चलाख आफन्ती र घमण्डी मुखिया
धेरै समय पहिलेको कुरा हो। आफन्ती नाम गरेका एकजना विद्वान व्यक्ति थिए। एक दिन उनको आँखामा समस्या भयो । उनले सबै कुरा धमिलो देख्न थाले।
यो कुरा थाहा पाएर गाउँको मुखियाले आफन्तीलाई जिस्क्याउन खोजे। मुखिया घमण्डी थिए । उनले आफन्तीलाई खिल्ली गर्दै भने, "ए आफन्ती! तिमीले त एउटा कुरालाई दुइटा देख्छौ रे नि, हो?”
समस्याले पीडित आफन्तीले मुखियासँग बहस गर्न चाहेनन् । उनले मुखियालाई पन्छाउन चाहे । त्यसैले टाउको हल्लाएर ‘हो’ भन्ने संकेत गरे ।
मुखिया झनै जोशिए । उनले आफन्तीलाई जिस्काउँदै थप भने, “त्यसो भए त तिम्रो एउटा गधा पनि अब त दुइटा भयो होला। तिमी त धेरै नै धनी भयौ हगि!"
आफन्ती धेरै चलाख थिए। उनले मुखियाको कुटील चाल बुझे । अब उनले सहन सकेनन् । त्यसैले तुरुन्तै जवाफ दिए, "हो नि मुखियाज्यू, तपाईंले सही भन्नुभयो। त्यसैले त अहिले मैले तपाईंको दुइटा होइन, चारवटा खुट्टा देखिरहेको छु!"
आफन्तीको कुरा सुनेर मुखिया जिल्ल परे । आफन्तीले मुखियालाई मान्छेबाट जनावर बनाइदिए । मुखियाले केही बोल्न सकेनन् । एकछिन ट्वाँ परेर आफन्तीलाई हेरिरहे । अनि केहीबेरपछि चुपचाप त्यहाँबाट हिँडे।
प्रतिक्रिया