जब समाज बिरामी हुन्छ, राज्यहरूको पतन शुरु हुन्छ !
रुसोको द सोशल कन्ट्र्याक्ट: सरकार हाम्रो मालिक होइन, बरु हाम्रो सेवक हो। वास्तविक शक्ति सधैं जनताकै हातमा रहनुपर्छ !

के तपाईंले हामी सरकारका नियम किन मान्छौं भनेर कहिल्यै सोच्नुभएको छ ? अनि हामीमाथि कसैलाई शासन गर्न कसले त्यो अधिकार दियो र हामीले त्यो शासनलाई चुपचाप किन स्वीकार गर्छौं ? हामी त स्वतन्त्र भएर जन्मिएका थियौं। अनि यो समाजका बन्धनहरू हाम्रो खुट्टामा कसरी बाँधिन आइपुगे?
यही प्रश्न आजभन्दा करिब २५० वर्ष अघि एक महान दार्शनिक जीन ज्याक रूसोले आफ्नो किताब द सोशल कन्ट्र्याक्ट (The Social Contract) मा उठाएका थिए। यो किताब एउटा सामान्य किताब मात्र होइन, बरु एउटा क्रान्तिको झिल्को थियो । त्यस्तो झिल्को जसले फ्रान्सको क्रान्तिदेखि लिएर संसारभरिका संविधानलाई नयाँ दिशा दियो।
जन्मँदा स्वतन्त्र तर हरेक ठाउँमा बन्धन
सुरुवात गरौँ– रूसोको त्यही सबैभन्दा प्रसिद्ध र मनलाई आन्दोलित गरिदिने वाक्य ‘मानिस स्वतन्त्र जन्मिएको हुन्छ, तर ऊ हरेक ठाउँमा बन्धनमा बाँधिएको हुन्छ’ बाट ।
एक क्षणका लागि सोच्नुस्– जब एउटा बच्चा यस संसारमा आउँछ, ऊ पूर्णतया स्वतन्त्र हुन्छ। उसलाई थाहा हुँदैन कि समाजका नियम के हुन्? धर्म के हो? जाति के हो वा कानून के हुन्छ? ऊ आफ्नै इच्छाको मालिक हुन्छ। तर जसै–जसै ऊ हुर्कँदै जान्छ, उसमाथि समाजका, परिवारका, राष्ट्रका अनगिन्ति बन्धनहरु लगाइन्छन्। उसलाई ‘के ठीक हो, के गलत हो। उसलाई कसरी बाँच्नुपर्छ, कसरी बाँच्नु हुँदैन’ जस्ता कुराहरु भनिइन्छ ।
यी बन्धनहरू हामीले देख्दैनौं तर ती हुन्छन्। ती हाम्रो विचार, व्यवहार र सम्पूर्ण जीवनमा मिसिएका हुन्छन्। रूसोले हामीलाई यही पहिलो र सबैभन्दा जरुरी प्रश्न सोध्छन्– आखिर यो भयो कसरी? स्वतन्त्र जन्मिएका हामी ती दासत्वको अवस्थामा कसरी पुगेका छौँ? र सबैभन्दा महत्वपूर्ण कुरा, के यस दासत्वलाई उचित ठहराउन सकिन्छ?
रूसोका अनुसार पुराना समयमा केही चिन्तकहरूको विश्वास थियो– केही मानिस शासन गर्नकै लागि जन्मिएका हुन्छन् र केही मानिस दास हुनकै लागि जन्मिएका हुन्छन्। एउटा किसान आफ्नो पशुहरूको मालिक भए जस्तै त्यस्तै राजा आफ्नो प्रजाको मालिक हुन्छ।
रूसो यस विचारलाई शुरुबाटै अस्वीकार गर्छन्। उनी भन्छन्, यो कुनै प्राकृतिक नियम होइन, बरु यो शक्तिको नियम हो। शक्तिशाली मानिसले कमजोरलाई दबाएर आफ्नो दास बनाउँछ र उसलाई यो विश्वास दिलाउँछ कि यही उसको ‘भाग्य’ हो। तर शक्तिको बलमा बनाइएको कुनै पनि अधिकार अधिकार हुँदैन, त्यो त वास्तवमा एक बाध्यता मात्र हुन्छ। कमजोरले अवसर पाउनेबित्तिकै ऊ त्यस शक्तिशालीको बन्धन तोडेर स्वतन्त्र हुनेछ। यदि कुनै डाँकुले बाटोमा नै बन्दुक देखाएर तपाईंको सबै सामान लुट्छ भने के तपाईंको सामानमा त्यो डाकुको अधिकार भयो भनेर स्वीकार्नु हुन्छ ? अवश्य पनि स्वीकार्नु हुन्न। तपाईंले त त्यो डाँकुलाई बाध्य भएर आफ्नो सामान दिएको अवस्था हो ।
ठीक त्यस्तै केवल शक्तिको आधारमा कुनै राजा वा सरकारले हामीमाथि शासन गर्न सक्दैन।
त्यसो भए वास्तविक कारण के हो? हामी सबैले मिलेर यस सामाजिक व्यवस्थालाई किन मान्छौँ?
यस प्रश्नको उत्तर दिनका लागि रूसोले हामीलाई कुनै समाज वा सरकार नभएको समयतिर लैजान्छन् । त्यस अवस्थालाई प्राकृतिक अवस्था (State of Nature) भनिन्छ।
एकछिनको लागि एउटा यस्तो संसारको कल्पना गर्नुहोस्, जहाँ कुनै नियम वा कुनै कानून छैन। प्रत्येक मानिस पूर्णतया स्वतन्त्र छ। उसले मनमा आएका जे पनि गर्न सक्छ।
सुन्दा पूर्ण स्वतन्त्रताको यो अवस्था यो धेरै राम्रो लाग्छ हैन? तर अलि अझ गहिराइले सोच्नुस्।
मानिसले यस खालको जंगली स्वतन्त्रताभन्दा सुरक्षा सहित जीवन उत्तम छ भन्ने महसुस गरेपछि एकअर्कासँग मिलेर बस्ने सम्झौता गर्ने निर्णय गर्यो। यही त्यो बिन्दु हो जहाँ सामाजिक सम्झौता अथवा सोशल कन्ट्र्याक्ट जन्मिन्छ।
यस्तो संसारमा तपाई आफूलाई मन परेको वस्तु लिन सक्नुहुन्छ। तर तपाईंभन्दा बढी शक्तिशाली अर्को मानिसले पनि तपाईंबाट त्यही वस्तु खोस्न सक्छ। तपाईंको ज्यान सधैं खतरामा रहनेछ। तपाईंले जो मेहनत गरेर हासिल गर्नुहुन्छ, त्यो कुनै पनि व्यक्तिले तपाईंबाट लुट्न सक्छ। यस्तो स्वतन्त्रताले वास्तवमा डर र असुरक्षाको वातावरण बनाइदिन्छ। त्यहाँ न त कुनै विकास हुनसक्छ न त कसैले शान्तिपूर्वक बाँच्न सक्छ। हरेक क्षण एउटा युद्धको जस्तो रहनेछ।
रूसोका अनुसार मानिसले यस खालको जंगली स्वतन्त्रताभन्दा सुरक्षा सहित जीवन उत्तम छ भन्ने महसुस गरेपछि एकअर्कासँग मिलेर बस्ने सम्झौता गर्ने निर्णय गर्यो। यही त्यो बिन्दु हो जहाँ सामाजिक सम्झौता अथवा सोशल कन्ट्र्याक्ट जन्मिन्छ। मानिसहरूले सोचे– किन हामी सबैले केही जंगली स्वतन्त्रताहरूलाई नत्याग्ने र हाम्रा सबै शक्तिहरू मिलाएर एक सामूहिक शक्ति नबनाऔं ? हामी सबैले मिलेर हामी एकअर्कालाई नोक्सान पुर्याउनेछैनौं, एकअर्काको सम्पत्तिको रक्षा गर्नेछौं र शान्तिपूर्वक रहनेछौं भन्ने तय गरौं ।
