मेक्सिकोका मोस्ट वान्टेड लागूऔषध तस्कर 'एल मेन्चो' मारिए

विश्वका मोस्ट वान्टेड लागूऔषध तस्करहरूमध्येका एक चर्चित कार्टेल नाइके नेमेसियो रुबेन ओसेगुएरा सर्भान्तेस अर्थात् 'एल मेन्चो' मेक्सिकोमा मारिएका छन्। मेक्सिकोको रक्षा मन्त्रालयले एल मेन्चो मारिएको पुष्टि गरेको छ। मन्त्रालयका अनुसार ५९ वर्षीय यी ड्रग माफिया पश्चिमी राज्य जलिस्कोमा सञ्चालित एक सैन्य अपरेसनका क्रममा मारिएका हुन्। ५९ वर्षीय यी अन्तर्राष्ट्रिय लागूऔषध तस्करको सैन्य अपरेसनपछि एयर ट्रान्सफर (हवाई स्थानान्तरण) गर्ने क्रममा मृत्यु भएको हो।

कुनै समय प्रहरी अधिकारी रहेका एल मेन्चोको संगठन 'जलिस्को न्यु जेनेरेसन कार्टेल' (CJNG) पछिल्लो १० वर्षमा मेक्सिकोको सबैभन्दा शक्तिशाली र क्रूर समूह बनेको थियो।

एल मेन्चोको हत्यापछि हिंसा भड्कियो

एल मेन्चोको मृत्युपछि मेक्सिकोका धेरै राज्यहरूमा हिंसा भड्किएको छ। अधिकारीहरूका अनुसार सैन्य अपरेसनपछि कार्टेलका सदस्यहरूले हिंसा सुरु गरेका हुन्। धेरै स्थानमा कार्टेल सदस्य र सुरक्षा बलबीच झडप भएका छन्। बस र व्यापारिक मलहरूमा आगजनी गरिएको छ भने सडकहरू अवरुद्ध पारिएका छन्।

अमेरिकाले गर्‍यो अपरेसनमा सहयोग

मेक्सिकोका अधिकारीहरूका अनुसार अमेरिकाले यस अपरेसनलाई सफल पार्न आवश्यक सम्पूर्ण सूचनाहरू उपलब्ध गराएको थियो। सिएनएन को रिपोर्टमा एक अमेरिकी रक्षा अधिकारीलाई उद्धृत गर्दै बताइएअनुसार, 'अमेरिकी इन्टरएजेन्सी टास्क फोर्स' ले यस अपरेसनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो। यद्यपि, उक्त अपरेसनमा अमेरिकाको भूमिका कस्तो प्रकारको थियो भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।

अमेरिकी अधिकारीले बताएअनुसार, गत जनवरीमा स्थापना भएदेखि नै 'ज्वइन्ट इन्टरएजेन्सी टास्क फोर्स-काउन्टर कार्टेल' ले अमेरिका-मेक्सिको सीमामा कार्टेलका गतिविधिहरू नियन्त्रण गर्न अमेरिकी उत्तरी कमाण्डमार्फत मेक्सिकोको सेनासँग निरन्तर सहकार्य गरिरहेको छ। तर, ती अधिकारीले यो मेक्सिकन सैन्य अपरेसन भएको र यसको सफलताको श्रेय मेक्सिकोलाई नै जाने कुरामा जोड दिएका छन्।

को थिए ड्रग लर्ड एल मेन्चो?

ओसेगुएरा उर्फ एल मेन्चोको पहिचान मेक्सिकोको 'मोस्ट वान्टेड' लागूऔषध तस्करको रूपमा थियो। उनले मेक्सिकोको सबैभन्दा खतरनाक कार्टेल सिजेएनजी(CJNG) को नेतृत्व गर्दै जलिस्को र आसपासका क्षेत्रमा आफ्नो शक्ति र नियन्त्रण विस्तार गरेका थिए। मेक्सिकोका सुरक्षा निकायहरू लामो समयदेखि उनको खोजीमा थिए। सन् २०१८ मा मेक्सिकोले उनको बारेमा सूचना दिनेलाई १७ लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो।

अमेरिकी अधिकारीहरूलाई पनि एल मेन्चोको खोजी थियो। अमेरिकाले उनको गिरफ्तारीमा सहयोग गर्ने सूचनाका लागि १.५ करोड डलर को इनाम राखेको थियो। अमेरिकी न्याय मन्त्रालयले सन् २०२२ मा एल मेन्चोमाथि 'फेन्टानाइल' (Fentanyl) नामक घातक लागूऔषध उत्पादन गरी अमेरिका पठाएको आरोप लगाएको थियो। सामाजिक सञ्जाल एक्स (X) मा एक पोस्ट गर्दै अमेरिकी विदेश मन्त्रालयका डेपुटी सेक्रेटरी क्रिस्टोफर ल्यान्डोले एल मेन्चोको मृत्युलाई मेक्सिको, अमेरिका, ल्याटिन अमेरिका र समग्र विश्वकै लागि एक ठूलो उपलब्धिका रूपमा वर्णन गरेका छन्।

स्रोत: नवभारत टाइम्स