लामखुट्टेले पनि मानिस छानी छानी टोक्ने गर्छ !
पचास मिटर परबाटै गन्ध थाहा पाउने र शिकारको लागि ४० माइल परसम्म उड्ने अद्भूत क्षमता हुन्छ लामखुट्टेमा !
एक पटक म र मेरा केही साथीहरु खाजा खान होटेल गयौं । समय त्यस्तै दिनको तीन बजेतिरको थियो । साथी राजेन्द्र लामखुट्टेले टोक्यो भनेर छट्पटाउन थाले । जबकि, मलगायत अरु साथीहरुलाई भने त्यसबेला लामखुट्टेले टोकेकै थिएन । हामीले ठट्टा पनि गर्यौं– लामखुट्टेलाई पनि तपाईंको रगत मीठो लाग्दो रहेछ । सके सेतो छाला भएर होला । त्यसैले सँगै बस्दा पनि लामखुट्टेले तपाईंलाई मात्रै टोक्यो, अरु हामी कसैलाई पनि टोकेन ।
के साँच्चै नै लामखुट्टेले पनि त्यसरी मानिस छानिछानी टोक्ने गर्छ त ? त्यो घटनापछि मलगायत साथीहरुको मनमा जिज्ञासा जाग्नु स्वभाविकै थियो । र, खोज्दै जाँदा जवाफ पनि फेला पर्यो– हो त नि, लामखुट्टेले पनि आफ्नो शिकार छानिछानी रोज्दो रहेछ ! विभिन्न अध्ययन–अनुसन्धानहरुले यस्तै कुरा देखाएको पाइयो ।
फ्लोरिडा विश्वविद्यालयका प्रोफेसर जेरी बटलर, पि.एच.डी.,का अनुसार लामखुट्टेले सँगै बसेका मानिसलाई पनि जथाभावी टोक्ने गर्दैन । त्यसले आफ्नो शिकार रोजेर मात्रै टोक्ने गर्छ । दशजनामध्ये एक जना मानिसले लामखुट्टेलाई बढी आकर्षित गर्ने गर्छ ।
पोथी लामखुट्टेले मात्रै टोक्छ !
लामखुट्टेले मानिसलाई टोक्नुको अर्थ खानेकुरा प्राप्तिको लागि भने होइन ! अर्थात् लामखुट्टेले खानाको रुपमा मानिसको रगत चुस्छ भन्ने होइन । वास्तवमा, लामखुट्टेको अण्डाको विकासको लागि रगतको आवश्यकता पर्ने गर्छ । त्यसैले खालि पोथी लामखुट्टेले मात्रै मानिस वा जनावरलाई टोक्ने गर्छ । भाले लामखुट्टेले रगत चुस्ने गर्दैन । भाले र पोथी दुबै लामखुट्टेको आहारा भनेको फूल वा विरुवाको नेक्टरमा पाइने गुलियो रस, फलको रस र विरुवाहरुबाट चुहिने गुलियो रस नै हो ।
पोथी लामखुट्टेको मुखमा एउटा लामो सियो जस्तो सिरिन्ज हुन्छ, यही सिरिन्जको मद्दतले पोथी लामखुट्टेले रगत चुस्ने गर्छ । वास्तवमा, रगतमा हुने प्रोटिन लामखुट्टेको बच्चा जन्मने अण्डा उत्पादनको लागि अति आवश्यक हुने गर्छ । भाले लामखुट्टेले अण्डा पार्न नसक्ने भएकोले उसले रगत चुस्नु आवश्यक नै पर्दैन त्यसैले उसको मुखमा रगत चुस्ने अंग पनि हुँदैन । एक पटकमा पोथी लामखुट्टेले २५० वटासम्म अण्डा पार्न सक्छ र अण्डा पार्दैपिच्छे उसले ताजा रगत चुस्नु जरुरी हुन्छ । एउटै पोथी लामखुट्टेले पटक पटक टोक्न सक्छ ।
लामखुट्टेले कस्तो मानिस र छाला रगत चुस्नको लागि मन पराउँछ भन्ने कुरा अझैसम्म वैज्ञानिकहरुले किटेर भन्न सकेका छैनन् । तर मानिसले पैदा गर्ने कुन पदार्थ र गन्धले लामखुट्टेलाई बढी आकर्षित गर्छ भन्ने सम्बन्धमा धरै नै अनुसन्धानहरु भएका छन् ।
वैज्ञानिकहरुका अनुसार लामखुट्टे आकर्षित हुनुमा ८५ प्रतिशत भूमिका जेनिटिक रहेको हुन्छ । हाम्रो शरीरमा केही निश्चित रसायनहरु हुन्छन्, जुन छालामा निस्किने गर्छन् । ती रसायन मानिसपिच्छे कम वा बढी निस्कने गर्छन् । जसको छालामा ती रसायन बढी मात्रामा देखापर्छ, उसैप्रति लामखुट्टे पनि बढी आकर्षित हुने गर्छन् ।