यो सम्झौता अन्तर्गत हरेक मानिस आफ्नो व्यक्तिगत शक्ति एक सामान्य इच्छा वा सामुहिक प्रतिबद्धतालाई सुम्पन्छ। यसको अर्थ ऊ कुनै राजाको दास बन्छ भन्ने होइन । बरु ऊ आफैं नियम बनाउने त्यो समूहको हिस्सा बन्छ । समाजद्वारा बनाइएका नियमहरूको पालन गरेर वास्तविकतामा उसले आफैले बनाएका नियमहरूको पालन गरिरहेको हुन्छ। ऊ अरूको होइन, आफ्नै अनुमतिले चलिरहेको हुन्छ। यही तरिकाले मानिसले आफ्नो स्वतन्त्रता नगुमाइकनै एक सभ्य र सुरक्षित समाजमा बाँच्न सक्छ। ऊ प्राकृतिक स्वतन्त्रताको त्याग गरेर नागरिक स्वतन्त्रता अपनाउँछ । यो अझ बढी राम्रो र साँचो स्वतन्त्रता हो।
यस सम्झौताको सार धेरै साधारण छ। प्रत्येक व्यक्तिले आफ्ना सबै अधिकारहरू सम्पूर्ण समाजलाई सुम्पिन्छ। सबैले त्यही गर्दा स्थिति सबैका लागि बराबर हुन्छ। कुनै पनि व्यक्तिले अरूको तुलनामा बढी शक्ति राख्दैन, सबैले आफ्नो अधिकार कुनै एक व्यक्ति वा समूहलाई नभई पूरा समाजलाई दिन्छन् । त्यसैले कोही कसैको दास हुँदैन। ऊ त्यो सामूहिक शक्तिको हिस्सा बन्छ जसलाई रूसोले संप्रभु भनिरहेका छन्। यो संप्रभु कुनै राजा वा नेता होइन, बरु हामी सबै हौं जो एकसाथ मिलेर एक राजनीतिक शरीर बनाउँछौं। जब हामी कानून बनाउँछौं तब हामी संप्रभु हौं। जब हामी ती कानूनहरूको पालन गर्छौं तब हामी प्रजा हौं। यसरी हामी एउटै समयमा शासक पनि हौं र शासित पनि।
यो विचार आफैंमा क्रान्तिकारी छ। यसले राजा ईश्वरको प्रतिनिधि भएको शताब्दियौं पुरानो धारणालाई जरैदेखि समाप्त गरिदियो।
त्यसैले रूसोले सुरुदेखि बताएका ती बन्धनहरूले अब नयाँ अर्थ लिन्छन्। ती बन्धनहरू कुनै राजा वा तानाशाहले हामीमाथि लगाएका हुन् भने ती अवैध छन् र हामीले तिनीहरूलाई भंग गर्नुपर्छ। तर यदि बन्धनहरु अर्थात् समाजका नियम र कानुन हामीले आफैं मिलेर आफ्नो भलाइका लागि आफूमाथि लागू गर्यौं भने ती दासत्व होइनन्, बरु साँचो स्वतन्त्रताको संकेत हुन्। यसले हामीलाई हाम्रा जंगली प्रवृत्तिहरूबाट मुक्त बनाउँछ र हामीलाई एउटा नैतिक र जिम्मेवार मानिस बनाउँछ। यसले हामीलाई प्राकृतिक अवस्थामै हुने त्यो डर र असुरक्षाबाट मुक्त गराउँछ ।
अब प्रश्न हामी बन्धनमा किन छौं भन्ने होइन ।बरु प्रश्न यी बन्धन कसले बनायो र के यसले हाम्रो सामान्य इच्छालाई दर्शाउँछन् भन्ने बन्छ ।
रुसोको मान्यतामा संप्रभुता (Sovereignty) कुनै एक व्यक्तिमा वा कुनै एक संस्थामा हुनै सक्दैन। संप्रभुता त केवल जनतामै निहित हुन्छ, जसले सामूहिक इकाईको रूपमा काम गर्छ।
हामी किन एक सम्झौतामा बाँधिएका छौं भन्ने अब प्रष्ट भयो । तर यो सम्झौताको वास्तविक शक्ति कसको हातमा छ? को हो त्यो संप्रभु जसले हामी सबैमाथि शासन गर्छ? के ऊ राजा हो, सरकार हो वा कोही अर्को हो?
यस प्रश्नको उत्तरले तपाईंलाई अचम्ममा पार्नेछ र समाजलाई हेर्ने तपाईंको दृष्टिकोण सदाको लागि परिवर्तन गरिदिनेछ।
असली मालिक को? संप्रभुताको गुत्थी !
यसअघि हामीले यो सामाजिक सम्झौताका असली मालिक अर्थात् संप्रभु को हो भन्ने महत्वपूर्ण प्रश्न उठाएका थियौं ! हाम्रो सहज बुद्धिले सरकार अर्थात् प्रधानमन्त्री वा राष्ट्रपति मालिक हुन्छ भन्ने ठान्न सक्छ। तर यस सवालमा रुसोले दिने उत्तरले र पूरै राजनीतिक सोचलाई उल्टाइदिन्छ।
रुसोको मान्यतामा संप्रभुता (Sovereignty) कुनै एक व्यक्तिमा वा कुनै एक संस्थामा हुनै सक्दैन। संप्रभुता त केवल जनतामै निहित हुन्छ, जसले सामूहिक इकाईको रूपमा काम गर्छ। अर्थात् असली मालिक तपाईं, म, र हामी सबै हौं, जब हामी एउटै समाजको रूपमा एकसाथ सोच्दछौं।
सरकार हामीले आफ्नो संप्रभु इच्छालाई कार्यान्वयन गर्नका लागि नियुक्त गरेका हाम्रो सेवक हो। यो ठीक त्यस्तै हो जस्तै तपाईं कुनै कम्पनीको शेयर होल्डर हुनुहुन्छ। त्यस अवस्थामा कम्पनीका मालिक तपाईं हुनुहुन्छ र कम्पनीको सीईओ (CEO) त केवल एक कर्मचारी हो जसलाई तपाईंले कम्पनी चलाउन राख्नु भएको हो। यदि उसले ठीकसँग काम गरेन भने तपाईं उसलाई हटाउन सक्नुहुन्छ।
रूसोका लागि संप्रभुताका केही विशेष विशेषताहरू छन् जसलाई बुझ्न धेरै जरुरी छ।
पहिलो र सबैभन्दा जरुरी कुरा यो हो कि संप्रभुता कसैलाई पनि सुम्पिन सकिँदैन। Sovereignty is inalienable. यसको अर्थ हो कि जनताले आफ्ना कानून बनाउने सर्वोच्च शक्ति कसैलाई पनि दिन सक्दैन। जस्तै कुनै राजालाई वा संसदका केही छानिएका प्रतिनिधिहरूलाई। तपाईं सोच्न सक्नुहुन्छ कि हामी त मतदान गरेर आफ्ना नेताहरूलाई छान्छौं र उनीहरूले हाम्रो लागि कानून बनाउँछन्, त यसो गर्दा के हामीले आफ्नो संप्रभुता उनीहरूलाई दिइरहेका छैनौं?
