इतिहासलाई सच्याउनका लागि हिजो के, कहाँ र कसरी गडबडी भयो भन्ने थाहा पाउनु जरुरी छः मानवशास्त्री सुरेश ढकाल

“यतिखेरको समस्या भनेको इतिहासमा भइरहेका केही गडबडीहरुबारेको बुझाइ हो ।  इतिहासले कसैलाई ठग्यो, बदमासी गर्यो र अहिलेको असमानता, अन्याय र बहिष्करणको स्थिति आउनु र कोही एकदमै सुविधासम्पन्न अवस्थामा पुग्नुमा निश्चित ऐतिहासिक प्रक्रिया छ । अहिले हामीले गरिरहेको प्रयत्न त्यस्तो इतिहासलाई सच्याउनुपर्छ भन्ने हो । त्यसका लागि हिजो के, कहाँ, कसरी गडबडी भयो भन्ने कुरा थाहा पाउनु महत्वपूर्ण हो जस्तो लाग्छ ।”

मानवशास्त्री सुरेश ढकालले आफ्नो नवकृति ‘इतिहासअघिको इतिहासः सांस्कृतिक उद्विकासको मानवशास्त्रीय वृतान्त’माथिको परिचर्चा कार्यक्रम बोल्दै उक्त कुरा बताएका हुन् ।

पुस्तक परिचर्चा कार्यक्रममा पूर्व वक्ताहरुले उठाएका मुन्धुमका प्रसङ्गबारे बोल्दै ढकालले भने, “पुराना कुराहरुका बारेमा कसरी सोच्थे भन्ने ज्ञानको कुरा त हुँदैन तर अहिले बाँचिरहेका परम्परागत विश्वास, अनुष्ठान र भौतिक सँस्कृतिहरु अलि परसम्म हेर्नको लागि अत्यन्तै महत्वपूर्ण सूचनाहरु हुन् । तर जसरी एउटा मान्छेले एउटा हिन्दूले पुराण वा कुनै धार्मिक ग्रन्थमाथि आलोचनारहित विश्वास राख्छ, त्यसैगरी अर्कोले पनि मुन्धुममा आलोचनारहित विश्वास राख्नु भनेको उनीहरु एउटै ठाउँमा उभिनु पनि हो । त्यसकारण हामीले एउटा खतराबाट जोगिन वा त्यसलाई पन्छाउनका लागि त्यस्तै खतरामा पुग्नु पनि हुँदैन ।”

“विजेताहरुले लेखेको इतिहासलाई सच्याउनका लागि हामीले बाँचिरहेका कतिपय पुराना मान्यताहरु लेख्य परम्परा शुरु भएर आएपछि त्यसका प्रमाणहरु के हुन् छ भन्नेबारे धेरै छैन । तर त्यसका आधारमा गरिने राजनीति एकदमै खतरा हुन्छ,” ढकालको भनाइ थियो ।

पुस्तकमा आफूले बाबरी मस्जिदकै कुरा किन उल्लेख गर्नुपरेको भन्नेबारे प्रष्ट पार्दै ढकालले “त्यसमा पुरातत्वका कुराहरु पनि आएको, राम लेखिएको एउटा इटा फेला परेको कुराले त्यहाँ राम मन्दिर थियो वा बाबरी मस्जिद थिएन भन्ने कुरा प्रमाणित नगर्ने तर त्यसैको आधारमा बाँकी सबै रिपोर्टहरु लुकाएर राम मन्दिर त्यहीँ नै थियो, बनाऔं भन्दा हज्जारौं मानिसहरु मरेको” प्रसङ्ग उल्लेख गरे । “त्यसको ठूलो राजनीतिक प्रभाव भारतमा परेको र त्यसका छायाँ छिटाहरु नेपालमा पनि परेको” बताउँदै उनले त्यस किसिमको खतरा रहिरहने पनि उल्लेख गरे ।

“नेपालमा बुद्ध जन्मेको भनेर गर्व गर्ने अवस्थामा आफू नरहेको” उल्लेख गर्दै मानवशास्त्री ढकालले “इतिहासलाई कसरी शासकहरुले राजनीतिक रुपमा उपयोग गर्छ भन्ने उदाहरणको क्रममा पुस्तकमा आफू त्यस प्रसङ्गमा पुगेको” पनि बताए ।

‘किताब र कुराः किताबको कुरा’ शीर्षक दिइएको सो परिचर्चा कार्यक्रममा अनुभव अजीत, कैलाश राई, सञ्जय शर्माले पुस्तक र त्यसले समेटेका विषयवस्तु तथा पुस्तकबारे आफ्ना धारणाहरु राखेका थिए । कार्यक्रमको सहजीकरण  सविन निङलेखुले गरेका थिए ।

मानवशास्त्रीय दृष्टिकोणले इतिहासलाई बुझ्नका लागि प्रथम एवं आधारभूत खुड्किलोको रुपमा लिन सकिने प्रस्तुत पुस्तक इण्डिगो इन्कले प्रकाशित गरेको हो ।