समाजवाद नै किन ?

सैद्धान्तिक रुपमा मात्रै पनि श्रमजीवीहरु ज्याला उनीहरुको उत्पादनको मूल्यद्वारा निर्धारणले पाउने गरिँदैन ।

के त्यस्तो व्यक्तिले समाजवादको बारेमा विचार व्यक्त गर्नु उचित छ, जो आर्थिक–सामाजिक मामिलाहरुको विशेषज्ञ होइन ? कयौं कारणहरुले गर्दा मलाई लाग्छ– यो उचित छ ।

सबैभन्दा पहिले वैज्ञानिक ज्ञानको दृष्टिकोणबाट यस सवालमाथि विचार गरौं । खगोल–विज्ञान र अर्थशास्त्रबीचको कार्यपद्धति (मेथोडोलोजी)मा कुनै मूलभूत भिन्नता नै छैन भन्ने लाग्न सक्छ । यस्तो प्रतीत हुनसक्छ, यी दुबै क्षेत्रहरुमा वैज्ञानिकहरुले कुनै घटना–क्रियाहरु(फेनोमेना)का अन्तरसम्बन्धहरुलाई यथासम्भव स्पष्ट ढंगले सम्झन–बुझ्न लायक बनाउनका लागि ती घटना–क्रियाहरुको एउटा सीमित समूहका लागि सामान्य स्वीकार्य नियमहरु खोज्ने प्रयास गर्दछन् । तर, वास्तवमा, यी दुबै विज्ञानहरुका बीच कार्यपद्धतिको भिन्नता विद्यमान छ । अर्थशास्त्रको क्षेत्रमा सामान्य नियमहरुको खोज विभिन्न कारणले कठिन हुन्छ । किनकि जुन आर्थिक घटना–क्रियाहरुको हामी निरीक्षण गर्छौं, तीनलाई धेरै त्यस्ता कुराहरुले प्रभावित गर्दछन्, जसको मूल्यांकन अलग ढंगले गर्न निकै कठिन छ । यसका अतिरिक्त, सबैलाई थाहै छ– मानव इतिहासको तथाकथित सभ्यकालको शुरुदेखि नै संचित अनुभवहरु त्यस्ता कारणहरुबाट धेरै नै बढी प्रभावित र सीमित भैरहेका छन्, जुन स्वभावतः कुनै पनि हिसाबले आर्थिक कारण मात्र होइनन् । उदाहरणका लागि, इतिहासमा धेरैजसो ठूला राज्यहरुको अस्तित्वको आधार भनेको बल प्रयोगद्वारा गरिएको विजय थियो । विजेताहरुले कानूनी र आर्थिक रुपले आफूलाई विजित देशका विशेषाधिकार प्राप्त वर्गको रुपमा स्थापित गरे । तिनीहरुले भू–स्वामित्वको क्षेत्रमा आफ्नो एकाधिकार कायम गरे र आफूहरु बीचका मानिसहरुमध्येबाट नै पुरोहित नियुक्त गरे । पुरोहितहरुले शिक्षामाथि नियन्त्रण राख्ने काम गरे । समाजको वर्ग– विभाजनलाई एउटा स्थायी संस्थाको रुप दिए । अनि उनीहरुले मूल्यहरुको एउटा व्यवस्थाको रचना गरे, जसबाट त्यसै समयदेखि धेरै हदसम्म अचेतन रुपले मानिसहरुको आफ्नो सामाजिक व्यवहार निर्देशित हुनथाल्यो ।

 थोस्र्टीन वेब्लेनद्वारा बताइएको मानव विकासको ‘लूटपाटको अवस्था’ भनेको, भन्नलाई मात्रै विगतका दिनहरुको ऐतिहासिक परम्परा हो, किन्तु हामी आजसम्म पनि त्यो अवस्थाभन्दा अगाडि बढ्न सकेका छैनौं । जुन आर्थिक तथ्यहरुको हामी निरीक्षण गर्न सक्छौं, ती त्यही अवस्थाका हुन्, र त्यसबाट निकालिएको नियम पनि अन्य अवस्थाहरुमाथि लागू हुन सक्दैन । समाजवादको वास्तविक लक्ष्य सुनिश्चित रुपले मानव विकासलाई यस लूटपाटको अवस्थाबाट पार गराउनु र यस अवस्थाबाट अगाडि बढाउनु हो, त्यसैले आफ्नो वर्तमान स्थितिमा आर्थिक–विज्ञानले भविष्यको समाजवादी समाजमाथि अलिकति भए पनि प्रकाश पार्न सक्छ ।

