नेपालमा राजनीतिक प्रणाली ‘स्थिर’ तर राजनीतिक सत्ता किन अस्थिर ?

प्राध्यापक द्वय सञ्जीव उप्रेती र प्रमोद मिश्र यसो भन्छन् ! (भिडियोसहित)

मुलुकमा यतिखेर संघीय लोकतान्त्रिक गणतन्त्र छ । यो शासन व्यवस्था लागू भएको झन्डै दुई दशशक  भएको छ । अवस्था र व्यवस्थालाई पुरानै दिशातिर फर्काउने सीमित व्यक्तिहरुको चाहना र माग बाहेक बहुसंख्यकले यस व्यवस्थालाई स्वीकारेका छन्, अभ्यासमा त्यसैलाई लागू गरिरहेका छन् । यस अर्थमा मुलुकमा शासन प्रणाली स्थिर छ भन्ने दावी कतिपयले गर्दै आइरहेका छन् ।

तर यही स्थिर भनिएको शासनप्रणालीभित्र अभ्यास गरिने राजनीतिक सत्ता भने अस्थीर चरित्रको छ । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र लागू भएको वर्षको समयावधिभित्र पटक पटक सत्ता परिवर्तन भएको छ । मुलुकमा कतिखेर को सत्ताको सिंहासनमा राज हुने हो ? कुनै टुंगो छैन । नीति, सिद्धान्त र नैतिकता कुन चरीका नाम हो भन्ने भएको छ, सत्ता स्वार्थको लागि कुनै पनि बेला राजनीतिक सत्तामा हेरफेर परिवर्तन हुनु सामान्य कुरा भएको छ ।

त्यसमाथि थप, यस स्थिर भनिएको शासन प्रणालीमै पनि संघीयता, लोकतन्त्र, समावेशिता, धर्मनिरपेक्षता जस्ता  कुराहरुको व्यवहारिक अभ्यासबारे बारम्बार प्रश्नहरु पनि उठ्दै आइरहेकै छ ।

मुलुकको यो अवस्थालाई प्राज्ञिक वर्गले कसरी लिइरहेको छ ? यसबारे जान्नका लागि हामीले प्राध्यापक द्वय सञ्जीव उप्रेती र प्रमोद मिश्रसँग कुराकानी गरेका थियौं । प्रस्तुत छः उहाँहरुले राख्नु भएका विचार ।

हाम्रोमा जे काम पनि नाटकीय भयो !

प्राडा सञ्जीव उप्रेती, लेखक एवं नागरिक अभियन्ता

हामीले छानेको संघीय लोकतान्त्रिक गणतन्त्रको बाटो राम्रो छ, त्यसमा कुनै समस्या छैन । सामाजिक न्यायसहितको लोकतन्त्र, स्थानीय शासन र परिचयसँग जोडिएको संघीयताको बाटो हामीले ठीक रोजेका छौं । बाटोमा अवरोधहरु आउँछन् । तिनको सामना गर्दै आएका समस्याहरुलाई केलाउँदै, व्यवस्थालाई परिष्कृत गर्दै अघि बढ्नुको विकल्प छैन । बेलाबेलामा सुनिने भाष्य के हो भने संघीय लोकतान्त्रिक गणतन्त्रमा त गयौं तर भ्रष्टाचार घटेन, कानूनमा अझै छिद्रैछिद्र छन् । न्याय प्राप्तिका लागि अझै अनसन बस्नुपर्ने अवस्था छ । अहिलेको प्रणालीले राम्ररी काम गरिरहेको छैन । तर काम नगरेको हुनाले फर्केर फेरि राजतन्त्रतिर जाने, इतिहासको उल्टो बाटोतिर जाने खालको बेलाबेलामा जुन भाष्य निर्माण हुन्छ, त्यो गलत भाष्य हो ।

कानूनमा छिद्रहरु छन्, हुनेखानेलाई न्याय छ, पिँधमा परेकाहरुलाई किन यतिका उकुसमुकुस छ, छट्पटाहट छ, ऊ किन बारम्बार सडकमा आइबस्नुपर्छ भन्ने कुरालाई ध्यान दिनुपर्छ ।

हामीले बाटो ठीक पक्रेका छौं । त्यसमा अवरोध किन आयो, त्यसमा छिद्रहरु किन देखापरे, त्यसलाई पन्छाउने हो, हल गर्ने हो । कानूनमा छिद्रहरु छन्, हुनेखानेलाई न्याय छ, पिँधमा परेकाहरुलाई किन यतिका उकुसमुकुस छ, छट्पटाहट छ, ऊ किन बारम्बार सडकमा आइबस्नुपर्छ भन्ने कुरालाई ध्यान दिनुपर्छ । कानूनमा भएका छिद्रहरुलाई बन्द गर्नुपर्छ ।

संघीयताको अभ्यासमा वास्तविक रुपमा के कस्ता खालका तगाराहरु आइरहेका छन् ? त्यसलाई पन्छाउनु पर्छ ।

संघीयतामा महिला, दलित लगायत सबैको समानुपातिक हिसाबले प्रतिनिधित्व गरिने कुरा राम्रो हो । तर के भइरहेको छ भने उही अनुहारहरु बारम्बार दोहोरिएर आइरहेका छन् । महिलाहरुमा पनि धेरैजसो राजनीतिमा संलग्न पुरुषहरुको नातागोताकाहरु छानिन्छन् । समानुपातिक प्रतिनिधित्वमा आएका महिला दलितहरु पनि निर्णयकारी भूमिकामा छैनन् भन्ने सुनिन्छ । यसलाई सच्याएर जाने हो, फेरि भूतकालमा फर्केर जाने, राजा ल्याउने भनने कुरा सही होइन ।

नेपालमा स्थीर सरकार किन बन्न सकेन ?

