प्रसाईले पाए ‘न्याय’ !

नेपाली समाजमा एउटा उक्ति प्रचलित छ- मर्नु भन्दा बौलाउनु निको । हो, यही भनाइको पार्याय झैँ बनेका मेडिकल व्यवसायी दुर्गा प्रसाइले अन्ततः ‘न्याय’ पाएका छन् । सरकारले मेडिकल कलेज सञ्चालनका लागि आशयपत्र दिएर पनि पूर्वाधार निर्माणपछि कलेज संचालनको अनुमति नदिँदा उनी लामो समयदेखि मारमा परेको भन्दै आएका थिए ।

सोमबार सर्वोच्च अदालतले गरेको फैसालापछि उनका लागि त्यो बाटो खुलेको हो । अब मेडिकल कलेज सञ्चालनका लागि प्रसाईंले अनुमति पाउने भएका छन् ।

प्रसाईको झापा, बिर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेजको सम्बन्धनसम्बन्धी विवाद लामो समयदेखि चल्दै आएको थियो । उनको सो कलेज सञ्चालनका लागि आशयपत्र स्वीकृत गराई तत्सम्बन्धी सम्पूर्ण प्रक्रिया पूराएर सवै पूर्वाधार तयार गर्दा  पनि सम्बन्धन पाएको थिएन । त्यसका विरुद्ध प्रसाईले चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालय लगायतका निकायहरुलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमाथि सर्वोच्चका न्यायाधीशहरु डा. कुमार चुँडाल र सारङ्गा सुवेदीको इजलासले फैसला सुनाउँदै उनको कलेजलाई सबन्धन दिन आदेश जारी गरेको हो ।

त्यसो त उनका अनुसार यदि मागे अनुसार घुस ख्वाएको भए उनले त्यसैबेला कलेज संचालनको अनुमति पाउँथे । तर, ‘पैसा माग्ने’ बिरुद्ध उनी आक्रामक भए र त्यसको भण्डाफोर गरे । उता उनलाई पूर्वाधार निर्माण गर्दाको बैंक ऋणले च्याप्न थाल्यो । उनी बैंक तथा वित्तीय संस्था विरुद्ध थप आक्रामक बने ।

रोचक त के छ भने प्रसाईंको पीडा थियो सम्बन्धन नपाउनु तर उनले त्यो कुरालाइ भन्दा सहकारी पीडित, लघुवित्तका ऋणी र मिटरब्याजबाट प्रताडितहरुको विषयलाई बढी महत्वका साथ उठान गरे । त्यसो गर्दा उनको पक्षमा एक प्रकारको जनमत निर्माण भयो । उनी बैंकले आफूलाई दिएको दवावको बदला मारवाडी समुदायप्रति आक्रामक बनेर दिए ।

स्मरण रहोस्, मेडिकल व्यवसायी दुर्गा प्रसाईको राजनीतिक वृत्तमा निक्कै बलियो सम्बन्ध रहेको छ । कुनै बेला उनले नेकपा एमालेका अध्यक्ष केपी ओली तथा नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई आफ्नो घरमा मार्सी चामलको भातसहित भतेर खुवाएको घटना निक्कै चर्चित बनेको थियो । त्यसको लगत्तै नेकपा एमाले र नेकपा माओवादीबीच एकता भएपछि त प्रसाईले आफूले नै पार्टी एकता गराउन अहं भूमिका खेलेको भनेर जस समेत लिने गरेका थिए ।

राजनीीतक वृत्तसँगको आफ्नो सम्पर्क र सम्बन्धकै बलमा उनले पटक पटक आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिलाउन निक्कै कोशिश गरेको र त्यही कोशिश असफल भएपछि उनी भड्किएर राजावादी कित्तामा हाम्फाल्न पुगेको विश्लेषण समेत गर्ने गरिन्छ । पछिल्लो चरणमा राजालाई पुनस्थापना गराउने अभियानमा जोडतोडका साथ लागेका प्रसाई बैंक तथा अन्य निकायहरुबाट ऋण लिएकाहरुको ऋण मिनाहाको प्रलोभनसहितको नारा दिएर अभियान नै चलाउँदै पनि आएका छन् । रमाइलो कुरा के छ भने, उनको त्यो अभियानले चर्को व्याजदरबाट पीडित ऋणीहरुलाई आकर्षित गर्दै गइरहेको पनि देखिन्छ ।

त्यसो त संविधानमा मुलुक समाजवादोन्मुख भने पनि शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्रहरुमा समेत निजी क्षेत्रकै पकड र हालीमुहाली छ । समाजवादी प्रणालीमा शिक्षा र स्वास्थ्य राज्यको मूल दायित्वभित्र पर्छ भन्ने कुरा दन्तेकथा बनिदिँदा नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रको व्यापार सुनको फूल पार्ने कुखरी बनेको छ । त्यसमाथि थप मेडिकल शिक्षा त अत्यन्तै महंगो समेत रहँदै आएको छ । यस स्थितिमा मेडिकल कलेज सञ्चालन गर्ने तारतम्यमा विगत लामो समयदेखि जुटेका प्रसाईंको लागि सर्वोच्चको फैसला ठूलै राहत बन्ने पक्का छ ।

जे होस्, उनले अराजकता नै आफ्नो साहरा बनाएर जनमत आफूतिर बटुले  तर अन्त्यमा औपचारिक रुपमा न्यायालयबाट नै ‘न्याय’ प्राप्त गरे । उनले यसबीच धेरैको सातो टिपे, कतिपयको निन्द्रा गायव पारे । ठुला नेता तथा बलिया ब्यापारी र कर्मचारीसँग सिधै भिडे । अब, उनि कसरी अगाडी बढ्छन् भन्ने कुरा हेर्न बाँकी छ । किनकि अब उनले ‘जनताका मुद्दा’ बोक्छन् वा त्यसलाई भर्‍याङ बनाएर आएका उनी त्यसलाई चट्टै छाडेर आफ्नो ब्यापार सम्हाल्छन् भन्ने प्रश्न उठेको छ ।