दोस्रो विचारणीय पक्ष के हो भने समाजवादको विकासको दिशा एउटा सामाजिक–नैतिक लक्ष्यतिर निर्देशित छ । विज्ञानले न लक्ष्यहरुको निर्माण गर्न सक्छ, न त त्यसलाई मानिसहरुभित्र पोख्न नै सक्छ । विज्ञानले बढीभन्दा बढी कुनै लक्ष्यहरुलाई प्राप्त गर्ने साधन जुटाउन सक्छ । तर यी लक्ष्यहरु स्वयं उदात्त नैतिक आदर्शले युक्त व्यक्तित्वहरुद्वारा मात्र तय गरिन्छ । यदि यी लक्ष्यहरु मुर्दा नभैकन, जीवन्त र ओजस्वी छन् भने ती धेरै धेरै मानिसहरुद्वारा अपनाइने छन् अनि अगाडि पनि बढाइने छन् । यस्ता मानिसहरुले अद्र्धअचेतन रुपले भए पनि समाजको मत्थर–विकासलाई निर्धारित गर्नेछन् ।

यिनै कारणहरुले गर्दा, मानवीय समस्याहरुको सवालमाथि हामीले विज्ञान र वैज्ञानिक पद्धतिहरुलाई आवश्यकताभन्दा बढी आँकेर हेर्नु हुँदैन । र यिनै कारणहरुले गर्दा समाजको संगठनलाई प्रभावित गर्ने सवालहरुबारे अभिव्यक्तिको अधिकार केवल विशेषज्ञहरुलाई मात्र छ भनेर पनि मान्नु उचित हुँदैन ।

अनगिन्ती मानिसहरु केही समययतादेखि के कुरामाथि जोड दिइरहेका छन् भने मानव समाज एउटा संकटको स्थितिबाट गुज्रिरहेको छ र यसको स्थिरता भयंकर रुपले छिन्न–भिन्न भएको छ । यो एउटा यस्तो स्थितिको लक्षण हो, जब मानिसहरु पहिलेदेखि आफू जोडिएको सानो वा ठूलो समूहप्रति उदासीन वा अनासक्त हुन थाल्छन्, कहिले काँही त शत्रुतापूर्ण भाव समेत महसूस गर्न थाल्छन् । आफ्नो यो कुरालाई स्पष्ट पार्नका लागि म एउटा निजी अनुभव बताउन चाहन्छु । हालै मैले एकजना प्रबुद्ध सज्जनसँग एउटा अर्को युद्धको खतराको बारेमा कुराकानी गरें, जुन युद्धले मेरो विचारमा मानवताको अस्तित्वलाई नै गम्भीर संकट पैदा गर्नेछ । मैले उनलाई के भने भनें त्यस्तो खतराबाट केवल एउटा राष्ट्र–राष्ट्रभन्दा माथिको (सुप्रानेशनल) संगठनले मात्र रक्षा गर्न सक्दछ । यसबारेमा मेरो अतिथिले अत्यन्त शान्त र ठण्डा ढंगले भने– “तपाईं मानव जाति नष्ट हुने कुराविरुद्ध यति गम्भीरतापूर्वक किन विरोध गर्नुहुन्छ ?”

म यकीनका साथ भन्नसक्छु ः कमसेकम एक शताब्दी अगाडिसम्म कसैले पनि यति हलुका ढंगले यस सम्बन्धमा यस्तो किसिमको विचार दिएको छैन होला । यो एउटा त्यस्तो मानिसको विचार हो, जसले आफूभित्र सन्तुलन स्थापित गर्नका लागि निरर्थक प्रयास गरिरहेको छ र धेरै हदसम्म यसमा सफल हुने आशा समेत मारिसकेको छ । यो एउटा यस्तो दर्दनाक एक्लोपन र पीडादायी अलगावको अभिव्यक्ति हो, जसबाट आजभोलि धेरै मानिसहरु पीडित छन् । यसको कारण के हो ? के यसको कुनै समाधान त छ ?

