सुकरातको कुरुपता र ऐना
विश्वप्रसिद्ध दार्शनिक बारे एउटा भनाइ चर्चित छ– उनी कुरुप थिए रे ! उनको कुरुपताबारे धेरै किस्साहरु चर्चित छन् ।
भनिन्छ, एक दिन बिहानै शुकरात आफ्नो अनुहार ऐनामा नियालिरहेका थिए । त्यो दृश्य देखेर उनका शिष्यलाई हाँसो लाग्यो । उनले रोक्दारोक्दै पनि हाँसो फुस्किहाल्यो ।
सुकरातले सोधे– त्यस्तो हास्नु पर्ने के कुरा देख्यौं तिमीले ?
शिष्यले टार्न खोजे– त्यस्तो केही होइन गुरु । त्यत्तिकै हाँसेको ।
सुकरात त्यसै सुकरात भएका थिएनन् । उनले शिष्यको मनोभाव बुझिसकेका थिए । त्यसैले उनले शिष्यलाई ठाडै सोधे– नढाँटिकन भन ! तिमीले म जस्तो कुरुप मानिसले ऐनामा अनुहार हेरेको देखेर हाँसेको हो कि होइन ?
शिष्यलाई पर्यो फसाद । उनले अप्ठेरो मान्दै जवाफ दिए– हो गुरु । तपाईंलाई आफू सुन्दर छुइनँ भन्ने थाहा छ, तर पनि किन प्रत्येक दिन बिहान उठेर ऐनामा आफ्नो अनुहार हेरिरहनुहुन्छ ?
सुकरातले चेलाको जिज्ञासालाई शान्त पार्दै भने, हेर बाबु ! म ऐना हेरेर मनमनै प्रण गर्छु– सकेसम्म राम्रा कामहरु मात्र गर्नेछु ताकि त्यसको सुन्दरताले मेरो कुरुपतालाई ढाकिदेओस् ।
चेलाले सुकरातलाई प्रश्न गरे– त्यसो भने राम्रा सुन्दर अनुहार हुनेहरुलाई चाहिँ ऐना नहेर्दा पनि हुने भयो ?
सुकरातले चेलालाई सम्झाउँदै भन्यो, ‘सुन्दर अनुहार हुनेहरुले त झनै बेसी ऐना हेर्नुपर्छ ता कि उनीहरुलाई सम्झना भइरहोस्, आफूले झनै बढी राम्रो काम गर्नुपर्छ जसले गर्दा खराब कामको कुरुपताले तिनीहरुको अनुहारको सौन्दर्यलाई नबिगारिदेओस् ।
गुरुको कुरा सुनेर शिष्य नाजवाफ भयो । उनले आफ्नो अज्ञानताका लागि सुकरातसँग माफी मागे ।
प्रतिक्रिया