विद्यार्थीहरुको भविष्य निर्धारण गर्ने गाओकाओ परीक्षा

हरेक वर्ष चीनमा लिइने विश्वकै सबैभन्दा कडा परीक्षाहरु मध्येका एक

चीनमा हरेक वर्ष जुन महिनाको पहिलो हप्ता एउटा विशेष परीक्षा हुनेगर्छ । उक्त परीक्षालाई सम्पूर्ण देशले नै अति नै महत्त्व दिएर हेर्ने गर्छ। यो परीक्षा हो–विश्वविद्यालय र कलेजहरुमा भर्नाको लागि लिइने एकीकृत परीक्षा। त्यसलाई चीनिया भाषामा संक्षेपमा गाओकाओ भनिन्छ। यो परीक्षालाई विश्वकै सबैभन्दा कडा परीक्षाहरु मध्ये एक मानिन्छ।

गाओकाओ परीक्षालाई चीन सरकारले कति महत्त्व दिन्छ भनेर बुझ्न प्रश्नपत्रको गोप्यतालाई लिएर हेर्न सकिन्छ। चीनको कानुन अनुसार राज्यको गोप्यतालाई ३ तहमा वर्गीकृत गरिएको हुन्छ। पहिलो– अति गोप्य, दोश्रो– उच्च गोप्य र तेश्रो– गोप्य। गाओकाओको प्रश्न पत्रहरुलाई अति गोप्यको श्रेणीमा राखिएको छ। यसको खुलासा गर्नु राष्ट्र सुरक्षालाई गम्भीर खतराको रुपमा लिइने गर्छ। यी प्रश्नपत्रहरु प्रकाशित गर्ने प्रेसहरु बारे पनि उत्तिकै गोप्यता राखिन्छ। ती प्रेसहरु मे महिना बन्द गरिन्छन् र तिनीहरुका सबैलाई कडा निगरानीमा राखिन्छन्। प्रेसका कर्मचारी र मजदुरहरुलाई मोबाइल फोन प्रयोग गर्न र बाहिरी जगतसँग सम्पर्क गर्न रोक लगाइन्छ। उनीहरुले आफ्नो कारखाना गाओकाओ परीक्षा नसकिन्जेलसम्म बाहिर जान पाउँदैनन्। यस्ता कडा नियम कानुनबाट कामदारहरुलाई पर्ने मानसिक प्रभावलाई हटाउन उनीहरुलाई मनोवैज्ञानिक परामर्श उपलब्ध गराउने गरिन्छ।

प्रश्नपत्रहरुलाई ३ जना प्रहरी अफिसरहरुको सुरक्षामा कारमार्फत् विभिन्न प्रान्तहरुको निर्धारित सुरक्षित स्थानमा पुर्‍याइन्छ। परीक्षाका दिन प्रश्नपत्रहरुलाई सशस्त्र प्रहरीहरुको सुरक्षामा  ३ घण्टा अगाडि परीक्षा केन्द्रहरु पुर्‍याइन्छ। ती कारहरुमा समेत निगरानी क्यामेराहरु जडान गरिएका हुन्छन्। र ती कारहरुलाई चीनको बेइदो प्रणाली (जीपीस) बाट ट्रयाक गरिएको हुन्छ।  त्यस्तै गरेर परीक्षा केन्द्रमा विद्यार्थीहरुलाई मोबाइल लगायतका सामाग्रीहरु लान प्रतिबन्धित गरिएको हुन्छ। पुरै परीक्षा केन्द्रमा वायरलेस सिग्नल अवरुद्ध गरिएको हुन्छ।

परीक्षाको दिन विद्यार्थीहरुलाई परीक्षा केन्द्रसम्म पुग्न कुन बाधा नहोस् भनेर बिहानैदेखि ट्राफिक प्रहरीहरुले सडकलाई खुला गराउछन्। गाओकाओ परीक्षाको अवधिभरि प्रशासनले परीक्षा केन्द्र वरिपरि विद्यार्थीहरुको ध्यान भंग नहोस् भनेर ध्वनि प्रदुषण नियन्त्रण गर्न गाडीहरुलाई हर्न बजाउन प्रतिबन्ध पनि लगाउने गर्छन्। त्यस्तै परीक्षा अवधि भरि वरिपरिका रेस्टुरेन्टहरुको सञ्चालनमा समेत अस्थायी रोक समेत लगाउने गर्छन्।