यस्ता प्रश्नहरु गर्नु सजिलो छ, तर कुनै पनि हदसम्मको भरोसिलो जवाफ दिन कठिन छ । फेरि पनि जहाँसम्म सकिन्छ, म जवाफ दिने प्रयास अवश्य गर्नेछु । यद्यपि हाम्रा अनुभूतिहरु र हाम्रा प्रयासहरु धेरैजसो यति अन्तरविरोधी र दुरुह हुन्छन् कि ती सजिला र सिधा–साधा सूत्रहरुमा व्यक्त गर्न नै सकिंदैनन् भन्ने तथ्यप्रति म काफी सचेत छु ।

मानिसहरु एकै समयमा र एकैसाथ एक्लो प्राणी पनि हुन् र सामाजिक प्राणी पनि । एउटा एक्लो प्राणीको हैसियतले मानिसले स्वयंको र आफ्ना सबैभन्दा नजिकका मानिसहरुको रक्षाको प्रयास गर्दछ र आफ्ना निजी इच्छाहरुको तृप्तिको प्रयत्न गर्दछ तथा आफ्ना सहज योग्यताहरुको विकासका लागि प्रयत्न गर्दछ । एक सामाजिक प्राणीको रुपमा उसले आफू निकट रहने मानिसहरुबीच मान्यता पाउन, तिनीहरुबाट स्नेह पाउन, उनीहरुका खुशीहरुमा भाग लिन र उनीहरुको दुःखका बेलामा आरामको व्यवस्था गर्न तथा उनीहरुको जिन्दगीका कठिन परिस्थितिहरुमा सुधार गर्न कोशिस गर्दछ । कुनै पनि मानिसको विशिष्ट चरित्रका पछाडि केवल यस्तै विविध र अत्यन्त परस्पर विरोधी प्रयासहरुकै अस्तित्व हुन्छ । यिनै प्रयासहरुको विशिष्ट संयोजनले नै त्यस सीमालाई निर्धारण गर्दछ, जुन सीमासम्म कुनै मानिसले आन्तरिक सन्तुलन प्राप्त गर्न सक्छ तथा समाजको हितका लागि योगदान गर्न सक्छ । के कुरा बिलकुल संभव छ भने यी दुबै प्रवृत्तिहरुको सापेक्षित शक्तिको निर्धारण मुख्यतः वंशानुक्रमद्वारा हुन सक्छ । किन्तु, अन्तिम रुपमा जुन व्यक्तित्व विकसित भएर अगाडि देखा पर्छ, त्यस व्यक्तित्वको निर्धारण गर्ने काम मुख्यरुपमा सामाजिक परिवेशबाट हुन्छ । व्यक्ति स्वयंले आफ्नो विकासको क्रममा पाउने त्यस परिवेशद्वारा, ऊ हुर्कने–बढ्ने समाजको त्यस ढाँचाद्वारा, त्यस समाजका परम्पराहरुद्वारा र खास खास व्यवहारहरुप्रति त्यस समाजको मूल्यांकनद्वारा उसको व्यक्तित्व निर्धारण गर्ने काम हुन्छ । कुनै पनि एक्लो व्यक्तिका लागि ‘समाज’सम्बन्धी अमूर्त धारणाको अर्थ होः आफ्ना समकालीनहरु र अघिल्लो पुस्ताका सबै मानिसहरुसँग उसको प्रत्यक्ष र परोक्ष सम्बन्धहरुको कुल जोड । व्यक्ति सोच्न, महसूस गर्न, प्रयास गर्न र कार्य गर्नमा आफैं सक्षम छ । किन्तु ऊ आफ्ना शारीरिक, बौद्धिक तथा भावनात्मक अस्तित्वका लागि समाजमाथि यति बढी निर्भर छ कि समाजको सीमाभन्दा बाहिर उसको विषयमा विचार गर्नु र त्यसलाई बुझ्नु असम्भव प्रायः छ । यो त्यही नै ‘समाज’ हो, जसले मानिसलाई भोजन, वस्त्र, आवास, कामको औजार, भाषा, विचारहरुको रुप र त्यसको अधिकांश अन्तर्वस्तु दिन्छ, उसको जीवन वर्तमान र विगतका ती लाखौं–लाख मानिसहरुको श्रम र कौशलको कारणले मात्रै चलिरहेको हुन्छ, ती सबै मानिसहरु यस छोटो शब्द ‘समाज’को पछाडि हराइरहेका हुन्छन् ।

