कसरी भएको थियो मिश्रको शान ग्रेट पिरामिडको निर्माण ?
मिश्र (इजिप्ट) को शान र झण्डै पर्यायवाचीको रुपमा रहेको ग्रेट पिरामिड (Great Pyramid) को निर्माण आजभन्दा ४५०० वर्ष अगाडि भएको थियो । यो पिरामिड राजधानी कायरो नजिक, नाइल नदीको पश्चिमी किनाराको गिजा भन्ने ठाउँमा रहेको छ ।
करीब २० वर्ष लगाएर निर्माण गरिएको उक्त पिरामिड बनाउन करीब १ लाख मजदूरहरुबाट काम लिइएको थियो भनेर अनुमान गरिएको छ । प्राचीन ग्रीक इतिहासकार हेराडोटसले पिसरामिड निर्माण भएको शताब्दीयौंपछि उक्त कुरा उल्लेख गरेर लेखेका थिए । ती मजदूरहरुलाई वर्षको तीन महिना, बाढी आउने समयमा नाइल नदीबाट ढुंगा ओसार्न प्रयोग गरिएको थियो । वर्षको तीन महिनाको दरले ती मजदूरहरुले पिरामिड निर्माण गर्नको लागि प्रत्येकले करीब २.५ टन ढुंगा संकलन गरेका थिए । तर त्यो संख्या बढाइचढाइ गरेर लेखिएको भनेर मान्ने अध्येताहरु कम छैनन् । पुरातात्विक प्रमाणहरु र निर्माणसम्बन्धी कम्प्युटर सिमुलेसनका आधारमा के अनुमान गरिएको छ भने त्यसबेला पिरामिड निर्माण गर्न २० हजारदेखि ३० हजार मात्र मानिसहरु खटिएको हुनुपर्छ ।
सो पिरामिडमा जम्मा २३ लाख वटा ढुंगाका ठूला ठूला ब्लकहरु प्रयोग भएको आँकलन गरिएको छ । उक्त पिरामिडको उचाइ १४६.६ मिटर रहेको छ । पिरामिडको जम्मा तौल ६० लाख टन रहेको आँकलन गरिन्छ । यी सबै आँकडाहरु पिरामिडको हाल बाँकी रहेको ढाँचाको नापजोख, गणना र विश्लेषणाको आधारमा तय गरिएको हो ।
त्यसो त पिरामिडमा विभिन्न आकारप्रकार र तौलका ढुङ्गाहरु प्रयोग भएका छन् । पिरामिडको भित्री भागहरुमा ठूला र राम्ररी नताछिएका ढुङ्गाहरु प्रयोग भएका छन् भने बाहिरी भागहरुमा मिहिनी र चिल्लो बनाइएका अलि साना आकारप्रकारका चुनढुङ्गाहरु प्रयोग भएका थिए । एकैआकारप्रकारका ढुङ्गाहरुको प्रयोग नभएकोले त्यसको निर्माणमा कति संख्यामा ढुङ्गाहरु प्रयोग भएका छन् र त्यसको कूल तौल कति छ भन्नेबारे ठोकुवा गरेर भन्न सकिने अवस्था भने छैन ।
यथार्थ तथ्यबारे विवाद अवश्य छ तर विवादरिहत तथ्य के हो भने प्राचीनकालमा त्यस किसिमका भव्य र अद्भूत संरचना निर्माण हुनु आफैंमा कम्ता आश्चर्यको कुरा होइन ।
वैज्ञानिकहरुको अनुमानमा त्यसबेला इजिप्टमा खगोलको अध्ययन गर्ने यन्त्रको रुपमा पिरामिडको प्रयोग गरिन्थ्यो ।
पिरामिडको निर्माण इजिप्टवासीले मात्र हैन, त्यसबेलाका अन्य चर्चित सभ्यताहरु, एज्टेक्स, माया र दक्षिण अमेरिकाका एन्डिएन क्षेत्र (Andean region) का वासिन्दाहरुले पनि गर्ने गर्थे ।
त्यसबेला पिरामिडको प्रयोग मन्दिरको रुपमा हुने गथ्र्यो । इजिप्टमा पिरामिड शाही मन्दिरको रुपमा तथा शासक फराह (Pharaoh) को मृत्युपछि चिहान राख्ने ठाउँको रुपमा निर्माण गर्ने गरेको पाइन्छ । मध्य र दक्षिण अमेरिकामा चाहिँ धार्मिक कर्मकाण्ड गर्ने मन्दिरको रुपमा पिरामिडहरुको निर्माण भएको पाइन्छ ।
प्रतिक्रिया