निर्वाचनमा आधुनिक डिजिटल पूँजीवाद र यसको प्रभाव

आगामी फागुन २१ गते हुने निर्वाचनमा चुनावी माहौल तातिरहेको छ । निर्वाचनमा परम्परागत रुपमा प्रयोग हुने निर्वाचन प्रचार प्रसारका शैलीहरु घरदैलो, कोणसभा, जुलुस, र्‍याली आमसभा भन्दा आधुनिक डिजिटल सञ्चार माध्यमले प्रतिस्थापन गर्न थालेको छ । विज्ञान र प्रविधिको विकासले सूचना र सञ्चारलाई डिजिटल सुचनाले सुगमता प्रदान गरेको छ । डिजिटल सुचना प्रविधिका आफ्नै फाइदा र वेफाइदारहेका छन् ।  गत भदौमा जेनजी युवाहरुले सामाजिक संजालमा सरकारले प्रतिबन्ध लगाएपछि यसको प्रतिक्रिया स्वरुप आन्दोलन गरे । शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएर भोली पल्ट विध्वंसात्मक रुप लियो। देशभर एकैपटक आगजनी, तोडफोडका घटना भए । यस्तो एकैपटक देश भर एउटै किसिमको विध्वंसात्मक गतिविधि हुनुमा लामो पूर्व तयारी थियो भन्ने अनुमान गर्न सकिन्छ । यस तयारीमा सामाजिक संजालका विभिन्न माध्यमहरु (फेस बुक, इनस्टाग्राम, डिस्कर्ड आदि प्रयोग भएको वताइन्छ । यस हिसाबले हेर्दा विरोध आन्दोलन गर्न भौतिक रुपमा लामो बैठक, भेला, प्रदर्शन गरेर पूर्व तयारी गर्नको सट्टामा सामाजिक संजाल नै आन्दोलनको तयारीको माध्यम रहेको पाइन्छ । यो आधुनिक पूँजीवादको महत्त्वपूर्ण माध्यम भएको छ र यो पूँजीवादको विकसित रुपको रुपमा अगाडि बढेको छ ।

आधुनिक पूँजीवादमा सामाजिक संजालको प्रयोग मानिसहरुका लागि जीवनको आधार बनेको छ । सामाजिक संजाल सूचनाको आदानप्रदान, साथी भाई, पारिवारिक भेटघाट, रोजगारी, सरकारी, बैकिङ्ग र व्यापारीक कारोबारमा प्रयोग भएको छ । सामाजिक संजालको प्रयोगमा युवाहरु बढी संलग्न रहेका छन । पुँजीवाद मानव समाजको आर्थिक प्रणालीमा एक महत्वपूर्ण चरण हो । कार्ल मार्क्सका अनुसार पूँजीवादले उत्पादनका साधन अल्पसंख्यक वर्गको नियन्त्रणमा राख्छ र श्रमिक वर्गलाई शोषणको माध्यम बनाउँछ । समयक्रमसँगै पूँजीवादले रूपान्तरण लिएको छ । आधुनिक युगमा भौतिक साधनमात्र होइन, डाटा, सूचना र डिजिटल प्लेटफर्म नै नयाँ पूँजीको आधार बनेका छन् ।

परम्परागत पूँजीवादमा मुख्य उत्पादन साधन भनेको भौतिक साधन—जमिन, कारखाना, मेसिन आदि—हुनु । श्रमिक वर्ग आफ्नो श्रम बेचेर जीविकोपार्जन गथ्र्यो । यहाँ अधिशेष मूल्य उत्पादनको माध्यमले पुँजीपतिले नाफा कमाउँथे । शक्ति संरचना स्पष्ट थियो । उद्योगी वा जमिनदार वर्ग प्रधान र श्रमिक वर्ग निर्भर सामाजिक असमानता र श्रम शोषणका मुख्य विशेषता हुन् ।

आधुनिक पूँजीवादमा उत्पादन साधन भौतिक भन्दा पनि डिजिटल छन् । यसमा डाटा, एल्गोरिदम, डिजिटल प्लेटफर्म प्रमुख साधन रहेका छन् । प्रयोगकर्ताहरू अनलाइन गतिविधि, खोज, पोस्ट, लाइक आदि मार्फत डाटा उत्पन्न गर्छन् । कम्पनीहरूले यो डाटालाई लक्षित विज्ञापन, बजार नियन्त्रण र नाफा कमाउन प्रयोग गर्छन् । अर्थात् प्रयोगकर्ता स्वयं निःशुल्क श्रमिक बनेका छन् । शक्ति अब केवल आर्थिक नभई सामाजिक, मानसिक र वैचारिक रूपमा केन्द्रीकृत भएको छ । गुगल, मेटा, एमाजोनजस्ता कम्पनीहरूले मानिसको व्यवहार, रुचि र निर्णय नियन्त्रण गर्ने क्षमता राख्छन् ।

