सभ्य र सहज तरिकाले तिज मनाउ
आजभोली गाउँदेखि शहरसम्म विभिन्न कार्यालयदेखि होटल पार्टी प्यालेस सम्म तीजको रौनक लागेको छ र तिजका सबै किसिमका भाकाहरू घन्किरहेका छन् छिटफुट रुपमा देउडा हरुमा नाचेका दृश्यहरु समेत देख्न पाइएको छ । भने टोल, छर छिमेक र होटेलहरुमा महिला दिदीबहिनीहरू रातो पहिरन र विभिन्न मोडेलका गर गहनामा झुम्मिरहेका देखिन्छन् ।
यो तिज खासगरी भाद्र शुक्ल तृतीयाको दिन हिन्दू धर्मावलम्बीहरूले पार्वती र भगवान् शिवको बन्धन गाँसिएको दिनको रूपमा मनाउने गरेको पाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरू द्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने यो तिज पर्व अहिले अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।
यो पर्वको सामाजिक, सास्कृतिक, आध्यात्मिक एवं तात्विक महत्व रहेको छ । यसका साथै सामाजिक सद्भाव, मेलमिलाप एवं समाजका विविध विसङ्गति र सामाजिक अधिकारलाई उजागर गर्ने , खासगरी महिला अधिकार र महिला बिरुद्व हुने हिंसा लाई रोक्न गित संगीत मार्फत चेतना अभिबृद्वी गर्ने पर्बको रुपमा पनि हेरिन्छ ।
तीज नेपाली महिलाहरूको महत्वपूर्ण चाड हो । यसलाई हर्षोल्लासका साथ मनाउन पाउनु हिन्दू महिलाको अधिकार भित्रको कुरा हो । तर केही समय यता आएर तीज मनाउने तरिकामा फरकपन आउन थालेको छ । महिना अगाडिदेखि तीज मनाउन थालिएको छ ।
म सानो छँदाको याद झलझलती आउँछ । हाम्रो गाउकै फुपुको घरमा मेरी आमा, सानीआमा, हजुरआमा, ठूलीआमा पोइली बाट माइती आएकी माइतलुहरु लगायत गाउँका सबै महिलाहरू सबै जम्मा भएर घरको आँगनमा तीजका भाकाहरू गाएको, कसैले ताली बजाएको , कसैले खैजडी र मादल बजाएको र कोहि छमछमी नाचेको । आज फूपूको भौतिक शरीर हामी माझ छैन । तर हरेक साल आउने तिजले फुपुको खुब सम्झना दिलाउछ ।
त्यतिबेला गाउने तीज गीतहरूका शब्द निकै भावपूर्ण र मर्मस्पर्शी थिए –
तिज आयो ओटालिमा काली कौवा करायो,
माईतिको सम्झनाले रुने गरायो ।
सातै छोरा भए पनि एउटै घरमा अटाउने
म एउटि छोरीलाई डाडै कटाउने
दाजु लिन आउदै छन रे म त माईत जाने हो
छोरी चेली सुखदुख साटि दर खाने हो .....
