सिनेमामा निर्देशक चलचित्र व्यक्तिगत कलात्मक अभिव्यक्तिको माध्यम

चलचित्रमा सबभन्दा महत्वपूर्ण भूमिका निर्देशकको हुने गर्छ । तर सन् १९५५ भन्दा अगाडिसम्म चलचित्रलाई त्यसको निर्माताको वस्तुको रुपमा नै बुझ्ने गरिन्थ्यो । जीन लुक गोदार, क्लाड सावारोल र फ्राँ स्वाँ त्रुफोजस्ता फ्रान्सका प्रतिभाशाली चलचित्रकर्मीहरुले चलचित्रको नयाँ धारालाई अगाडि बढाउने क्रममा चलचित्र भनेको मूलतः निर्देशकको रचना हो भन्ने मान्यता स्थापित गरे । उनीहरु राम्रा चलचित्रहरु बनाइरहेका थिए र ती चलचित्रहरुमा निर्देशकको सम्पूर्ण क्षमताले नै तिनीहरुको गुणस्तर निर्माण गरेका हुन्थे । त्यहीताका त्रुफोको निर्देशनमा बनेको चलचित्र– फोर हण्ड्रलेड ब्लोज क्यान्स महोत्सवमा प्रतिस्पर्धाको निम्ति छानियो । र, यो चलचित्रले त्यस महोत्सवमा निर्देशकको फिल्मको रुपमा पहिलोचोटि पुरस्कार पायो । त्यो चलचित्रलाई नयाँ धाराको चलचित्र भनिएको थियो । यही चलचित्रपछि नै चलचित्रलाई निर्देशकको रचना भन्ने मान्यता प्राप्त भयो । यही बेलादेखि नै चलचित्रमा निर्देशकको सर्वोपरि स्थान स्थापित भयो र फिल्मको पोस्टर र कास्टिङको पहिलो शटमा ‘ए फिल्म वाइ गोदार’ वा ‘ए फिल्म वाइ त्रुफो’ भनेर लेख्न थालियो । भारतका मृणाल सेन, मणिकौल र कुमार साहनीजस्ता चलचित्र निर्देशकहरु फ्रान्सबाट शुरु भएको चलचित्रको नयाँ धाराबाट प्रभावित भए र उनीहरुले त्यही प्रवृत्ति तथा विचारमा चलचित्रहरु निर्माण गर्न थाले ।

 चलचित्रसम्बन्धी जानिफकारहरु भन्छन् ः चलचित्र व्यक्तिगत कलात्मक अभिव्यक्तिको माध्यम हो, यो कुरालाई नयाँ ढंगले जोड दिने प्रमाणहरु भनेका स्पेन र मेक्सिकोमा लुइस बुनाएल, स्वेडेनमा इङ्गमार वर्गम्यान, जापानमा अकिरा कुरोशावा र भारतमा सत्यजीत रेका चलचित्रहरु हुन् । यो भनाइले चलचित्रको प्रमुख व्यक्ति निर्देशक नै हो भन्ने पुष्टि गर्दछ ।

शुरुका दिनहरुमा सन् १९२० को दशकसम्म चलचित्रको बारेमा गम्भीरतापूर्वक लेख्ने गरेका प्रशिद्ध समीक्षकहरुले चलचित्रको सफलता र असफलताको निम्ति निर्देशकलाई जस वा अपजस दिने लठारो गरेनन् । सन् १९२७ देखि १९४८ सम्मको स्टुडियो पद्धतिको ठूलो युगमा सिनेमाका शक्तिशाली निर्देशकहरुले सिनेमा बनाउने त्यस्ता कारखानाहरुको अवस्थालाई समेत उछिनेर आफ्नो योग्यता दर्शाएका थिए । त्यसबेला शक्तिशाली व्यक्तित्व भएका फ्रयाङ्ग काप्रा, हावार्ड हक्स, जोहन फोर्ड र अर्नेष्ट लुविजजस्ता निर्देशकहरुलाई निर्माताहरुले पर्याप्त स्वतन्त्रता त दिन्थे, तर पनि ती निर्देशकहरुले स्टुडियोहरुसँग अनुबन्धित अभिनेता र अभिनेत्रीहरु, स्टुडियोले छानेको पटकथा र पटकथाकारहरुसँग तालमेल मिलाएरमात्र काम गर्नुपर्दथ्यो । साथै उनीहरुले प्रयोगशीलताका निमित्त पर्याप्त नहुने सम्बन्धित स्टुडियोले तोकेको समय सीमाभित्र रहेर काम गर्नुपर्दथ्यो ।

तर अचेल, आधुनिक चलचित्रको निर्देशक भनेको चलचित्रको शैली, संरचना र गुणवत्ताको निम्ति अन्तिम रुपले जिम्मेवार व्यक्ति हो । चलचित्रका ज्ञाताहरुका अनुसार, सर्वोत्तम चलचित्रहरु भनेका शक्तिशाली निर्देशकहरुका कलात्मक र व्यक्तिगत अभिव्यक्तिहरु हुन् । सन् १९५० को दशकमा स्टुडियो पद्धतिको अवशान भएपछि नै चलचित्रमा निर्देशकको नियन्त्रण र प्रतिभा प्रस्फुटन हुन थालेको हो ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।