जब चीन नै सम्पूर्ण पृथ्वी हो भन्ने भाष्य स्थापित गर्न खोजियो !

पृथ्वीको रुप कसरी पत्ता लाग्यो ?– ३

पहिलो यात्रा

इतिहासकारहरू बताउँछन् कि प्रारम्भिक सभ्यताहरू नदी उपत्यकामा विकसित भएका थिए। यो ठ्याक्कै कहिले भयो भन्ने कुरा उनीहरू भन्न सक्दैनन्। तर, सम्भवतः यो दक्षिणी मेसोपोटामिया, टिग्रिस र युफ्रेटिसको मैदान, वा सबैभन्दा ठूलो भारतीय नदीहरू - सिन्धु र गंगाको किनारमा, वा नाइल उपत्यकामा भएको थियो। यी क्षेत्रमा मानिसहरूले अरूभन्दा पहिला हलो जोत्न र बाली रोप्न सिकेका थिए, खेतहरूलाई सिँचाइ गर्न, जमिनको नापजोख गर्न र नहरहरू निर्माण गर्न पनि उनीहरूले अरूभन्दा पहिला नै जानेका थिए। यसैगरी, ती क्षेत्रका मानिसहरूले धातु पगाल्न र अग्ला घरहरू बनाउन पनि पहिले नै जानेका थिए।

मानिसहरूले आफ्नो आवश्यकताभन्दा बढी भएका सामानहरू साटासाट गर्न थालें र आवश्यक सामानहरू प्राप्त गर्न थाले। उनीहरूले आफ्नो सामान एकअर्कासँग ल्याएर साट्न थाले। यसरी व्यापारीहरू पहिलो पटक देखा परे।

सबै ठाउँहरूमा समान प्रकृतिका प्राकृतिक स्रोतहरू हुँदैनन्। कुनै क्षेत्रमा प्रशस्त फलामको खानी हुन सक्छ तर त्यहाँ नुन धेरै कम पाइन सक्छ। अर्को क्षेत्रमा यसको ठीक उल्टो हुन सक्छ। एउटा शहर वा गाउँका मानिसहरूले सुन्दर कपडा उत्पादन गर्थे भने अरूहरूले भाँडाकुँडा बनाउने काममा विशेषज्ञता हासिल गरेका थिए। यसरी मानिसहरूले आफ्नो आवश्यकताभन्दा बढी भएका सामानहरू साटासाट गर्न थालें र आवश्यक सामानहरू प्राप्त गर्न थाले। उनीहरूले आफ्नो सामान एकअर्कासँग ल्याएर साट्न थाले। यसरी व्यापारीहरू पहिलो पटक देखा परे।

यी व्यापारीहरू चलाख थिए। उनीहरूले जो मानिसहरू साहस गरेर सधैं हिँडिने बाटोभन्दा टाढा जान्थे, तिनीहरू ठूलो नाफा लिएर फर्कन्थे भन्ने कुराको सुइँको पाए। यसरी पहिलो व्यापार यात्रा गरियो। चाँडै नै मानिसहरूलाई अन्य मानिसहरू कहाँ बस्छन्, उनीहरूसँग के धेरै छ र उनीहरूलाई के चाहिन्छ भन्ने कुरा थाहा पाउनु जरुरी भयो।

भूमध्य सागरको किनार विश्वका सबैभन्दा पुराना बसोबास गरिएका क्षेत्रहरूमध्ये एक हो। प्राचीनकालदेखि नै विभिन्न जातिहरूले भूमध्यसागरको किनारमा बसोबास गरेका छन्। ग्रीक संस्कृति यसै क्षेत्रमा उत्पन्न भएको थियो, जुन पृथ्वीमा भएका सबैभन्दा पुराना र अत्यधिक विकसित सभ्यताहरूमध्ये एक हो।