रूसोका अनुसार यो एक ठूलो भूल हो। उनी भन्छन् कि जब कुनै राष्ट्रले आफ्ना प्रतिनिधि छान्छ र भन्छ कि अब उसको काम सकियो, ठीक त्यही क्षणमा उसले आफ्नो स्वतन्त्रता गुमाउँछ। त्यस्तो राष्ट्रको अस्तित्व नै समाप्त हुन्छ।
प्रतिनिधि जनताका मालिक हुन सक्दैनन्। उनीहरू केवल एजेन्ट मात्र हुन सक्छन्। उनीहरूले बनाएको कुनै पनि कानून तबसम्म वैध हुँदैन जबसम्म जनता स्वयंले त्यसमा आफ्नो स्वीकृतिको ठप्पा लगाउँदैन। यो एकदमै आदर्शवादी र दृढ विचार हो। विशेषगरी आजका विशाल राष्ट्रहरूमा जहाँ प्रत्येक कानूनमा प्रत्यक्ष जनमत लिनु असम्भवप्रायः छ। तर यस विचारको गहिराइ बुझ्नुपर्छ। रूसो हामीलाई सम्झाइरहेका छन् कि असली शक्ति सधैं जनताकै हातमा रहनुपर्छ।
संप्रभुताको दोस्रो विशेषता हो कि यसलाई भाग लगाउन सकिँदैन। Sovereignty is indivisible. धेरै विचारकहरूले मान्थे कि शक्तिको बाँडफाड हुनुपर्छ। जस्तै केही शक्ति राजाकहाँ, केही धनीकहाँ, केही जनताकहाँ। तर रूसो भन्छन्, यो त्यस्तै हो जस्तै तपाईंले कुनै मानिसको शरीरलाई टुक्रा टुक्रा पारिदिनुहोस् र फेरि अपेक्षा गर्नुहोस् कि ऊ बाँचिरहोस्।
संप्रभुता एउटा इच्छा हो, र इच्छालाई टुक्रा लगाउन सकिँदैन। या त त्यो सामान्य इच्छा हुन्छ वा हुँदैन। यदि शक्ति बाँडिएको छ भने त्यहाँ फरक–फरक इच्छाहरू आपसमा ठोक्किन्छन् र समाजको भलाइ कहिल्यै हुन सक्दैन।
सरकारका शक्तिहरू बाँड्न सकिन्छ– जस्तै कार्यपालिका, विधायिका, न्यायपालिका। तर यी सबै संप्रभु अर्थात् जनताको अधीनमा मात्र काम गर्छन्। अन्तिम शक्ति, अर्थात् कानून निर्माणको मूल स्रोत केवल एक हुनुपर्छ र त्यो हो सम्पूर्ण समाज। यही विचारले हामीलाई सिकाउँछ कि राष्ट्रले एउटै भएर सोच्नुपर्छ, टुक्रा–टुक्रामा होइन।
तेस्रो विशेषता हो कि संप्रभु सधैं सही हुन्छ। Sovereign is infallible. यो सुन्दा केही अचम्म लाग्न सक्छ। के जनता कहिल्यै गल्ती गर्न सक्दैन? रूसो भन्छन् कि सामान्य इच्छा (General Will) सधैं सार्वजनिक भलाइका लागि हुन्छ। त्यसैले सैद्धान्तिक रूपमा त्यो कहिल्यै गलत हुन सक्दैन।
यहाँ हामीले सामान्य इच्छा (General Will) र सबैको इच्छा (Will of All) बीचको भिन्नतालाई बुझ्नुपर्छ । जब जनता एक समूहका रूपमा, कुनै स्वार्थ बिना, सम्पूर्ण समाजको भलाइका लागि सोच्दछ, त्यसको निर्णय सधैं सही हुन्छ।
हो, जनता धोखामा पर्न सक्छ वा कुनै विषयलाई राम्रोसँग नबुझ्न सक्छ। तर उसको इच्छा सधैं सही दिशामा हुन्छ। यसको अर्थ यो हो कि कुनै पनि व्यक्ति वा समूहले भन्न सक्दैन कि जनता गलत छ र ऊ मात्र सही छ। जनता नै अन्तिम निर्णायक हो। यही त लोकतन्त्रको मूल सिद्धान्त हो।
अन्त्यमा रूसो भन्छन् कि संप्रभुको शक्ति असीमित हुँदैन। Sovereign power is not absolute. यद्यपि संप्रभु सर्वोच्च हुन्छ, तर उसको शक्तिको पनि सीमा हुन्छ। त्यो सीमा के हो? त्यो सीमा सामाजिक सम्झौता स्वयं हो।
संप्रभु केवल त्यही विषयहरूमा कानून बनाउन सक्छ जुन सम्पूर्ण समाजसँग सम्बन्धित हुन्छन्, जुन सार्वजनिक हितमा हुन्छन्। संप्रभुले कुनै एक व्यक्ति वा समूहलाई लक्षित गरेर कानून बनाउन सक्दैन।
उदाहरणका लागि, संप्रभुले यो कानून बनाउन सक्छ कि प्रत्येक नागरिकले कर तिर्नै पर्छ, किनभने यो सम्पूर्ण समाजको हितमा छ। तर ऊ यस्तो कानून बनाउन सक्दैन कि केवल राम नामको व्यक्तिले बढी कर तिर्नुपर्छ।
कानून सधैं सामान्य हुनु पर्छ, व्यक्तिगत होइन।
यसका अतिरिक्त, संप्रभुले जनतासँग त्यस्तो कुनै काम गर्न भन्न सक्दैन जुन सामाजिक सम्झौताका उद्देश्यविरुद्ध हो। सम्झौताको उद्देश्य हो सुरक्षा र स्वतन्त्रता। त्यसैले संप्रभुले त्यस्तो कुनै कानून बनाउन सक्दैन जसले जनताको सुरक्षा खोस्छ वा उनीहरूलाई अनावश्यक रूपमा गुलाम बनाउँछ।
सरकार हाम्रो एजेन्ट हो, हाम्रो सेवक हो। उसको काम हाम्रो इच्छालाई कार्यान्वयन गर्नु हो। यो विचारले हामीलाई एक नागरिकको हैसियतले कति ठूलो जिम्मेवारी र शक्ति दिन्छ।
अब तस्वीर केही अझ स्पष्ट हुन्छ। असली मालिक हामी सबै हौं, जो एकसाथ मिलेर संप्रभु कहलाउँछौं। हाम्रो शक्ति कसैलाई हस्तान्तरण गर्न सक्दैन, बाँडिन सक्दैन, र जब हामी सम्पूर्ण समाजको भलाइका लागि सोच्दछौं, तब हामी गलत हुन सक्दैनौं।
सरकार हाम्रो एजेन्ट हो, हाम्रो सेवक हो। उसको काम हाम्रो इच्छालाई कार्यान्वयन गर्नु हो। यो विचारले हामीलाई एक नागरिकको हैसियतले कति ठूलो जिम्मेवारी र शक्ति दिन्छ। यसले हामीलाई भन्छ कि हामीले केवल मतदान गरेर चुप लागेर बस्नु हुँदैन, बरु हामीले लगातार हाम्रो देशमा भइरहेको कुरा हाम्रो सामूहिक इच्छाअनुसार भइरहेको छ या छैन भनेर हेर्नु पर्छ ।
यसले हामीलाई प्रश्न सोध्ने अधिकार दिन्छ, र यदि आवश्यक परेमा आफ्नै सरकारलाई बदल्ने अधिकार पनि दिन्छ।
तर यहाँ एउटा धेरै महत्वपूर्ण प्रश्न उठ्छ। यदि हामी सबै मालिक हौं, र हामी लाखौं–करोडौं संख्यामा छौं, त हामी सबैको एउटै इच्छा कसरी हुन सक्छ? धेरै भाषाहरू, यति धेरै धर्महरू र यति भिन्न–भिन्न सोच भएका मानिसहरू भएका देशमा सबैको भलाइ हुने एउटै सामान्य इच्छालाई कसरी खोज्न सकिन्छ?
के यो केवल किताबमै सीमित कुरा हो वा यसको कुनै वास्तविक स्वरूप पनि छ? रूसोको दर्शनको सबैभन्दा महत्वपूर्ण र सबैभन्दा रहस्यमय सिद्धान्त यही सामान्य इच्छा हो। यो के वस्तु हो र यसले हाम्रो जीवनलाई कसरी नियन्त्रण गर्छ ? यसको खुलासाले तपाईंलाई समाज र राजनीतिबारे सोच्ने एक बिल्कुल नयाँ दृष्टिकोण दिनेछ।
सामान्य इच्छाको रहस्य: सबैभन्दा माथि
रुसोले संप्रभु भन्ने गरेको असली शक्ति जनतामा हुन्छ र यो संप्रभु आफ्नै सामान्य इच्छाअनुसार काम गर्छ भन्ने हामीले थाहा पायौं। अब हामी रूसोको दर्शनको हृदयमा प्रवेश गर्दैछौं। यही सामान्य इच्छाको सिद्धान्त हो जसले द सोशल कन्ट्र्याक्टलाई यति अद्वितीय र महत्वपूर्ण बनाउँछ।
अब प्रश्न उठ्छ– यो सामान्य इच्छा आखिर के हो? के यो बहुमतको इच्छा हो वा सबैको इच्छाहरूको योग हो? रूसो भन्छन्, होइन, यो यी दुबैभन्दा पूर्णतया भिन्न र अझ गहिरो कुरा हो। यसलाई बुझ्नका लागि हामीले प्रत्येक नागरिकको भित्र दुई किसिमका इच्छाहरूलाई चिन्नु पर्छ।
पहिलो हो निजी इच्छा, जुन हाम्रो व्यक्तिगत स्वार्थसँग सम्बन्धित हुन्छ। जस्तै, म चाहन्छु कि मैले कर (Tax) नतिर्नु परोस् वा मेरो घरको अगाडिको बाटो सबैभन्दा पहिले बनोस्। दोस्रो हो नागरिक इच्छा, जसले हामीलाई जिम्मेवार नागरिकको रूपमा सम्पूर्ण समाजको भलाइबारे सोच्न प्रेरित गर्छ। जस्तै, म मान्दछु कि देशको विकासका लागि सबैले कर तिर्नुपर्छ, चाहे त्यसले मलाई केही असुविस्ता किन नहोस् !
