मानवीय अतिक्रमणले विरुप बन्ने खतराबीच सुन्दर स्थल चित्लाङ

चित्लाङ: काठमाडौको निकटतम गन्तव्य

Photo: https://www.wecareholidays.com

गएको असारको कुरा हो । नाति र्युकिको प्रवेशिका परीक्षा सकिएको थियो । फुर्सतमा कतै घुम्न जाने इच्छा थियो नातिको । बर्सात् हल्का सुरु भइसकेको थियो । एक्लै पठाउन पनि मन मानेन । काठमाडौ निकटतम गन्तव्यमा जाने सोच बनायौँ । हामी बुढाबुढी छोरी र नाति चारजना जाने योजना बन्यो । गन्तव्य खोज्दा चित्लाङ सवै कोणबाट ठीक लाग्यो । काठमाडौबाट चित्लाङ, चित्लाङबाट काठमाडौका लागि प्याकेजमा गाडी पाइँदोरहेछ । बुक गरियो । हाम्रोनिर आइपुग्न ढिलै गर्यो । गाडी चढ्दा दिउँसो झण्डै तीन बजेको थियो ।

झण्डै डेढ य वर्षअघि काठमाडौ मच्छेगाउँका शिखर पण्डित एवम् पद्यकार शिखरनाथ सुवेदीले आफ्नो श्लोकबद्ध अति उपयोगी ज्ञान विज्ञान संङ्ग्रह ‘शिखरनाथ भाष्य’मा काठमाडौबाट वीरगन्ज निस्केर इण्डियन चारधाम चाहार्ने विधि र बाटो बताउने क्रममा लेखिएका श्लोकहरु सम्झें । लाग्यो—यो एतिहासिक मात्र नभएर पौराणिक एवम् सांस्कृतिक महत्वको पैदल बाटो भएको महिमाशाली गन्तव्य हो  ।

श्री ५का दरबारदेखि चितलांङ् ५ कोस छ बस्नु त्यहाँ ।

ताहाँबाट हिँडेर मार्खु पउवा आउँछ डेढ कोसमा

डेढ कोसमा कुलिखानी आउँछ बजार पौवा नदी पुल भई

चीसापानी गढी पुगिन्छ बिचमा कोसर् उकालो गई ।

ओरालो पनि कोसभर् छ कलको पानी छ भीम्फेदीमा

ढोकाफेदी र कोसभर् छ निबुआटार् दुइ कोस यत्तिमा

कोस्भर्मा भइँसे छ जानु पुलपार राहदानी हेर्छन् यहाँ

पक्का श्री तीनचन्द्र पुल् छ मजबुत् सारा फलाम्को  तहाँ । भैँसेबाट   गएर  कोसभरिमा     सुपारीटार    सामरी ।

एकै कोस छ हेटुँडा नदी बजार रातमा छ डर बाघको ।”

विलक्षण प्रतिभाका देशभक्त कविले वर्णन गर्नुभएको काठमाडौ भिमफेदी पदमार्ग आजको पर्यटकीय दृष्टिले पनि  अति नै महत्वपूर्ण रहेको लागेको थियो । हेर्ने बुझ्ने अवसर मिलेको थिएन ।