प्राचीन ग्रीकहरूले आफ्ना दार्शनिक र वैज्ञानिकहरूमार्फत् हामीलाई समृद्ध सम्पदा छोडेका छन्। उनीहरू पहिलोपटक नक्सा बनाउनेहरू मध्ये पनि थिए। उनीहरूले संसारलाई एक ठूलो टापुको रूपमा चित्रण गरे, जसको बीचमा समुद्र थियो। यो टापु आँधीबेहरीयुक्त महासागरले घेरिएको थियो, जसको न त कुनै सुरुवात थियो न कुनै अन्त।

प्राचीन ग्रीकहरूले यस भूमि-टापुलाई "ओइकुमेनस" (Oikumenus) भने, जसको अर्थ हो "मानवले बसोबास गरेको भूमि"।

प्राचीन ग्रीकहरूले आफ्ना दार्शनिक र वैज्ञानिकहरूमार्फत् हामीलाई समृद्ध सम्पदा छोडेका छन्। उनीहरू पहिलोपटक नक्सा बनाउनेहरू मध्ये पनि थिए।

एशिया, भारत, चीन र ब्रिटेनका केही भागहरू पनि घनाबस्ती भएका क्षेत्रहरू थिए। तर हजारौं किलोमिटर, पहाडका शृंखलाहरू र मरुभूमिहरूले ती क्षेत्रलाई भूमध्यसागरबाट अलग पारेका थिए। निकै थोरै मानिसहरूले साहस गरेर यात्रादल तयार पारे वा टाढाका देशहरूमा सामान बोक्न जहाजहरू पठाए।

जो मानिसहरू त्यस्तो यात्रा गर्थे, उनीहरू फर्केर आफूले देखेका अनेक अद्भुत देशहरू र मानिसहरूको कथा सुनाउँथे। यात्रुहरूले भारतको सम्पत्तिको कथा ल्याउँथे, जसलाई उनीहरूले "सुन र रत्नले भरिएको भूमि" भनेर वर्णन गर्थे। उनीहरूले विशाल स्टेपी मैदानहरू, असंख्य घोडाका बथानहरू, र मानिसको उचाइभन्दा अग्लो घाँसको वर्णन गर्थे। केन्द्रीय एसियाली कारीगरहरूले अनमोल धातुबाट बनाएका उत्कृष्ट हतियारहरूको प्रशंसा गर्थे। र टाढाको ब्रिटेनमा कांस्य बनाउन अति आवश्यक टिन ढुङ्गा कति प्रचुर मात्रामा पाइन्थ्यो भन्ने कुरा पनि बताउँथे।

त्यो समय प्रत्येक समुद्री यात्रा वा यात्राहरू एउटा महत्त्वपूर्ण घटना मानिन्थ्यो।

ती साहसी यात्रुहरूको नाम इतिहासमा अमर भएको छ। उनीहरूबारे धेरै गीतहरू र किंवदन्तीहरू छन्। उनीहरूको यात्राबारेका कथाहरू वर्षौंसम्म मुखामुख सुनाइन्थ्यो। किनकि अरू थोरै कुराहरू मात्र परदेशको भूमिमा र त्यहाँका मानिसहरूसँग गरिएका यात्राको कथाहरूजत्तिकै रोचक हुन्छन्। सम्भवतः यस्तै क्षणहरूमा, श्रोता र कथावाचक दुवैले सोच्दा होलान्, "हाम्रो पृथ्वी कस्तो होला? के यसका कुनै सीमा छन्, कुनै अन्त्य छ?"

मानिसहरूले पृथ्वी समतल भएको विश्वास कसरी गरे ?

जति धेरै मानिसहरूले पृथ्वीमा यात्रा गरे, त्यति नै बढी उनीहरूले सोच्न थाले, "पृथ्वी कस्तो देखिन्छ, यसको आकार कस्तो छ?"

