एउटा ‘गधा जज’ को कसौटीमा सुन्दरी प्रतियोगिता !

“बेलुकी जब धन्नू धोबी घाटबाट थकाइले चूर भएर, कपडाको बोझ टाउकोमा उठाएर घरमा आउँथे, उनी यस्तो मुस्कानले, यस्तो मधुर आकर्षक मुस्कुराहटले उनको अभिनन्दन गर्थे कि धन्नू आफ्ना दिनभरिका थकावट बिर्सन्थे । ती स्त्रीसँग संसारकै सबैभन्दा सुन्दर मुस्कान छ । दुःख यस कुराको छ कि त्यो मुस्कुराहट म तपाईंहरुलाई देखाउन सक्दिनँ । त्यो मुस्कुराहटलाई न त नाप्न सकिन्छ, न त तौलिन, न त त्यसलाई ग्राफ बनाएर ज्यामितीका रूपरेखाहरूमा नै ढाल्न सकिन्छ । किनकि त्यो मुस्कुराहट उनका ओठ हैन, दाँत हैन, अनुहार हैन, उसको मुस्कुराहटको सम्बन्ध उनको समग्र व्यक्तित्वसँग सम्बन्धित छ ।

चुनावी परिणामको उथुलपुथुल खबरहरूलाई चिर्दै यतिखेर सुन्दरी प्रतियोगिता पनि चर्चामा छ र चर्चाको मुख्य केन्द्रमा छ– सुन्दरी प्रतियोगिताका नाममा हुने गरेका यौन शोषण !

त्यसो त सुन्दरी प्रतियोगिता आफैँमा शोषणको चरम एवं विद्रूप नमुना हो । नारीको देहलाई विज्ञापनको वस्तु बनाएर उपभोग गर्ने भयङ्कर षड्यन्त्रकारी खेल–तमासा हो सुन्दरी प्रतियोगिताहरू ! कथित कुलीन समाजले स्थापित गरेको सौन्दर्यका मानकअनुरुप आफूलाई पाउन नसकेर हीनग्रन्थीको सिकार बनेकाहरूको मनमस्तिष्कलाई सुन्दरी–प्रतियोगिताको नाममा छानिएका कथित सुन्दरीमार्फत भुट्ने खेल हो यो । अनि, नियोजित रूपमा विभिन्न उपमा र विशेषण दिएर छानिएका त्यस्ता सुन्दरीहरुमार्फत् वस्तुहरूको विज्ञापन गरेर अकुत सम्पत्ति जम्मा गर्ने व्यापार–जालको एउटा कुरुप हिस्सा हो– सौन्दर्य प्रतियोगिता ।

विडम्बनाको कुरा– त्यस्ता सौन्दर्य प्रतियोगिताहरूलाई समाजमा मान्य तुल्याउन व्यूटी विथ ब्रेन अर्थात् बुद्धिसहितको सौन्दर्यको जलप लगाइने गरिन्छ । छोरी मानिसको व्यक्तित्व विकास हुने गुड्डी हाँकिन्छ । तर बुझिनसक्नुको कुरा चाहिँ बुद्धिसहितको सौन्दर्यको कसीमा उत्तीर्ण हुनका लागि प्रतियोगीका रुपरंग, चालढाल र शारीरिक बनौटका पूर्वनिर्धारित मानकहरू चाहिँ किन र कसरी जरुरी ठानिइन्छ ? त्यसमा कथित मानकअनुसार सुन्दरी ठहरिन नसकिएका गरिब वर्गका तर आफ्ना श्रममाथि विश्वास गर्ने , आफ्ना कर्म र उँचो आत्मसम्मानसहितको जीवनवृत्तिका कारण अतुलनीय आन्तरिक सौन्दर्य भएका नारीहरू चाहिँ किन त्यो मानकमा अटाउन सक्दैनन् ?

सौन्दर्य प्रतियोगिताका विद्रूप पाटाहरूको रमाइलो तर गम्भीर चिरफार प्रसिद्ध भारतीय साहित्यकार कृश्न चन्दर (सन् १९१४–१९७७) ले आफ्ना चर्चित व्यंग्यकृति ‘एक गधे की आत्मकथा’मा गरेका छन् । चर्चित लेखक खुसवन्त सिंहको मूल्याङ्कनमा उनी भारतमा प्रेमचन्दपछिका सबैभन्दा चर्चित र मानिएका लेखक हुन् । अहिले सौन्दर्य प्रतियोगिताका नाममा भएका शोषणका बारेमा बहस चलिरहेको सन्दर्भमा सन् १९५७ मा उर्दू भाषामा प्रकाशित तथा पछि हिन्दी भाषामा प्रकाशित तथा हालसम्म २ लाखभन्दा बढी प्रति बिक्री भइसकेका उनको उक्त कृतिको सौन्दर्य प्रतियोगिताको धज्जी उडाइएको अंश हाम्रा पाठकहरूका लागि उपयोगी हुने ठानी हामीले नेपालीमा अनुवाद गरी प्रस्तुत गरेका छौँ ।

नेपाली अनुवाद: चन्द्र खाकी, सहयोग: केदार सिटौला

०००

विलिङ्गडन क्लबमा गधा जानु, सौन्दर्य–प्रतियोगिताको सभापति बन्नु तथा चञ्चल सुन्दरीहरूको भीडमा घेरिइनु

विलिङ्गडन क्लबमा त्यस दिन धेरै चहलपहल थियो । क्लबको ठुलो हल कागजी फूलहरू, रंगीचंगी बेलुनहरू तथा रेशमी पर्दाहरूले बेहुलीलाई जस्तै गरी सिँगारिएको थियो । हलको चारैतिर स–साना स्टलहरूमा श्रृङ्गारका सामान बेच्नेहरूले आफ्ना सामानहरू सजाएर राखेका थिए । सौन्दर्य प्रतियोगिताका लागि जति खर्च भइरहेको थियो, ती सबै ती स्टलका कम्पनीका मालिकहरूले आफ्नो गोजीबाट पूर्ति गरिरहेका थिए । ती स्टलहरूमा गहना–व्यापारीका पसलहरू थिए, लिपस्टिक र पाउडरका पसलहरू थिए, तेल र क्रिमका पसलहरू थिए, सेन्ट र सुगन्धित तेलका पसलहरू थिए, कपडाका पसलहरू थिए, महिला नाइकेहरुका दोकानहरु थिए, गम्छा, छाता, पञ्जा, जुत्ताका पसलहरू थिए, तर पुस्तकका पसल भने एउटा पनि थिएन । कहीँ पुस्तक पढेर पनि सौन्दर्यमा वृद्धि हुन्छ त !

प्रसिद्ध भारतीय साहित्यकार कृश्न चन्दर

लेडी सारेगामा गाओले सर्वप्रथम त मेरो परिचय अति सान्दार शब्दहरूले क्लबका माननीय मेम्बरहरूसँग गराए । पछि उनले मलाई त्यो ठुलो हलमा लिएर गइन् । त्यहाँ सौन्दर्य–प्रतियोगितामा भाग लिने सुन्दरीहरू लहरै खडा थिए । त्यहीँ उनीहरूसँग मेरो परिचय गराइयो ।

“यिनी हुन् सोलनकी सुन्दरी नम्बर वन ।”

“तपाईँको भनाइको अर्थ सोलन ह्विस्की नम्बर वन हो ?”

