गुलियो खाँदा किन तीर्खा लाग्छ ?
तपाईंहरुमध्ये कतिले याद गर्नुभएको छ– हामीले मीठाइ वा गुलियो केही खानासाथ तीर्खा लाग्ने गर्छ । यसरी तीर्खा लाग्नुको कारण के होला ?
वैज्ञानिक कारण खोतल्दै जाँदा थाहा लाग्छ– यसरी तीर्खा लाग्नुको कारण केवल स्वादसँग सम्बन्धित अनुभूति कुरा मात्रै होइन, यो शरीरको तरल सन्तुलन जोगाउन गरिने गहिरो जैविक प्रतिक्रियाको परिणाम हो।
वास्तवमा जब हामी मिठाइ वा गुलियो खान्छौं, त्यस प्रक्रियामा खाएका कुरामार्फत् सुक्रोज, ग्लुकोज र फ्रक्टोज जस्ता चिनीहरू पेटबाट छिट्टै रगतमा प्रवेश गर्छन् । यसले हाम्रो रगतमा चिनीको मात्रा अचानक बढाउँछन्। जब रगतमा चिनीको मात्रा धेरै हुन्छ, रगतको अस्मोटिक दबाब बढ्छ, जसले शरीरका अन्य कोषिकाभित्र रहेको पानी रगततर्फ तान्न थाल्छ। कोषिकाबाट पानी बाहिरिँदा ती कोषिका आंशिक रूपमा डिहाइड्रेट हुन्छन् ।
यसरी कोषिकाहरुमा पानीको कमी हुन थालेको अवस्थालाई मस्तिष्कको हाइपोथालामस भागले “शरीरमा पानीको कमी भइरहेको छ” भनेर बुझ्छ । फलत: हामीलाई तिर्खा लागेको अनुभूति हुन्छ ।
यसबाहेक, रगतमा चिनकी मात्रा बढी भएपछि मृगौलाले पनि अतिरिक्त चिनीलाई पिसाबमार्फत बाहिर निकाल्न थाल्छ। चिनी बाहिर निकाल्ने यस प्रक्रियामा शरीरमा रहेको पानी पनि सँगै जान्छ । यस प्रक्रियालाई ‘अस्मोटिक डायुरेसिस’ भनिन्छ। यसको अर्थ, मिठो खाँदा तपाईंको शरीरले आवश्यकभन्दा बढी पानी पिसाबमार्फत गुमाइरहेको हुन्छ। शरीरबाट यसरी पानी निस्कासन हुने प्रक्रियाले हामीलाई तिर्खाको अनुभूति हुन थाल्छ ।
मिठो खानेबित्तिकै मुख सुक्खा हुने अनुभूति पनि यही प्रक्रियाको अर्को आयाम हो। चिनीले मुखभित्रको र्यालबाट पानी सोस्छ र र्यालको संरचना परिवर्तन गर्छ, जसले मुख सुख्खा बनाउँछ। मुख सुख्खा हुनु स्वयं तिर्खाको एक शक्तिशाली संकेत हो, त्यसैले शरीरले अझ बढी “पानी पिउ” भन्ने सन्देश दिन थाल्छ।
अर्को सूक्ष्म तर महत्त्वपूर्ण पक्ष इन्सुलिनको प्रतिक्रिया हो। रगतमा चिनी बढेपछि इन्सुलिन स्राव हुन्छ, जसले चिनीलाई कोषिकाभित्र प्रवेश गराउँछ र त्यससँगै पानीको वितरण पनि बदलिन्छ। यसले शरीरभित्र पानीको सन्तुलनमा अस्थायी उतारचढाव ल्याउँछ, जसले पनि तिर्खाको अनुभूतिलाई थप तीव्र बनाउन सक्छ।
यसरी हेर्दा, गुलियो खाएपछि तीर्खा लाग्नु एउटा साधारण तर अत्यन्त वैज्ञानिक प्रक्रिया हो । यस प्रक्रियामा अस्मोटिक दबाब, किड्नीबाट हुने पानीको ह्रास, मुखको सुख्खापन र हर्मोनल प्रतिक्रिया सबै मिलेर काम गरिरहेका हुन्छन्। त्यसैले गुलियो खाएपछि पानी पिउन मन लाग्नु कुनै अनौठो कुरा होइन । यो त शरीरले आफ्नै तरल सन्तुलन जोगाउन गरेको एक अत्यन्त बुद्धिमान र स्वाभाविक प्रयास हो।
तारापुञ्जहरुलाई आफूतिर तानिरहेको रहस्यमय ‘द ग्रेट अट्र्याक्टर’
तेस्रो अन्तरतारकीय आगन्तुक – 3I/ATLAS
आइसल्यान्डमा पहिलो पटक लामखुट्टे भेटिए !
पृथ्वीबाहिर जीवन छ कि छैन ?
वर्षामापनको विज्ञान
ओल रोमर : प्रकाशको गति हुन्छ भनी पत्ता लगाउने वैज्ञानिक
सौर्य आँधीको प्रहारबाट कसरी बच्छ भूउपग्रहहरु ?
प्रतिक्रिया