विद्वान्हरूको मान्यता छ कि यो प्रश्न उठाउने पहिलो व्यक्ति तियान देशका ऋषिहरू थिए, जसलाई "स्वर्गीय साम्राज्य" भनेर अनुवाद गरिएको छ। अनुमान गर्नुभयो? यो चीन हो, जुन सबैभन्दा पुराना राज्यहरूमा एक हो। चीनमा सम्राटले शासन गर्थे।कहिलेकाहीं एक चिनियाँ सम्राटलाई आफ्नो देशको सिमा अझ ठीकसँग परिभाषित गर्नको आवश्यकता अनुभव हुन्थ्यो। यस उद्देश्यका लागि, सम्राटका अधिकारीहरू - ग्वान्स र म्यान्डारिनहरूले राजधानीबाट सबै दिशामा यात्रा गर्न थाल्थे। चीनमा, महत्त्वपूर्ण व्यक्तिहरू आरामदायक गाडीहरूमा यात्रा गर्थे। प्रत्येक गाडीमा एक गोप्य यन्त्र हुन्थे, जसले सधैं एउटै दिशामा संकेत गर्थ्यो। यसले बाटो विराउनु कुनै हालतमा पनि दिँदैनथियो । चिनियाँहरूले यसलाई जतनका साथ सुरक्षित राख्थे र यसलाई "दक्षिणको सूचक" भनिन्थ्यो।

यो प्राचीन गोप्य यन्त्र आजको समयमा पनि चलनचल्तीमा रहेको छ । सबैलाई थाहा छ यसले कसरी काम गर्छ। हामीले यसलाई कम्पास भन्छौं। यो जटिल यन्त्र होइन। यो एउटा सानो डब्बा हो जसमा एक चुम्बकीय सुई हुन्छ। नीलो टुप्पोले दक्षिणतर्फ संकेत गर्छ, र रातो टुप्पोले उत्तरतर्फ संकेत गर्छ...

धेरै लामो समयसम्म, म्यान्डारिनहरूको बग्गीहरू घाँसेमैदान र मरुभूमिहरूमा यात्रा गर्थे। तर सम्राटका दूतहरू जताजता जान्थे, त्यहाँ उनीहरूले साँझको आकाशमा ताराहरू सधैं पूर्वबाट पश्चिमतर्फ सरिरहेको देख्थे। "यो किन हुन्छ?"—उनीहरू आश्चर्यचकित हुन्थे । उनीहरूले उत्तर खोज्न प्रयास गरे, तर सफल भएनन्।

सम्राटका दूतहरू जताजता जान्थे, त्यहाँ उनीहरूले साँझको आकाशमा ताराहरू सधैं पूर्वबाट पश्चिमतर्फ सरिरहेको देख्थे। "यो किन हुन्छ?"—उनीहरू आश्चर्यचकित हुन्थे ।

केही अधिकारीहरू पहाडहरूमा पनि गए । तिनीहरूको बग्गी साँघुरो बाटोहरूमा चढ्न सक्दैनथे। त्यसैले, तिनीहरूलाई सेडान कुर्सीहरूमा बोकाइन्थ्यो। कठोर कक्षामा हल्लिरहेका अधिकारीहरू अचम्मित हुन्थे। " साम्राज्य एउटा भाग किन यति अग्लो आकाश छुने उचाइमा पुग्छ, जबकि अर्को भाग तल छ?" तिनीहरूले पनि त्यसको उत्तर फेला पार्न सकेनन्।

अरु केही अधिकारीहरूले नाउमा यात्रा गरे। उनीहरूले ठूला र साना नदीहरू र नहरहरूमा यात्रा गरे। सेवकहरूले उनीहरूको टाउकोमाथि छाता राख्थे र झिंगा कीराहरूलाई धपाउँथे। अधिकारीहरूले सोधे, "किन सम्राटका भूभागका सबै नदीहरू पश्चिमबाट पूर्वतर्फ किन बग्छन्?" उनीहरूले यसमा गहिरो माथापच्ची गरे। तर तिनीहरूले कुनै व्याख्या फेला पार्न सकेनन्। दरबारका ऋषिहरूले यी पहेलीहरूमा दिमाग खियाए। र सम्राटले सबै कुराहरूको उत्तर त माग्ने नै छन्, त्यसैले तिनीहरुले यस्तो जवाफ तयार पारे, "हामीले मानौँ कि पृथ्वी समतल छ, चामलको केक जस्तै जसको चारैतिर किनारहरू काटिएका छन्, र चारैतिरका सबै दिशामा उचाइका स्तम्भहरूले आकाशलाई टेकेको छ। उत्तरमा एक स्तम्भ, पूर्वमा एक, दक्षिणमा एक, र पश्चिममा एक। संसारको प्रत्येक दिशामा एक स्तम्भ..."

