यमान छ जुन आंधीबेहरीको संगतमा पुग्यो भने समाजलाई तहसनहस गर्न सक्छ र त्यहि "आगो"सौम्य र शालीन वायुको संगतमा पुग्यो भने न्यानो प्रदान गर्नुका साथै प्रकाशले ज्वाजल्यमान गरी सही दिशा पत्ता लगाउन पथ प्रदर्शकको काम पनि गर्दछ । साहित्यमा मैले भित्राएको "आगो" ले समाजमा भएका बिकृति माथि तीक्ष्ण प्रहार गरी सकारात्मक सुधार ल्याउनेछ र सम्पूर्ण प्राणी जगतलाई वात्सल्यमय वातावरणमा जिउन प्रेरणा प्रदान गर्नेछ ।
मलाई लाग्छ कुनैपनि साहित्य वा कविताको विधालाई कुनै निश्चित परिभाषा भित्र कैद गर्नु अन्याय हुन सक्दछ । साहित्यलाई स्वतन्त्र उड्न दिनु पर्दछ अनि मात्र भावको गहिराइमा डुबुल्की लगाउन सकिन्छ । तथापी हरेक वस्तुको अलग पहिचान हुन्छ । त्यसरी हेर्दा लघु कविता "आगो"लाई महसूस गर्ने हो भने निम्नानुसारको न्यूनतम पहिचान हुनु जरुरि छ: पाँच अक्षरको दुई पंक्तिमा जम्मा दश अक्षरमा रचित विभिन्न भावहरु सहितको अर्थपूर्ण र परिपूर्ण लघुत्तम काव्य रचना नै "आगो" हो ।
प्रकृतिमा आगो शक्तिको स्रोत हो । यो शक्तिको नियन्त्रित प्रयोग भएमा मानव जीवनको लागि उपयोगी सिद्ध हुन्छ भने अनियन्त्रित प्रयोग भएमा विनाशकारी हुन सक्दछ। मानव शरीर तातो रहेसम्म जीवन रहन्छ तसर्थ आगो वा ताप मानव शरीर ज्यूँदो राख्ने शक्ति हो । मान्छेले मेहनत गरे पनि ताप निस्कन्छ, चिन्ता गरे पनि ताप निस्कन्छ, प्रेम भावमा पनि ताप हुन्छ, केहि गर्छु भन्ने भावनामा पनि ताप हुन्छ, क्रान्तिको उद्घोषमा पनि ताप हुन्छ । भन्नुको तात्पर्य हरेक मानवीय क्रियाकलाप वा संवेदनामा आगो जोडिएको हुन्छ ।
आगो लघुकविता विधामा रचित कविताहरुले पनि सटिक र प्रभावी ताप दिन सक्ने क्षमता राखेको हुन्छ । मानव समाज र जीवनमा सकारात्मक उर्जा भर्न र मानव समाजलाई जीवन्त बनाइराख्न ताप शक्ति वा आगोको आवश्यकता पर्ने हुनाले आगो उपविधाले पनि मानव समाजलाई सकारात्मक उर्जा देओस् भनेर नै यस उपविधाको नाम आगो राखिएको हो।
प्रयोगवादी कवि पुष्कर राज रेग्मी "अथक"ले पनि आगो लघुकविता विधालाई यसरि नैपरिभाषित गर्ने प्रयत्न गरेका छन् । उनि भन्छन्, ‘दुई पंचाक्षरी पंक्ति सहित दशाक्षरको संरचनामा विम्ब, प्रतीक र रसमय भावमा सिर्जना गरिएको वजनदार झट्का दिन सक्षम कविताको लघुत्तम रुप नै "आगो" हो ।’
आगोका हरेक पंक्तिमा पाँच पाँच शव्द नै राख्नुको कारण के हो ?
