दुई दुना चार = ?

"महोदय, यदि म तपाईंलाई दुई दुना कति हुन्छ भनेर सोधे भने तपाईं के जवाफ दिनुहुन्छ ?"

"चार हुन्छ भनेर म भन्नेछु। दुई दुना चार।'

"तपाईंलाई यसमा पुरा विश्वास छ हैन ?"

"वश्य !  म आफ्नो ज्यानको बाजी लगाउन पनि तयार छु।"

"ठिक छ। त्यसो भए मेरो अनुरोध छ कि यो कुरा मलाई लेखेर दिनुहोस्!"

"के लेखेर दिउँ ?"

"ही कुरा कि दुई दुना चार हुन्छ भनेर । कागजको एउटा टुक्रामा लेखेर दिनुहोस् कि मेरो विचारमा दुई-दुना चार हुन्छ। फेरि त्यसमा सह गरेर मिति पनि लेखिदिनु होला। यी लिनुहोस् मेरो नोटबुकको पन्ना यता छ.....। "

"यो तिमीलाई किन चाहियो ?"

"मलाई यस्तै खालका रोचक चिजहरु संकलन गर्ने शोख छ।"

"त्यसो भए यस्तो गर्न बन्द गरिदेऊ !"

"किन नि ? पक्कै पनि तपाईंले मेरो अनुरोधलाई अस्वीकार गर्नुहुन्न ?''

"माफ गर, तिम्रो अनुरोध मुर्खतापूर्ण छ। मानिसहरुले यस्ता चिजहरु जम्मा गर्दैनन्। खैर, जेसुकै होस्, म संग यहा कुनै त्यस्तो चिज छैन, जसले म लेख्न सकुँ।"

"यी लिनुहोस्, मेरो कलम यता छ।"

"म अरुको कलम छुन्न। के थाह कुनै रोग सरिहाल्छ कि !"

"त्यसो भए यो कागजको लागि बेलुका तपाईंको घरमा आउँछु।"

"बेलुका म नाटक हेर्न जादैछु।"

"त्यसो भए म बिहान आउँ ?"

"यदि तिमी बिहानको समयमा आयौ भने म गलहत्याएर निकालिदिन्छु। "

"तर तपाईंलाई आपत्ति के छ ? जब तपाईं दुई दुना चार हुन्छ भनेर आफ्नो ज्यानको बाजी लगाउन तयार हुनुहुन्छ । यही कुरा भन्नु भएको थियो हैन तपाईंले ?

"त्यसो भए त्यसैले काम चलाउ। म लेखेर त दिदै दिन्नँ। बुझ्यौ, तिमीले यो कागज अरुलाई देखाउदैनौ भन्ने के भरोसा छ।"

"देखाए भने पनि के हुन्छ  र ? के तपाईंलाई विश्वास छैन  सधैं दुई दुना चार हुन्छ भनेर ?"

"मलाई यसमा एक रत्तिभर पनि शंका छैन। "

"अनि ?"

"तैपनि। हेर भा, म बालबच्चा वाला मान्छे हुँ र मैले कहिले पनि राजनीतिमा भाग लिएको छैन। "

"अरे यसको राजनीतिसंग के लेना-देना छ र ?"

"यो मलाई थाह छैन। तर बँचेर हिँड्नु नै उपयुक्त हुन्छ। म चाहन्न कि यो कुरा लेखेर दिएवापत भोलि कसैले मलाई नराम्रो भनोस्। "

"कसैलाई थाहात्तो केही हुँदैन। म आज नै यो कागजलाई ताला लगाएर सुरक्षित पार्छु ।"

"अनि तिम्रो घर फुटाएर चोरी भयो भने ? त्यसबेला म ठुलै संकटमा फस्नेछु। "

" मेरो घर फुटाएर चोरी लाग्यो भने पनि के दुई दुना चार हुन बन्द हुन्छ ?"

"मेरो दिमाग चाट्न छोड। म यो कुरा लेखेर तिमीलाई दिँदै दिन्नँ र अब यो भन्दा अगाडि कुनै कुरा हुन सक्दैन। "

"सुन्नुहोस्, मेरो मनमा एउटा विचार आएको छ। म तपाईंलाई पनि एउटा कागजमा लेखेर दिन्छु कि दुई दुना चार हुन्छ भनेर। त्यस्तो अवस्थामा तपाईंलाई कुनै खतरा हुँदैन। "

"त्यसो गर्नु आवश्यक छैन। तिमी चाहन्छौ भने म यो कुरा लेख्न तयार छु कि आजकल, सामान्य रुपमा अधिकांशत:ही कुरा मानिन्छ कि दुई दुना लगभग चार हुन्छ। यसले काम चल्छ ?"

"हुँदैन !"

"त्यसो हो भने तिमी यहा बाट आफ्नो बाटो तताऊ !"

"ठिकै छ। तर यति कुरा बुझिराख्नु होस् कि म सबै ठाउँमा यहि भन्दै हिँड्छु कि तपाईंको अनुसार दुई दुना चार हुन्छ। "

"भन्दै जा। म यो कुरा मैले भनेको हो भनेर स्वीकार नै गर्दिनँ। "

( लात्सलो ताबी हंगेरीका प्रख्यात व्यंग्यकार र नाटककार हुन् ) । तस्विर: https://cultura.hu