सामान्य इच्छा यही नागरिक चेतनाबाट जन्म लिन्छ। यो त्यो इच्छा हो, जुन आफ्ना व्यक्तिगत स्वार्थलाई बिर्सेर केवल सम्पूर्ण समाजको भलाइबारे सोच्ने प्रत्येक नागरिकको मनमा हुन्छ ।
रूसोले एउटा धेरै महत्वपूर्ण भिन्नता देखाउँछन्– सामान्य इच्छा र सबैको इच्छा बीच। सबैको इच्छाको अर्थ हो सबै मानिसहरूको निजी इच्छाहरूको योग। यो त केवल विभिन्न स्वार्थहरूको संकलन मात्र हो।
उदाहरणका लागि, एउटा टोलमा बैठक भइरहेको छ। एउटा व्यक्ति चाहन्छ कि पार्क बनोस्, अर्को चाहन्छ कि पार्किङ बनोस्, तेस्रो चाहन्छ कि पसल खोलियोस्। यी सबैको योग हो “सबैको इच्छा”, जसमा प्रत्येकले आफ्नो फाइदाको सोचिरहेको हुन्छ। तर सामान्य इच्छा तब पैदा हुन्छ जब यी सबैले हाम्रो पहिलो रोजाइ नभएको भए पनि यो टोलका लागि सबैभन्दा राम्रो र हाम्रो साझा हितमा हुने कुरा के हो भनेर सोच्न थाल्छन् ।
यो पनि हुन सक्छ कि एउटा कम्युनिटी हल (Community Hall) बनाउनु सबैका लागि सबैभन्दा फाइदाजनक हुनेछ–जहाँ बच्चाहरू खेल्न पनि सकून् र सवारी साधन पनि राख्न सकियोस् भनेर सबैले यसमा सहमति जनाउन पनि सक्छन् । यही साझा भलाइको विचार नै सामान्य इच्छा हो।
त्यसैले सामान्य इच्छा सधैं सही हुन्छ, किनभने त्यसको लक्ष्य नै सार्वजनिक हित हो। जबकि सबैको इच्छामा स्वार्थ मिसिएको हुन्छ, त्यसैले त्यो गलत पनि हुन सक्छ।
अब तपाईं सोच्दै हुनुहुन्छ होला–यो त सुन्दर कुरा हो, तर वास्तविक जीवनमा यस्तो कहाँ हुन्छ? मानिस त सधैं आफ्नै फाइदाको सोच्दछन्। हामी कसरी पत्ता लगाउँछौं कि सामान्य भलाइ के हो?
रूसो यस प्रश्नको पनि जवाफ दिन्छन्। उनी भन्छन् कि जब मानिसहरू कुनै मुद्दामा निर्णय लिनका लागि एकसाथ आउँछन्, र यदि तिनीहरूलाई सही जानकारी दिइयो तथा तिनीहरूलाई साना–साना गुट बनाउनबाट रोकियो, तब उनीहरूको निजी स्वार्थ एक–अर्कालाई काटेर नष्ट हुन्छन्, र बहुमतले निकाल्ने निर्णय सामान्य इच्छासँग धेरै नजिक हुन्छ।
यसलाई यसरी बुझ्नुहोस्। यदि १०० जना मानिसले मतदान गरिरहेका छन् भने प्रत्येक व्यक्तिको भित्र एउटा निजी स्वार्थ पनि हुन्छ र एउटा सार्वजनिक भलाइको भावना पनि। जब मतदान हुन्छ, धेरै मानिसका निजी स्वार्थ फरक–फरक भएकोले एक–अर्कालाई रद्द गर्छन्, र जुन कुरा बहुमतका साथ सतहमा आउँछ त्यो हो साझा भलाइको भावना।
तर यसको एउटा ठूलो शर्त हुन्छ। त्यो शर्त हो–मानिसहरूबीच कुनै राजनीतिक दल वा गुट हुनु हुँदैन। किनभने जसै मानिस कुनै दल वा गुटको हिस्सा बन्छ, ऊ सम्पूर्ण समाजको भलाइबारे सोच्न छाड्छ र आफ्नै गुटको भलाइबारे सोच्न थाल्छ। तब ऊ देशको नागरिकको रूपमा होइन, बरु एउटा पार्टीको सदस्यको रूपमा मतदान गर्छ।
रूसोका लागि राजनीतिक दलहरू सामान्य इच्छाका सबैभन्दा घोर शत्रु हुन्।
सामान्य इच्छाको अर्को विशेषता भनेको यो सधैं सम्पूर्ण समाजमा लागू हुन्छ, कुनै एक व्यक्ति वा समूहमा होइन। यसको अर्थ हो कि कानून सधैं सामान्य हुनुपर्छ। जस्तै, सामान्य इच्छाले यो निर्धारण गर्न सक्छ कि देशमा विवाहको न्यूनतम उमेर कति हुने हो।
रूसो भन्छन् कि यदि कुनै व्यक्तिले सामान्य इच्छालाई मान्न अस्वीकार गर्छ भने पूरै समाजलाई उसलाई सामान्य इच्छाको पालन गर्न विवश गराउने अधिकार हुन्छ। र उनी थप अगाडि भन्छन्- यसको अर्थ केवल यही हो कि उसलाई स्वतन्त्र हुन बाध्य पारिनेछ ।
यो नियम सबै नागरिकहरूमा समान रूपमा लागू हुन्छ। तर सामान्य इच्छाले व्यक्ति "अ" ले व्यक्ति "ब" सँग विवाह गर्ने वा नगर्ने भन्ने निर्धारण गर्न सक्दैन । किनभने यो एक व्यक्तिगत मामला हो। सामान्य इच्छाले हामीलाई नागरिकको रूपमा एकसाथ बाँध्छ। तर सार्वजनिक हितको विरुद्धमा नजाने हाम्रो व्यक्तिगत स्वतन्त्रतालाई पनि सम्मान दिन्छ। यो एक अत्यन्तै नाजुक सन्तुलन हो। समाजका नियमहरू हामी सबैमा लागू हुनेछन्। तर ती नियमहरूको दायराभित्र रही हामी आफ्नो जीवन जीउन स्वतन्त्र छौँ।
यस सिद्धान्तको सबैभन्दा विवादास्पद र गहिरो पक्ष अब आउँछ। रूसो भन्छन् कि यदि कुनै व्यक्तिले सामान्य इच्छालाई मान्न अस्वीकार गर्छ भने पूरै समाजलाई उसलाई सामान्य इच्छाको पालन गर्न विवश गराउने अधिकार हुन्छ। र उनी थप अगाडि भन्छन्- यसको अर्थ केवल यही हो कि उसलाई स्वतन्त्र हुन बाध्य पारिनेछ ।
यो वाक्य सुन्दा कति विरोधाभाषी लाग्छ। कसैलाई विवश गरेर स्वतन्त्र कसरी बनाइन्छ? यसलाई बुझ्नका लागि हामीले रूसोको स्वतन्त्रताको परिभाषामा फर्किनुपर्छ।