हामीले अपनाएका समानुपातिक प्रतिनिधित्वको व्यवस्था रहेसम्म कुनै पनि दलको बहुमत नहुने कुरा पनि आइरहेको छ । त्यसको अर्थ मिलिजुली सरकार बन्ने हो । मिलिजुली सरकार झुलिरहनु कुनै अनौठो कुरा होइन ।

वास्तवमा, अस्थीर सरकार हुनुको मुख्य कारण राजनीतिक संस्कार नै हो । देश हाँक्न भनेर आएका पुराना पार्टी वा नयाँ पार्टीका नेताहरु कुरा त राम्रो गर्नुहुन्छ । तर उहाँहरुले लोकतन्त्रलाई पार्टीभित्र आन्तरिकरण गर्नुभएन ।

तर मिलिजुली सरकार संसारका अरु भागहरुमा पनि छन् । त्यसैले मिलिजुली सरकार बन्ने अवस्था नै अस्थीर सरकारको कारण हो भनेर भन्न मिल्दैन ।

वास्तवमा, अस्थीर सरकार हुनुको मुख्य कारण राजनीतिक संस्कार नै हो । देश हाँक्न भनेर आएका पुराना पार्टी वा नयाँ पार्टीका नेताहरु कुरा त राम्रो गर्नुहुन्छ । लोकतन्त्र, न्याय चाहिँदैन भनेर कसैले भनेका छैनन् । राप्रपा र एकाध बाहेक कसैले पनि राजतन्त्र ल्याउनुपर्छ भनेको छैन । तर उहाँहरुले लोकतन्त्रलाई पार्टीभित्र आन्तरिकरण गर्नुभएन । लोकतान्त्रिक अभ्यास त दलहरुभित्रै देखिनुपर्ने हो नि । दलहरुभित्र नयाँ अनुहारहरुले मौका पाइरहेका छैनन्, उही अनुहारहरुको पुनरावृत्तिले देखाउँछ, आन्तरिक लोकतन्त्रमा उहाँहरुले काम गरिरहनुभएको छैन । संविधानमा समाजवाद त लेखिएको छ तर स्वास्थ्य शिक्षाको क्षेत्रमा कतिहदसम्म समाजवादको अभ्यास भएको छ ? समाजवाद आफैंमा वृहत शब्द हो । मुख्य कुरा त्यो आदर्शतिर हामी कति अघि बढेका छौं भन्ने नै हो । त्यो दिशातिर बढेको देखिँदैन । हाम्रोमा कुरा एकातिर, अभ्यास अर्कोतिर भइरहेको छ । अर्थात् सिद्धान्त र अभ्यासको बीचमा एउटा ठूलो खाडल देखापरेको छ । नेताहरुले सुन्दा राम्रो लाग्ने गरी लोकतन्त्र, समानुपातिक, परिचयको पक्षमा कुरा गर्नुहुन्छ । तर व्यवहारमा त्यो भइरहेको छैन । हाम्रोमा जे काम पनि परफरमेटिभ (नाटकीय) भयो । हेर्दा हाम्रोमा लोकतन्त्रका सबै अवयवहरु छन् तर ती सबै भित्रभित्र खोक्रा छन् ।  

 

निरन्तर नवीकरणको प्रक्रिया नअंगालेसम्म कुनै पनि समाज अगाडि बढ्न सक्दैन ।

प्रा. प्रमोद मिश्र, लेखक एवं नागरिक अभियन्ता

केही व्यक्ति र समूहहरुले केही विमति राखे पनि मोटामोटी रुपमा नेपालमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता जस्ता कुराहरु स्थापित भएका छन् । तिनको व्यवस्थापन गर्ने कुरा गर्दा त्यो अहिले प्रयोग मात्रै भइरहेको अवस्थामा देखिन्छ । नेपालमा योभन्दा अगाडि धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता, समावेशिताका कुरा आएका थिएन । नेपाली समाजमा परम्परागत रुपमा स्थापित सामाजिक ढाँचाले यी नयाँ कुराहरुलाई कसरी आत्मसात गर्छ र कार्यान्वयनमा ल्याउँछ भन्ने हेर्न बाँकी छ । त्यसैले यी सैद्धान्तिक कुराहरुलाई मोटामोटी रुपमा अंगाले पनि वास्तविक रुपमा त्यसको कार्यान्वयन पक्ष अझै पनि प्रयोगकै चरणमा छ ।

