बुद्धको आँसु

गौतम बुद्ध भ्रमण गरिरहेका थिए । उनी हिँड्दाहिँड्दै एउटा आँपको बगैंचामा पुगे । त्यहाँ एउटा आँपको रुखमुनि बसे । भुइँमा खसेका आँप टिपेर उनले भोक मेटाए । अनि आराम गर्न थाले ।

केही बेरमै एक हुल युवाहरु त्यस बगैंचामा आइपुगे । उनीहरुले ढुङ्गा हानेर आँप खसाले । उनीहरु त्यहाँ गौतम बुद्ध आराम गरिरहेका छन् भन्ने पत्तो नै पाएनन् । यसैक्रममा एउटा ढुङ्गा बुद्धको टाउकोमा बज्रियो । उनको टाउकोबाट रगतको धारा बग्न थाल्यो ।

गौतम बुद्ध घाइते भएको देखेर उनीहरु बुद्धनेर पुगे । उनीहरुले बुद्धसँग माफी मागे । बुद्धको आँखाबाट आँसु बगिरहेको थियो । त्यो देखेर ढुङ्गा हान्ने युवालाई घोर पश्चताप भयो । उनी गौतम बुद्धसँग माफी माग्न थाले ।

तर बुद्धले शान्त भावले ती युवाहरुलाई जवाफ दिए, “हे युवाजन, तिमीहरुले आँपको बोटमा ढुङ्गा हान्यौ, त्यसको बदलामा उसले तिमीहरुलाई मीठो फल दियो । तर जब तिमीहरुले हानेको ढुङ्गा मलाई लाग्यो, मैले तिमीहरुलाई मीठो फल हैन, चिन्ता र अपराधबोध दिइरहेछु । मेरो आँखामा आँसु पीडाले है, त्यो सोचले गर्दा आइरहेको छ ।’’

यस्ता थिए बुद्ध, जसले हमेशा परोपकारको भावना राखे, अरुले आफूविरुद्ध कस्तो व्यवहार गरे भन्नेबारे चिन्ता गरेनन्, सधैं अरुको भलाइ कसरी गर्न सकिन्छ भनेर मात्रै सोचिरहे ।