रुसोका लागि साँचो स्वतन्त्रताको अर्थ मनमानी गर्नु होइन। साँचो स्वतन्त्रताको अर्थ हो– आफ्नो लोभ, आफ्नो स्वार्थ र आफ्ना जंगली प्रवृत्तिहरूको दासत्वबाट स्वतन्त्र हुनु। जब हामी सामान्य इच्छाको पालन गर्छौं तब हामीले वास्तवमा आफ्नै उत्तम, विवेकपूर्ण र नागरिक स्वरूपको इच्छाको पालन गरिरहेका हुन्छौं। यही कारणले गर्दा जब समाजले कुनै अपराधीलाई कानुन मान्न विवश गर्छ, तब त्यो वास्तवमा उसलाई उसको खराब प्रवृत्तिबाट मुक्त गरिरहेको हुन्छ र उसलाई एक उत्तम मानिस बन्नमा मद्दत गरिरहेको हुन्छ। जसरी एक आमा आफ्नो छोरालाई आगोमा हात हाल्न नदिन जबरजस्ती तान्छे। उसले उसको भलाइको लागि नै उसको स्वतन्त्रता खोसिरहेकी हुन्छे।
सामान्य इच्छाको यो विचारले हामीलाई सिकाउँछ कि लोकतन्त्र केवल मतदान गर्ने र सरकार छान्ने नाम होइन। लोकतन्त्र एक नैतिक जिम्मेवारी हो। यसले हरेक नागरिकसँग यो अपेक्षा गर्छ कि ऊ आफ्ना व्यक्तिगत स्वार्थहरूभन्दा माथि उठोस् र पूरै राष्ट्रको हितमा सोचोस्। यसले हामीलाई सिकाउँछ कि जब हामी कुनै कानुनको पालन गर्छौं तब हामी कुनै सरकारको दासत्वमा छैनौं। बरु हामी त्यो सामूहिक विवेकलाई सम्मान गरिरहेका हुन्छौं जसको हामी स्वयं एक अंश हौं।
यो एक अत्यन्तै उच्च आदर्श हो र सायद कुनै पनि देशले यसलाई पूर्णरूपमा हासिल गर्न सकेको छैन। तर यो एक ध्रुवताराको जस्तै हो जसले हामीलाई सधैं सही दिशा देखाइरहन्छ। यसले हामीलाई सम्झाइरहन्छ कि समाजको रूपमा हाम्रो सबैभन्दा ठूलो शक्ति हाम्रो एकता र सामूहिक भलाइप्रतिको हाम्रो इच्छा हो। तर अब प्रश्न उठ्छ कि यो सामान्य इच्छा, जुन यति अमूर्त र शक्तिशाली छ, त्यो वास्तविक जीवनमा कसरी लागू हुन्छ? त्यो के वस्तु हो जसले सामान्य इच्छालाई एक ठोस रूप दिन्छ र जसलाई हामी सबै देख्न र मान्न सक्छौं? यसको उत्तर एक शब्दमा छ–कानुन।
तर कानुन के हो? यसलाई को बनाउँछ? र एउटा राम्रो कानुन कस्तो हुनु पर्छ? यी प्रश्नहरूको गहिराइमा हामी अर्को अध्यायमा उत्रनेछौं र बुझ्नेछौं कि कसरी कानुन हाम्रो स्वतन्त्रताको रक्षक पनि हुन सक्छ र भक्षक पनि।
अध्याय नम्बर चार – कानुनको शक्ति, स्वतन्त्रताको असली रक्षक।
हामीले अघिल्लो अध्यायमा सामान्य इच्छा जस्तो गहन र शक्तिशाली विचारलाई बुझ्यौं। हामीले थाहा पायौं कि यो पूरै समाजको सामूहिक भलाइको इच्छा हो। तर यो इच्छा त एउटा भावना हो, एउटा विचार हो। यसलाई जमिनमा कसरी उतार्ने? यसलाई यस्तो रूप कसरी दिने जसलाई सबैले बुझ्न सकून् र पालन गर्न सकून्?
रूसो भन्छन् कि सामान्य इच्छालाई मूर्त रूप दिने एकमात्र उपाय हो–कानुन। कानुन अरु केही होइन, सामान्य इच्छाको औपचारिक घोषणा हो। जब संप्रभु, अर्थात् पूरै जनता, यो निर्णय गर्छ कि समाजका लागि कुनै नियम बन्नुपर्छ, तब त्यो निर्णय नै कानुन कहलिन्छ। त्यसैले कानुनको स्रोत कुनै राजा, कुनै संसद वा कुनै न्यायाधीश होइन, बरु प्रत्यक्ष रूपमा जनताको सामान्य इच्छा हो। यो एक अत्यन्तै क्रान्तिकारी कुरा हो। किनभने यसले कानुनलाई कुनै शासकको इच्छा-आदेशबाट हटाएर जनताको विवेकको आसनमा राखिदिन्छ।
रूसोका लागि कानुनको पहिलो र सबैभन्दा जरुरी पहिचान यही हो कि यो सधैं सामान्य हुन्छ। कहिल्यै विशेष हुँदैन। यसको अर्थ के हो? यसको अर्थ हो कि कानुन सधैं सबै नागरिकहरूमा र सबै क्रियाकलापहरूमा एउटै रूपमा लागू हुन्छ। यसलाई कुनै एक व्यक्तिलाई वा कुनै एक विशेष समूहलाई लक्षित गरेर बनाउन सकिँदैन।
उदाहरणका लागि कानुनले यो भन्न सक्छ कि चोरी गर्नु अपराध हो र यसको यस्तो सजाय हुनेछ। यो एक सामान्य कानुन हो किनभने यो देशका सबै नागरिकहरूमा लागू हुन्छ। तर कानुनले यो भन्न सक्दैन कि यदि रामले चोरी गर्यो भने उसलाई सजाय हुनेछ तर श्यामले चोरी गर्यो भने उसलाई माफ गरिनेछ। यसरी गर्नु कानुनको स्वभावकै विरुद्ध हो। त्यसैगरी कानुनले यो निर्धारण गर्न सक्छ कि देशमा उद्योग खोल्दा के-के सुविधा पाइनेछ। तर यो भन्न सक्दैन कि केवल एक्स कम्पनीलाई मात्र सुविधा दिइनेछ। जस क्षण कानुन व्यक्तिगत हुन्छ, त्यस क्षण यसले आफ्नो वैधता गुमाउँछ र सामान्य इच्छाको उल्लंघन बन्छ। यही कानुनको समक्ष समानताको सिद्धान्तको मूल आधार हो जुन आज विश्वका लगभग सबै संविधानमा पाइन्छ।
जनतासँग त्यो ज्ञान, त्यो दूरदर्शिता र त्यो समय कहाँबाट आउँछ कि उसले प्रत्येक विषयमा सही कानुन बनाउन सकोस्? जनता सामान्य इच्छा त राख्छ, अर्थात् ऊ राम्रो चाहन्छ, तर उसलाई सधैं थाहा हुँदैन कि राम्रो के हो। उसलाई बाटो देखाउने कसैको आवश्यकता हुन्छ।