"एक पटक एक दुष्ट ड्रागनले एक स्तम्भलाई मोडिदियो, जसले पृथ्वी र आकाशलाई विपरीत दिशामा झुकाइदियो। पश्चिमका प्रान्तहरू पहाडहरू जस्तो आकाशमा उठ्न थाले र पूर्वका प्रान्तहरू समुन्द्रतर्फ झुक्न थाले। त्यसैले साम्राज्यका नदीहरू पूर्वतर्फ तल बग्न थाले, जबकि आकाशका तारेहरू पश्चिमतर्फ घुम्न थाले..."

यो व्याख्या विश्वसनीय देखिन्थ्यो र सबै त्यसमा सन्तुष्ट थिए ।

 चिनियाँहरूले आफ्नो देशको बारेमा पाँच सय पुस्तक लेखे। पाँच सय मोटा कागजको पन्नाहरुले सबै प्रान्तहरूको विवरण र यहाँसम्म कि यसका परे के छ भन्ने कुरा पनि समेट्यो।

सम्राटले विदेशी देशहरूको वर्णन भएका सबै पुस्तकहरू जलाउन आदेश दिए ताकि चिनियाँहरूले तिनीहरूको सीमा बाहिर केही चासोपूर्ण कुरा छैन भन्ने कुरा सिकुन्।

तर, एक ठूलो युद्धपछि, ड्रागन जस्तो दुष्ट एक सम्राट सिंहासनमा बसे । त्यो भन्दा खराब कुरा चाहिँ उनी मुर्ख थिए र त्यसले उनलाई झनै बढी  दुष्ट बनायो। उनले पुस्तकहरूमा उनको साम्राज्यको सीमा पारमा चिनियाँहरूको स्तरभन्दा कुनै कमी नरहेका मानिसहरु छन् भन्ने कुरा पढे । र यो, स्वाभाविक रूपमा, स्वीकार गर्न सकिने कुरा थिएन। सम्राटले विदेशी देशहरूको वर्णन भएका सबै पुस्तकहरू जलाउन आदेश दिए ताकि चिनियाँहरूले तिनीहरूको सीमा बाहिर केही चासोपूर्ण कुरा छैन भन्ने कुरा सिकुन्। सम्राटले चीनको नाम नै पनि बदलिदिए। यसलाई "फ्लावरिङ स्टेट इन द मिडल" (मध्यको फूल्ने राज्य) भनियो। त्यस समययता चिनियाँहरूले आफ्नो देशलाई यसरी मात्र सम्बोधन गरे, यद्यपि यसको धेरै भाग सुगन्धित वा फूल्नुबाट निक्कै परको कुरा थियो ।

कामकाजी मानिसहरू गरिबी, समस्या र दुःखमा बाँच्थे। केवल अधिकारीहरू र धनीहरूले निश्चिन्त र खुशीको जीवन बिताउँथे। तर संसारमा यो प्रायः यस्तो नै हुन्छ—जति खराब परिस्थितिहरू हुन्छन्, त्यति नै भव्य शब्दहरू प्रयोग गरिन्छन्।

