हात्ती र सुँगुर
पोखरीबाट भरखरै नुहाएर हात्ती सडकमा अगाडि बढ्दै थियो अलि परबाट हिलो र विष्टामा लत्पतिएको एउटा सुँगुर ‘मेरै बाउको बाटो हो यो’ भन्ने शैलीमा विपरीत दिशातिरबाट आयो । सुँगुरलाई देखेर हात्ती किनारमा उभियो र उसलाई बाटो छाडिदियो ।
अब सुँगुरले जंगलभरि त्यही घटनाको बखान गर्दै हिँड्न थाल्यो । साथमा उसले यो थप्न पनि बिर्सेन– धन्न त्यो हात्ती किनारतिर लाग्यो, नत्र मैले उसलाई बाउको बिहे देखाइदिन्थे !
एक कान, दुई कान हुँदै त्यो कुरा हात्तीको बथानमा पनि पुग्यो । साथी हात्तीहरुले उसलाई भन्यो– त्यसले यस्तो भ्रम फैलाउँदा पनि तिमी चाहिँ किन चुपचाप छौ ? के तिमीले साँच्चै डराएर नै त्यो सुँगुरलाई बाटो छाडिदिएको हो ?
बाटो छाडिदिने हात्तीले शान्त स्वरमा जवाफ दिए– सत्य कुरा के हो सारा जगतलाई थाहा छ ! मैले चाहेको भएँ त्यो सुँगुरलाई पाइतालाको एकै चालले किचिमिची पनि पारिदिन सक्थें । तर मलाई मेरो संस्कार र ज्ञानले सिकाएको छ– फोहरलाई जति चलायो, उति गन्हाउँछ र आफ्नो शरीरमा पनि फोहोर लाग्छ भन्ने कुरा । त्यही भएर मैले उसलाई बाटो छाडिदिएको हुँ ।
०००
सामाजिक जीवनमा त्यही सुँगुर जस्तै आनीबानी भएकाहरु पनि भेटिन्छन् । तिनलाई जत्ति चलायो, उति आफूलाई फोहोर लागिरहन्छ । त्यसैले त्यस किसिमका प्रवृत्ति राख्नेहरुलाई प्रतिवाद गरिबस्नु बुद्धिमानी हुँदैन, बरु त्यस्तालाई पूरै वेवास्ता गरिदिनु उचित हुन्छ । तर समाजमा यस्ता मानिसहरु पनि हुन्छन्, जो आवेश, उत्तेजना र भावुकतामा त्यस्ता मानिसहरुसँग भिड्नु रुचाउँछन्, रमाउँछन् र अरुलाई पनि त्यस्तै गर्न उक्साउने पनि गर्छन् । तपाईंलाई के लाग्छ– के गरिनु उचित हुन्छ ?
प्रतिक्रिया