ज्ञानका लागि बलिदान

आजभन्दा करिब  १४०० वर्षअघि एक जना चिनियाँ बौद्ध भिक्षु  ह्वेन त्साङ ज्ञान प्राप्तिको उद्देश्यले भारत आएका थिए। भारत आउनुको उनको मुख्य उद्देश्य  बौद्ध धर्मबारे सही र प्रमाणिक ज्ञान हासिल गर्नु थियो। त्यस समय चीनमा भारत बाट अनुवाद भएर पुगेका बौद्ध धर्मसम्बन्धी पुस्तकहरू एक–आपसमा बाझिएका, छरपस्ट र अपूर्ण थिए। चीनमा प्रचलित बौद्ध धर्मसम्बन्धी मठहरूबीच  चेतना र मोक्ष  जस्ता विषयहरुमा ठूलो मतभेद र विवाद थियो।

ह्वेन त्साङ बुद्धको ज्ञानभूमि भारत पुगेर यस विषयमा मूल र प्रमाणिक ग्रन्थहरू अध्ययन गरी ठोस निष्कर्षमा पुग्न चाहन्थे। त्यसबेला चीनबाट भारत जानु सहज थिएन। चीनबाट मध्य एसिया हुँदै अफगानिस्तानको बाटो भएर भारत पुग्नुपर्थ्यो। उनलाई भारत आइपुग्न करिब  तीन वर्ष लागेको थियो।

भारत आइपुगेपछि ह्वेन त्साङ त्यसबेलाको विश्वकै सबैभन्दा ठूलो विश्वविद्यालय  नालन्दा पुगे। त्यहाँ बसेर उनले बौद्ध धर्मको गहिरो अध्ययन थाले। उनले नालन्दाका प्रख्यात गुरु  शीलभद्रसँग अध्ययन गरे। नालन्दामा ह्वेन त्साङले करिब पाँच वर्ष बिताए।

अध्ययनका साथै ह्वेन त्साङले भारतको व्यापक भ्रमण पनि गरे। उनि भारतमा १६ बर्ष सम्म बसे। उनले  आफ्नो भारत प्रवासका क्रममा कश्मीरदेखि दक्षिण भारतसम्म  पञ्जाबदेखि बंगालसम्मको यात्रा गरे। त्यसैगरी उनी बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा समेत पुगे। उनी केवल यात्रा मात्र गर्दैनथे, यात्रा गर्दै प्रत्येक स्थानको विस्तृत वृत्तान्त पनि लेख्थे। इतिहासका विद्यार्थीहरूका लागि ह्वेन त्साङका यात्रा–वृत्तान्तहरू अमूल्य खजाना हुन्।

ह्वेन त्साङ भारतबाट केवल ज्ञान लिएर मात्र फर्केनन्। उनले करिब ६०० वटा बौद्ध धर्मसम्बन्धी पुस्तक र पाण्डुलिपिहरू आफूसँगै लगे। साथै उनले बुद्धका अमूल्य मूर्ति र चित्रहरू पनि साथमा लगे। ती पुस्तकहरू ढुवानी गर्नका लागि २० वटा घोडा आवश्यक परेको थियो।

नालन्दा विश्वविद्यालयका शिक्षकहरूले विदाइको बेला ह्वेन त्साङलाई पुर्‍याउन एक जना विद्यार्थीलाई पनि साथमा पठाएका थिए। गुरुहरूले उनलाई निर्देशन दिएका थिए कि ह्वेन त्साङलाई सकुशल सिन्धु नदी पार गराइदिनु।

त्यो समय वर्षाको मौसम थियो। नदीमा बाढी आउन थालिसकेको थियो। ह्वेन त्साङले आफ्ना पुस्तकहरू डुंगामा राखे। डुंगा बीच नदीमा पुगेपछि डगमगाउन थाल्यो। माझीले चिच्याउँदै भन्यो, “डुंगा डुब्न लाग्यो, डुंगाको वजन कम गर्नुहोस्। डुंगामा रहेको सामान नदीमा फाल्नुहोस्।

ह्वेन त्साङ अलमलमा परे, कुन पुस्तक फाल्ने र कुन जोगाउने? सबै पुस्तकहरू अमूल्य थिए। त्यही बेला उनलाई पुर्‍याउन आएका विद्यार्थीले ह्वेन त्साङलाई भने, “तपाईं चिन्ता नगर्नुहोस्। किताब फाल्नु पर्दैन। म डुंगाको बोझ घटाइदिन्छु।

यति भन्दै उनले नदीमा हाम फाले। त्यसपछि डुंगा डगमगाउन छोड्यो र ह्वेन त्साङ तथा उनका अमूल्य पुस्तकहरू सुरक्षित रहे।