अनुसन्धानकर्ताहरुका अनुसार विशेष गरेर जसको छालाको सतहमा स्टेरोयड वा कोलेस्ट्रोल जस्ता रसायनको मात्रा बढी हुने गर्छ, लामखुट्टेले उसैलाई बढी टोक्ने गर्छ । तर लामखुट्टेले बढी टोक्यो भन्दैमा उसको रगतमा कोलेस्ट्रोलको मात्रा उच्च छ वा बढी छ भन्ने अर्थ मात्रै चाहिँ लगाउन नमिल्ने उनीहरुको भनाइ छ । लामखुट्टेले बढी टोक्ने मानिसको शरीरमा कोलेस्ट्रोलको मात्रा बढी नहुन पनि सक्छ, तर उसको शरीरले कोलेस्ट्रोललाई बढी सुक्ष्मताका साथ प्रोसेस गरेर नचाहिने तत्वको रुपमा छालाबाट निस्कासित गर्ने क्षमता भने अवश्य हुन सक्छ ।
लामखुट्टेले यूरिक एसिडलगायत अन्य निश्चित एसिड रसायनहरु धेरै पैदा गर्ने मानिसलाई पनि बढी टोक्ने गर्छ । यूरिक एसिड लगायतका यस्ता रसायनहरुले लामखुट्टेको गन्ध थाहा पाउने क्षमता (olfactory sensations) लाई बढी उत्तेजित र आकर्षित गर्ने गर्छ, जसले गर्दा लामखुट्टेले वरिपरि थुप्रै शिकार हुँदाहुँदै पनि त्यस्तो रसायन बढी पैदा गर्ने मानिसलाई नै टोक्ने गर्छ ।
अनुसन्धानकर्ताहरुका अनुसार लामखुट्टेको गन्ध थाहा पाउने क्षमता अद्भूत हुन्छ । त्यति सानो कीरा भएर पनि यसले ५० मिटर परबाटै गन्ध थाहा पाउन सक्छ । फेरि कतिसम्म भने शिकारको खोजीमा लामखुट्टे ४० माइल परसम्म उडेर जाने गर्छ ।
लामखुट्टेको यस्तो क्षमता बढी कार्बन डाइअक्साइड निस्कासन गर्ने मानिसहरुको लागि निश्चय पनि खुसीको कुरा होइन ।कुनै पनि किसिमको कार्बन डाइअक्साइडले टाढाकै दूरीबाट लामखुट्टेलाई सजिलै आकर्षित गर्ने गर्छ । हेक्का रहोस्, साना बच्चाहरुले भन्दा ठूला मानिसहरुले बढी कार्बनडाइअक्साइड निस्कासन गर्ने गर्छन् । त्यसैले लामखुट्टेले पनि सानाका तुलनामा ठूला र मोटा मानिसहरुलाई बढी टोक्ने गर्छ । अझ गर्भवती महिलाले सामान्यभन्दा बढी नै कार्बनडाइअक्साइड निस्कासन गर्ने गर्छन् । त्यसैले तुलनात्मक रुपमा गर्भवती महिलाहरु पनि लामखुट्टेको टोकाइको ज्यादा शिकार बन्ने गर्छन् ।
माथि उल्लिखित कुराहरु बाहेक, मानिसको गतिविधि र उसको शरीरको तापक्रमले पनि लामखुट्टेलाई कम वा बेसी आकर्षित गर्ने गर्छ । त्यसैगरी, हामीले प्रयोग गर्ने परफ्यूम, हेयरस्प्रे, साबुन जस्ताका गन्धहरुले पनि लामखुट्टेलाई कम वा बेसी आकर्षित गर्नमा केही भूमिका खेल्ने गर्छ ।
लामखुट्टेकै सम्बन्धमा अनुसन्धानमा संलग्न वैज्ञानिकहरुका अनुसार, हामीले लगाउने लुगाको रंगले पनि लामखुट्टेलाई कम वा बेसी आकर्षित गर्न केही हदसम्म भूमिका निर्वाह गर्ने गर्छ । उनीहरुका अनुसार, सेतो वा हल्का रंगको लुगाले तापक्रमलाई परावर्तन गर्ने गर्छ । त्यसको विपरीत गाढा रंगको लुगाले तापक्रम सोस्ने गर्छ । त्यसैले हल्का रंगको तुलनामा गाढा रंगको लुगा लगाउनेहरुप्रति लामखुट्टे बढी आकर्षित हुने गर्छ ।
