भू-राजनीतिक द्वन्द्वमा चीनलाई ठूलो धक्का: बीआरआईबाट इटाली बहिर्गमनको नालीबेली

इटाली चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)बाट अलग भएको अपेक्षाकृत खबर केहि दिन अघि सार्वजनिक भयो। बुधबार इटालीको सरकारले चीन सरकारलाई आफू बीआरआईबाट बाहिरिने सन्देश पठाएपछि विश्वव्यापी रुपमा यसबारे अनेकौँ चर्चा र टीकाटिप्पणी भइरहेका छन् । यो परिप्रेक्ष्यमा किन प्रधानमन्त्री जर्जिया मेलोनीको नेतृत्वमा इटालीले चीनको बीआरआईबाट अलग हुने निर्णय गर्‍यो ? यो निर्णयमा सो मुलुक पुग्न के कस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिले भूमिका खेल्यो भन्ने जस्ता कुराको अध्ययन निकै सान्दर्भिक हुने देखिन्छ ।

परिवेश

सन् २०१९ मा चीनको महत्त्वाकाङ्क्षी बीआरआई परियोजना अन्तर्गतका २९ वटा सम्झौतामा हस्ताक्षर गर्दा इटाली यस्तो निर्णय गर्ने पहिलो र एक मात्र जी-७ मुलुक थियो । अहिले चार वर्ष पछि उसले इटालियन आकाङ्क्षाहरू पूरा गर्न बीआरआई असक्षम बन्ने देखिएको जनाउँदै अलग हुने घोषणा गर्‍यो ।

यसबिच इटालीको चीनतर्फको निर्यात १४.५ बिलियन युरोबाट १८.५ बिलियन युरोमा सामान्य वृद्धि भएको देखिएको छ भने इटालीतर्फको चिनियाँ निर्यात ३३.५ बिलियन युरोबाट बढेर ५०.९ बिलियन युरोमा पुग्दा इटाली सशङ्कित बनेको देखिएको छ। युरोपमा चीनको लगानी ढाँचाले पनि इटालीको पछिल्लो निर्णयलाई पृष्ठपोषण गरेको अनुमान लगाउन सकिन्छ ।

इटाली भित्र चिनियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) उल्लेखनीय रुपमा सङ्कुचन भएको छ, जुन २०१९ को ६५० मिलियन डलरबाट २०२१ मा ३३ मिलियन डलरमा झरेको छ। थप तथ्याङ्कले के देखाउँछ भने सन् २००५ देखि इटालीमा चीनको कुल लगानी २४ बिलियन डलर रहेको देखाउँछ, जसमा १.८३ बिलियन डलर मात्रै बीआरआई अन्तर्गतको हो । यसरी तथ्याङ्क केलाएपछि इटालीले के बुझ्यो भने बीआरआईमा सामेल हुनुले चीनबाट विशेष सुविधा वा विस्तारित व्यापार र लगानीका अवसरहरूको ग्यारेन्टी गर्दैन।

गत वर्ष प्रधानमन्त्री जर्जिया मेलोनीले बीआरआईमा इटालीको संलग्नता "ठूलो गल्ती" भएको टिप्पणी गरेसँगै यसबाट पछि हटेर त्यो गल्ती सच्याउन उनको इरादा सार्वजनिक भएको थियो । मेलोनीले आर्जित लाभहरूको कमीलाई जोड दिँदै यसो भनिन्, "इटाली एक मात्र जी-७ सदस्य हो जसले सिल्क रोडको सम्मिलन ज्ञापन पत्रमा हस्ताक्षर गर्‍यो, तर यो चीनसँग बलियो आर्थिक सम्बन्ध र व्यापार प्रवाह भएको युरोपेली वा पश्चिमी देश होइन ।"

