कर्मचारीतन्त्र

सिक्स्टो मार्टिनेजले सेभिलको ब्यारेकमा आफ्नो फौजी सेवा पूरा गरे। त्यो ब्यारेकको आँगनको बीच भागमा एउटा सानो बेञ्च थियो। त्यो सानो बेञ्चको छेउमा एकजना सैनिक जवान पहरा दिइरहन्थे । कसैलाई पनि थाह थिएन कि त्यो बेञ्चलाई किन पहरा दिइन्छ भनेर । बेञ्चको पहरेदारी चौबिसौ घण्टा हुन्थ्यो–हरेक दिन, हरेक रात । एक पुस्ताका अफिसरहरुदेखि लिएर अर्का पुस्ताका अफिसरहरु हुँदै आदेश अगाडि बढिरहन्थ्यो र फौजहरुले त्यसलाई पालन गरिरहे । कसैले पनि किन यसो गरिन्छ भनेर कुनै शंका व्यक्त गरेनन् अथवा प्रश्न पनि गरेनन्। कुनै चिज यसरी नै हुनुपर्ने थियो भने त्यसको कुनै कारण त हुनुपर्छ।

त्यो क्रम कसैले, कुनै जर्नेल अथवा कर्नेलले त्यो आदेशको मूल प्रति हेर्न नचाहेसम्म त्यसै गरी चलिरह्यो। त्यसका लागि उनले सबै फाइलहरुको थाक टकटक्याउनु  पर्यो। धेरै मेहनतपछि उनले जवाफ फेला पारिछाडे । एकतीस वर्ष, दुई महिना र चार दिन पहिला एकजना अफिसरले एउटा पहरेदारलाई त्यो सानो बेञ्चको छेउमा उभिने आदेश दिएका थिए, जसमा भर्खरै रंग लगाइएको थियो। ताकि कोही पनि त्यो रङ आलो भएकोको बेञ्चमा नबसोस्।