गान्धीको नैतिकता

एक पटक महात्मा गान्धी समक्ष एक महिला आफ्ना १० वर्षे छोरा बोकेर आइपुगिन् । उनले गान्धीसँग अनौठो माग गरिन्– बापुजी । तपाईंले मेरो छोरालाई चकलेट नखाऊ भनेर सम्झाइदिनु पर्यो !

तिनको माग सुनेर गान्धीजी छक्क परे । उनले ती महिलालाई भने, ‘तपाईंका छोरालाई मैले चकलेट नखाऊ भनेर कसरी भन्न सक्छु र ! के तिनले मैले भनेको मान्लान् र !

ती महिलाले जोड दिँदै भनिन्– तपाईंले भन्नुभयो भने अवश्य पनि मान्नेछन् । उनले तपाईंप्रति अगाध सम्मान राख्छन् । कृपया मेरो छोरालाई तपाईंले सम्झाइदिनु पर्यो ।

गान्धीले सँगै आएका छोरालाई पुलुक्क हेरे । उनले गान्धीलाई श्रद्धावत निहारिरहे ।

गान्धीले ती महिलालाई एक हप्तापछि आउनु भनेर फिर्ता पठाए ।

एक हप्तापछि ती महिला पुनः गान्धी भएठाउँ आए । उनले आफ्ना अघिल्लो हप्ताको कुरा स्मरण गराए ।

अब गान्धीले ती बालकलाई चकलेट नखान अर्ती उपदेश दिए । उनले चकलेट खानुका अवगुणहरुबारे बताए । ती बालकले पनि सहमतिमा अब उप्रान्त चकलेट नखाने बाचा गरे ।

गान्धीको व्यवहारले ती महिला छक्क परिन् । यो कुरा त अघिल्लो हप्ता नै पनि त गान्धीजीले भन्न सक्नुहुन्थ्यो तर किन एक हप्ता पछि बोलाएका होलान् ।

ती महिलाले गान्धीलाई एकहप्तापछि बोलाउनुको कारण सोधे । गान्धीले महिलाको जिज्ञासालाई विनम्रतापूर्वक शान्त पार्र्दै भने, ‘एक हप्ताअघि मैले पनि चकलेट खाने गर्थे । मैले उनलाई अर्ति दिने अधिकार राख्दिनँ थिएँ । तर अब मैले चकलेट खान छाडें । जुन कुरा म स्वयंले गरिरहेको छु, त्यो कुरा अरुलाई नगर भन्ने अधिकार मैले राख्दिनँ । त्यही भएर तपाईंलाई एक हप्तापछि बोलाएको हुँ ।’

गान्धीको कुरा सुनेर ती महिलाको शिर श्रद्धाले झुक्यो ।

०००

हाम्रा समाजमा यस्ता मानिसहरु बर्गेल्ती पाइन्छन्, जो अरुलाई यसो नगर, उसो नगर भनेर  अर्ति उपदेश दिन त खप्पिस् हुन्छन् तर त्यही कुरा चाहिँ आफूले गरिरहेका हुन्छन् । के उनीहरुले अर्ति उपदेश दिनका लागि पनि आफूमा नैतिक बल हुनुपर्छ भन्ने गान्धीको यो व्यवहारबाट केही सिक्न सक्लान् ?

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।