यी गतिशीलताका बिचमा प्रधानमन्त्री मेलोनीले बीआरआईबाट बाहिरिने संकल्पको गर्नुको पछाडि आर्थिक लाभ-हानिको मात्र नभएर भूराजनीतिक दाउपेच रहेको देखिन्छ। उनको पार्टीको अति दक्षिणपन्थी र नव-फासिस्ट प्रवृत्तिको बाबजुद इटालीको चुनावमा विजयले युरोप र संयुक्त राज्य अमेरिकाबाट चिन्ता बढाएको थियो। यद्यपि, युक्रेनलाई सैन्य सहायता बढाउनको लागि उनले गरेको समर्थनले उनको अन्तर्राष्ट्रिय स्वीकृतिको लागि मार्ग प्रशस्त गर्‍यो। यस सन्दर्भमा इटालीलाई बीआरआइ विरुद्ध परिचालन गर्ने सर्तमा अमेरिकाबाट उनले सद्भावना प्राप्त गरेको बुझ्न सकिन्छ।

चीन-इटाली सम्बन्धले ल्याएको तुफान

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको रोम भ्रमणको क्रममा अन्तर्राष्ट्रिय जगतले भूकम्पीय परिवर्तन देख्यो। चीनको विस्तारित बेल्ट एण्ड रोड इनिसिएटिभलाई अँगाल्दै इटालीले अमेरिका र युरोप दुवैलाई स्तब्ध पार्‍यो। तर, मार्च २०२४ मा इटालीको संलग्नताबारे पुनर्विचार गर्न सकिने प्रावधान सहित भएको पाँच वर्षे समझदारी पत्र नवीकरणको लागि अहिले इटाली तयार नहुँदा पश्चिमा राष्ट्रमा खुसीयाली छाएको छ भने चीनले ठूलो धक्का महसुस गरेको छ ।

बिआरआईमा इटालीको संलग्नता यसको आर्थिक आवश्यकताबाट निर्देशित थियो। यो मुलुकले एक दशकभित्र तीन वटा मन्दीको सामना गरेका कारण लगानीको प्रत्याभूति र चीनको फराकिलो बजारमा आफ्नो निर्यातको क्षितिज विस्तार गरेर अर्थतन्त्रलाई पुनरुत्थान गर्ने लक्ष्य राख्यो। इटालीको तत्कालीन सरकारले युरोपेली सङ्घको प्रभावकारितामा शङ्का गर्दै, लगानी साझेदारको रूपमा चीनलाई अँगाल्ने स्पष्ट इच्छा देखायो। फलस्वरूप, इटालीले चिनियाँ ध्यान र लगानीलाई आकर्षित गर्न बीआरआईमा सामेल हुने निर्णय गर्‍यो।

तर, प्रमुख पश्चिमी अर्थतन्त्रको रूपमा आफ्नो पहिचान बनाएको इटालीको यो कदमको अमेरिका र युरोपेली सङ्घले आलोचना गरे। किनकि इटालीका प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति सीको भेटघाट रणनीतिक उद्देश्यबाट मुक्त थिएन। सिल्क रोडको एक महत्त्वपूर्ण टर्मिनलको रूपमा इटालीको ऐतिहासिक भूमिकाले सीलाई चिनियाँ समृद्धि र प्रभावको बलियो जग प्रदान गर्‍यो।

फेरिएको भू-राजनीतिक दृष्टि

आर्थिक विषय भन्दा बाहिर गएर हेर्ने हो भने इटालीको बीआरआईबाट अलग हुने निर्णयमा चीनले सामना गर्दै आएको  ट्रान्सएट्लान्टिक चुनौतीहरू पनि प्रतिबिम्बित भएको देख्न सकिन्छ । युरोपेली राष्ट्रहरूले चीनलाई साझेदार वा आर्थिक प्रतिद्वन्द्वीको रूपमा मात्र नभई रणनीतिक प्रतिद्वन्द्वीको रूपमा पनि हेरिरहेका छन्।