“होइन साहेब !” लेडी सारेगामा गाओले मलाई सम्झाउँदै भनिन्, “सोलनमा जुन सौन्दर्य प्रतियोगिता भएको थियो, त्यसमा यिनी त्यहाँकी ‘रानी’ छानिएकी थिइन् । प्रतियोगितामा पहिलो नम्बरमा आएकी थिइन् ।”

“यिनी सिमलाकी रानी ।”

“यिनी नैनीतालकी रानी ।”

“यिनी कोडाईकनालकी रानी ।”

“यिनी ऊटीकी रानी ।”

“दार्जिलिङकी रानी ।”

क्रमशः सबैसँग परिचय हुँदै गयो । म सोच्न थालेँ– यहाँ कुनै कारखानाकी कोही रानी त छैनन् । खेतहरुकी रानी पनि छैनन् । बीँडी बनाउने वाला ‘झोपडी’मा बस्ने रानी पनि छैनन् । फोहोर मैला उठाउने संस्थाकी रानी छैनन् । मैले त झुत्रोमा बेरिएकी यस्तो सौन्दर्य देखेको छु कि सेठ क्रीमजी भाइ लेपावालाले उसलाई देखे भने आफ्ना सबै लिपस्टिक र पाउडर समेटेर हलबाट बाहिर भाग्ने थिए । कहाँ छन् ती असली मोतीहरू जस्तै सिपीहरुमा लुकेकी रानीहरू ?

लेडी सारेगामा गाओ परिचय गराउँदै गइरहेकी थिइन्–

“यिनी हुन् लखनऊकी रानी ।”

“जालन्धरकी रानी ।”

“दिल्लीकी रानी ।”

यिनी कमला थिइन् । मलाई देखेर मुस्कुराइन् । म कान जोडेर अगाडि बढेँ ।

“नई दिल्लीकी रानी ।”

यिनी रूपवती थिइन् । मेरी हुनेवाला पत्नी । न उनी मतर्फ हेरेर मुस्कुराइन्, न त मनै उनीतर्फ । म फेरि कान जोडेर अगाडि बढेँ ।

जब सबै रानीहरूसँग परिचय सकियो, मलाई उनीहरू सबैका बिच उभ्याइयो र फोटो लिनेवालाहरुले आफ्नो फ्लश बल्ब बालेर मेरा थुप्रै फोटोहरू लिए ।

सौन्दर्य–प्रतियोगितामा भाग लिनेवाला सुन्दरीहरूलाई आफ्ना कपडा खोलेर विलिङ्गटन क्लबको स्विमिङ पुलमा पौडी खेल्ने पोशाक लगाएर उपस्थित हुन भनियो । त्यो सुनेर सुन्दरीहरू आ–आफ्ना ग्रीनरुममा गए ।

त्यसपछि सौन्दर्य–प्रतियोगितामा भाग लिनेवाला सुन्दरीहरूलाई आफ्ना कपडा खोलेर विलिङ्गटन क्लबको स्विमिङ पुलमा पौडी खेल्ने पोशाक लगाएर उपस्थित हुन भनियो । त्यो सुनेर सुन्दरीहरू आ–आफ्ना ग्रीनरुममा गए । लेडी सारेगामा गाओ मलाई स्विमिङपुलमा लिएर गइन् ।

भन्न लागिन्, “यिनीहरूमध्ये प्रत्येक केटी आ–आफ्ना सहर वा इलाकाका सबैभन्दा सुन्दर केटी हुन् । मैले, मेरो मतलब तपाईँले पुरै भारतका सबैभन्दा सुन्दर केटीलाई छान्नुपर्ने छ । यी केटीहरूमध्येमा एक जना सौभाग्यशालिनी भारतकी सबैभन्दा सुन्दर केटी छानिने छिन्, उसलाई लस एन्जेल्सको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिनका लागि पठाइनेछ ।”

आत्मकथाको कभर ।

“अति उत्तम लेडी सार…” मैले टाउको हल्लाएर भने, “म्याडम ! तपाईँको नाम यति लामो छ कि मैले सारेगामा गाओलाई छोटो बनाएर तपाईँलाई लेडी गामा भनेँ भने तपाईँलाई कुनै आपत्ति त नहोला नि– लेडी गामा !”

“हुँदैन, मेरो प्यारो गधा !” लेडी गामाले एकदमै प्रेमपूर्वक मेरो कान ताने । ठिक त्यही समय मिस रूपवती आफ्नो ग्रीनरुमबाट पौडी खेल्ने पोशाक लगाएर निक्लिरहेकी थिइन् । उनले घुरेर हामी दुबैतिर हेरे । फेरि कमर लच्काउँदै स्विमिङ पुल (पौडी पोखरी) को किनारमा गएर उभिइन्, जहाँ धेरै जना फोटोग्राफरहरूले उनको फोटा खिच्न थाले ।

रूपवतीपछि एक एक गरेर अन्य केटीहरू पनि आफ्ना पोशाक लगाएर आए । मैले देखेँ– धेरैवटा पश्चिमी कम्पनीका क्यामेरा म्यानहरू पनि आएका थिए र केटीहरू विशेष रूपले आफ्ना सर्वोत्तम मुस्कान तिनीहरूतिर फ्याँकिरहेका थिए । केही समयपछि जब सबै केटीहरू भेला भए, एउटा घण्टी बज्यो । घण्टी बज्ने बित्तिकै सबै जना केटीहरू एकपंक्तिमा खडा भए र पौडी पोखरीको किनारमा राखिएको तौलिने मेशिनमा आफ्नो तौल नाप्न थाले । त्यसमा मेशिनका छेउमा एउटा मरन्च्याँसे अग्लो व्यक्ति उभिएको थियो । उसको टाउकोका आधाभन्दा बढी कपालहरू सेतै फुलिसकेका थिए ।

लेडी गामाले उनीसँग मेरो परिचय गराए, “ यिनी हुन् मिस्टर डंकी – र यिनी हुन् मिस्टर के. के. भजनानी ।”

“हाउ डू यु डू?”, मिस्टर भजनानीले भने ।

“ढेंचू–ढेंचू !” मैले उत्तर दिएँ ।

मिस्टर भजनानी एक एक गरेर केटीहरूलाई तौल नाप्ने मेशिनमा उभिनका लागि निम्तो दिन्थे र जब मेशिनको प्वालबाट तौलको कार्ड निस्कन्थ्यो, त्यसमा देखिएको तौल आफ्नो हातमा लिएको कागजमा ती केटीको नामका अगाडि नोट गर्थे । केटीको टाउकोदेखि पाइतालासम्म आफ्नो नजर दौडाउँथे र काँपेका मध्यम स्वरमा भन्थे, “नेक्स्ट प्लिज !”

लेडी गामाले भनिन्, “मिस्टर भजनानी अति रोचक मानिस हुन् । हेर्नोस् न, यिनको उमेर यति भइसक्यो, तर अहिलेसम्म विवाह गरेका छैनन् ।”

“त्यसो भने त यिनले महिलाको तौलको बारेमा के जान्दा छन् होला?”