अब एउटा अत्यन्तै महत्वपूर्ण व्यावहारिक प्रश्न उठ्छ। यदि कानुन बनाउने काम संप्रभु, अर्थात् जनता, को हो भने के प्रत्येक कानुन बनाउन देशका लाखौं मानिसलाई एउटै स्थानमा जम्मा गर्न सकिन्छ? यो असम्भव हो। जनतासँग त्यो ज्ञान, त्यो दूरदर्शिता र त्यो समय कहाँबाट आउँछ कि उसले प्रत्येक विषयमा सही कानुन बनाउन सकोस्? जनता सामान्य इच्छा त राख्छ, अर्थात् ऊ राम्रो चाहन्छ, तर उसलाई सधैं थाहा हुँदैन कि राम्रो के हो। उसलाई बाटो देखाउने कसैको आवश्यकता हुन्छ।
यहाँ रूसो एक अत्यन्तै रोचक पात्रलाई अगाडि ल्याउँछन्–कानुन निर्माता। यो कुनै साधारण नेता वा राजनीतिज्ञ होइन। यो असाधारण, बुद्धिमान र लगभग दैवी गुण भएको व्यक्ति हुन्छ। जसको काम हुन्छ जनतासामु कानुनहरूको त्यस्तो मसौदा प्रस्तुत गर्नु जुन उनीहरूको सामान्य इच्छाको अनुरूप हो।
यो कानुन निर्माता स्वयं कानुन बनाउन सक्दैन, किनभने कानुन बनाउने शक्ति त केवल संप्रभु, अर्थात् जनतासँग मात्र हुन्छ। ऊ केवल एक वास्तुविद् (architect) जस्तै हुन्छ जसले एक भव्य भवनको नक्सा बनाउँछ। तर त्यो नक्सालाई स्वीकृति दिने अधिकार भवनका मालिकहरू, अर्थात् जनतासँग नै रहन्छ। यो कानुन निर्माता एक बाहिरी व्यक्तिजस्तै हुन्छ, जसको स्थान सत्ताको खेलभन्दा माथि हुन्छ। उसको कुनै निजी स्वार्थ हुँदैन। ऊ जनताको भावनाहरू, उनीहरूको परम्पराहरू, उनीहरूको भूगोललाई बुझ्छ र त्यसकै आधारमा त्यस्ता नियम बनाउँछ जुन त्यो समाजका लागि सबैभन्दा उपयुक्त हुन्छन्।
रूसोले प्राचीन कालका महान् कानुन निर्माताहरूको उदाहरण दिन्छन्–जस्तै स्पार्टाका कानुनहरू बनाउने लाइकर्गस र एथेन्सका कानुनहरू बनाउने सोलन । यो एक अत्यन्तै आदर्शवादी कल्पना हो। तर यसको सन्देश अत्यन्तै गहिरो छ। यसको सन्देश कानुन बनाउनु कुनै ख्याल ठट्टाको कुरा होइन, यो एक अत्यन्तै गम्भीर र पवित्र काम हो जसका लागि असाधारण ज्ञान र निस्वार्थ भावनाको आवश्यकता हुन्छ।
यसले हामीलाई आजका नेताहरूलाई पनि यही कसीमा तौलिन प्रेरित गर्छ। के उनीहरू साँच्चै एक निस्वार्थ कानुन निर्माताजस्तै व्यवहार गरिरहेका छन्? वा केवल आफ्ना दल र आफ्ना मतदाता समूहको लागि कानुन बनाइरहेका छन्? रूसोका अनुसार एउटा राम्रो कानुनले मानिसहरूलाई उत्तम नागरिक बनाउँछ। यसले सजायको भय मात्र देखाउँदैन, बरु मानिसहरूको चरित्र निर्माण गर्छ। यसले मानिसहरूमा देशभक्ति, न्याय र आपसी भ्रातृत्वको भावना जगाउँछ।
कुनै कानुन जनताको स्वभावविरुद्ध गएर जबरजस्ती थोपरिन्छ भने त्यो कहिल्यै सफल हुँदैन। यसबाट स्पष्ट हुन्छ कि रूसो केवल किताबी कुरा गरिरहेका थिएनन्, बरु समाजका व्यावहारिक सच्चाइहरूलाई पनि बुझ्थे।
कानुन देशको परिस्थितिअनुसार हुनुपर्छ। एउटा सानो पर्वतीय देशका लागि उपयुक्त कानुन एउटा विशाल मैदानी र कृषि-प्रधान देशका लागि सायद उपयुक्त नहोला। कानुनले मानिसहरूको संस्कार र परम्पराको पनि सम्मान गर्नुपर्छ, जबसम्म त्यो सामान्य इच्छाको विरुद्ध नजाओस्। कुनै कानुन जनताको स्वभावविरुद्ध गएर जबरजस्ती थोपरिन्छ भने त्यो कहिल्यै सफल हुँदैन। यसबाट स्पष्ट हुन्छ कि रूसो केवल किताबी कुरा गरिरहेका थिएनन्, बरु समाजका व्यावहारिक सच्चाइहरूलाई पनि बुझ्थे।
यसरी अब हाम्रो सामु एक सम्पूर्ण तस्वीर आउँछ। संप्रभु, अर्थात् जनता, सामान्य इच्छामार्फत निर्णय गर्छ कि उसलाई के चाहिन्छ। एउटा बुद्धिमान कानुन निर्माताले त्यस इच्छालाई कानुनको रूप दिन्छ। अनि संप्रभु, अर्थात् जनता, त्यो कानुनको मसौदामा अन्तिम स्वीकृति दिन्छ। यस प्रक्रियाबाट बनेको कानुन नै साँचो र वैध कानुन हो। र यही कानुनको शासनमा मात्र साँचो स्वतन्त्रता प्राप्त हुन सक्छ।
किन? किनभने जब तपाईंले त्यो कानुनको पालन गर्दा अरू कसैको आदेश होइन, बरु आफ्नै सामान्य इच्छाको आदेशको पालन गरिरहनु भएको हुन्छ। तपाईं आफ्नै शासक हुनुहुन्छ। कानुनका बन्धनहरूले नै तपाईंलाई तपाईंको मनोमानी र अरूको मनोमानीबाट स्वतन्त्र बनाउँछन्। यसले तपाईंलाई सुरक्षा र समानता दिन्छ।
तर अब एउटा अन्तिम र सबैभन्दा महत्वपूर्ण चरण बाँकी छ। कानुन त बन्यो, तर यसलाई कार्यान्वयन गर्ने को? दैनिक कार्यहरू हेर्ने को? कर उठाउने को? अपराधीहरूलाई नियन्त्रण गर्ने को? संप्रभु, अर्थात् जनताले त हरेक दिन यी कामहरू गर्न सक्दैन। यी कामहरूको लागि एउटा संयन्त्र चाहिन्छ, एउटा संस्था चाहिन्छ। यही संस्थालाई हामी सरकार भन्छौं। तर यो सरकार के हो? यसको संप्रभु, अर्थात् जनता, सँगको सम्बन्ध के हो? र किन रूसो भन्छन् कि सरकार एउटा त्यस्तो नोकर हो, जसले सधैं आफ्ना मालिक, अर्थात् जनताको, स्थान लिन प्रयास गरिरहन्छ?