यससँगै, युक्रेन द्वन्द्वमा रुसको भूमिकाको निन्दा गर्न चीनको इन्कारले इटालीलगायत धेरै युरोपेली सरकारहरूलाई चीनको मनसायको बारेमा राखेको भ्रमबाट मुक्त गरेको छ। त्यसैले युक्रेनका लागि कट्टर समर्थन प्रदर्शन गरेकी इटालीकी प्रधानमन्त्रीले चीनसँग आफ्नो असहमति राख्ने स्थित अझ बलियो बन्यो । युक्रेनमा पुटिनको कार्य र रुससँग चीनको अन्तर्निहित पङ्क्तिबद्धताले चीनको नियतमाथि शङ्का उत्पन्न गरेको छ।

बीआरआईबाट इटालीको बहिर्गमनले यसलाई ठूलो असर पार्न सक्छ। बीआरआईले पहिले नै कटौतीको अनुभव गरिसकेको छ किनभने एक पटक उत्सुकतापूर्वक यसलाई अँगालेका देशहरूले बढ्दो ऋणको सामना गरिरहेका छन् जबकि चिनियाँ वित्तीय संस्थाहरूले जोखिमपूर्ण ऋणको जोखिमलाई कम गर्न खोजिरहेका छन्। थप रूपमा चीनले पनि घरेलु आर्थिक दबाबको सामना गरिरहेको छ। यस पृष्ठभूमिमा युरोपेली देशहरू आफ्नो अर्थतन्त्रलाई "जोखिममुक्त" गर्ने दिशामा केन्द्रित छन् र चीनमाथिको आर्थिक निर्भरतालाई अझ गहिरो बनाउन अनिच्छुक छन्। यो वास्तविकताले महत्त्वपूर्ण अर्थतन्त्रहरू चाँडै बीआरआईसँग पङ्क्तिबद्ध हुने सम्भावनालाई कम गरेको छ।

उता इटालीले नाटोप्रतिको आफ्नो गहिरो समर्थनलाई सुदृढ गर्ने प्रयास समेत गरिरहेको छ। युक्रेनको पक्षमा बलियोसँग उभिएर आफूलाई अमेरिकाको चासोसँग एकाकार गर्दै इटाली ताइवान सम्म पुग्न तयार बनेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटपछिको संयुक्त वक्तव्यले क्षेत्रीय र विश्वव्यापी सुरक्षाका लागि ताइवान स्ट्रेटमा शान्तिको महत्त्वलाई इटालीले समेत जोड दिनुले यो कुरा पुष्टि गरेको छ। इटालीले ताइवानमा प्रतिनिधि कार्यालयको स्थापना र यसका सिनेटरहरूको ताइपेईमा अनौपचारिक भ्रमणहरू ताइवानसँगको सम्बन्धलाई बलियो बनाउने इच्छाको अर्को प्रमाण हो। जुन कार्यले सिधा चिनियाँ स्वार्थलाई धावा बोलिरहेको छ ।

आन्तरिक राजनीतिको प्रभाव

जर्जिया मेलोनीले प्रमुख शक्ति राष्ट्रहरू चीन र अमेरिका बीच इटालीको हितलाई ध्यानपूर्वक सन्तुलनमा राख्दै रूढिवादी "ब्रदर्स अफ इटाली " पार्टीको संस्थापक सदस्यको रूपमा मेलोनीले राष्ट्रवाद र दक्षिणपन्थी लोकवादलाई जोड दिएको देखिन्छ। उनको नेतृत्व चार वर्षअघि चीनको बेल्ट एण्ड रोड इनिसिएटिभमा हस्ताक्षर गर्ने पूर्व प्रधानमन्त्री ज्युसेप्पे कोन्टेको नेतृत्वमा रहेको वाम झुकावको प्रशासनसँग एकदमै फरक छ। जसले अहिले बीआरआईमा इटालीको सदस्यता अस्वीकार गर्‍यो।