 दिउँसो सवा तीन बजे  रिसोर्टकै गाडीमा काठमाडौबाट गुड्यौँ । थानकोट पुगेपछि सडक चित्लाङ्तिर मोडियो । खन्दाखन्दैको भद्रगोल सडक । जताततै ढुङ्गैढुङ्गा । ठाउँ ठाउँमा गाडी बडो मजाले नाच्थ्यो । नाच्दै गुड्थ्यो । ढुङ्ग्यान भए पनि सडकको मैदान त्यति साँगुरो थिएन गाडि जसोतसो अगाडि बढ्दैगयो । अनेकौँ घुम्तीहरुको परिक्रमा गर्दै माथि भन्ज्याङ् पुग्यो गाडी । चिया चमेना पसलहरु देखिए । गाडी रोकियो । ओर्लेर चिया पिइयो । सडकमाथि डाँडाचुलीमा भव्य महलहरु देखेर पसलेलाई सोधेँ बडो भव्य ठाउँमा भव्य ठानमानसाथ सरकारले भवनहरु बनाएछ । त्यहाँ के अफिस छ हँ ? पसलेले भन्यो ती भवन सरकारी होइनन् । व्यक्तिकै हुन् । सुनेर दुःख लाग्यो । काठमाडौ उपत्यका र वरिपरिका ससाना अधित्यका डाँडाकाँडा हिमचुलीहरु देखिने यति महत्वपूर्ण डाँडाचुली ! प्राकृतिक भ्यूटावर । यहाँ त अन्तर्राष्ट्रिय सम्मेलन घर बन्नुपर्ने । दृश्यावलोकन चौतारी बन्नुपर्ने । जङ्गलका बीचको यो पहाडचुली सरासर सरकारी जग्गा हो । यो कसैले बिर्ता पाउने प्रकृतिको ठाउँ नै होइन । यस्तो राष्ट्रिय, अन्तर्राष्ट्रिय महत्वको ठाउँ व्यक्तिको भन्ने सुन्दा दुःख लाग्यो । साँच्चै होला त ? शङ्का पनि लाग्यो ।  झलक्क सम्झेँ यतिकाण्ड, गिरिबन्धु टी–स्टेटकाण्ड, ललितानिवास काण्डलगायत सरकारले भूमाफियाहरुसँग मिलेर गरेका अनगिन्ती खाऊपचाऊ काण्डैकाण्डका बीच यी एक दुइटा डाँडाचुली त के ठुला कुरो भए र ? कुनै धनपति साहुले केही करोड नजराना दिएर लालपुर्जा लियो होला ! नेपाललाई प्रतीकात्मक रुपमा बर्थडे केक बनाएर किस्तीमा सजाउँदै काटी खान पनि सक्ने मानसिकताका इण्डोअमेरिकी भक्त महिमामण्डित राजनीतिक व्यक्तित्वहरु सत्तासीन हुने बिचरो देश नेपालमा यस्ता चुचुरा कति जिप्टानमा परेर निम्ठिएका होलान्  । कल्ले खोजी गर्छ र ? कठैबरा देश ! भन्दै पीडानुभूतिको  सुस्केरा भन्ज्याङ्माथि बिसाउँदै गाडी चढियो ।

अव गाडी ओरालो लाग्यो । बाटो साँगुरो थियो । साइड दिन कतै पछि हट्नुपर्थ्यो त कतै जोखिम पार गर्न उकालो चढ्दा अगाडिबाट आउँदैको गाडीसँग भुँडी जोडेर पनि अगाडि घँचेटिने आँटै गर्नुपर्थ्यो । यस्ता क्षणमा यात्रुहरु सास रोकेर मनमनै राम राम भन्थे ।

साँगुरो सडकमा तन मन हल्लाइँदैका हामी यात्रीहरुलाई बोकेर गाडी अपराह्ण पाँच नबज्दै चित्लाङ् रिसोर्टको आँगनमा बिसिन पुग्यो । यात्रीहरुलाई अ त बाँचियो भन्ने लाग्नु स्वाभाविक थियो । सवैले लामो सास फेरे । अरु यात्रीहरुसँगै हामी पनि डर जति गाडीमै छोडेर  आस्वस्थ हुँदै  ओर्लियौँ र चियाचमेना खान रेस्तराँतिर छिर्यौँ । आकाशमा बादल भए पनि त्यसलाई छलेर चित्लाङमा झलमल्ल घाम लागिरहेको थियो । हरिया डाँडाहरुका बीच चित्लाङ्को तरुण दृश्य साँच्चिकै मनोरम थियो । चिसो हावा पानी सुन्दर मनोरम बादलको चित्रकारीले चिरिच्याट्ट जादू भरी आकाश । जता हेर्यो त्यतै हेरिरहरुँ जस्तो रमाइलो । रेस्तोराँको बार्दलीबाट हेर्दै हल्का नास्तापानी पेटतिर पठाइयो ।