सरकार– मालिक होइन, एउटा खतरनाक सेवक
हामीले प्रायः सरकार र देशलाई एउटै कुरा ठान्ने गर्छौं। तर रूसोका लागि यी दुई बिल्कुलै फरक हुन्। र यी दुईबीचको भिन्नतालाई बुझ्नु लोकतन्त्रलाई जोगाउन अत्यन्तै जरुरी छ। रूसो स्पष्ट शब्दमा भन्छन् कि सरकार सार्वभौम अर्थात् जनताको मालिक होइन, बरु उसको सेवक हो, उसको एजेन्ट हो। सार्वभौमको काम कानुन बनाउनु हो, जुन सामान्य इच्छामा आधारित हुन्छ। सरकारको काम ती कानुनलाई कार्यान्वयन गर्नु मात्रै हो।
सरकार सार्वभौम अर्थात् जनता र प्रजा अर्थात् व्यक्तिगत नागरिकबीच संवाद स्थापित गर्ने एउटा पुल जस्तै हो। यसलाई अर्को उदाहरणबाट बुझ्न सकिन्छ। मानौं एउटा कम्पनीका सबै शेयरहोल्डरहरू मिलेर कम्पनीले यस वर्ष वातावरणको रक्षा गर्न १० मिलियन खर्च गर्नेछ भनी एउटा नीति बनाउँछन् । यो नै कानुन हो, सामान्य इच्छा हो। अब यो नीतिलाई व्यवहारमा उतार्नका लागि, रूख लगाउन वा सरसफाइ अभियान चलाउनका लागि उनीहरू एक जना म्यानेजर र उसको टिमलाई नियुक्त गर्छन्–यही सरकार हो। म्यानेजरको काम नीति बनाउन होइन, बरु शेयरहोल्डरले बनाएको नीतिलाई कार्यान्वयन गर्नु हो। उसको सबै शक्ति शेयरहोल्डरबाट नै आउँछ। उसले आफ्नै खुसीले नीति बदल्न सक्दैन। उसले ठीकसँग काम गरेन भने, शेयरहोल्डरहरूले कुनै पनि बेला उसलाई जिम्मेवारीबाट हटाउन सक्छन्। रूसोका अनुसार सरकार र सार्वभौमबीचको सम्बन्ध ठीक यस्तै हो।
सरकारकहाँ आफ्नै कुनै स्वतन्त्र शक्ति हुँदैन। उसको सबै शक्ति जनताबाट सापटी लिएको हुन्छ, र जनताले चाहेको बेलामा त्यो शक्ति फिर्ता लिन सक्छ। तर यहीँ गम्भीर खतरा पनि लुकेको छ। रूसो चेतावनी दिन्छन् कि सरकार आफ्नो स्वभावकै कारण सधैं आफ्नो शक्ति विस्तार गर्ने प्रयास गर्छ। रूसो ‘मजिस्ट्रेट’ वा शासक भनी नामाकरण गरेको सरकार भित्र बस्ने व्यक्तिहरूको आफ्नै सामूहिक स्वार्थ जन्मिन्छ, जुन सामान्य इच्छाभन्दा फरक हुन्छ। उनीहरू आफ्नो संस्था, आफ्नो कुर्सी र आफ्नो शक्ति कायम राख्न चाहन्छन्।
क्रमशः यो सरकारी स्वार्थ सामान्य इच्छामाथि हावी हुन खोज्न थाल्छ। सेवक मालिक बन्ने षड्यन्त्रमा रहन्छ। सरकार बिस्तारै यो बिर्सन थाल्छ कि ऊ जनताको सेवक हो र आफूलाई जनताको स्वामी ठान्न थाल्छ। रूसो भन्छन् यो एउटा प्राकृतिक प्रक्रिया हो। मानिसको शरीर बुढो हुँदै कमजोर भए जसरी नै प्रत्येक राजनीतिक शरीर अर्थात् समाजभित्र सरकार निरन्तर सार्वभौमिकतामाथि कब्जा जमाउने प्रयास गर्छ। सरकार यसमा सफल भएको दिन सामाजिक सम्झौता भंग हुन्छ र देशको अन्त्य हुन्छ। त्यसपछि नागरिकहरू आफ्नो प्राकृतिक स्वतन्त्रतामा फर्कन्छन्, तर उनीहरू कानुन पालना गर्न बाध्य रहँदैनन्।
यो कत्तिको भयावह र सत्य कुरा हो! हामी वरिपरि हरेक दिन यसलाई देख्छौं। सरकारहरू आफ्ना आलोचकलाई दबाउन खोज्छन्। सूचना लुकाउँछन्। आफ्ना शक्तिहरू विस्तार गर्न नयाँ-नयाँ कानुन बनाउँछन्। अनि जनतालाई विश्वास दिलाउन खोज्छन् कि सरकार नै राष्ट्र हो, र सरकारको आलोचना नै राष्ट्रको आलोचना हो। रूसो यस धोखाबाट सावधान रहन भन्छन्। उनका अनुसार स्वस्थ समाजमा नागरिकहरूले सरकार र सार्वभौमबीचको यो तनावलाई सधैं पन्छाइराख्नुपर्छ। उनीहरूले निरन्तर सरकारमाथि नजर राख्नुपर्छ, प्रश्न सोध्नुपर्छ र सरकारले आफ्नो सीमाभित्र रहँदै काम गरिरहेको सुनिश्चित गर्नुपर्छ ।
सरकार एक आवश्यक संस्था हो किनभने उसको बिना कानुन लागू हुन सक्दैन। तर यो खतरनाक संस्था पनि हो किनभने ऊ सधैं हाम्रो स्वतन्त्रता खोस्न खोजिरहन्छ।
अब प्रश्न उठ्छ–यो खतरा टार्ने उपाय के हो? रूसो केही उपाय सुझाउँछन्। पहिलो र सबैभन्दा जरुरी उपाय हो कि सार्वभौम अर्थात् जनताले नियमित रूपमा सभाहरू गर्नुपर्छ। ती सभाहरूमा जहाँ सम्पूर्ण जनता भेला हुन्छ, सरकारका सबै शक्तिहरू आफैं समाप्त हुन्छन्। किनकि मालिक स्वयं उपस्थित हुँदा सेवकको कुनै काम हुँदैन।
यी सभाहरूमा जनताले सधैं दुई प्रश्न सोध्नुपर्छ–पहिलो, के सार्वभौम अर्थात् हामी सबै वर्तमान सरकारको स्वरूपलाई कायम राख्न चाहन्छौं? दोस्रो, के जनता अर्थात् हामी सबै शासनको जिम्मा अहिले जसले सम्हालिरहेका छन्, तिनकै हातमा राखिराख्न चाहन्छौं? यी प्रश्नहरूले सरकारलाई सधैं सम्झाइराख्छन् कि ऊ स्थायी होइन र उसको लगाम जनताको हातमा छ।
आजका विशाल देशहरूमा यस्ता राष्ट्रव्यापी सभाहरू सम्भव छैनन्। तर चुनाव, जनमतसंग्रह र विरोध प्रदर्शन नै यसको आधुनिक रूप हुन्। रूसो यो पनि स्पष्ट गर्छन् कि सरकारको स्थापना कुनै अनुबन्ध वा ‘कन्ट्र्याक्ट’ द्वारा हुँदैन। जनता र सरकारबीच बराबरीको सम्झौता हुँदैन। सरकारको स्थापना केवल कानुनद्वारा हुन्छ, आदेशद्वारा हुन्छ। सार्वभौम अर्थात् जनता पहिले कानुन बनाएर सरकारको स्वरूप कस्तो हुने भन्ने निर्णय गर्छ–जस्तै लोकतन्त्र वा राजतन्त्र। त्यसपछि अर्को आदेशद्वारा उनीहरूले ती व्यक्तिलाई नियुक्त गर्छन् जसले सरकार चलाउनेछन्।
कानुनको दायराभित्र रहेर काम गर्दा हामीले सरकारलाई सम्मान गर्नुपर्छ । तर हामीले उसको लगाम पनि कडाइका साथ समातिराख्नुपर्छ ताकि ऊ कहिल्यै हाम्रो मालिक नबनोस। यो अन्तहीन संघर्ष हो, जुन प्रत्येक पुस्ताले गर्नु पर्ने हुन्छ।
यसको अर्थ, सरकार परिवर्तन गर्नु सामाजिक सम्झौता भंग गर्नु होइन, बरु यो सार्वभौमको वैध अधिकार हो। हामीलाई हाम्रो सेवक ठीकसँग काम गरिरहेको छैन भन्ने लाग्छ भने उसलाई बदल्ने पूर्ण अधिकार हामीसँग छ। त्यसैले सरकार एक आवश्यक संस्था हो किनभने उस बिना कानुन लागू हुन सक्दैन। तर यो खतरनाक संस्था पनि हो किनभने ऊ सधैं हाम्रो स्वतन्त्रता खोस्न खोजिरहन्छ। नागरिकको रूपमा हाम्रो परम कर्तव्य हुन्छ कि हामी यस नाजुक सन्तुलनलाई कायम राखौं।
