दार्शनिक र माझी
एकजना दार्शनिक थिए, समाजले मानेका । उनमा ज्ञानको ठूलो घमण्ड थियो । उनी अरु मानिसलाई गन्दैन थिए । सबैलाई आफ्नो ज्ञानको बखान गरेर हेलाहोचो गर्ने गर्थे ।
एक दिन उनलाई कतै जानुपर्यो । बाटोमा ठूलो नदी तर्नुपथ्र्यो । उनी नदी तर्न डुङ्गामा चढे ।
भनिन्छ– तित्राको मुखै वैरी ! ती दार्शनिक पनि स्वभाववश माझीसँग आफ्नो ज्ञानको शेखी बखान गर्न थाले । कुरै कुरामा उनले माझीलाई सोधे– तिमीले इतिहास पढेका छौ ?
जीविकोपार्जनका लागि नदीमा डुङ्गा चलाएर बस्ने माझी ! उनले शालिनतापूर्वक उत्तर दिए– छैन !
दार्शनिकले उनलाई हियाउँदै भने– त्यसो भने तिमीले आफ्नो आधा जिन्दगी त्यसै खेर फ्यालेका रहेछौ । अनि थप हौसिँदै दार्शनिकले माझीलाई फेरि सोधे– अनि तिमीलाई गणित चाहिँ आउँछ कि आउँदैन ?
किताबी ज्ञान नपढेका तर जीवन र व्यवहारका मनग्गे अनुभव बटुलेका माझीले फेरि पनि सोझोपाराले उत्तर दिए– अहँ त्यो पनि आउँदैन ?
ज्ञानको नशाले चूर दार्शनिकले माझीलाई हियाउँदै फेरि भन्यो– त्यसो भने तिमीले बाँकी आधा जीवन पनि त्यत्तिकै खेर फ्यालेका रहेछौ !
यो संवाद चलिरहँदा उनीहरु नदीको बीच भागतिर पुगेका थिए । अचानक ठूलो हावाहुरी चल्यो । नदीको पानीमा ठूला छालहरु आए । माझीले धेरै कोशिस गर्दा पनि डुङ्गालाई नियन्त्रण गर्न सकेनन् । डुङ्गा पुर्लुक्कै पल्टियो । माझी र दार्शनिक नदीको भेलमा फसे ।
माझीले दार्शनिकलाई सोधे– विद्वान महोदय, तपाईंलाई पौडी खेल्न चाहिँ आउँछ कि आउँदैन ?
किताबी किरो ती दार्शनिकलाई पौडी खेल्नै आउँदैनथियो । उनले आत्तिदै जवाफ दिए– अहँ आउँदैन !
अब जवाफ फकाउने पालो माझीको थियो । उनले दार्शनिकलाई भने– मैले किताबी ज्ञानहरु नपढेर आधा जीवन मात्रै खेर फ्यालेको थिएँ, तपाईंले त पौडी खेल्न नजानेर पूरै जीवन खेर फ्याल्नु हुनेभयो ।
माझीले यत्ति मात्रै के भनेका थिए, नदीको छालले ती दार्शनिकलाई हुत्ताएर बगायो ।
(प्रसिद्ध दार्शनिक मार्क्सलाई अति मन परेको कथा मानिन्छ यो ।)
प्रतिक्रिया