त्यसैले के कुरा स्पष्ट छ भने समाजमाथि व्यक्तिको निर्भरता प्रकृतिको एउटा त्यस्तो वास्तविकता हो, जसलाई समाप्त पार्न सकिंदैन’, ठीक कमिला र माहुरीहरुको विषयमा जस्तै ! तर जहाँ कमिला र माहुरीहरुको पूरा जीवन–प्रक्रियाको सानोभन्दा सानो कुरा पनि सख्त वंशानुगत प्रवृत्तिहरुद्वारा निर्धारित हुन्छ, त्यहीँ मानिसका तौर–तरिकारहरु र अन्तरसम्बन्धहरु चाहिँ परिवर्तनशील हुन्छन् र परिवर्तनप्रति अति संवेदनशील हुन्छन् । स्मृति, नयाँ संयोजनहरु निर्माण गर्ने क्षमता र मौखिक संवादको गुणद्वारा मानिसमा त्यस्ता विकासहरु सम्भव भएको छ, जुन जैविक आवश्यकताहरुद्वारा निर्दिष्ट हुँदैनन् । यस्ता विकासहरुले परम्पराहरु, संस्थाहरु र संगठनहरुमा, साहित्यमा, वैज्ञानिक एवं इन्जिनियरिङ्गका उपलब्धिहरुमा, कलाकृतिहरुमा स्वयंलाई अभिव्यक्त गर्दछन् । यसबाट स्पष्ट हुन्छ– मानिसले कसरी एउटा निश्चित अर्थमा आफ्नो जीवनलाई स्वयं आफ्नै व्यवहारद्वारा प्रभावित गर्न सक्छ । यस प्रक्रियामा सचेत चिन्तन र चाहनाले एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् भन्ने कुरा पनि यसबाट स्पष्ट हुन्छ ।

मानिसले जन्मेदेखि नै आनुवंशिकतामार्फत् प्रकृतिका स्वाभाविक आवश्यकताहरुसहित एउटा जैविक संरचना पाउँछ, जुन आवश्यकताहरु मानव जातिका लाक्षणिक विशेषताहरु हुन् । यो संरचनालाई हामीले स्थिर र अपरिवर्तनीय मान्न सक्छौं । यसका साथै, आफ्नो जीवनकाल व्यतीत गर्ने क्रममा उसले एउटा सांस्कृतिक संरचना पनि पाउँछ, जसलाई उसले संवादहरु र अन्य धेरै प्रकारका प्रभावहरुमार्फत् समाजबाट ग्रहण गर्दछ । यो सांस्कृतिक संरचना नै त्यो चीज हो, जुन समयसँगसँगै परिवर्तन हुँदै जान्छ । सबैभन्दा महत्वपूर्ण कुरा, यही सांस्कृतिक संरचनाले नै व्यक्ति र समाजबीचको सम्बन्धलाई अति धेरै हदसम्म तय गर्दछ । आधुनिक नृतत्वशास्त्रले तथाकथित आदिम संस्कृतिहरुको तुलनात्मक खोजमार्फत् हामीलाई सिकाएको छ– मानिसहरुका सामाजिक व्यवहारहरुमा व्यापक अन्तर हुन सक्दछ, किनकि यी कुराहरु समाजमा प्रभुत्व जमाइरहेका प्रचलित सांस्कृतिक प्रतिमानहरु र संगठनका स्वरुपहरुमा निर्भर हुन्छन् । कुनै मानव समुदायको उन्नतिका लागि प्रयासरत मानिसहरुले आफ्ना आशाहरु के कुरामाथि आधारित गर्न सक्छन् भने आफ्नो जैविक संरचनाको फलस्वरुप, एक अर्काको विनाश गर्नका लागि वा कुनै क्रूर र आत्मघाती स्थितिको दयामा भर परिरहनका लागि मानव जाति अभिशप्त छैन ।

मानौं, हामीले आफैंलाई प्रश्न ग¥यौंः मानव जीवनलाई यथासम्भव सन्तोषजनक बनाउनका लागि समाजको संरचना तथा व्यक्तिको सांस्कृतिक दृष्टिकोण कसरी बदल्ने ? यसको जवाफ खोज्दा हामीले बदल्न नै नसकिने केही विशिष्ट परिस्थितिहरु हुन्छन् भन्ने वास्तविकताको बारेमा हामी सतत रुपमा सचेत रहनुपर्छ । मैले अगाडि नै के भनिसकेको छु भने– व्यवहारिक अर्थमा मानिसको जैविक प्रकृतिलाई परिवर्तन गर्न सकिँदैन । त्यस्तै गरी विगतका केही शताब्दीहरुका प्राविधिक र जनसांख्यकीय विकासद्वारा निर्मित परिस्थितिहरु पनि यथावत् रहिरहने कुरा हुन् । अपेक्षाकृत रुपमा धना बस्ती भएका आबादीहरुको अस्तित्वका लागि अपरिहार्य सामग्रीको आपूर्ति गर्न एउटा चरम श्रम–विभाजन तथा अत्यन्त केन्द्रिकृत उत्पादनतन्त्र परम आवश्यक हुन्छ ।