धार्मिक र संस्कृतिक दृष्टिकोणले अंक"पांच"को विशेष महत्व छ । हाम्रो शरीर "आगो" पानी, हावा, माटो र आकाश जस्ता पन्चतत्व ले बनेको छ । मानव शरीरमा पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय र हात खुट्टामा पाँच पाँच औंला जस्ता चेतना र काम गर्ने अंग छन् । पाँच पाण्डवले पनि अधर्म माथि धर्मको विजय भएको महाभारतको युद्ध जितेका थिए । महाभारतमा पनि पाँच शब्द छन् । कुन्ती, अहिल्या, सीता, द्रौपदी र मंदोदरि जस्ता "पन्चकन्या"ले हाम्रो पौराणिक समाजमा सतीत्व र स्त्रीत्वको उदाहरण पेश गरेका छन् । स्त्री अबला होइन स्त्री महान छिन्, स्त्री क्रान्तिकारी छिन् र स्त्री पनि समाज परिवर्तनमा नेतृत्वदायी भूमिका पेश गर्न सक्ने वीरंगना हुन् भन्ने मनका हुन् ति पन्चकन्याहरु । त्यस्तै, पन्चामृत, पन्चगब्य, पन्चस्नान, पन्चदान, पंचांग, पंचशील, पंचाग्नी आदि जस्ता धार्मिक, सांस्कृतिक र पारम्परिक तत्व तथा क्रियाकलापहरु छन्, हाम्रो बैदिक हिन्दु समाजमा । त्यसैगरी, दैवी पीडा पनि अग्नि, जल, रोग, दुर्भिक्ष र महामारी गरि पाँच प्रकारका छन् । श्वर पनि मूल रुपले अ, इ, उ, ऋ रलॄ गरि पाँच नै छन् । वसन्त पंचमी बाट अक्षरारम्भ गर्नेलगायत ऋषि पन्चमी, नाग पंचमी, विवाह पंचमी जस्ता तिथिहरुको बिशेष महत्व छ, यो समाजमा । तसर्थ,"आगो" निर्माण गर्दा पनि यिनै पाँचको सशक्त प्रतिनिधित्व होस् भनि हरेक पंक्तिमा पाँच अक्षरको कल्पना गरिएको छ । पांच अक्षरको आगोको पंक्तिलाई झिल्को नामकरण गरिएको छ ।
आगो कविता दश अक्षरमै पूर्ण किन मानिएको हो ?
हिन्दु धर्म अनुसार भगवानका मत्स्य, कुर्म, बराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्की गरि दशावतार छन् । अधर्म माथि धर्मको विजय तथा असत्य माथि सत्यको विजयको प्रतीक स्वरूप हिन्दुहरुको महान चाड विजयादशमी । पुर्व, पश्चिम, उत्तर, दक्षिण, आग्नेय, नैकृत्य, वायव्य, इशान, आकाश र पाताल गरि दश दिशा । गाई, तिल, सुन, भूमि, घ्यू, कपडा, चाँदी, नुन, सखर र फलाम गरि दश दान । माथि उधृत गरिएका प्रसंग र तिनको महत्वलाई मनन गरि नै समग्रमा दश अक्षरको "आगो"को कल्पना गरिएको छ ।
पहिलो पंक्तिको पाँच अक्षरले उठान गरेको विषयको गाम्भीर्यतालाई, शून्यतालाई र अधुरोपनलाई दोस्रो पंक्तिको पाँच अक्षरले पूर्णता दिन्छ र दशको सामर्थ्य प्रस्तुत गर्छ ।
यस पुस्तकमा “मुक्तागो” र “गजलागो” पनि उल्लेख गरिएको देखियो । यो मुक्तागो र गजलागो भनेको के हो ?
