राय व्यक्त गर्नेबारे
चीन महान साहित्यकार लुसुन लिखित प्रस्तुत कथाले सत्य बोल्न सकिन्न भने झूठो बोल्ने कि नबोल्ने भन्ने अप्ठेरो विषयमा राम्रो उपाय सुझाएको छ । यो कथा लुसुनका चर्चित कथाहरुमध्येमा गनिएको कथा हो ।
म आफू प्राथमिक स्कूलको अध्ययन कक्षामा निबन्ध लेख्न लागिरहेको थिएँ र राय कसरी व्यक्त गर्ने भनी गुरुसँग सोधें भन्ने सपना देखें ।
“यो असजिलो छ ।” चश्माको छेउछाउबाट मलाई पल्याकपुलुक हेर्दै उनले भने– “म तिमीलाई एउटा कथा सुनाउँछु है !''
–कुनै परिवारमा छोरो जन्मियो भने सिंगै घर नै खुसी हुन्छ । बच्चो एक महिनाको हुँदा उनीहरुले बच्चोलाई आफ्ना पाहुनाहरु अघिल्तिर देखाउन लग्छन्– कुनै शुभ कुरा भन्लान् कि भन्ने आशा गरेर नै ।
एकजनाले भन्छ– “यो बच्चा धनी हुनेछ”, अनि उसलाई हृदयदेखि धन्यवाद दिइन्छ ।
अर्कोले भन्छ– “यो बच्चा अधिकृत बन्नेछ”, अनि उसलाई पनि शुभकामनासहित धन्यवाद दिइन्छ ।
एकजनाले भन्छ– “बच्चा त मर्नेछ”, अनि यो वक्ता चाहिँ सिंगै परिवारद्वारा नराम्ररी चुटिन्छ ।
बच्चो मर्नेछ भन्ने कुरा नभइनछाड्ने कुरो हो, उता बच्चा धनी हुनेछ वा उच्च पदाधिकारी बन्नेछ भन्ने कुरा झूठ सावित हुन पनि सक्छन् । तैपनि झूठो कुराले नै इनाम भेट्टाउने गर्छ, तर नभइनछाड्ने भनाइ भने चुटिन्छ । अब तिमीले... ।”
–“म झूठ कुरा गर्न चाहन्न सर, न म पिटिन चाहन्छु । यसो हुँदा अब मैले कसो गर्नु पर्ला त ?”
–“त्यसो भए यसो भन्नू–
“अहा ! बच्चालाई हेर्नुस् त ! मैले के भन्न खोजेको भने... अहो । ओ.. हे हे ! हिः हि ! हे हे हे !”
‘जंगली घाँसपात’बाट । अनुवाद: शान्तदास मानन्धर
प्रतिक्रिया