यद्यपि, कोन्टेले त्यो बेला दाबी गरेका थिए, "सबै आवश्यक सावधानीका साथ, नयाँ रेशम मार्गमा इटालीको पहुँचले हाम्रो देशको लागि अवसरको प्रतिनिधित्व गर्दछ।" त्यस बेला इटालीले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभलाई समर्थन गर्ने निर्णयले इटालीको ऐतिहासिक खुलापन र चीनसँगको व्यापार सम्बन्धको परिणामको रुपमा आएको थियो। चीनले आर्थिक रूपमा सङ्घर्षरत मुलुक इटालीका लागि आर्थिक उछाल ल्याउने वाचा गर्दै पूर्वाधार परियोजनाहरूका लागि २.८ बिलियन डलर विनियोजन गर्न सहमत भएको थियो।

तर, अहिले प्रतिज्ञा गरिएको आर्थिक लाभहरू प्रदान गर्न असफल भएकोमा चीनको आलोचना गरिरहेका छन् । इटाली र चीनको नकारात्मक व्यापार सन्तुलनलाई पेश गर्दै उनीहरू भनिरहेका छन्: इटालीले चीनतर्फको निर्यातमा थोरै मात्र वृद्धि गरेको छ जबकि चीनको हात माथि छ। चीनले इटालीमा आफ्नो निर्यात तीन गुणा बढाएको छ। चीनको मनसायदेखि सावधान बन्ने भन्दै इटालीले गएको जुन महिनामा विदेशी लगानीको समीक्षा गर्न र प्रविधि हस्तान्तरणलाई रणनीतिक रूपमा सीमित गर्न चीनको विरुद्धमा नयाँ "गोल्डेन पावर कानुन" लागू गरेको छ। उही समयमा संयुक्त राज्य अमेरिका र इटाली बिचको व्यापार पछिल्लो दशकमा दोब्बर भएको छ। चीनको विपरीत इटालीको अमेरिकासँग भने सकारात्मक व्यापार सन्तुलन छ।

त्यसैगरी, संयुक्त राज्य अमेरिकामा इटालियन प्रत्यक्ष विदेशी लगानी चीनमा गरेको लगानीको झन्डै चार गुणा छ। मेलोनीले यी सम्बन्धहरूलाई सुदृढ र समर्थन गरेकी छन्। चीन समर्थकबाट अमेरिका समर्थकमा उल्लेखनीय परिवर्तन प्रस्तुत गर्दै उनले हालै भनेकी छिन्, "इटाली वा युरोपमा चिनियाँ विस्तारलाई समर्थन गर्ने मेरो तर्फबाट कुनै राजनीतिक इच्छाशक्ति छैन।"

यस परिवर्तनको बाबजुद मेलोनीले चीन विरुद्ध निर्णायक रुपमा पेश हुन भने चाहेकी छैनन् । किनकि चीनले गर्न सक्ने आर्थिक प्रतिक्रियाको डर उनमा छ । इटालीको चिनियाँ प्रतिशोधले त्यो मुलुकको व्यापारमा बाधा पुर्‍याउने हुन सक्छ । र, हाल चीनमा कार्यरत २ हजार जति इटालीका व्यवसायहरूलाई ध्वस्त पार्न सक्छ। यो अवस्था मेलोनीको लागि नरकको दृश्य हुनेछ।

अन्तर्राष्ट्रिय कारण

अमेरिकाप्रति इटालीले देखाएको वैचारिक र सहयोगात्मक निकटता चीनको लागि केन्द्रिय चासोको विषय हो। यसले आफ्नो आर्थिक पदचिह्न विस्तार गर्न र यस क्षेत्रमा ‘सफ्ट पावर प्रोजेक्ट’ गर्न बीआरआईलाई युरोपमा विस्तार गर्ने प्रयास गरेको हो । यद्यपि, इटाली एक मात्र युरोपेली देशहरू मध्ये एक थियो जसमा चिनियाँले गरिबी घटाउने र आर्थिक वृद्धि गर्ने प्रतिज्ञा गरेको थियो। जसमा इटाली सहमत पनि भयो। यो चीनको लागि महत्त्वपूर्ण जीत थियो किनभने चीनले बारम्बार पश्चिमलाई आर्थिक प्रतिशोधको धम्की दिइरहेको छ। तर, अहिले इटालीले गरेको निर्णयले भने चीनलाई ठूलो आघात पुर्‍याएको छ ।