मुक्तकका आधारभूत सिद्धान्तलाई मनन गर्दै पाँच पाँच अक्षरको झिल्कोहरुमा लेखिएको जम्मा बीस अक्षरमा लेखिएको मुक्तकलाई “मुक्तागो” भनिएको हो भने गजलको आधारभूत सिद्धान्तलाई मनन गर्दै पाँच पाँच अक्षरका झिल्कोमा रचित कम्तिमा तीन शेर भएको गजललाई “गजलागो” भनिएको हो ।
आगो (सिद्धान्त र प्रयोग) भन्ने पुस्तकमा विभिन्न शव्दावलीहरु पनि उल्लेख गरेको पाइयो सो सन्दर्भमा थप व्याख्या गरिदिनुहोस् ।
पांच पांच अक्षरमा रचित दुई हरफको पूर्ण लघु कवितालाई "आगो" भनिएको छ भने उक्त लघु कविताको कुनै एउटा शब्दलाई "फिलिंगो"नामदिइएको छ । "आगो"को पंक्तिलाई "झिल्को" भनिएको छ भने पहिलो पंक्तिले विषय उठान गर्ने भएकोले "फुकान झिल्को"र दोश्रो पंक्तिले विषय वस्तुको वैठान वा पूर्णता दिने भएकोले "बुझान झिल्को" भनिएको छ । एउटै विषय वा पृथक विषयमा रचित कम्तिमा दश "आगो"हरुको संगालो लाई "लप्का", एउटै वा पृथक विषयमा रचित सय "आगो"हरुको संगालो लाई “मन्त्र” भनिएको छ । त्यस्तै, अनेकौं विषयहरुमा रचित एक हजार "आगो"हरुको संगालोलाई धुनी र अनेकौं विषयहरुमा रचित पाँच हजार "आगो"हरुको संगालोलाई महाधुनी भनिएकोछ । "आगो"को दुई पंक्तिलाई पूर्ण कविता मानिए पनि समय, विषयवस्तु र सन्दर्भले "आगो" कविता लामोरुपमा रचना गर्न सकिने स्वतन्त्रता रहेको छ ।
"आगो"को प्रभावकारिताको मापदण्ड पनि तोकिएको छ । "आगो"ले उठान गरेको विषयमा भएको सटीक र चोटिलो प्रहारले उत्पन्न गहनता, माधुर्यता, कटाक्ष, प्रभाव र वजनलाई थोरैबाट बढ्दो क्रममा क्रमशः "ताप, धुवाँ, कोइला, खरानी र पंचमहाभूत" गरि वर्गीकरण गरिएको छ । "आगो" सिर्जना गर्ने सर्जक वा कविलाई निम्नानुसार उपाधि नामाकरण गरिएको छ: एक "आगो" सर्जक वा कविलाई "आगो उपाशक", दश आगो, एक मुक्तागो र एक गजलागो सर्जकलाई “आगो साधक” । त्यस्तै, सय आगो, दश मुक्तागो र पाँच गजलागो सर्जकलाई “आगो पुजारी” । एक हजार आगो, सय मुक्तागो र दश गजलागो सर्जकलाई “आगो कवि” र पाँच हजार आगो, पांच सय मुक्तागो र एक सय गजलागो सर्जकलाई “आगो महाकवि” को उपाधि नामकरण गरिएको छ ।
आगो कस्तो होस् भन्ने लाग्छ ?
"आगो" ले विनाश होइन समाजलाई न्यानो प्रदान गरोस् । "आगो"ले विग्रह होइन अँध्यारोमा हराएकाहरुलाई आशाको ज्योति प्रदान गरोस् । महाकाव्यबाट मात्र होइन "आगो"बाट पनि महान संदेश दिन सकिन्छ तथा महाकविले मात्र होइन भुइँकविले पनि सिर्जना गर्न सक्दछ भन्ने सकारात्मक सोचका साथ अगाडी बढ्नु जरूरी छ । लामा कविताका श्लोक मात्र होइन सानो झिल्को "आगो" पनि पढ्न जरूरी छ । जस्तो नाम छ "आगो" उपविधाले त्यस्तै जल्दा बल्दा र तातोविषयहरुको उठान गर्नेछ र समाजमा थोरै भएपनि सकारात्मक परिवर्तनको पक्षमा योगदान गर्नेछ भन्ने आशा गरेको छु । "आगो" ले समाजमा भएका बिकृति माथि तीक्ष्ण प्रहार गरी समाजमा सकारात्मक सुधार ल्याउनेछ ।
तपाइको अर्को पुस्तक सप्तरंगी सुमन भन्ने पुस्तक पनि लोकार्पण भएको छ . यो पुस्तकको विशेषता के हो ?
कविताका सातवटा विधामा दीर्घ बहादुर चन्द ”सुमन”ले समयको विभिन्न कालखण्ड र अवस्थामा रचना गरेको हुनाले उक्त कृतिको नाम सप्तरंगी सुमन जुर्न गएको हो । यसमा गजल, गीत, कविता, मुक्तक, आगो, शीत र सुसेली गरि काव्य रचनाका सात उपविधा संगठित रुपमा रहेका छन् । यसलाई सुमनका सात रंग भनेर पाठकहरुले बुझिदिएमा म आफुलाई धन्य ठान्ने छु ।
प्रतिक्रिया