जस्ता गीतहरु मादल र तालिको तालमा गाइने तीजका भाकाहरूमा आफू जन्मेको घर, बुबा आमा दिदिबहिनी दाजुभाइ, इष्टमित्र लाई छोड्दै पराइघरमा जीवन बिताउँदा आउने माइतीको याद र माइत जान नपाएका दिदी बहिनीहरूले तीजको अवसर पारेर गीतमार्फत आफ्ना पीर, व्यथा , सुख दुख पोख्नु हुन्थ्यो भने माइती आउनुभएकी दिदी बहिनीहरू पराइको घरमा आफूले पाएको दुःख, पीडाका भाका गीत मार्फत गाउनुहुन्थ्यो ।
हो, यस्तै पीडा पोखेर मन शान्त पार्नुका साथै महिलाहरूले आफूप्रतिको शोषण, दमन र अन्यायका विरुद्ध आवाज उठाउन तीजलाई लिनुहुन्थ्यो । त्यसका साथै गाउँ घरमा एक आपसीमा भएका झैझगडाहरु लाई समेत मेलमिलाप गराउने , बिग्रेका सम्बन्धलाई सुदृढ गर्ने , र कामकाजमा सामाजिक अर्मप्रम गर्न समेत सहज हुने गर्दथ्यो ।
तर आजभोलिको तिज पर्व भने परिवर्तन भएको छ । तीजको हिजोको मूल्य र मान्यतामा अत्याधिक परिवर्तन भएको छ ।
दुख पिडालाई एक आपसमा बाड्ने सस्कृती तथा समाजका महिलाहरु बिचको ,मेलमिलाप एकता , अधिकारको प्रतीकात्मक व्यंग्यको रुपमा मनाइने तीज भड्किलो तरीकाले मनाउन थालिएको छ ।
आजभोलि तिज संस्कृति बाट विकृतितिर गइरहेको छ ।आज भोलि पश्चिमी मुलुकको नक्कल बाट अरु पर्व जस्तै तिज जस्तो सांस्कृतिक पर्व माथि समेत नकारात्मक छापदेखिन थालेको छ । हिजोआजको तीज भड्किलो हुँदै छ । तीजको रमझममा पश्चिमेली शैली मिसिँदै दर खाने प्रचलन होटलहरुका खाना र बोतलमा सरेकोदेखिन्छ । पार्टी प्यालेस, डिस्को बार र रेष्टुराजस्ता महँगा ठाउँमा तीज मनाउन थालेपछि खर्च पनि धेरै हुन थालेको छ । तीज आउन महिनाअघि महिलाहरूलाई दर खान भ्याइनभ्याई छ । हुनेखाने महिलालाई महिनाभर नै तीज लाग्छ ।
त्यस्तै डिजाइन डिजाइनका गरगहना, महङ्गा कपडा, भड्किलो खानपान, लामो समयसम्मको नाचगान आदि कार्यले तीज भड्किला हुँदै गएको छ ।
गर गहना , कपडा खानपान मा मात्रै परिबर्तन आएको छैन । मौलिक गित भाका महिलाका पीडा बेदना , अधिकारका सन्देश दिने भाकाहरु समेत हराएका छन ।
फलस्वरूप आजभोलिको तीज धेरै उत्ताउलो हुँदै गएको छ गितहरु भाकाहरुमा मौलिकता हराउदै गएको छ ।
सत्यकुरा के हो भने हरेक नयाँ युगले नयाँ मान्यताहरूको जन्म दिन्छ भनेजस्तै पुजिवादी समाजमा पुजिबादि संस्कार र नाफासँग नेपाली तीज पर्व पनि अछुतो रहन सकेन ।
आधुनिकता र स्वतन्त्रताको नाममा आज तीज पर्बलाई विकृति, विसङ्गति र यौन स्वच्छन्दताको शिकार बनाईएको हाम्रा तिज बिशेष रहनसहन , गित भाका खानपान हरुले समेत देखाएका छन । जस्ले गर्दा समाजमा छाडापन बढ्दै गएको छ ।
त्यस्तै हाम्रा कलाकार हरुका तिज गितमा गाइने भाकाहरुमा समेत उछिर्ङ्खल बढ्दै गएको छ भने नृत्यहरु पनि परिवार सङ्गै बसेर हेर्न नसकिने खालका छन ।
पोइल जान पाम, डिस्कोमा तीज,झन माथी सर्यो झन तल झर्छ, हुँदै बिस्ताराले पोल्यो , मायाको पोको पेटिकोटको तुना फुस्क्यो जस्ता गितले बजार तताएका छन । यसरी तीज गीतको आधुनिक यात्रा सङ्गै तीजमा खाने दरको साटो रक्सी खाइन्छ, बियर खाइन्छ । दरसँगै ह्विस्की खाइन्छ, फलफूल ठाउँमा भोड्का खाइन्छ, बिस्ताराले पोल्यो ,मायाको पोको जस्ता गितमा उत्तेजक भाव र भिडियो प्रस्तुत हुँदै आएको छ ।
साँच्चै, यस्ता खालका गीतसङ्गीतले नेपाली समाजलाई के सन्देश दिन खोजेको हो ? के नेपाली चाडपर्व र संस्कृतिको जगेर्ना गर्ने काम कलाकारको होइन ? यदि, होइन भने कलाकारलाई कलाकार भनी सम्मान तथा इज्जत दिनुको अर्थ के ?