अतीततिर हेर्दा निकै रमणीय लाग्ने त्यो समय, सधैँको लागि गुज्रिसकेको छ, जुनबेला व्यक्ति वा सापेक्षिकरुपमा सानो समूह समेत पूर्णतः आत्मनिर्भर रहन सक्दथ्यो । मानव जातिले अहिले मात्रै उत्पादन र उपभोगको एउटा विश्वव्यापी समुदायको रचना गरेको हो भन्ने कुरा भन्नु धेरै अतिशयोक्तिपूर्ण नहोला ।

अब म त्यस विन्दुमा आइपुगेको छु, जहाँबाट म आजको संकटको सारतत्वतिर अलिकति संकेत गर्न सक्छु । यो कुरा समाजसँग व्यक्तिको सम्बन्धसित गाँसिएको छ । व्यक्ति समाजमाथिको आफ्नो निर्भरताप्रति पहिलेभन्दा बेसी सचेत हुन थालेको छ । किन्तु ऊ यस निर्भरतालाई एउटा सकारात्मक गुणको रुपमा, एउटा जीवन्त बन्धनको रुपमा, एउटा रक्षक शक्तिको रुपमा महसूस गर्दैन । बरु ऊ यसलाई आफ्ना प्राकृतिक अधिकारहरुका लागि, यहाँसम्म कि आफ्नो आर्थिक अस्तित्वका लागि समेत खतराको रुपमा महसूस गर्दछ । त्यसमाथि पनि समाजमा उसको स्थिति कस्तो छ भने उसको मानसिक संरचनामा निहित स्वार्थी प्रवृत्तिहरु निरन्तर प्रबल हुँदै गइरहेका छन्, जब कि उसका समाजिक प्रवृत्तिहरु, जो स्वभावैले कमजोर छन्, भने झन् तेज गतिले नष्ट हुँदै गइरहेका छन् । सबै मानिसहरु, चाहे समाजमा उनीहरुको जुनसुकै स्थान किन नहोस्, नष्ट हुने यस प्रक्रियाको शिकार भइरहेका छन् । थाहा नपाउँदा–नपाउँदै, आफ्नै स्वार्थहरुको कैदी बन्दै उनीहरुले स्वयं आफूलाई असुरक्षित र एक्लो भएको महसूस गरिरहेका छन् । उनीहरुले जीवनका निष्कपट, सरल र स्वाभाविक आनन्दहरुबाट बंचित भएको महसूस गर्न थालेका छन् । निश्चित रुपमा, मानिसहरुको छोटो जीवन खतरा नै खतराले भरिएको छ, त्यसैले मानिसहरुले छोटो जीवनमा स्वयं आफूलाई समाजप्रति समर्पित गरेरै मात्र सार्थकता प्राप्त गर्न सक्छन् ।

मेरो विचारमा दुष्टता र अनिष्टताको सक्कली स्रोत भनेको वर्तमान पूँजीवादी समाजको त्यो आर्थिक अराजकता हो, जुन यहाँ आज विद्यमान छ । हाम्रासामु विशाल उत्पादक समुदाय छ, जसका सदस्यहरुले बल प्रयोगद्वारा होइन, बरु समग्रतामा विश्वसनीय रुपले कानूनतः स्थापित नियमहरु प्रयोग गरी अरुलाई सामूहिक श्रमको फलबाट वन्चित गर्नका लागि कोशिस गर्दैछ । यसै सन्दर्भमा के कुरा अनुभव गर्नु महत्वपूर्ण छ भने उत्पादनको साधन अर्थात् समस्त उत्पादक क्षमता, जुन उपभोक्ता सामग्रीका साथसाथै पूँजीगत सामग्री पैदा गर्नका लागि आवश्यक छ, कानूनी रुपले व्यक्तिहरुको निजी सम्पत्ति हुन सक्छ र अधिकतम रुपमा त्यस्तै नै छ ।