सडकमा निस्केपछि मैले एक जना स्थानीय वृद्धजनसँग सोधेँ, “पण्डित शिखरनाथले बयान गर्नु भएको यहाँको सनातन पदमार्ग कहाँ छ खै देखाउनुहोस् न एकछिन पौराणिक अतीतमा हिँडेर हेरौँ ।”

! त्यो त अव कतै टुक्राटाक्री पनि बाँकी छैन । त्यसैलाई मासेर सरकारले यी मोटर गुड्ने सडक बनायो । सनातन बाटो त के ? यी माथि देखिएका डाँडाकाँडा पनि चोखा बाँकी छैनन् । विदेशी पर्यटकहरु सोध्छन् । हामी बताउँछौँ । सुनेर यति लामो जिब्रो काढ्छन् । विश्वसम्पदा बनाइनु पर्ने यस्ता पुरातन राष्ट्रिय सम्पदा पनि हिनामिना गर्ने तपाइँहरुका सरकारमा काम गर्ने मान्छे सवै विदेशी ठेकेदारमात्र छन् कि कसो ? स्वदेशी कुनै छैनन् ? स्वदेशी स्वाभिमानी नेपाली भएका भए ‘त्यत्रो ऐतिहासिक महत्वको सम्पदा कसरी मास्न सक्दा हुन् ? भन्नुहोस् त हामीलाई प्रश्न गर्छन् । हामी तिनीहरुको जिब्रो देखेर र प्रश्न सुनेर ट्वाल्ल पर्छौँ । सरकारमा त सम्पदाको मूल्य महत्व बुझेका बुद्धिमान् मानिसहरु हुनुपर्ने किन नभएका होलान् जस्तो लाग्छ । धेरै दुःख लाग्छ । आफ्नै आँखाअगाडि राष्ट्रिय पहिचानयुक्त स्मारकहरुका घाँटी निमोठेको दृश्य टुलुटुलु हेर्नु पर्दा दुःख लाग्छ !” स्थानीय वृद्ध भन्नुहुन्छ ।

भोलिपल्ट बिहान, हामीलाई रिसोर्टको गाडीले इन्द्रसरोवर लाने भन्छ र कुलेखानी पुर्याएर फर्काउँछ । सरोवर भनेको सरोवर नामको होटल र पसल त होइन । यी चालक महोदयले हामी यात्रीलाई के ठानेका होलान् ? मानिसजस्ता देखिने भेडा नै ठानेका होलान् त ? चालकको कमजोर मानसिकताप्रति दया लाग्छ । फर्कँदा मार्खुपौवा खै त ? सोध्न मन लाग्छ । सोध्दिनँ । सनातन पदमार्ग अन्तर्ध्यान भएजस्तै पौवा पनि कतै अन्तर्ध्यान भयो होला । दुई चार तेलिया इँटाहरु कतै कसैका घरमा पसेर बुढाबुढीका कम्मर सेकिरहेका होलान् । खलियै इँट्टा कुनै सामन्त साहूको घर गोठतिर जुटेर तिनको शोभा बढाइरहेका होलान् । इतिहास खण्डहर बनाउँदा बोल्नैपर्ने जिउँदा जनता त मृतवत् निरीह बनेका देशमा ती भाषाविहीन र वाणीविहीन इँटाहरु के गरुन् ? मनमा यस्तै कुरा खेलाउँदै रिसोर्ट आइपुगियो ।