लेडी गामाले भनिन्, “मिस्टर भजनानी अति रोचक मानिस हुन् । हेर्नोस् न, यिनको उमेर यति भइसक्यो, तर अहिलेसम्म विवाह गरेका छैनन् ।”

“त्यसो भने त यिनले महिलाको तौलको बारेमा के जान्दा छन् होला?”

“हैन, कुरा त्यसो होइन ।” लेडी गामाले हाँसेर भनिन्, “तौल देखाउने यो जुन मेशिन छ नि, यो मिस्टर भजनानीको आविष्कार हो । यो मेशिन अन्य तौल नाप्ने मेशिनभन्दा अलि फरक छ । हेर्नोस्, यो कार्ड हेर्नोस्, यो मेशिनले सबैको तौल एकै ठाउँमा पनि बताउँछ र अलग अलग तौल पनि बताउँछ । उदाहरणको लागि यो हेर्नोस्– सौन्दर्य प्रतियोगितामा भाग लिने केटीको तौल खुट्टादेखि धड (कम्मरदेखि गलासम्मको हातरहित भाग)सम्म कति हुन्छ, धडदेखि गर्धनसम्म कति हुन्छ र गर्धनदेखि टाउकोसम्म कति हुन्छ ?”

“टाउकोको भित्र बुद्धि कति छ, के यसको तौल यो मेशिनले बताउँछ ?”

“अहँ”, लेडी गामाले भनिन्, “तर हामीलाई त्यो जान्ने आवश्यकता नै किन छ र ?”

“प्रत्यक्ष छ”, मैले भनेँ, “आखिर बुद्धिको सौन्दर्यसँग के सम्बन्ध !”

लेडी गामाले भनिन्, “मिस्टर भजनानीले यद्यपि विवाह गरेनन् तर उनले महिलाहरूको तौल नाप्ने यो विशेष मेशिन तयार गरे ।

यसबाहेक मिस्टर भजनानीको एउटा विशेषता यो हो कि उनले पूरा जीवन दुई र दुई पाँच हुन्छ भन्ने कुरा प्रमाणित गर्नमा व्यतीत गरिदिए ।”

“चार हुँदैन र ?” मैले मिस्टर भजनानीसँग सोधेँ ।

“अहँ”, उनले पूरा विश्वासका साथ भने, “दुई र दुई पाँच नै हुन्छ । म गणित विद्याका दश नियमहरूले दुई र दुई पाँच हुन्छ भनेर प्रमाणित गर्न सक्छु । तपाईँ कुनै दिन यो सेवक भएको ठाउँमा आउनुहोला ।” मिस्टर भजनानी मतर्फ हेरेर मुस्कुराउँदै भने, “म तपाईँलाई विश्वास दिलाउने छु र प्रमाणित गरिदिने छु कि…”

यत्तिनै बेला कमलाको पालो आयो र मिस्टर भजनानीले तीन–पाँच बिर्सिए । यसरी आश्चर्यचकित भएर हेर्न थाले कि कमलाले मुस्कुराएर भन्नुपर्‍यो–

“तौल नापिदिनोस् न प्लिज !”

म अगाडि बढेँ ।

यहाँ एउटा कुर्सी थियो र कुर्सीको अगाडि जुत्ताको पसलमा जुत्ता लगाउनेहरूका अगाडि रहने गरेको जस्तो अवस्थामा एउटा ओरालो परेको तीनखुट्टे मेच थियो । आफ्नो तौलको कार्ड लिएर प्रत्येक केटीहरू त्यहाँ आउँथे र स्यान्डल खोलेर त्यस मेचमा आफ्नो खुट्टा राख्ने गर्थे ।

“के यहाँ यिनीहरूलाई नयाँ जुत्ता दिइन्छ ?” मैले लेडी गामालाई सोधेँ ।

“हैन त !” उनले हाँसेर भनिन् । र, खाटको छेउमा बसेका मुडुले, बाङ्गो नाक भएको, गोरो तथा चस्मा लगाएका बूढो मानिससँग परिचय गराउँदै भनिन्, “यिनी हुन् मिस्टर दारुवाला ।”

“तपाईँ यहाँ के गर्नुहुन्छ ?”मैले अधीर भएर सोधेँ, “के बाटा (जुत्ता कम्पनी)को एजेन्सी लिनुभएको छ ?”

“हैन प्यारो गधा ! साँच्चै नै तिमी एकदमै गधा हौ !” लेडी गामाले अति प्रेमपूर्वक मेरो काँधमा हात राखेर भनिन्, “मिस्टर दारुवाला यहाँ केटीहरूको खुट्टाको बनावट हेर्छन् र कुर्कुच्चाको हड्डीको गोलाइ नाप्छन् ।”

“ओहो !” मैले हैरान भएर भनेँ ।

“यिनी आफ्नो काममा अति निपुण छन् ।”

“बम्बईमा तपाईँ के गर्नुहुन्छ, मिस्टर दारुवाला?”

“हजुर, मेरो घुँघुरु बनाउने कारखाना छ ।” दारुवाला आफ्नो चस्मा नाकमा मिलाउँदै भने, “यस कारण खुट्टाको बनावट र कुर्कुच्चाको गोलाइको बारेमा म जे जान्दछु, त्यो अरू कसैले पनि जान्न सक्दैन ।”

“सही हो, सही हो !” मैले टाउको हल्लाउँदै भनेँ र अगाडि बढेँ ।

लेडी गामाले भनिन्, “ देख्नुभयो ! यी सब कलाकारहरू तपाईँको सहायताका लागि भेला गरिएका हुन् ।”

“कृपा हो !”, मैले झुकेर भनेँ ।

अघि बढेर के देखेँ भने त्यही केटी, जसले मिस्टर दारुवालसँग आफ्नो खुट्टाको बनावट र कुर्कुच्चाको गोलाइको नाप लिइरहेकी थिइन्, यहाँ ताण्डव नृत्यको एउटा पोजजस्तै दिएर आफ्नो तिघ्रा र पिँडौलाको नाप दिइरहेकी छिन् ।

अघि बढेर के देखेँ भने त्यही केटी, जसले मिस्टर दारुवालसँग आफ्नो खुट्टाको बनावट र कुर्कुच्चाको गोलाइको नाप लिइरहेकी थिइन्, यहाँ ताण्डव नृत्यको एउटा पोजजस्तै दिएर आफ्नो तिघ्रा र पिँडौलाको नाप दिइरहेकी छिन् । यहाँ एक जना व्यक्ति काँधमा फित्ता राखेर आफ्नो चुच्चो दाह्री फित्ताले कन्याउँदै पहिले तिघ्रा, फेरि घुँडा र फेरि पिँडौलाको नाप लिइरहेका थिए ।