सरलताको दृष्टिले अबको बहसमा म ती सबै मानिसहरुलाई श्रमजीवी (वर्कर्स) भन्नेछु, जसको उत्पादनका साधनहरुको मालिकत्वमा कुनै हिस्सेदारी छैन । यद्यपि यो यस शब्द परम्परागत प्रयोगअनुरुप छैन । उत्पादनका साधनहरुका मालिकहरु श्रमजीवीहरुको श्रमशक्ति किन्न सक्ने स्थितिमा हुन्छन् । उत्पादनका साधनहरुको प्रयोग गरेर श्रमजीवीहरुले जुन नयाँ सामग्रीहरु उत्पादन गर्छन्, ती पूँजीपतिको सम्पत्ति बन्न पुग्छन् । यस प्रक्रियामा सबैभन्दा महत्वपूर्ण पक्ष होः श्रम र ज्यालाबीचको सम्बन्ध । श्रमजीवीहरुले श्रम गरी जति उत्पादन गर्छन् र जति उनीहरुले ज्याला पाउँछन्, यी दुवैलाई वास्तविक मूल्य ९चभब िखबगिभ० को रुपमा यसलाई नाप्दा यी दुबैबीच कुनै तालमेल हुँदैन । श्रम अनुबन्ध ९ीबदयगच ऋयलतचबअत० को ‘मुक्त हुनछ, त्यसैले श्रमजीवीहरुले जे–जति ज्याला पाउँछन्, त्यो उनीहरुद्वारा उत्पादित सामग्रीको वास्तविक मूल्यबाट निर्धारित हुँदैन, बरु उनीहरुका न्यूनतम आवश्यकताहरुमा आधारित हुन्छ । र कामको खोजीको क्रममा प्रतिस्पर्धामा लागिरहेका श्रमजीवीहरुको संख्या पनि उनीहरुको ज्याला निर्धारणमा कारण बन्न पुग्छ । उनीहरुको संख्या धेरै बेसी छ भने त्यसकै अनुपातमा उनीहरुको ज्याला कम हुँदै जान्छ । धेरैजसो स्थितिमा पूँजीपतिहरुलाई आवश्यक भएको संख्याभन्दा बेसी श्रमजीवी श्रम–बजारमा उपलब्ध भइरहने हुनाले उनीहरुले निकै थोरै ज्याला पाउँछन् । यहाँ के कुरा थाहा पाउनु महत्वपूर्ण छ भने सैद्धान्तिक रुपमा मात्रै पनि श्रमजीवीहरु ज्याला उनीहरुको उत्पादनको मूल्यद्वारा निर्धारणले पाउने गरिँदैन ।

पूँजीवादमा निजी पूँजी मुठ्ठीभर मानिसहरुको हातमा केन्द्रित हुन्छ । पूँजीवादी प्रतिद्वन्द्विताको कारणले र प्रविधिको विकासको कारणले ठूलठूला कारखानाहरु स्थापना गरिन्छन् र जसमा श्रमको विभाजन लगातार बढ्दै जान्छ । यी सबै कुराहरुको परिणाम के हुन्छ भने साना उत्पादकहरुले ठूलो हानी बेहोर्नु पर्ने हुन्छ । पूँजीपतिहरुको एउटा उच्च कुलीनतन्त्र ९यष्निबचअजष्० स्थापित हुनजान्छ र त्यस तन्त्रकोे अपार शक्तिलाई प्रजातान्त्रिक ढंगले संगठित एउटा राजनीतिक समाजले पनि प्रभावकारी ढंगले नियन्त्रित गर्न सक्दैन । संसद्मा जुन व्यक्तिहरु राजनैतिक पार्टीहरुबाट छानिएर वा जन निर्वाचित भएर जान्छन्, उनीहरु पूँजीपतिहरुबाट धेरैजसो आर्थिक रुपले लगानी गरिएका हुन्छन् वा निजी पूँजीबाट प्रभावित हुन्छन् । यसै नतिजास्वरुप सबै व्यावहारिक मामिलाहरुमा निर्वाचित सांसदहरु आफ्ना मतदाता जनताहरुबाट अलग हुन्छन् । यसको परिणाम के हुन्छ भने जनताका प्रतिनिधि सांसदहरुलाई आफूले समाजका दुर्बल र अधिकारविहीन वर्गका हितहरुका बारेमा सोच्नु जरुरी छ भन्ने महसूस समेत हुन छोड्छ ।