त्यसपछि रिसोर्टमालिक आफैंले हामीलाई सातधारा क्षेत्र घुमाउँदै त्यहाँको श्रुति परम्परामा रहेको नाग माहात्म्य सुनाउनु भयो । त्यस भेगमा हरियाली अक्षुण्ण रहनुमा यसै नागमाहात्म्यको भूमिका रहेको जानकारी पाएर हामीलाई रमाइलो लाग्यो । चित्लाङ् आइपुगेर पनि अशोकपुत्री र नेपालकी महारानी चारुमतीले निर्माण गरेको भनिएको चित्लाङ्को मध्यवर्ती पुराना गाउँमा रहेको अशोकस्तम्भ हेर्न भ्याइएन । रिसोर्टले त्यहाँसम्म पुर्याउने र देखाउने व्यवस्था गर्ला भन्ने विश्वास थियो । व्यवस्थापनको कर्तव्यसूचीमा थिएन कि भ्याएन । थाहा भएन । थाहाभूमिमा आएर यत्ति पनि थाहा नपाई फर्कनुपर्दा मनले हाइसन्चो भने अनुभव गरेको थिएन ।

यसैबीच रिसोर्टमालिकले रिसोर्टको आँगनबाटै पारी जङ्गलमुनि बनेका केही कङ्क्रीट महलहरु देखाउँदै भन्नुभयो, “त्यहाँ सरकारी जग्गा प्रस्त अधिग्रहण गरेर  विदेशीहरुले मदन भण्डारी विश्वविद्यालय बनाउँदैछन् केही भवन बनिसकेका छन् । थप भवनहरु बन्दैछन् । यहाँ हजारौं विद्यार्थी अटाउने छात्रावास भवनहरु पनि बन्दैछन् ।”

 “यो सानो कुलकुले पानी खोल्चाले त्यति ठुलो विश्वविद्याललयको मलमूत्रको भारी हैँ हैँ गर्दै बोक्नुपर्नेहोला अनि यी पहाड र बस्तीहरुले दुर्गन्धको मुस्लोलाई नाकका फोहरा फुलाउँदै नसव्यसनीले नस तानेझैं तान्नुपर्ने होला !” मैले भनेँ । मेरो भनाइमा रिसोर्टमालिकको ध्यान थिएन । कतै जानपर्नुको हतार थियो वहाँको । ममनमनै सोचेँ,  ‘मदन भण्डारी आफैं जीवित हुनुहुँदो हो त यो सुन्दर प्रकृतिको तारुण्य भन्जन र चीरहरण गर्ने कथित विश्वविद्यालयका योजना यहाँ ल्याउन नदिनुहुँदो हो । ग्वार्को त यसै प्रदूषित थियो । यहाँ पनि त्यहाँका प्रदूषणको महाविस्तार किन ?’

फर्कँदा बाटोमा नाति र्युकिले भन्नुभयो, कति सुन्दर मनोहर ठाउँ ! काठमाडौको यति नजिक रहेर पनि काठमाडौभन्दा कति पृथक् ! मलाई त यतै कतै घर बनाएर बस्नुजस्तो लाग्यो ।

हो, काठमाडौको नजीक र काठमाडौको विषाक्तताले अझैं उकुसमुकुस पार्न नभ्याएको र निर्जर तरुण प्रकृतिले बाँच्न मुस्कुराउन पाएको रमणीयताको दृष्टान्त स्थलजस्तो  देखियो चित्लाङ । यो भव्य छ । यहाँ आउन पाउनु यसको मनोरमताभित्रको शान्तता अनुभूत गर्न पाउनु ठूलो सौभाग्य हो । हेर्दै काव्यभूमि जस्तो छ चित्लाङ । यसको सुकुमार कौमार्य र निर्मल सौन्दर्यमाथि उपभोगवादी उच्छृङ्खल पापीहरुको आक्रामक आँखा नपरिदिनुमा प्रकृतिप्रेमी कवि कलाकार, पर्यटनी सवैको कल्याण छ ।     नेपालमा धेरैजसो सत्तासीन हुन पुग्ने स्वभावनिष्ठुर भस्मासुरका पापी आँखाहरुलाई रोक्ने कल्ले ? समस्या यहाँनिर छ ।