"स्वर्गीय" (Celestial) भन्ने सम्राटको सेवामा जोशिला अधिकारीहरूले यस कुरा सुनिश्चित गरे कि सम्राटका प्रजा सीमा पार गर्न चाहन्नन्। त्यसैले, तिनीहरूले चीनलाई अर्को नाम दिए: "चार समुद्रहरू"। तिनीहरूले भने कि चीन नै संसार हो। सम्पूर्ण संसार चीन हो, जुन चारैतिर आँधीबेहरीयुक्त समुद्रहरूले घेरिएको छ, जसमा ठूलो माछा र विशाल ड्रागनहरू भरिएका छन्। मानिसहरूले त्यो कुरामा विश्वास गरे र आफ्नै घरमा रहन थाले।

तर अधिकांश मानिसहरूमात्र, सबै होइन। केही कथाहरू र प्राचीन चिनियाँहरूले गरेका टाढाका देशहरूमा यात्रा गरिएका विवरणहरू आजको समयसम्म आइपुगेका छन्।

तिनीहरूले चीनलाई अर्को नाम दिए: "चार समुद्रहरू"। तिनीहरूले भने कि चीन नै संसार हो। सम्पूर्ण संसार चीन हो, जुन चारैतिर आँधीबेहरीयुक्त समुद्रहरूले घेरिएको छ, जसमा ठूलो माछा र विशाल ड्रागनहरू भरिएका छन्।

अधिकारीहरू घोडामा यात्रा गर्थे, कूटनीतिज्ञहरू भारी बग्गीहरूमा यात्रा गर्थे, जासूसहरूले गोप्य पथहरू प्रयोग गरेर उनीहरुलाई यात्रा गराउँथे । भिक्षुहरूले पैदल यात्रा गर्थे र व्यापारीहरूको यात्रादल कहिलेकाहीं माइलौंसम्म फैलिएको हुन्थ्यो। जब उनीहरूले केन्द्रीय एसियाका अनजान भूमिहरूमा पुग्ने,  चिनियाँ यात्रीहरूले त्यहाँ आफूजस्तै सभ्य मानिसहरु फेला पार्दा अचम्मित भए। ती मानिसहरूले जमिनमा खेती गर्थे, उपकरण बनाउँथे, कपडा बुन्थे र भाँडाकुँडा बनाउँथे। चिनियाँहरूले तिनीहरुबाट टाढाका पश्चिमी देशहरूमा बेच्नका लागि सामान ल्याए। तर स्थानीय जनतासँग पनि बेच्नका लागि सामानहरू थिए। र उनीहरूको धेरै सामान चिनियाँ सामानहरू भन्दा कमसल थिएन ।

जसले दक्षिणतर्फ, पहाडहरू पार गरेर यात्रा गरे, उनीहरूले भारत नामक एक अद्भुत देश फेला पारे, जहाँ धेरै ऋषि र दार्शनिकहरू बस्थे।

(क्रमश:)

 

यस श्रृङ्खलाका लेखहरु

भाग १

सजिलो थिएन आदिम मानवको जीवन !

भाग २

बसाइसराइ र सामुहिक बसोबासको थालनी

भाग ३

जब चीन नै सम्पूर्ण पृथ्वी हो भन्ने भाष्य स्थापित गर्न खोजियो !

अनतोली तमोलिन

अनतोली निकोलाइविच तमोलिन (७ नोभेम्बर १९२७–१७ सेप्टेम्बर २०१५) सोभियत/ रूसी लेखक हुन्। वैज्ञानिकहरु तथा विज्ञानको इतिहासका बारेमा बालबालिका एवं किशोरहरुलाई लक्षित गरी थुप्रै विज्ञान पुस्तकहरु लेखेका तमोलिन विज्ञानलाई सर्वसाधारणहरु माझ लोकप्रिय बनाउने लेखकका रुपमा चर्चित छन् । यहाँ प्रस्तुत सामग्री रादुगा प्रकाशन मास्कोद्वारा प्रकाशित उनको लोकप्रिय पुस्तक ‘How People Discovered the Shape of the Earth’ बाट लिइएको हो । हामीले उनको उक्त पुस्तकलाई अनुवाद गरी धारावाहिक रुपमा प्रकाशित गरेका हौं ।