परम्परागत पूँजीवादमा श्रमिकले प्रत्यक्ष श्रम बेचेर मजदुरी पाउँथ्यो। आधुनिक पूँजीवादमा प्रयोगकर्ताको डिजिटल गतिविधि कम्पनीको नाफाको श्रोत बनेको छ । तर उनीहरूले प्रत्यक्ष लाभ पाउँदैनन् । परम्परागत वर्ग संरचनामा पुँजीपतिका विरुद्ध श्रमिकको संघर्ष हुन्छ भने आधुनिक वर्ग संरचनामा डिजिटल पुँजीपतिका विरुद्ध डाटा श्रमिकको संघर्ष हुन्छ । डाटा पूँजीवादले असमानता र शक्ति केन्द्रित संरचनालाई अझ गहिरो बनाएको छ ।

आधुनिक पूँजीवादले केवल आर्थिक पक्षमा मात्रै होइन यसले मानव चेतना, स्वतन्त्रता र नैतिकतामा पनि प्रभाव पारेको छ । डिजिटल पूँजीवादमा प्रयोगकर्ताको डिजिटल गतिविधिमा निगरानी र विचारधारात्मक नियन्त्रण राख्दछ र यसले गोपनीयतामा संकट श्रृजना गर्ने उपभोक्तावाद बढाउने र गहिरो मानसिक प्रभाव पार्दछ । पुँजीवाद मानव समाजको आर्थिक प्रणालीमा एक महत्वपूर्ण चरण हो । कार्ल मार्क्सका अनुसार पूँजीवादले उत्पादनका साधन अल्पसंख्यक वर्गको नियन्त्रणमा राख्छ र श्रमिक वर्गलाई शोषणको माध्यम बनाउँछ । समयक्रमसँगै पूँजीवाद रूपान्तरण भए आधुनिक युगमा भौतिक साधनमात्र होइन, डाटा, सूचना र डिजिटल प्लेटफर्म नै नयाँ पूँजीको आधार बनेका छन् कार्ल मार्क्सले पुँजीवादलाई उत्पादनका साधनमाथि सीमित वर्गको नियन्त्रण र बहुसंख्यक श्रमिक वर्गको शोषणमा आधारित प्रणालीका रूपमा विश्लेषण गरेका छन् तर आजको डिजिटल युगमा पुँजीवाद नयाँ रूप लिएर प्रस्तुत भएको छ, जसलाई डाटा क्यापिटलिजम भनिन्छ । यस प्रणालीमा उद्योग वा जमिनभन्दा पनि डाटा उत्पादनका सबैभन्दा महत्वपूर्ण साधनका रूपमा स्थापित भएको छ । मार्क्सवादी दृष्टिकोणबाट हेर्दा डाटा क्यापिटलिजम परम्परागत पुँजीवादकै निरन्तरता हो, तर अझ सूक्ष्म र गहिरो शोषणको स्वरूपमा यसको विकास भएको छ ।

मार्क्सका अनुसार उत्पादन साधनमाथि नियन्त्रण गर्नेे वर्ग नै शासक वर्ग हुन्छ । डाटा क्यापिटलिजममा उत्पादन साधन भनेको डिजिटल प्लेटफर्म, एल्गोरिदम र डाटा भण्डारण प्रणाली हुन् । गुगल, मेटा, एमाजोन जस्ता ठूला कम्पनीहरूले यी साधनमाथि पूर्ण नियन्त्रण राखेका छन् आम प्रयोगकर्ता भने डाटा उत्पादन गर्ने श्रमिक बनेका छन् तर उनीहरूलाई त्यसको मूल्य वा स्वामित्व प्राप्त हुँदैन ।

यी बहुराष्ट्रिय कम्पनीहरु मध्ये गुगलले वार्षिक १०० अर्ब अमेरिकन डलर, विकिपेडीया मेटा प्लेट फर्मले २५ अर्ब अमेरिकन डलर र एमाजोनले ६० अर्ब अमेरिकन डलर वार्षिक नाफा गरेको सन् २०२४ को प्रतिवेदनमा उल्लेख छ । लगभग ४.९ अर्ब देखि ५.०६ विलियन मानिसले गुगलको सेवा प्रयोग गर्दछन भने मेटा फेसवुक,इन्साटाग्राम,ह्वाट्सएपमा औषत ३÷३ विलियन मानिस सक्रिय प्रयोग कर्ता र एमाजोनको वार्षिक ग्राहक ३०० मिलियन मानिस प्रयोग कर्ता छन् । एमाजोन प्रयोग कर्ता मूलतः समान खरिद गर्ने गर्दछन् । डाटा क्यापिटलिजमको सबैभन्दा गम्भीर पक्ष भनेको निःशुल्क श्रम हो । प्रयोगकर्ताले सामाजिक सञ्जालमा पोस्ट गर्ने, खोज गर्ने, प्रतिक्रिया दिने जस्ता क्रियाकलापमार्फत निरन्तर डाटा उत्पादन गर्छन्। यो प्रयोगकर्ताले गरेको मानसिक श्रम हो । तर यस श्रमको कुनै प्रत्यक्ष पारिश्रमिक पाइँदैन । कम्पनीहरूले यही डाटालाई नाफामा रूपान्तरण गर्छन् यसरी डाटा क्यापिटलिजमले श्रम शोषणलाई अदृश्य बनाएको छ ।