लामखुट्टेबारे केही जानकारी |
• लामखुट्टे यस पृथ्वीका आदिम जीवहरुमध्येको एउटा जीव हो । वैज्ञानिकहरुका अनुसार यस पृथ्वीमा लामखुट्टे आजभन्दा १७० मिलियन वर्षपहिलेदेखि रहँदै आएको छ । लामखुट्टेका करिब ३ हजार प्रजातिहरु छन् । अमेरिकामा मात्रै लामखुट्टेका १७५ प्रजातिहरु फेला परिसकेका छन् । त्यसै गरी उत्तर अमेरिकामा मात्रै पनि १५० प्रजातिका लामखुट्टेहरु पाइन्छन् । • पोथी लामखुट्टे यसको प्रजाति र वातावरणअनुसार एक हप्तादेखि कयौं हप्तासम्म पनि बाँच्न सक्छ । केही पोथी लामखुट्टेहरुले त जाडो महिनामा समेत बाँचेर अर्को गर्मीयाममा मर्नुभन्दा पहिले बच्चा जन्माउन समेत भ्याउँछन् । तर सामान्यतः भाले लामखुट्टे चाहिँ १० देखि २० दिनसम्म मात्र बाँच्छ र पोथीसँगको संसर्गपछि मर्ने गर्छ । केही लामखुट्टेहरु वयस्क अवस्थामा ६ देखि ८ महिनासम्म शीतनिन्द्रामा जान पनि सक्छन् । अझ धु्रवीय क्षेत्रमा पाइने केही लामखुट्टेहरु त दुई पटकसम्म शीतनिद्रामा जान सक्ने र एक वर्षभन्दा बढीसम्म बाँच्ने पनि हुन्छन् । औसत रुपमा लामखुट्टेको आयु १०० दिन मानिन्छ । • प्रायः गरेर जाडो मौसममा हैन, गर्मी मौसममा हामी लामखुट्टे बढी देख्ने गर्छौं । त्यसैले हामीलाई के लाग्छ भने जाडोमा लामखुट्टेहरु बाँच्न सक्दैनन् । वास्तवमा, लामखुट्टे चीसो रगत भएको कीरा हो । त्यसैले वरिपरिको वातावरणको तापक्रम लामखुट्टेको शरीरको तापक्रमभन्दा कम भयो भने त्यो क्रियाशील हुन सक्दैन । यस्तो अवस्थामा लामखुट्टे शीतनिन्द्रामा जाने गर्छ । • उत्पत्तिको बेलादेखि अहिलेसम्म लामखुट्टेले कुनै पनि रसायन, दृश्य वा तापक्रमसम्बन्धी गतिविधिलाई तुरुन्त थाहा पाइहाल्ने अद्भूत क्षमता विकास गरेका छन् । गन्ध थाहा पाउने लामखुट्टेको अंग यसको एन्टेनामा हुन्छ । त्यसको मद्दतले लामखुट्टेले कार्बनडाइअक्साइडको गन्ध थाहा पाउने गर्छ । मानिस लगायत सबै स्तनधारी प्राणीले कार्बनडाइअक्साइड छोड्ने गर्छ । यो ग्याँस हाम्रो श्वासका साथसाथै छालाबाट पनि निस्कने गर्छ । लामखुट्टेले कार्बनडाइअक्साइडको गन्धलाई १०० फिट अर्थात् ३० मिटर परसम्मबाट थाहा पाउन सक्छ । लामखुट्टेको उड्ने गति प्रतिघण्टा एकदेखि डेढ माइलसम्म हुन्छ । • लामखुट्टेले टोक्दा रगत चुस्नुभन्दा पहिले त्यसले हाम्रो छालामा र्याल (saliva) छोडिदिन्छ । लामखुट्टेको त्यो र्यालले छाला छेड्न सजिलो हुने मात्र हैन, रगतलाई पातलो बनाउने काम पनि गर्छ भने त्यसले रगतलाई जम्न पनि दिँदैन । यसले रगत खाइसकेपछि पनि त्यो र्याल हाम्रो छालामा रहिरहन्छ । यही र्यालका विरुद्ध हाम्रो शरीरको प्रतिरक्षा प्रणाली सक्रिय हुन्छ । त्यसैको परिणामस्वरुप हामीलाई टोकेको भागमा चिलाउन थाल्छ । त्यही र्यालको कारण हुने एलर्जीले गर्दा नै हाम्रो छालामा सानो रातो फोका उठ्ने गर्छ । त्यो र्यालविरुद्ध हाम्रो प्रतिरक्षा प्रणालीले काम गरेपछि वा र्याल सुकेपछि त्यो रातो फोका पनि हराएर जान्छ ।
|
प्रतिक्रिया