“शायद यिनी कुनै दर्जी हुन् !” मेरो मुखबाट निक्लियो ।

“धैत !” लेडी गामाले मलाई तुरुन्तै मुखमा बुच्चो लगाइदिँदै भनिन्, “तपाईँ यिनलाई चिन्नुहुन्न ! अरे यिनी त हाम्रो शिल्प तथा मूर्तिकलाका सबैभन्दा ठुला विशेषज्ञ हुन्, मिस्टर खटखट खण्डलिया । एलोरामा जति पनि महिलाका मूर्तिहरू छन्, ती सबैको तिघ्रा र पिँडौलाहरूको नाप इनलाई मुखाग्र कण्ठस्थ छ, तर यिनलाई आफ्नी पत्नीको नामधरी याद छैन ।”

“वाहा ! मिस्टर खटखट खण्डलिया ! तपाईँ जस्ता कलाकारसँग भेटेर अति खुसी लाग्यो ।”

“हो !” मिस्टर खटखट खण्डलियाले मानौँ चिन्ने प्रयत्न गर्दै भने, “पहिले पनि तपाईँसँग भेटघाट भइसकेको हो ।”

“शायद बाराबंकीमा तपाईँको दर्शन पाएको थिएँ होला ।” मैले त्यत्तिकै उनको मन राखिदिनका लागि भनिदिएँ, किनभने यस्ता महामूर्खसँग कुन गधाले भेटघाट गर्न मन पराउँला ।”

“हैन, बाराबंकीमा होइन ।” मिस्टर खटखट खण्डलियाले आफ्नो औला मेतर्फ नचाउँदै भने, “ल अब याद आयो ! साँचीमा तपाईँसँगै मेरो भेटघाट भएको थियो ।”

“साँचीमा ! तर म त कहिले पनि साँची नै गएको छैन ।” केही चिढिएर मैले भनेँ ।

“तपाईँ झूठो बोल्नु हुन्छ । मैले तपाईँलाई त्यहाँ देखेको हो । साँचीमा ढुङ्गाको प्लेट नम्बर एघारमा एक जना भिक्षु भगवान् बुद्धको दर्शन गर्न गइरहेका छन् । त्यसका पछि पछि एउटा गधा पनि गइरहेको छ । तपाईँ त्यही गधा हो– म गल्ती गर्दिनँ ।”

मिस्टर खटखट खण्डलियाले दोहोराएर भने, “तपाईँ ठ्याक्कै त्यही गधा हो । ठिक त्यही तिघ्रा, त्यही पिँडौला ।”

म आश्चर्यचकित थिएँ, त्यही बेला लेडी गामाले भनिन्, “देख्नुभयो त यिनको कमाल ! यिनी मानिसहरूलाई हेरेर ढुङ्गाको मूर्तिहरूको अनुमान गर्दैनन्, ढुङ्गाका मूर्तिलाई हेरेर मानिस तथा चीजहरूलाई चिन्ने प्रयत्न गर्छन् ।”

“यिनी पनि निक्कै गज्जब रहेछन् ।”

म त्यहाँबाट हिँड्न लागेको थिएँ, मिस्टर खटखट खण्डलियाले मसँग सोधे, “भाइ, ती भिक्षु कहाँ छन् ।”

मैले चिढिएर भनेँ, “त्यहीँ साँचीमै होलान् ।”

मिस्टर खण्डलियाको अनुहारमा सन्देहका चिन्ह उत्पन्न भए । शायद उनी यो सोचिरहेका थिए– यो कसरी भयो ? त्यो साँचीवाला गधा यहाँ आएका छन्, तर भिक्षु त्यहीँ ढुङ्गाको प्लेटमा बसिरहे । यो कसरी भयो ? तर यत्तिकैमा एक जना केटी आफ्नो पिँडौलाको नाप दिनको लागि उनी समक्ष आइपुगिन् र मिस्टर खटखट खण्डलिया आफ्ना फित्ता लिएर आफ्नो काममा जुटे ।

अगाडि बढ्दै जाँदा प्रोफेसर बाँके विहारी ‘आह’ बनासरी र जनाब हामिदहसन ‘वाह’ लखनवी उभिएका देखिए ।

प्रोफेसर बाँकेबिहारी ‘आह’ बनारसी हिन्दी र संस्कृतका विद्वान थिए र जवान ‘वाह’ लखनवी उर्दू लवजका चर्चित शायर । ‘आह’ बनारसीलाई हिन्दी र संस्कृतिमा ‘काँध’का विषयमा समस्त ठुला क्लासिक कविहरूका नछोइएका उपमाहरू कण्ठस्थ थियो । ‘वाह’ लखनवीलाई ‘कमर’का बारेमा उर्दू र फारसीका हजारौँ शेरहरु कण्ठस्थ थियो । ‘आह’ बनारसी ‘काँध–विशेषज्ञ’ थिए भने ‘वाह’ लखनवी ‘कमर–विशेषज्ञ’ । दुवै शायरी पढेर नम्बर दिन्थे । मैले ‘वाह’ लखनवीलाई भनेँ, “‘वाह’ साहेब?”

उनले भनेँ, “हजुर साहेब !”

मैले भनेँ, “ वाह साहेब ! लखनउकी जुन मल्लिका हुस्न छिन्, उसको त कमर नै छैन भनेर मैले सुनेको थिएँ, अब तपाईँ के गर्नुहुन्छ ?”

‘वाह’ लखनवीले भने, “ यस्ता अवसरहरूका लागि म सधैँ एउटा सुक्ष्मदर्शक यन्त्र राख्ने गर्छु!” वाह लखनवीले गोजीबाट एउटा सानो सुक्ष्मदर्शक यन्त्र निकालेर देखाउँदै भने । मैले उनको सुक्ष्मदर्शिताको प्रशंसा गर्दै अगाडि बढेँ ।

यसरी एक पछि अर्को गर्दै स्विमिङ पुलका किनारमा दर्जनौँ कलाकार आ–आफ्ना कलाको प्रदर्शन गरिरहेका थिए । छातीदेखि कपालसम्मका हरेक किसिमका कलाकारहरू थिए । हरेक केटीको साथमा फाराम थियो । त्यस फाराममा एउटा फोटो टाँसिएका थिए । हरेक कलाकार नाप–जोख गर्दै सही तरिकाले फाराम भरिदिन्थे र आफ्ना राय लेखिदिन्थे । यस किसिमले छाती, हात, ओठ, आँखा, कपाल, कान, हरेक चीजको नाप जाँच भइरहेको थियो र अति गम्भीरताका साथ त्यसबारेमा राय दिइरहिएको थियो ।

अचानक मलाई यस्तो अनुभव भयो कि मानौँ मलाई कुनै क्लबमा ल्याइएको छैन, कुनै निर्जीव कारखानाका मेशिनहरूको खट–खट आवाज गुन्जिरहेको हलमा खडा छु, कुनै स्विमिङ पुलको किनारमा हैन, स्त्रीहरूको कारखानामा खडा छु । यहाँ स्त्रीहरू बनिन्छन्, जसरी साइकलहरू वा मोटरहरू बनिन्छ । यो एउटा पार्टपुर्जा जोडिने लाइने हो, जहाँ विभिन्न कलाकार घुँडा, जाँघ, पिँडौला, काँध, हात, ओठ, गालाहरू नापेर, तौलिएर र विभिन्न अंगहरुलाई गाँसेर स्त्री बनाइरहेका छन् । सुन्दरताकी रानी, मलिका–ए–हुस्न, ब्यूक सुपर डीलो । स्त्री या सन् ५६ की स्टुडीवेकर । सनबीम टायढलर ५६ !