यसबाहेक वर्तमान परिस्थितिमा पूँजीपति वर्गले प्रत्यक्ष वा परोक्ष ढंगले संचारका साधनहरुमाथि, जस्तो प्रेस, रेडियो, टेलिभिजन तथा शिक्षामाथि आफ्नो नियन्त्रण स्थापित गर्दछ । यसप्रकारले नागरिकहरुले वस्तुगत र सही निर्णयसम्म पुग्नका लागि तथा आफ्ना राजनेतिक अधिकारहरुको बुद्धिमत्तापूर्ण ढंगले प्रयोग गर्नका लागि निकै ठूलो कठिनाइ व्यहोर्नु पर्दछ, यहाँसम्म कि धेरैजसो मामिलामा त यस्तो काम गर्नु असंभव प्रायः नै हुन्छ ।

सम्पत्तिको निजी मालिकत्वमाथि आधारित अर्थव्यवस्थामा अडेको वर्तमान स्थितिलाई दुई मुख्य सिद्धान्तद्वारा स्पष्ट पार्न सकिन्छ । पहिलो, उत्पादनका साधनहरु (पूँजी)माथि निजी मालिकत्व रहन्छ र मालिकले जस्तो मन लाग्छ, त्यसरी नै तिनलाई प्रयोग गर्छ । दोस्रो, श्रमजीवीसँगको श्रम–अनुबन्ध स्वतन्त्र हुन्छ । यस अर्थमा एउटा वास्तविक ‘शुद्ध’ पूँजीवादी समाजको अस्तित्व हुन सक्दैन । विशेष रुपमा, के कुरा उल्लेखनीय छ भने श्रमजीवीहरुका लामा लामा र तीखा राजनीतिक संघर्षहरुद्वारा ‘स्वतन्त्र श्रम सम्झौता’को अलिकति सुधारिएको रुप केही निश्चित श्रेणीका श्रमजीवीहरुले पाउन सफल भएका छन् । तर समग्रतामा हेर्दा आजको अर्थव्यवस्था ‘शुद्ध’ पूँजीवादभन्दा धेरै बेशी भिन्न चाहिँ छैन ।

उत्पादन नाफाका लागि गरिन्छ, उपभोगका लागि होइन । कामका लागि इच्छुक सबै सक्षम मानिसहरुले सधँै काम पाउँछन् भन्ने त्यस्तो कुनै सुनिश्चित प्रावधान हुँदैन किनकि “बेरोजगारहरुको फौज” लगभग सधैँ विद्यमान रहिरहन्छ । श्रमजीवीहरु हरपल कामबाट हटाइने पो हो कि भन्ने भयले ग्रस्त हुन्छन् । निश्चित रुपमा बेरोजगार र अति कम ज्याला पाउने श्रमजीवीहरुमाथि आधारित भएर एउटा लाभदायक बजार निर्माण हुन सक्दैन् । यसैले उपभोग्य– वस्तुहरुको उत्पादन अत्यन्त सीमित रहन्छ, जसको परिणाम हुन्छ– श्रमजीवीहरुका लागि भयंकर कठीनाई । प्राविधिक उन्नतिको फलस्वरुप बेरोजसगारहरुको संख्यामा अत्यधिक बृद्धि हुन्छ र प्राविधिक उन्नतिबाट सबैका लागि कामको बोझा हलुका भइहाल्छ नि भन्ने कुरा बलिकुल असंभव झैं हुनथाल्छ । यी कुराहरु मैले अगाडि नै उल्लेख गरिसकेको छु ।

मुनाफाखोरीको प्रवृत्तिका साथसाथै पूँजीपतिहरुबीच हुने आपसी प्रतिद्वन्दिताका कारण पूँजी–निर्माण र यसको समुचित प्रयोगमा बाधा उत्पन्न हुन जान्छ । यसले क्रमशः भयानक मन्दीको चरणतिर डो¥याउन थाल्छ । असीमित प्रतिद्वन्दिताकै कारणले प्रायःजसो श्रमको ठूलो बर्बादी हुन्छ । यसले व्यक्तिहरुको सामाजिक चेतनालाई कुण्ठित पार्दछ ।

म व्यक्तिहरुको सामाजिक चेतनालाई कुण्ठित बनाउने प्रक्रियालाई पूँजीवादको सबैभन्दा नराम्रो अभिशाप मान्दछु । हाम्रो सम्पूर्ण शिक्षा व्यवस्था यही अभिशापले ग्रस्त छ । यस्तो व्यवस्थामा विद्यार्थीहरुको मनमा एउटा अतिरंजित प्रतियोगी र प्रतिद्वन्दिताको भावना पैदा गर्ने काम गरिन्छ । तथा उनीहरु भावी जीवनयात्रा (करियर)को तयारी गर्ने–गराउने नाममा कमाऊ खालको सफलतालाई मात्रै पूजा गर्न सिकाउँछ ।