डाटा क्यापिटलिज्म भन्नाले कम्पनीहरूले प्रयोगकर्ताको डाटा सङ्कलन, विश्लेषण र व्यापारिक फाइदाका लागि प्रयोग गर्ने प्रणाली हो । यसको प्रयोगले मुख्यतया गोपनीयतामा हानि पुर्याउदछ । प्रयोगकर्ताले के खोजेको थियो, के हेरेको थियो, कहाँ गएको थियो, कससँग कुरा गरेको थियो ? आदि जस्ता डाटा सङ्कलन हुन्छ । तर धेरैजसो प्रयोग कर्ता मानिसलाई कुन डाटा कति संकलन भइरहेको छ भन्ने थाहा नै हुँदैन। तसर्थ यसको प्रयोगले व्यक्तिगत गोपनीयता कमजोर बनाउँछ । यसको प्रयोगले प्रयोगकर्तालाई २४ घण्टा डिजिटल रूपमा निगरानी गरिएको जस्तो अवस्था मोबाइल, एप, क्यामेरा, लोकेसन आदिबाट निरन्तर ट्र्याकिङ गरिरहेको हुन्छ । जसले व्यक्तिको स्वतन्त्रता र निजी जीवनमा दबाब पर्छ । यसको प्रयोगले व्यवहार नियन्त्रण गर्दछ ।

प्रयोग कर्ताको डाटाका आधारमा कुन विज्ञापन देखाउने, कुन समाचार देखाउने र कुन कुरा मन पराउने बनाउने भनेर यसको प्रयोगले मानिसको सोच, निर्णय र बानी नियन्त्रण गर्न सक्दछ । यस्तै एल्गोरिदमले प्रयोगकर्तालाई मनपर्ने कुरा मात्र देखाउँछ र फरक विचार देख्न नपाइने अवस्थाबनाउछ । यसबाट समाजमा झुट्टा समाचार, घृणा, विभाजन बढ्न सक्छ । यस्तै डाटा दुरुपयोग हुने, ह्याक हुने, लिक हुने, व्यक्तिगत फोटो, व्यक्तिगत सन्देश, बैंक सूचना, आफ्नो पहिचान सम्बन्धी डाटा चोरी हुन सक्छ । यसले आर्थिक र मानसिक नोक्सानी पुग्न सक्तछ । डाटा क्यापिटलीजमा शक्ति केहीथोरै ठुला कम्पनीमा केन्द्रित हुने गरेको छ । उनीहरू सँग विशाल डाटा रहेको छ र उनीहरु ठूलो आर्थिक शक्तिको रुपमा उदयीमान छन् यस्ता कम्पनीहरुको सरकारहरु भन्दा बढी शक्ति र प्रभावरहेको छ । र यसले साना व्यवसाय र आम नागरिकलाई कमजोर बनाएको छ ।

परम्परागत पुँजीवादमा पुँजीपति र श्रमिक वर्ग स्पष्ट देखिन्थ्यो । डाटा क्यापिटलिजममा भने वर्ग संरचना अझ जटिल बनेको छ । एकातिर डाटा र प्रविधिमाथि नियन्त्रण राख्ने सानो डिजिटल पुँजीपति वर्ग छ भने अर्कोतिर अरबौँ प्रयोगकर्ता डाटा श्रमिकका रूपमा छन् । प्रयोगकर्तालाई उपभोक्ता भनेर प्रस्तुत गरिए पनि वास्तवमा उनीहरू उत्पादन प्रक्रियाको हिस्सा हुन् । मार्क्सका अनुसार पुँजीवादको शोषणको मूल आधार अधिशेष मूल्यको उत्पादन हो। डाटा क्यापिटलिजममा अधिशेष मूल्य डाटाबाट उत्पादन हुन्छ । प्रयोगकर्ताको व्यवहार विश्लेषण गरेर लक्षित विज्ञापन बेच्नु, बजार नियन्त्रण गर्नु र उपभोक्ता व्यवहारलाई निर्देशित गर्नु अधिशेष मूल्य उत्पादनका नयाँ तरिका हुन् यसरी डाटा नै नाफा सिर्जना गर्ने माध्यम बनेको छ ।