गाओकाओ परीक्षाको सुरुवात चीनमा जनवादी क्रान्ति सम्पन्न भएको केही वर्षपछि १९५२ मा भएको थियो। बीचमा केही वर्ष यो परीक्षा राजनीतिक कारणले स्थगित गरिएको पनि थियो। माओ त्से तुंगको नेतृत्वमा सुरु गरिएको सांस्कृतिक क्रान्तिको अवधि १९६६ देखि १९७६ सम्म यो परीक्षा स्थगित गरिएको थियो। त्यस बेला विद्यार्थीहरुलाई गाउँमा किसानहरुसंग काम गर्न पठाइएको थियो। १९७० को सुरुवातमा फेरि विश्वविद्यालयहरुमा भर्ना लिन थालियो। तर भर्ना प्रवेश परीक्षाको आधारमा नभएर क्रान्तिकारी कमिटीहरुको मुल्यांकनको आधारमा गरिन्थ्यो। १९७६ मा माओ त्से तुंगको निधनपछि १९७७ देखि फेरि गाओकाओ परीक्षा प्रणाली सुरु गरियो। त्यस बेला यो परीक्षामा सहभागी हुने उमेर हद  हटाइएको थियो। त्यसबेला भर्खर किशोर अवस्था पार गरेका युवाहरुदेखि लिएर ३५ कटेका विद्यार्थीहरु समेत यो परीक्षामा सामेल भएका थिए।

गाओकाओ परीक्षामा ३ वटा अनिवार्य विषयहरु हुने गर्छन। ती हुन् चीनिया भाषा, गणित र एउटा विदेशी भाषा (अंग्रेजी, फ्रेन्च, जापानी, फ्रेन्च, रुसी, जर्मन र स्पेनिश)। यस पछि विद्यार्थीहरुलाई अझ विधागत रुपमा छुट्टाइन्छ। मानविकी संकाय र विज्ञान संकायमा। मानविकी संकाय रोज्नेहरुले इतिहास, राजनीतिशास्त्र र भूगोलको परीक्षा दिनुपर्छ भने विज्ञान रोज्नेहरुले भौतिकशास्त्र, रसायनशास्त्र र जीव विज्ञानको। यो परीक्षा दुई दिनसम्म हरेक दिन ९ घण्टासम्म चल्ने गर्दछ। गाओकाओ परीक्षा हरेक वर्ष जुन ७ र ८ मा हुने गर्छ। पहिला यसलाई जुलाई महिनामा गरिन्थ्यो तर त्यसबेला दक्षिणी चीनमा चर्को गर्मी पर्ने हुनाले त्यहाँका विद्यार्थीहरुको सुविधाको लागि जुन महिनामा सारिएको हो।

यो वर्ष यस परीक्षामा १ करोड ३४ लाख १० हजार विद्यार्थीहरु सहभागी भएका छन्। यो संख्या गत वर्षभन्दा करिब ५ लाख बढी हो। गाओकाओ परीक्षा अति नै प्रतिस्पर्धात्मक हुनेगर्छ। पहिलो श्रेणीका विश्वविद्यालयमा भर्नाको दर करिब २०% रहेको छ। त्यस्तै २% विद्यार्थीहरुले मात्र राम्रा विश्वविद्यालयमा भर्ना हुन् पाउँछन्। यस परीक्षाको रिजल्टले विद्यार्थीहरुले कुन विश्वविद्यालयमा भर्ना हुने र भविष्यमा कस्तो पेशा वा जागिर पाउने भन्ने कुरा निर्धारण हुने गर्छ। अर्थात यसले विद्यार्थीहरुको भविष्य निर्धारण गर्दछ। त्यही भएर विद्यार्थीले मात्र नभएर उनीहरुको परिवारले समेत यो परीक्षालाई अत्यन्त महत्त्व दिने गर्दछन्। यो परीक्षामा राम्रोसंग उत्तीर्ण हुनको लागि विद्यार्थीहरुले सानो कक्षाबाट नै मेहनतका साथ तयारी गर्न थाल्छन्। विद्यार्थीहरुले आफ्नो स्कुलको नियमित पढाइ बाहेक पनि अतिरिक्त कक्षा र ट्युसन पढ्ने गर्छन्।अधिकांश चीनिया विद्यार्थीहरुले यो परीक्षाको तयारीको क्रममा १५-१५ घण्टा सम्म पढ्ने गर्छन्। यो परीक्षामा राम्रो गर्ने ठूलो दबाब विद्यार्थीहरु माथि हुने गर्छ।  यो परीक्षामा उमेरको हद छैन र विद्यार्थीले चाहेमा अनेक पटक दिन सक्छन्। तर अधिकांश विद्यार्थीका लागि एक पटक मौका हुने गर्छ।   उनीहरुको सफलतामा स्वयम् विद्यार्थीहरुले मात्र होइन, परिवार र समाजले समेत हर्षोल्लास र खुसियाली मनाउने गर्छ। चीनिया समाजमा गाओकाओ परीक्षाको महत्त्व गहिरोसंग गढेर रहेको छ।

Image source: https://assets.tes.com/