मेरो दृढ विश्वास छ– यी तमाम गम्भीर अनिष्ट र अभिशापहरुबाट मुक्त हुने एकमात्र उपाय हो, समाजवादी अर्थव्यवस्थाको स्थापना गर्नु र यो सँगसँगै सामाजिक लक्ष्यहरुतिर झुकाव भएको शिक्षा–व्यवस्थाको प्रचलन शुरु गर्नु । यस्तो अर्थव्यवस्थामा उत्पादनका साधनहरुमाथि समाजको स्वामित्व हुन्छ र यसको प्रयोग नियोजित ढंगले हुन्छ । एउटा त्यस्तो नियोजित अर्थव्यवस्था ९एबिललभम भ्अयलयmथ०, जसले उत्पादनलाई समाजको आवश्यकता अनुरुप समायोजित गर्छ, हो त्यस्तो व्यवस्थाले मात्रै काम गर्न सक्षम सबै मानिसहरुलाई रोजगार दिनसक्छ र प्रत्येक स्त्री, पुरुष र बच्चाहरुलाई जीविकाको प्रत्याभूति (ग्यारेण्टी) दिन्छ । त्यस्तो समाजमा नयाँ शिक्षा व्यवस्थाले व्यक्तिहरुभित्र लुकिरहेका असीमित क्षमताहरुलाई फलाउने–फुलाउने काम गर्दछ अनि उनीहरुको अगाडि हाम्रो वर्तमान समाजका सत्ता–शक्ति र सफलताको महत्वलाई बढाइ–चढाइकन रंगीन ढंगले प्रस्तुत गर्नुको सट्टा त्यसले उनीहरुभित्र आफूजस्तै बाँचिरहेका मानव–वन्धुहरुप्रतिको दायित्वबोधलाई जागृत गर्दछ ।

यी सबका बावजूद के कुरा याद गरिराख्नु जरुरी छ भने नियोजित अर्थव्यवस्था नै समाजवाद होइन । नियोजित अर्थव्यवस्थाअन्तर्गत व्यक्ति पूर्णतः दास पनि हुन सक्छ । समाजवादको उपलब्धि केही अत्यन्त नै जटिल सामाजिक–राजनैतिक समस्याहरुको समाधान प्रस्तुत गर्न सक्नुमा निर्भर हुनेछ । जस्तो ः राजनैतिक र आर्थिक शक्तिको व्यापक केन्द्रीकरण हुने स्थितिमा शासनतन्त्र (नोकरशाही)लाई अति शक्तिसम्पन्न, प्रभुतापूर्ण र अहंकारी हुनबाट कसरी रोक्न सकिन्छ ? व्यक्तिका अधिकारहरुको सुरक्षा हुन सक्छ ? र यसका साथसाथै शासनयन्त्र र (नोकरशाही)को शक्तिलाई निष्प्रभावी बनाउन सक्ने खालका प्रजातान्त्रिक शक्तिहरुलाई सुनिश्चित रुपमा कसरी स्थापित गर्न सकिन्छ ?

हाम्रो यस संक्रमण कालमा समाजवादका समस्याहरुका बारेमा उद्देश्यको स्पष्टता अनि नै आवश्यक छ । निश्चित रुपमा वर्तमान परिस्थितिमा यी– यस्ता समस्याहरुमाथि निर्बिघ्नतापूर्वक चिन्तन गर्ने कार्य एक प्रकारले प्रतिबन्धित हुँदै गइरहेको छ । त्यसैले यस पत्रिका (मन्थली रिभ्यू)को प्रकाशनको शुरुवातलाई म एउटा अत्यन्त महत्वपूर्ण समाजसेवा मान्दछु ।

 

(‘मन्थली रिभ्यू’ को प्रकाशनको शुरुवातका अवसरमा शुभकामना दिँदै लेखिएको यो ‘समाजवाद नै किन ?’ नामक लेखको अनुवाद गरिएको हो । यो लेख मूल रुपमा ःयलतजथि च्भखष्भध, ब्दिभचत भ्ष्लकतभष्लस् क्ष्मभबक बलम यउष्लष्यलक, इतिहास बोध र वर्तमान साहित्यमा प्रकाशित उहाँको लेखको अनुवाद हो ।)

अनुवादक ः राजेन्द्र महर्जन