सुन बनाउने ब्याक्टेरिया क्युप्रिविड्स मेटालिड्युरन्स !
संसार विचित्रका कुराहरुले भरिएका छन् । त्यस्तै एउटा विचित्रको व्याक्टेरिया हो– क्युप्रिविड्स मेटालिड्युरन्स (Cupriavidus metallidurans) । यो व्याक्टेरिया यस अर्थमा विचित्रको छ कि यसले अत्यन्त विषालु धातुहरूलाई पनि सहन तथा त्यसलाई प्रक्रियाकरण गर्न सक्छ। यसको अद्वितीय धातु-प्रतिरोध क्षमताका कारण यस व्याक्टेरियालाई वैज्ञानिक रूपमा औद्योगिक र जैविक रूपमा महत्त्वपूर्ण मानिन्छ।
क्युप्रिविड्स मेटालिड्युरन्स क्याडमियम, जिंक, पारा, तामा, सुन जस्ता विभिन्न गह्रौं धातुहरूको उच्च सान्द्रता (Concentration) मा बाँच्न सक्छ। सामान्यत: सान्द्रता भन्नाले कुनै पदार्थ (solute) को परिमाणलाई अर्को पदार्थ (solvent) मा घुल्ने क्रममा भएको अनुपातलाई जनाउँछ।
यस व्याक्टेरियाले धातुहरूलाई निष्क्रिय बनाउने विभिन्न इन्जाइमहरू उत्पादन गर्छ । ती इन्जाइमले जसले धातुहरूको विषाक्त प्रभावलाई कम गर्छ।
अझ सबैभन्दा रोचक कुरा त के छ भने यस ब्याक्टेरियाले धातुहरुको विषाक्त तत्त्वहरुलाई पचाउने क्रममा पैदा हुने रासायनिक प्रतिक्रियाको कारण त्यसता विषाक्त धातुका तत्त्वहरुलाई २४ क्यारेट शुद्ध सुनमा बदल्न सक्छ । तर त्यो सुन हामीले देख्दै आएको जस्तो ठोस र निश्चित आकारको नभई सुनको नानो-कण (Gold Nanoparticles) को रुपमा हुने गर्छ ।
यो ब्याक्टेरियाले गह्रौं धातुहरूसँग अन्तर्क्रिया गरेर तिनीहरूलाई कम विषालु धातुको रुपमा परिणत गर्छ। यसको यही विशिष्ट गुणका कारण औद्योगिक फोहोर व्यवस्थापन र धातुहरूको पुनःचक्रण (recycling) मा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने देखिन्छ ।
जैव प्रदूषण नियन्त्रण (Bioremediation) मा यो ब्याक्टेरिया उपयोगी हुन सक्छ । खासगरी, प्रदूषित माटो र पानीबाट भारी धातुहरू हटाउन यसलाई प्रयोग गर्न सकिन्छ।त्यसै गरी खानी (mining) क्षेत्र र औद्योगिक प्रदूषणबाट प्रभावित स्थानहरूको सफाइमा पनि यसको महत्त्वपूर्ण भूमिका हुन सक्ने देखिन्छ ।
त्यसैगरी, यस व्याक्टेरियाको सुनका नानो-कण उत्पादन गर्ने क्षमताका कारण यसलाई नानोप्रविधि (nanotechnology) मा उपयोग गर्न सकिन्छ कि भन्नेबारेमा पनि अनुसन्धानहरु भइरहेका छन् ।
यो ब्याक्टेरियाको सहायताबाट परम्परागत उत्खनन प्रक्रियाको लागत र वातावरणीय क्षति घटाउन सकिन्छ। क्युप्रिविड्स मेटालिड्युरन्स (Cupriavidus metallidurans) लाई धातु उत्खनन (bio-mining) मा जैविक प्रविधिको माध्यमबाट प्रयोग गर्न सकिन्छ। यसको विशिष्ट धातु-प्रतिरोधी र धातु-प्रशोधन क्षमताले यसलाई खानी क्षेत्रका परम्परागत उत्खनन विधिहरूको वातावरणीय प्रभावलाई घटाउन र धातुहरूको दक्ष पुनःप्राप्ति गर्न मद्दत पुर्याउँछ।
यो ब्याक्टेरियाको बारेमा सबैभन्दा पहिलो अध्ययन सन् १९७६ मा भएको थियो।यसको जीनोम सिक्वेन्सिङ (genome sequencing) सन् २००६ मा गरिएको थियो। त्यही क्रममा यस ब्याक्टेरियाका धातु प्रतिरोधी जीनहरूको पहिचान भएको थियो र अनुसन्धानले यसलाई औद्योगिक फोहोर व्यवस्थापनमा एक सम्भावित उपायका रूपमा लिइन थालिएको हो ।
प्रतिक्रिया