समाजमा फैलिएका विकृति विसङ्गतिलाई रोक्न, अन्याय अत्याचार शोषण दमनका कुरा , जनताको पिर मर्काका कुरा समाजलाई सहिदिशा दिने खालका जन चेतना मुलक सन्देश आफ्नो कलाको माद्य्यम द्वारा दिई विकृति फैलिन बाट सचेत पार्ने काम गर्नु कलाकारको धर्म हो । देशको कला संस्कृति जोगाउन दायित्व हो । त्यसैले त कलाकारलाई आम रुपमा सम्मान गरिन्छ आदर्श मानिन्छ । तर, तिनै कलाकार संस्कृति र चाड पर्वमा संस्कृति जोगाउनुभन्दा विकृति फैलाउन लागे भने के होला ? समाज कतातिर जाला ?
हामीले देशमा थुप्रै परिबर्तन गरेका छौ , यो परिवर्तनशिल समाज हो भन्ने नाममा हाम्रो रीतिथिति, संस्कार, संस्कृतिप्रतिको अन्धानक्कल छ त्यस प्रती हामी सचेत बन्न आवश्यक छ ।
बर्तमान अबस्थामा मनाईरहेको तिज पर्बले बिकृती र कुरुति तर्फको बाटो देखाईरहेको छ । यो कुरालाई समयमै महसुस गर्न सकियन भने यो तिज यो एकताको होइन अनेकताको , पिर पीडा बेदनाको होइन उस्र्छिङ्खको सद्भावको होइन भेदभाब उचनिचको गरिब र धनिको खाडलको दुरी बढाउने खालको हुनेछ । नारीभित्रको आवाजलाई बाहिर निकाल्न साहसको पर्व नभई गरिबिले थिचेका महिलाको आँसु पीडा रहरको मृत्यु हुनेछ ।
तसर्थ तिज पर्बलाई नारी मुक्ति, नारी स्वतन्त्रता र नारी अधिकारको रूपमा मनाउन महिलाहरु अगाडि बढुन ।तीज शहरिया, उच्च आर्थिक प्रदर्शन गर्ने माध्यम बन्दै गएको छ । जस्ले गर्दा हाम्रो समाजमा र स्वयं नारी जातिमा आर्थिक सामाजिक र सास्कृतिक विभाजनको रेखा कोर्नेकाम पछिल्ला दिनहरुमादेखिन थालेका छन ।
हप्तै पिछे नयाँ पहिरन र गहनामा कोहि महिलाहरु सजिएर होटलहरुमा महिनौदेखि दर खाने नाचगान गर्ने र अहिलेको सामाजिक संजाल मार्फत आफुलाई आर्थिक सम्पनताको पहिचान देखाउन होडबाजी गर्दैछन । सक्नेले नयाँ पहिरन र गहना प्रदर्शन गर्न सम्भव होला, तर गरिब नारीहरूलाई के यो सम्भव हुन्छ त ? हुनेखानेहरू तडकभडकमा विश्वास गर्छन् । निम्न वर्गका महिलाको लागि यस्ता चाडपर्व एउटा जटिल समस्या बन्दै गइरहेको छ । घर कलहको माध्यम बनेको छ ।
उच्छृङ्खल र भड्किला गीत गाउने, शृङ्गारको नाममा गहनाको प्रदर्शन गरी समाजमा प्रतिष्ठित बन्न खोज्ने, नाचको निहूँमा अङ्गप्रदर्शन गर्ने जस्ता विकृतिहरू तीजको समयमा व्यापक भएको हामीले महसूस गरेका छौ ।
यस्ता विकृतिले हाम्रा संस्कार र संस्कृतिका मूल्यमान्यतालाई घटाउँदै गएको र समाजलाई दूषित बनाउँदै गएको हुनाले यस्ता विकृतिलाई हटाई हाम्रा रीतिरिवाज, पर्व, संस्कार र संस्कृतिलाई स्वच्छ तुल्याउनु जरुरी छ यसतर्फ हामी सबैले सोच्न आबश्यक छ । हामीले हाम्रो संस्कारलाई कायमै राखौँ, सभ्य र सहज तरिकाले तिज मनाउँ ।
प्रतिक्रिया