 

मार्क्सले शासक वर्गले विचारधारामार्फत समाज नियन्त्रण गर्छ भनेका छन् डाटा क्यापिटलिजममा एल्गोरिदम र डिजिटल सामग्री नै विचारधारात्मक नियन्त्रणका साधन बनेका छन् कुन समाचार देखाउने, कुन सामग्री लोकप्रिय बनाउने भन्ने निर्णय कम्पनीहरूले गर्छन् । यसले मानिसको सोच, रुचि र राजनीतिक दृष्टिकोण समेत प्रभावित गर्छ ।

मार्क्सवादी विश्लेषणमा साम्राज्यवाद महत्त्वपूर्ण अवधारणा हो । डाटा क्यापिटलिजमले डिजिटल उपनिवेशवादको रूप लिएको छ । विकासोन्मुख देशका नागरिकको डाटा विकसित देशका कम्पनीहरूले संकलन गर्छन् र त्यसबाट नाफा कमाउँछन् तर स्थानीय समाजले त्यसको लाभ न्यून मात्रामा पाउँछ । यसले विश्वव्यापी असमानतालाई थप गहिरो बनाएको छ । मार्क्सवाद दाश युग, सामन्ती युग, पूँजीवादी युग हुदै वैज्ञानिक समाजवादी युगको संसार बदल्न सकिन्छ भन्ने मान्यतामा आधारित परिवर्तनको सिद्धान्त हो । डाटा क्यापिटलिजमको सन्दर्भमा डाटा लोकतान्त्रिकीकरण, कडा नियमन, सार्वजनिक स्वामित्व र श्रमको मूल्यांकनजस्ता उपाय आवश्यक छन् । प्रयोगकर्तालाई केवल उपभोक्ता होइन, अधिकार सम्पन्न नागरिकका रूपमा हेर्नुपर्छ ।

डाटा क्यापिटलिजम पुँजीवादको उन्नत तर अझ शोषणकारी रूप हो । यसले श्रमलाई अदृश्य बनाएको छ, वर्ग असमानता बढाएको छ र शक्ति केही सीमित कम्पनीको हातमा केन्द्रित गरेको छ । यदि डाटा उत्पादन र प्रयोगमा समानता, न्याय र सार्वजनिक हितलाई प्राथमिकता दिइएन भने डाटा क्यापिटलिजम आधुनिक युगको सबैभन्दा खतरनाक शोषण प्रणाली बन्न सक्छ । यसले आर्थिक मात्र नभई सामाजिक, वैचारिक र मानसिक नियन्त्रणको संरचना पनि बनाएको छ । त्यसैले डाटा पूँजीवाद विरुद्ध संघर्ष अपरिहार्य छ ।

प्रयोगकर्ताले आफ्नो डाटा माथि अधिकार राख्नुपर्छ । कम्पनीको पूर्ण नियन्त्रण सीमित गरेर लाभको साझा प्रणाली निर्माण गर्न पर्दछ । सरकारहरूले डाटा सुरक्षा र गोपनीयता कानून लागू गर्नुपर्छ । एल्गोरिदम पारदर्शिता र डिजिटल प्लेटफर्मको जिम्मेवारी सुनिश्चित गरिनुपर्छ । सामूहिक सचेतना र डिजिटल साक्षरताका माध्यमबाट प्रयोगकर्तालाई डाटाको मूल्य, जोखिम र डिजिटल अधिकारबारे जागरूक बनाउनु पर्दछ । प्रयोगकर्ताले आफ्नो गतिविधि र डाटा संरक्षणमा जिम्मेवार व्यवहार अपनाउनु पर्दछ । प्रयोगकर्ता र श्रमिक समूहले डाटा अधिकार र डिजिटल न्यायको लागि आन्दोलन संचालन गर्नु पर्दछ । कम्पनीको शक्ति केन्द्रीकरण विरुद्ध सामूहिक प्लेटफर्म र सामाजिक नवप्रवर्तन,उपयोगकर्ता–केन्द्रित वा साझा स्वामित्व डिजिटल प्लेटफर्म निर्माणमा जोड दिनु पर्दछ । कम्पनीको लाभ, शक्ति र डाटाको समान वितरण सुनिश्चित गरिनुपर्छ । यस्तै डिजिटल प्लेटफर्मको विचारधारात्मक नियन्त्रणको विरोध गर्दै स्वतन्त्रता, चेतना र नैतिकताको रक्षा गर्नु पर्दछ ।

प्रेमलकुमार खनाल

प्रेमलकुमार खनाल नेकपा समाजवादीको पोलिटव्युरो सदस्य हुन् ।