अचानक मलाई यस्तो अनुभव भयो कि मानौँ मलाई कुनै क्लबमा ल्याइएको छैन, कुनै निर्जीव कारखानाका मेशिनहरूको खट–खट आवाज गुन्जिरहेको हलमा खडा छु, कुनै स्विमिङ पुलको किनारमा हैन, स्त्रीहरूको कारखानामा खडा छु । यहाँ स्त्रीहरू बनिन्छन्, जसरी साइकलहरू वा मोटरहरू बनिन्छ । यो एउटा पार्टपुर्जा जोडिने लाइने हो, जहाँ विभिन्न कलाकार घुँडा, जाँघ, पिँडौला, काँध, हात, ओठ, गालाहरू नापेर, तौलिएर र विभिन्न अंगहरुलाई गाँसेर स्त्री बनाइरहेका छन् ।

दुई घण्टादेखि त्यही नापजोख चलिरह्यो र हिसाबकिताब भइरह्यो । अन्त्यमा जब सबै सूची तयार भइसक्यो, सबै फाराम भरिइयो, त्यसपछि ती समस्त सूचीहरू त्यसका साथ नत्थी गरिएका फोटोहरू मलाई दिइयो र त्यसको अध्ययनका लागि मलाई पौने घण्टा दिइयो । त्यसपछि मैले आफ्नो फैसला सुनाउनु पर्ने थियो र भारतकी सबैभन्दा सुन्दर केटीको घोषणा गर्नुपर्ने थियो ।

मैले सबै सूचीहरू ध्यानपूर्वक हेरेँ । फोटोलाई पनि गम्भीरतापूर्वक हेरेँ। आँकडाहरूलाई जाँचपडताल गरेँ । आफ्नो मनमा विभिन्न छाती, ओठ, कपाल र हातहरूको अनुमान लगाएँ । त्यसपछि आफ्नो फैसला सुनाउनको लागि तयार भएँ । फैसला गर्नमा मलाई मुस्किलैले आधा घण्टा लाग्यो । लेडी गामा तीन छक्क परिन् ।

“यति चाँडो तपाईँले सबै सूचीहरू पढिसक्नु भयो र फैसला गर्नुभयो ?

“हो ।”

“ठिक छ, क्लब हलमा जाऔँ । त्यहाँ शरका सबैभन्दा ठुला ठुला मानिसहरू र सहरका ठुला सुन्दरीहरू तपाईँको फैसला सुन्नका लागि बेचैन छन् ।”

०००

क्लबको ठुलो हलमा गधाले प्रवेश गर्नु र माननीय नागरिकहरूका सम्मुख खडा भएर भाषण दिनु तथा सौन्दर्य–प्रतियोगिताका परिणामको उल्लेख गर्नु

जब हामीले फेरि क्लबको हलमा प्रवेश गर्‍यौँ, कैयौँ घण्टा बितिसकेका थिए । सहरमा पहिले नै घोषणा गरिइसकिएको थियो कि अमुक समयमा सौन्दर्य–प्रतियोगिताको फैसला सुनाइने छ । अतः ठुला ठुला राज्यमन्त्री, धनीमानी, डिप्लोमेटिक कोलोनीका राजदूत, विदेशी क्यामेराम्यान र भारतीय समाचारपत्रहरूका फोटोग्राफरहरू हलमा जम्मा भएका थिए । यतिखेर हलको आकार नै बदलिइदिइएको थियो । अब त त्यो पहिलेभन्दा पनि चम्किलो र सजिएको थियो ।

माथिल्लो वर्गका जति पनि सुन्दरी महिलाहरू होलान्, मेरो विचारमा ती सबै यहाँ उपस्थित थिए । तीमध्ये कतिपय उनीहरू थिए, जो विगतको वर्ष वा त्यसअघिका वर्षहरूमा ‘रानी’ भइसकेकी थिइन् । र अब मोटर गाडीका मोडेल जस्तै बदलिइसकेका थिए ।

हलको एकछेउमा एउटा अग्लो डायस बनाइएको थियो । बिचमा एउटा मेच र मेचका समीपमा दुईटा कुर्सी र दुईटा माइक्रोफोन लगाइएको थियो । सबैभन्दा पहिले लेडी गामाले स्टेजमा आएर दर्शकहरूलाई धन्यवाद दिइन् र सौन्दर्य प्रतियोगिताका महत्त्वबारे बखान गरिन् । सहायक जजहरूलाई धन्यवाद दिइन्, जसले आँकडाहरुको सङ्कलनमा मलाई सहायता गरेका थिए । त्यसपछि लेडी गामाले मेरो परिचय दिइन् र बताइन् कि किन मलाई, एउटा तुच्छ गधालाई यति महत्त्वपूर्ण कामको लागि चुनिएको हो । त्यहाँ रोमन सुन्दरीहरूले गधीको दूधमा स्नान गर्ने गरेको कथा दोहोर्‍याइयो, जसले उपस्थित मानिसहरू धेरै प्रभावित भए । त्यसपछि तालीहरू र चर्को आवाजका साथ मलाई कुर्सी दिइयो । त्यसपछि तुरुन्तै व्याण्डबाजा बज्यो र सौन्दर्य प्रतियोगितामा भाग लिनेवाला सुन्दरीहरू नुहाई धुवाइ गरेर सुन्दर र नयाँ डिजाइनका कपडा लगाएर हलमा प्रवेश गरे । तिनीहरूको सुन्दरता देखेर मानिसहरू स्तब्ध बने । जति पनि स्त्रीहरू थिए, ती प्रत्येक सुन्दरी पालो पालो आफ्नो मौन तुलना गर्दै जान्थे र हरेक पटक मनमनै आफूलाई पहिलेभन्दा बढी नम्बर दिन्थे । जति पनि पुरुषहरू थिए, उनीहरू यही सोचिरहेका थिए कि प्रत्येक केटी उनीसमक्ष एक मिनेट उभिएर अगाडि बढेको भए झनै राम्रो हुन्थ्यो । तर सुन्दरीहरूको यो परेड अति छिटे समाप्त भयो र तिनीहरू सबै हामी अर्थात् म र लेडी गामाको कुर्सीका पछि एक लाइनमा राखिएका कुर्सीमा सुशोभित भए ।

जब उनीहरू लाई धन्यवाद गर्न मतर्फ झुक्थिन्, आफ्नो ओठमा एउटा कलाजस्तै गरेर सबैभन्दा मधुर मुस्कान फ्याँक्ने गर्थिन् । कति कृपा प्रार्थी मुस्कानहरू थिए ती ! ती आँखा, हेराइ, शायद ओठहरू भनिरहेको थिए– तिमीले ‘सुन्दरताकी रानी’ को उपाधि प्रदान गरिदियौ भने हामी तिमीसँग विवाह समेत गर्नका लागि तयार हुनेछौँ, जबकि तिमी एउटा गधा मात्रै हौ ।