गर्दै जाँदा केही कुराहरुलाई संशोधन, सच्याउनुपर्ने वा सुधार गदै लानुपर्ने हुन्छ । प्रयोगको दौरानमा असफल भएका कुराहरुलाई हटाउनु पर्ने पनि हुन्छ । त्यसैले सैद्धान्तिक कुराहरुलाई मोटामोटी रुपमा अंगाले पनि परम्परागत रुपमा कायम समाजको ढाँचा, संस्कृतिको ढाँचा र मानिसहरुको उन्मुखता लगायतका पक्षहरुको पृष्ठभूमिमा हामीले अपनाएका धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता, समावेशिता लगायतका कुराहरु सम्पूर्ण रुपमा ग्रहण भइसकेको छैन । यस अर्थमा हाम्रो लोकतन्त्र शैशवावस्थामा छ र त्यसको गाह्रोपना राजनीतिमा देखिइरहेको छ ।

परम्परागत रुपमा कायम समाजको ढाँचा, संस्कृतिको ढाँचा र मानिसहरुको उन्मुखता लगायतका पक्षहरुको पृष्ठभूमिमा हामीले अपनाएका धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता, समावेशिता लगायतका कुराहरु सम्पूर्ण रुपमा ग्रहण भइसकेको छैन ।

अस्थिरको कारणबारे कुरा गर्दा, एउटा उदाहरणबाट प्रष्ट पार्न चाहन्छु । मानिलिऔं, हामीलाई विराटनगर जानुछ । त्यहाँ जाँदा उडेर जाने कि, गुडेर जाने कि,  कुन बाटो भएर जाने हो? त्यसरी जाँदा पनि कहीँ पहिरो जान सक्छ, कहीँ अन्य अवरोधहरु आउन सक्छ । यी कुराहरु यात्रामा नगई थाहा हुँदैन । अहिलेको प्रणालीले भोगिरहेको समस्याहरुका बीच समाधान खोज्दै यसलाई कसरी स्थायी बनाए लैजाने भन्ने प्रश्न उठ्न सक्छ । यस दौरानमा स्थायित्वका लागि मुलुकलाई प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय वा प्रधानमन्त्रीय प्रणालीमा पनि लान सकिन्छ ।  मुख्यतः यसलाई अग्रगामी दिशामा कसरी लैजाने भन्ने नै हो र त्यो कुरा समाज, बौद्धिक वर्ग र राजनीतिक पार्टीहरुले पनि सोच्ने कुरा हो ।

 हामीले उन्नत राजनीतिक प्रणाली त अपनायौं तर त्यसका लागि चाहिने उन्नत राजनीतिक संस्कार नेपालका राजनीतिक पार्टीहरुमा देखिएन, त्यसैले नेपालीमा राजनीतिक अस्थिरता देखिएको भन्ने सवालका सन्दर्भमा कुरा गर्दा समाजको परम्परागत बनावटले प्रभाव पारिरहेको हुन्छ । हामीले आन्दोलनबाट गणतन्त्रको स्थापना गर्यौं, नयाँ संविधान ल्यायौं र संघीयता, गणतन्त्र लगायतका राजनीतिक प्रणालीहरुलाई अपनायौं । तर हाम्रो समाज परम्परागत समाज हो । हाम्रा राजनीतिक नेताहरुले पञ्चायतविरुद्ध लडे पनि उनीहरुले बोकेको संस्कार त्यतिखेरकै हो । त्यसलाई नयाँ किसिमले कसरी अगाडि बढाउने भन्ने कुरा नयाँ पुस्ताका केही व्यक्तिहरुले देखाइपनि रहेका छन् ।

विग्रेका कुराहरुलाई क्रमिक रुपमा सुधार्दै लानुपर्छ । निरन्तर नवीकरणको प्रक्रिया नअङ्गालुन्जेल कुनै पनि समाज अगाडि बढ्न सक्दैन । त्यसैले निरन्तर विमर्श र संवादको प्रक्रिया अगाडि बढाउने र त्यसबाट निस्केको निष्कर्षलाई कार्यान्वयन गर्नेतिर प्रयास हुनु जरुरी छ ।

त्यसैले विग्रेका कुराहरुलाई क्रमिक रुपमा सुधार्दै लानुपर्छ । निरन्तर नवीकरणको प्रक्रिया नअङ्गालुन्जेल कुनै पनि समाज अगाडि बढ्न सक्दैन । त्यसैले निरन्तर विमर्श र संवादको प्रक्रिया अगाडि बढाउने र त्यसबाट निस्केको निष्कर्षलाई कार्यान्वयन गर्नेतिर प्रयास हुनु जरुरी छ । निरन्तर परिमार्जन गर्दै लैजान सकिएन भने त्यो समाज जड समाज हुन्छ ।

हामीले अंगालेका प्रणालीमा केही कुराहरु सफल भएका छन् भने केही असफल पनि भएका छन् । मुख्य कुरा असफल भएका कुराहरुलाई विचार, विमर्श र छलफलबाट नयाँ तरिकाले सुधार्दै लैजाने नै हो ।

 

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।