गत महिना चीनले दुर्लभ पृथ्वी धातुहरूमा प्रतिबन्ध लगाएर पश्चिमी निर्यात नियन्त्रणहरूलाई प्रतिक्रिया दियो जुन चिप निर्माण गर्न आवश्यक छ। यी तनावहरूले युरोपलाई चीनबाट सावधान रहन बाध्य बनाएको छ। चीनको लागि, इटालीको समर्थन गुमाउनु बीआरआईको सफलताको लागि ठूलो झटका हुन सक्छ। त्यसैले चीन रिसाएको छ । उसले बेल्ट एण्ड रोड इनिसिएटिभलाई राजनीतिकरण गरेकोमा इटालियन सरकार भित्रका "केही शक्तिहरू" लाई दोषारोपण पनि गरेको छ।

चिनियाँ विदेश मन्त्रालयले बीआरआईमा इटालीको सदस्यता अन्त्य गर्ने निर्णयले "सहयोगमा बाधा पुर्‍याउने र विभाजन सिर्जना गर्ने" भएको दाबी गरेको छ।

इटालीको चीनसँगको सम्बन्ध बिग्रिरहेको बेलामा अमेरिका त्यहाँ धेरै मुद्दाहरूमा सहयोग गर्न आउने गरेको छ । बाइडेनले सुरुमा मेलोनीको नेतृत्वलाई अस्वीकार गर्दै उनको जीतलाई "लोकतन्त्रका लागि चेतावनी" समेत भनेका थिए । तर अहिले ताइवान स्ट्रेटमा चीनको शक्ति प्रक्षेपणको सामना गर्न द्विपक्षीय सहयोग गर्न अमेरिका र इटाली प्रतिबद्ध छन् ।

गाजाका युद्ध अपराध: अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा नेतन्याहु र ग्यालन्टविरुद्ध पक्राउ आदेश

गाजाका युद्ध अपराध: अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा नेतन्याहु र ग्यालन्टविरुद्…

रूसविरुद्ध पश्चिमी मिसाइल आक्रमण आक्रमणको अनुमति: तेस्रो विश्वयुद्धको संकेत?

रूसविरुद्ध पश्चिमी मिसाइल आक्रमण आक्रमणको अनुमति: तेस्रो विश्वयुद्धको संकेत?

श्रीलङ्कामा नेशनल पिपल्स पावरको ठूलो जीत: वामपन्थी गठबन्धनले ल्यायो नयाँ जनादेश

श्रीलङ्कामा नेशनल पिपल्स पावरको ठूलो जीत: वामपन्थी गठबन्धनले ल्यायो नयाँ जनादेश

कोरियाली प्रायद्वीपको भविष्यमा नयाँ मोड: उत्तर कोरियाको एकीकरण नीति परिवर्तन

कोरियाली प्रायद्वीपको भविष्यमा नयाँ मोड: उत्तर कोरियाको एकीकरण नीति परिवर्तन

पुटिनको 'नयाँ विश्व व्यवस्था' को दृष्टिकोण: अमेरिकी प्रभुत्वको विकल्प र गैर-पश्चिमी शक्तिसँगको गठबन्धनको खोजी

पुटिनको 'नयाँ विश्व व्यवस्था' को दृष्टिकोण: अमेरिकी प्रभुत्वको विकल्प र गैर-पश्च…

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीद्वारा  ‘बङ्गरा फुस्काइदिने’ जवाफी कारबाहीको चेतावनी !

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीद्वारा  ‘बङ्गरा फुस्काइदिने’ जवाफी का…

इरानमाथि इजरायलद्वारा तीन चरणको आक्रमण

इरानमाथि इजरायलद्वारा तीन चरणको आक्रमण

ब्रिक्स शिखर सम्मेलनको कजान घोषणा-पत्र

ब्रिक्स शिखर सम्मेलनको कजान घोषणा-पत्र