लेडी गामाले उठेर एक एक सुन्दरीलाई पालैपालो माइकसामु बोलाए । उपस्थित मानिसहरूसँग तिनको परिचय गराए । तिनीबाट धन्यवादको दुई शब्द बोल्न लगाए र फेरि उनीहरूलाई कुर्सीमै पठाए । यसबाट कम्तीमा दर्शकहरूलाई ती सुन्दरीहरूलाई राम्ररी देख्ने अवसर त मिल्यो; दर्शकहरूलाई मात्र हैन, सौन्दर्य प्रतियोगिताको फैसला सुनाउनु पर्ने मलाई पनि । मैले देखिरहेको थिएँ कि सौन्दर्य प्रतियोगितामा भाग लिनेवाला प्रत्येक सुन्दरी मुस्कानका साथ सबैलाई धन्यवाद भन्थिन्, तर जब उनीहरू लाई धन्यवाद गर्न मतर्फ झुक्थिन्, आफ्नो ओठमा एउटा कलाजस्तै गरेर सबैभन्दा मधुर मुस्कान फ्याँक्ने गर्थिन् । कति कृपा प्रार्थी मुस्कानहरू थिए ती ! ती आँखा, हेराइ, शायद ओठहरू भनिरहेको थिए– तिमीले ‘सुन्दरताकी रानी’ को उपाधि प्रदान गरिदियौ भने हामी तिमीसँग विवाह समेत गर्नका लागि तयार हुनेछौँ, जबकि तिमी एउटा गधा मात्रै हौ ।

रूपवतीको मुस्कान सबैभन्दा विचित्र थियो । उनको मुस्कानमा एक विचित्र प्रकारको सन्तोष थियो, माक्लिक्नीको जस्तै एक विचित्र प्रकारको मुस्कुराहट !

कमलाले मुस्कुराहटले मात्रै हैन, आफ्नो शरीरका प्रत्येक अंगहरुले ममाथि जोरदार प्रहार गरे ।यस्तो चमचमाउँदो, अझ भनौँ आँखा नै तिरिमिरी पारिदिने मुस्कुराहट थियो कि मैले सहनै सकिनँ । मैले आफ्नो नजर झुकाएँ । वास्तवमै कमला खतरनाक स्त्री थिइन् । उसका शरीरका प्रत्येक अङ्ग भनिरहेको थियो– मसँग बचेर कहाँ जान्छौ ? म संसारभरिकै सबैभन्दा सुन्दर स्त्री हुँ । तिमीले विवश भएर मलाई नै ‘सुन्दरताकी रानी’ छान्नुपर्नेछ ।

कमलाको मुस्कानमा एउटा विचित्र प्रकारको निम्तो थियो । मेरो मुटु काँप्न लाग्यो ।

अन्ततः जब लेडी गामाले घोषणा गरिन् कि श्रीमान् गधाजी सौन्दर्य–प्रतियोगिताको फैसला सुनाउनेछन्, हल तालीले गुन्जियो ।

मैले माइक्रोफोनलाई पर हटाएर भनेँ, “महिला तथा सज्जनवृन्दहरु !”

“आफ्ना सुन्दरताको ख्याति प्रमाण सिद्ध भएका कारण जसरी यहाँ आउनुभएका धेरै महिलाहरूले यस सौन्दर्य–प्रतियोगितामा भाग लिन जरुरी ठान्नु भएन, त्यसै गरी म पनि आफ्ना लागि माइक्रोफोनको प्रयोग आवश्यक ठान्दिनँ, किनकि मेरो आवाजको चर्कोपन पनि प्रमाण सिद्ध नै छ । (ताली र ठुलो हाँसो) र, मेरो विचारमा कुनै पनि गधाले माइक्रोफोन प्रयोग गर्ने आशा पनि गर्नु हुँदैन । हुन त मैले ठुला ठुला गधाहरूले माइक्रोफोनको अनुचित प्रयोग गरेको देखेको छु (कम ताली, कम हाँसो ।)

“महिला तथा सज्जनवृन्द !

“यस अवसरमा भारतका कुना कुनाबाट सुन्दरीहरू सौन्दर्य–प्रतियोगितामा भाग लिनका लागि आएका छन्, यसमा मलाई खुसी लागेको छ, तर दुःख ती सुन्दरीहरूका लागि छ, जसले कारणवश गर्दा यस प्रतियोगितामा भाग लिन सकेनन् ।

“म एक गधा हुँ, यस कारण मेरो स्पष्टोक्तिका लागि मलाई क्षमा गरियोस् । प्रस्ट रूपमा भनिदिउँ कि मलाई दुःख ती मजदुर स्त्रीहरूको छ, जो दुई बच्चाकी आमा हुन् र कानपुर टेक्सटाइल मीलमा काम गर्छिन् । दुई बच्चाकी आमा हुँदाहुँदै पनि उनी यति सुन्दर छिन् कि यदि उनले यो प्रतियोगितामा भाग लिएकी हुन्थिन् भने तपाईँहरू उनलाई देखेर तीन छक्क पर्नुहुन्थ्यो ।

“तर उनले यस प्रतियोगितामा भाग लिन सकिनन्, किनकि उनी दुई बच्चाकी आमा हुन् । यहाँसम्म आउनका लागि उनीसँग न त समय न त पैसा नै थियो । उनीसँग यस सौन्दर्य–प्रतियोगिताको प्रवेश पत्र लिनका लागि पच्चीस रुपियाँ पनि थिएन । मानिलिनुस् कि कुनै तरिकाले उनी रुपियाँको प्रबन्ध गरेर यहाँ आइहाल्थिन् र यस प्रतियोगिताकी ‘रानी’ चुनिइन्थिन् भने पनि लस एन्जेल्समा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनका लागि प्रश्न उठिरहन्थ्यो किनकि उनका दुई बच्चालाई लस एन्जेल्सको भ्रमण कसले गराउँथ्यो ? यदि उनले बच्चाहरूलाई यहीँ छोड्थिन् भने पनि उनीहरू कसरी खानापिन गर्थे ?

“म एक स्वर्गीय धोबीको गधा हुँ । मेरी मालिक्नीका दुई मायालु बच्चाहरू छन् । उनी आफैँ पनि आजपर्यन्त यति सुन्दर छिन् कि यदि झुक्किएर पनि उनी यहाँ आइन् भने तपाईँहरू सबै आदरवश उठ्नुहुनेछ र एकमतले उसलाई ‘भारतकी रानी’ को उपाधि दिन राजी हुनुहुनेछ । तर अपसोसको कुरा, उनले पनि यस प्रतियोगितामा भाग लिन सकिनन् । उनी यतिखेर कपडा धोइरहेकी होलिन्, यस्ती केटीको कपडा जो स्वयं यस प्रतियोगितामा उपस्थित छिन् । (मैले छड्के नजरले मिस रूपवतीतिर हेरेँ, उनी ओठ टोकिरहेकी थिइन् ।) मेरो आशय यस प्रतियोगितामा उपस्थित सौन्दर्यको बदख्वाइ गर्नु होइन । मलाई माफ गर्नुहोला, यो सिविल लाइन र माल रोडको सौन्दर्य हो । यस सौन्दर्यले कहिले पनि भोको बस्नु परेन, कहिले दुःख देखेन, कहिले च्यातिएको कपडा लगाउनु परेन, कहिले सडकमा रोएनन् । यो खुला हावाको सौन्दर्य होइन । यो त एउटा सुन्दर झल्लरमा बलिरहेको मोमबत्तीको सौन्दर्य हो ।

जो मानिसको प्रेम र परिश्रमले उत्पन्न हुन्छ, ती सौन्दर्यको मूल्यलाई मूल्याङ्कन नगरीकन, त्यसको महानतालाई नबुझीकन के सौन्दर्य–प्रतियोगिता अधुरो रहँदैन ?

