प्रतिध्वनि

जैतून वृक्षको छायामा
गुन्जायमान छ जीवन !
तर म
झुण्डिन पुगेको छु दन्दनाउँदो आगोमाथि
फलामे सिक्रीले पाता कसिएर ।

 
बगरेहरु
खितितिति खितितिति
हाँसी रहेका छन् क्रूर हाँसो
आफ्ना तीखा र बाङ्गा टिङ्गा नङ्ग्राले
लुछिरहेका छन् मेरो मुटू
अनि म
बेतोडसँग चिच्याइरहेको छु
घोषणा गरिरहेको छु जीवनको
भनिरहेको छु, हेर,
अझै म  जिउँदैछु  ।

 
हे आकाश,
यी हिँस्रक बधशालामा
प्रहार गर तिमी
निभाइदेउ यो ज्यानमारा आगो
आफ्ना पवित्र वर्सातले
बदलिदेऊ यस आगोलाई धुवाँमा
लोप गराइदेऊ यसलाई

 
अनि त्यति बेला
हो, त्यति बेला, म एक धर्तीको छोरा
फुत्केर ओर्लनेछु यस सूलीबाट
र फर्कनेछु आफ्नो मातृभूमिमा
नाङ्गै पाइताला टेक्दै, हिँडदै
मस्त, अकिन्चन

प्रतिध्वनि 

जैतून वृक्ष छायाँमा गुन्जँदो मुक्त जीवन
कठै म झुण्डिएकोछु भट्टाका माथि तुन्द्रुङ 
बाँधिएको छु सिक्रीले आततायी छ बन्धन
अत्याचारभरी पासो चुँडिदैन हरे किन ? 

 

जल्लादहरु हाँस्दैछन् क्रुरता खिल्खिलाउँदै
तीखा करौँते नङ्ग्राले लुछ्दै मेरो मुटू सवै
बेपत्तासँग आफू म गर्दै छु तीव्र क्रन्दन
गर्दैछु मृत्युका बीच अझै जीवनघोषणा 
’म ज्यूँदै छु, म ज्यूँदै छु, ज्याद्रो हुन्छ नि जीवन !‘

हे आकाश निराकार हे महान अनन्त हे,
यी हिँस्रक बधशालामा प्रहार गर लौन ए !
निभाइदेऊ यो आगो गरी पावन वर्षण
होओस् यो दन्दनी स्वाट्टै धुवाँमा परिवर्तन ।

 
त्यो बेला, हो त्यसै बेला धर्तीको एक पुत्र म
फुत्केर ओर्लनेछु यो फाँसीबाट सरक्कन 
फर्कनेछु म त्यो आफ्नो मुटू झैँ मातृभूमिमा
यी नाङ्गा पाइला टेक्दै हिँड्दै हिँड्दै अकिन्चन ।

अनुवाद: रमण नेपाल