“के यो भारतको सौन्दर्य हो या त्यो सौन्दर्य जुन यमुनाको घाटमा कपडा धुन्छन्, तोरीबारीमा गीत गाउँछन्, जो उखुको रस निकाल्छन् र कालो खुर्सानीको लहरामा ताजा फल टिप्छन् ? जो मानिसको प्रेम र परिश्रमले उत्पन्न हुन्छ, ती सौन्दर्यको मूल्यलाई मूल्याङ्कन नगरीकन, त्यसको महानतालाई नबुझीकन के सौन्दर्य–प्रतियोगिता अधुरो रहँदैन ?

“फेरि अलिकति विचार तो गर्नुहोस्, विभिन्न स्थानहरू सौन्दर्यको मापदण्ड पनि विभिन्न छन् ।”

“बंगालमा लामो कपाल र हलिउडमा काटिएको कपाल । फ्रान्समा पातलो हिप र भारतमा ठुलो हिप सौन्दर्यको प्रतिमान मानिन्छ । काश्मिर गोरो रङ्गमा मुग्ध छ तर टांगनिकामा सौन्दर्य रात्रि जस्तै कालो हुन्छ । कोहीले पातलो ओठलाई मन पराउँछन् भने कोहीले मोटो ओठ । कोहीलाई लामो गर्धन त कोहीलाई सानो गर्धन । कसैलाई ठुलो ठुलो कालो आँखा त कसैलाई ससानो बदामी आँखा । यस्तोमा सार्वभौम सौन्दर्यको मापदण्ड के हुन्छ होला ? तर सबैभन्दा महत्त्वपूर्ण प्रश्न त यो हो कि सौन्दर्य के हो ? जबसम्म यस प्रश्नको फैसला हुँदैन, म कुनै फैसला दिन सक्दिनँ ।

“प्रत्येक पुरुषको जीवनमा एक यस्तो स्त्री आउँछिन् जसको सुन्दरता के हुन्छ वा हुँदैन थाहा छैन तर उसका ती पुरुषको मनमा र उसको आत्मामा उसको सुन्दरता स्वर्गकी समस्त अप्सराहरूभन्दा बढी नै हुने गर्छ ! यस्ता एक व्यक्तिलाई मैले जमुनापारी कृष्णनगरमा देखेको थिएँ । उनी एउटा फोहोर झुपडीमा बस्थे । उनको नाम धन्नू थियो । उनी एक धोबी थिए र हाम्रा छिमेकी थिए । रङ्ग केही कालो अझ पुरै कालो । रूप विल्कुलै साधारण । सामान्य आँखा, सामान्य ओठ र सामान्य चिउँडो । उनको चालढालमा त्यस्तो कुनै कुरा थिएन जुन असाधारण होस् । तर एक चीज उनमा असाधारण थियो ।

“बेलुकी जब धन्नू धोबी घाटबाट थकाइले चूर भएर, कपडाको बोझ टाउकोमा उठाएर घरमा आउँथे, उनी यस्तो मुस्कानले, यस्तो मधुर आकर्षक मुस्कुराहटले उनको अभिनन्दन गर्थे कि धन्नू आफ्ना दिनभरिका थकावट बिर्सन्थे । ती स्त्रीसँग संसारकै सबैभन्दा सुन्दर मुस्कान छ । दुःख यस कुराको छ कि त्यो मुस्कुराहट म तपाईंहरुलाई देखाउन सक्दिनँ । त्यो मुस्कुराहटलाई न त नाप्न सकिन्छ, न त तौलिन, न त त्यसलाई ग्राफ बनाएर ज्यामितीका रूपरेखाहरूमा नै ढाल्न सकिन्छ । किनकि त्यो मुस्कुराहट उनका ओठ हैन, दाँत हैन, अनुहार हैन, उसको मुस्कुराहटको सम्बन्ध उनको समग्र व्यक्तित्वसँग सम्बन्धित छ । उका शरीर तथा आत्माको पुरै जीवनसँग । फेरि त्यस मुस्कुराहटको सम्बन्ध त उनका आफ्ना पतिसँग पनि छ । यस प्रकार उनी आफ्नो पतिलाई देखेर मुस्कुराउँछिन्, जसले उनका मुखाकृति तुरुन्त फेरिइन्छ र उनी अत्यन्त सुन्दर देखिन थाल्छिन्, त्यस मुस्कुराहटको सम्बन्ध दुई हृदयहरूको प्रेमसँग पनि छ । यो मुस्कुराइरहेको महान् सौन्दर्य प्रेमको क्रिया तथा प्रतिक्रियाको उत्पत्ति हो । मलाई शङ्का छ कि के ती स्त्री यस तरिकाले कुनै पराई पुरुषका सामु पनि मुस्कुराउन सक्लिन् । भलै तपाईँ उनलाई भारतकी रानी छानेर लस एन्जेल्सको कुनै भव्य भवनमा नै किन खडा नगरिदिनोस् । मेरो विचारमा उनी कहिले पनि त्यस तरिकाले मुस्कुराउन सक्ने छैनन् किनकि उनका धोबी पति त्यहाँ उपस्थित हुने छैन ।

“फेरि हामी कुन तरिकाले त्यस सौन्दर्यलाई मूल्याङ्कन गर्न सक्छौँ ?”

स्त्री सौन्दर्य कुनै शून्यमा राखिने वस्तु होइन कि हामी उसलाई स्त्रीको वातावरणसँग अलग गरेर, एउटा स्विमिङ पुलको कुनामा खडा गरेर, त्यसलाई नाप जाँच गरेर सुरु गरिदिऔँ ।

“म सौन्दर्यको मूल्याङ्कन गर्ने यो कसौटी नै गलत छ भन्ने मान्दछु । एउटी महिलाको सौन्दर्य उनको व्यवहारबाट नै चिन्न सकिन्छ । त्यो व्यवहार, जसको सम्बन्ध उनी आफैसँग मात्रै हैन, उसको घरसँग छ, उनको बच्चासँग, उनको कारखानासँग छ र उसको खेतसँग छ । स्त्री सौन्दर्य कुनै शून्यमा राखिने वस्तु होइन कि हामी उसलाई स्त्रीको वातावरणसँग अलग गरेर, एउटा स्विमिङ पुलको कुनामा खडा गरेर, त्यसलाई नाप जाँच गरेर सुरु गरिदिऔँ । सौन्दर्यलाई शून्यमा नाप्न सकिन्न ।

“सौन्दर्य मिश्र देशमा जस्तै मसला लगाएर जोगाइने कुनै ‘ममी’ पनि होइन । त्यो त एक जीवित, अगाडि बढ्दै गरेको, परिवर्तनशील जीवनक्रम हो । कति मूर्खतापूर्ण कुरा हुन्थ्यो होला– रोमियो जूलियटको सुन्दरतालाई फित्ताले नाप्न सुरु गरिइन्थ्यो भने, पेरिस हेलनको सुन्दरताको तौल कुनै मिशिनमा तौलिन सुरु गरिइन्थ्यो भने, सीताको अमर तथा शाश्वत सुन्दरताको तुलना कुनै ढुङ्गाका खोपिएका टुक्रासँग गरिइन्थ्यो भने । मलाई त यो देखेर आश्चर्य लाग्छ कि तपाईँहरू यस सौन्दर्य प्रतियोगितामा कान त हेर्नु हुन्छ तर त्यो आवाजलाई सुन्न सक्नुहुन्न जुन त्यो कानको भित्र जान्छ । तपाईँ आँखालाई त हेर्नुहुन्छ तर आँखाको लज्जालाई देख्नुहुन्न । छातीको उभारलाई हेर्नुहुन्छ, त्यसभित्र लुकेको आमाको ममतालाई देख्नुहुन्न ।

“र म तपाईंहरुलाई यस सौन्दर्य प्रतियोगिताका बारेमा के राय दिन सक्छु ? म त यही भन्न सक्छु कि वास्तविक सौन्दर्य कुनै ठुला विज्ञापनकर्ताका दासहरूको बजारमा बिक्री हुने चीज होइन, जहाँ तिघ्रा, पिँडौला नापिइन्छ, छातीको उभारलाई जाँचिइन्छ र कमरको मासुलाई तौलिइन्छ र स्विमिङ पुलको किनारै किनार, बाजाका तीखा धूनहरुका साथसाथ सक्कली दाँतका मञ्जनवालाहरु र नक्कली दाँतको सेट बेच्नेवालाहरु, नङ काट्ने र नङ बनाउने यन्त्रवालाहरू, रौँ सफा गर्ने पाउडरवालाहरू र कपाल बढाउने वालाहरु, अग्लो एडीवालाहरु र तल्लो बुद्धिवालाहरु सबै आ–आफ्ना बस्तुहरूको विज्ञापन गर्ने गर्छन् ।

वास्तविक सौन्दर्य कुनै ठुला विज्ञापनकर्ताका दासहरूको बजारमा बिक्री हुने चीज होइन, जहाँ तिघ्रा, पिँडौला नापिइन्छ, छातीको उभारलाई जाँचिइन्छ र कमरको मासुलाई तौलिइन्छ र स्विमिङ पुलको किनारै किनार, बाजाका तीखा धूनहरुका साथसाथ सक्कली दाँतका मञ्जनवालाहरु र नक्कली दाँतको सेट बेच्नेवालाहरु, नङ काट्ने र नङ बनाउने यन्त्रवालाहरू, रौँ सफा गर्ने पाउडरवालाहरू र कपाल बढाउने वालाहरु, अग्लो एडीवालाहरु र तल्लो बुद्धिवालाहरु सबै आ–आफ्ना बस्तुहरूको विज्ञापन गर्ने गर्छन् ।

“यस कारण म तपाईंहरुलाई भन्छु कि तपाईँहरूको यो सौन्दर्य–प्रतियोगिता एकदमै फ्रड हो, धोका हो, जालसाजी र बेइमानी हो । यसका बारेमा मेरो फैसला यही हो ।”

जब मैले आफ्नो भाषण समाप्त गरेँ, त्यसको लगत्तै केही क्षणसम्म त हलमा पुरै मूर्दाशान्ति छायो, यस्तो मूर्दाशान्ति कि त्यसलाई तोड्नका लागि ठुलो स्वरमा कराउन सुरु गरूँ जस्तो मलाई लाग्यो ।

फेरि केही क्षणपश्चात् हलमा कानेखुसी–गाइँगुइँ चल्न सुरु भयो । हामी पछाडि बसेको सौन्दर्य–प्रतियोगितामा भाग लिइरहेको केही सुन्दरीहरू मुर्छित बने । कतिपय चिच्याउन थाले । केही समयपछि हलमा रहेका प्रत्येक व्यक्ति चिच्याइरहेको थिए–

साला !

कमीना !

गधा !

मूर्खानन्द !

यसलाई बाहिर निकाल् । जुत्ता हानेर बाहिर निकाल् । कुन चाहिँ गधालाई समातेर ल्यायौ । सोमत नभएका ! खराब बोलीवाला ! नालायक !!

फेरि ‘गधा मुर्दावाद’ को नारा लाग्न सुरु भयो । केही हुल्लडहरू हल्ला गर्दै स्टेजमाथि चढे । उनीहरूको मनशाय सभापतिलाई डण्डाले सत्कार गर्ने थियो तर मैले उनीहरूको मनशाय बुझिहालेँ । त्यसैले मैले दुई चार लात्ती, अझ चारैवटा लात्तीले यस्तो प्रहार गरेँ कि ती शुरुवीरहरु सुइँकुच्चा ठोके । म क्रोधित भएको देखेर स्टेजमा पनि ठुलै हंगामा मच्चियो । माइक्रोफोन झर्‍यो । लेडी गामा बेहोस भइन् । केटीहरू चिच्याउन थालिन् । यस्तो स्थितिमा मैले त्यहाँबाट चुपचाप हिँड्नु नै उचित सम्झेँ । अतः स्टेजमा दुईलात्ती हान्दै, आफ्नो विशेष बोली बोल्दै म तल उत्रिएँ र भाग्दै क्लब बाहिर गएँ । आक्रोशमा आएका धेरै मानिसहरू मेरो पछि दौडिए तर त्यो समय मेरो जीवन तथा मृत्युको प्रश्न थियो, त्यसलै मैले पनि आँखा बन्द गरेर जथाभाबी भाग्न थाले । मलाई याद छैन कि म कुन सडकमा कतातिर भागे, कता मोडिए, कता घुसेँ । मलाई त्यो बेला होस आयो, जब मेरो टाउको एउटा मेचमा ठोक्कियो र धेरैवटा चियाका प्यालाहरू फुटे र धेरै जना मानिसहरू आत्तिएर आ–आफ्ना कुर्सीबाट उठे र हात फैलाउँदै चिच्याउन थाले ।

“यो गधा कहाँबाट घुस्यो, यसलाई बाहिर निकाल ।”

अब मैले अलि ध्यानपूर्वक यताउता हेरेँ । मैले थाहा पाएँ कि म त विलिङ्गडन क्लबबाट धेरै टाढा, इण्डिया गेटभन्दा पनि धेरै अगाडि, जीन्द हाउसमा घुसेको रहेछु । यस जीन्द हाउसको विशाल लनमा एउटा ठुलो गार्डन पार्टीको प्रबन्ध गरिएको थियो, जसलाई मैले आएर तहसनहस गरिदिएको थिएँ ।

– कृश्न चन्दर, “एक गधे की आत्मकथा” (सन् २००१), राजपाल एण्ड सन्ज, दिल्ली, ।