कानुनको दायराभित्र रहेर काम गर्दा हामीले सरकारलाई सम्मान गर्नुपर्छ । तर हामीले उसको लगाम पनि कडाइका साथ समातिराख्नुपर्छ ताकि ऊ कहिल्यै हाम्रो मालिक नबनोस। यो अन्तहीन संघर्ष हो, जुन प्रत्येक पुस्ताले गर्नु पर्ने हुन्छ।
तर अब अर्को प्रश्न आउँछ–सरकारका विभिन्न रूप के-के हुन्? रूसो लोकतन्त्र, अभिजाततन्त्र र राजतन्त्रबारे के सोच्थे? उनको विचारमा विशाल देश–जस्तै भारतका लागि–कुन शासन प्रणाली सबैभन्दा राम्रो हो? उनका उत्तरहरूले तपाईंलाई अचम्ममा पार्न सक्छन्। सरकारका यी विभिन्न रूपहरूको गुण-दोषको विश्लेषण हामी अर्को अध्यायमा गर्नेछौं।
सरकारका अनुहार–लोकतन्त्र, अभिजाततन्त्र र राजतन्त्र
हामीले सरकारलाई निरन्तर निगरानीमा राख्नु आवश्यक तर खतरनाक सेवकको रूपमा देख्यौं । अब प्रश्न उठ्छ–यो सेवकका कति प्रकार हुन सक्छन्? अर्थात् सरकारका कुन–कुन रूप हुन्छन्? रूसोले मुख्यतया तीन किसिमका सरकारहरूको विश्लेषण गर्छन्, जुन यस कुरामा निर्भर हुन्छ कि शासनको शक्ति कति जनाको हातमा छ। लोकतन्त्र, अभिजाततन्त्र र राजतन्त्र। तर यीमध्ये प्रत्येकलाई बुझ्नुअघि एउटा कुरा प्रस्ट पार्नु जरुरी छ। रूसोका लागि सरकारको जुनसुकै रूप किन नहोस्, सार्वभौमिकता सधैं र सधैं केवल जनताकै हातमा रहन्छ। सरकारको काम केवल कानुनलाई कार्यान्वयन गर्नु हो, बनाउनु होइन।
रुसो भन्छन्– देवताहरूको कुनै राष्ट्र हुने हो भने त्यो लोकतान्त्रिक शासनले चल्ने थियो। यति उत्तम सरकार मानिसहरूका लागि होइन।
अब सबैभन्दा पहिले लोकतन्त्रको कुरा गरौं। हामीलाई लोकतन्त्रको अर्थ जनताले आफ्ना प्रतिनिधि छनोट गर्ने व्यवस्था हो भन्ने लाग्छ । तर रूसोका लागि लोकतन्त्रको अर्थ थियो प्रत्यक्ष लोकतन्त्र, जहाँ सबै नागरिकहरूले आफैं सरकारको काम गर्छन्। अर्थात् कानुन बनाउने सार्वभौम जनता नै ती कानुन कार्यान्वयन गर्ने सरकार पनि हुन्छ। त्यहाँ अलग्गै शासक वर्ग हुँदैन। सुन्दा यो सबैभन्दा आदर्श व्यवस्था जस्तो लाग्छ, होइन र? जनताको लागि, जनताद्वारा, जनताको शासन। तर रूसो आफैं यो व्यवस्थाका ठूला प्रशंसक थिएनन्। उनी भन्छन्– देवताहरूको कुनै राष्ट्र हुने हो भने त्यो लोकतान्त्रिक शासनले चल्ने थियो। यति उत्तम सरकार मानिसहरूका लागि होइन।
किनभने यसका धेरै कारण छन्। पहिलो, यो अव्यवहारिक छ। देशका सबै नागरिक हरेक समय सरकारी काम गर्न भेला हुन कसरी सम्भव छ ? उनीहरू आफ्ना दैनन्दिन जीवन र कामधन्धा कहिले गर्ने? दोस्रो, यो व्यवस्था निकै अस्थिर हुन्छ र यसमा गृहयुद्धको खतरा अत्यन्तै ठूलो हुन्छ, किनकि सबै शासक बन्न चाहन्छन् र गुटबन्दी बढ्छ। रूसोको विश्वासमा लोकतन्त्र नागरिकहरू सरल, गुणी र लगभग एउटै सोच भएका साना शहर–राज्यहरूका लागि मात्र उपयुक्त हुन्छ। विशाल र जटिल समाजका लागि यो व्यवस्था उचित हुँदैन।
रूसोका अनुसार सबैभन्दा उत्तम शासन– निर्वाचित अभिजाततन्त्र। यसमा जनता आफ्नो बुद्धि, योग्यता र अनुभवका आधारमा केही सबैभन्दा योग्य मानिसलाई छानेर सरकार चलाउने जिम्मा दिन्छ।
अब आउँछौं दोस्रो रूप–अभिजाततन्त्रमा। यसमा शासनको शक्ति चुनिएका श्रेष्ठ व्यक्तिहरूको हातमा हुन्छ। रूसोका अनुसार अभिजाततन्त्रका तीन प्रकार हुन्छन्। पहिलो–प्राकृतिक अभिजाततन्त्र, जुन प्रारम्भिक समाजमा पाइन्थ्यो, जहाँ परिवारका मुखिया वा कबीलाईका ज्येष्ठहरू शासन गर्थे। दोस्रो– वंशानुगत अभिजाततन्त्र, जहाँ केही धनी र शक्तिशाली परिवारहरूलाई जन्मसिद्ध शासन गर्ने अधिकार हुन्थ्यो। रूसोले यसलाई सबैभन्दा खराब शासन प्रणाली ठान्छन्, किनकि शासक योग्यता होइन, जन्मका आधारमा चुनिन्छन्। तेस्रो र रूसोका अनुसार सबैभन्दा उत्तम शासन– निर्वाचित अभिजाततन्त्र। यसमा जनता आफ्नो बुद्धि, योग्यता र अनुभवका आधारमा केही सबैभन्दा योग्य मानिसलाई छानेर सरकार चलाउने जिम्मा दिन्छ।
रूसोका दृष्टिमा यो नै उत्तम प्रणाली हो, किनकि यसमा जनता सार्वभौम रहन्छ, किनकि उनीहरू शासकलाई छान्छन्, र सरकार पनि सबैभन्दा योग्य व्यक्तिहरूद्वारा चलाइन्छ। यसले ज्ञान र शक्तिको उत्कृष्ट सन्तुलन सिर्जना गर्छ। आजको हाम्रो प्रतिनिधि लोकतन्त्रको व्यवस्था वास्तवमा रूसोको निर्वाचित अभिजाततन्त्रको विचारसँग धेरै नजिक छ।
तेस्रो रूप हो– राजतन्त्र। जहाँ शासनको सम्पूर्ण शक्ति एउटै व्यक्ति अर्थात् राजा वा सम्राटको हातमा हुन्छ। यस व्यवस्थाको एउटा फाइदा छ– यसमा एकता र कार्यगत गति धेरै हुन्छ, किनकि निर्णय लिने केवल एक व्यक्ति हुन्छ। त्यसैले काम चाँडो हुन्छ। एउटा राजा आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरेर देशलाई महान् उचाइमा पुर्याउन सक्छ। तर रूसो यसका खतराबारे पनि चेतावनी दिन्छन्।
राजतन्त्रमा शासकको व्यक्तिगत इच्छा र सरकारको सामूहिक इच्छा एउटै हुन्छ। यस्तो अवस्थामा सामान्य इच्छा दबिने खतरा अत्यधिक हुन्छ। राजा आफ्ना प्रजाको भलाइको साटो आफ्नो शान–शौकत र शक्ति बढाउन बढी सोच्न सक्छ। यसबाहेक, यस व्यवस्थामा उत्तराधिकारको समस्या हुन्छ–एउटा योग्य राजापछि उसको छोरो अयोग्य हुन सक्छ, जसले पूरा राज्य संकटमा पार्न सक्छ। राजा सल्लाह दिने दरबारीहरू प्रायः चापलुसी गर्ने हुन्छन्, जसले उसलाई सत्य भन्दा ऊ सुन्न चाहेको कुरा मात्रै भन्छन्। त्यसैले रूसोका लागि राजतन्त्र एक जोखिमपूर्ण व्यवस्था हो, जुन कहिलेकाहीँ अत्यन्त सफल हुन सक्छ तर प्रायः तानाशाहीमा परिणत हुन्छ।
अब प्रश्न आउँछ–यी तीनमध्ये सबभन्दा राम्रो सरकार कुन हो? रूसो कुनै एक मात्र उत्तर दिँदैनन्। उनी भन्छन्–कुनै पनि एउटै सरकार सबै देशका लागि राम्रो हुँदैन। सबभन्दा राम्रो सरकार कुन हुनेछ भन्ने कुरा त्यस देशको आकार, उसको जलवायु, जमिनको प्रकृति र जनताको चरित्रमा निर्भर हुन्छ। उनको सामान्य नियम यस्तो छ–लोकतन्त्र साना राज्यका लागि, अभिजाततन्त्र मध्यम आकारका राज्यका लागि, र राजतन्त्र विशाल राज्यका लागि उपयुक्त हुन्छ।
किनभने, सरकारलाई आफ्नो प्रजामाथि नियन्त्रण गर्न त्यत्तिकै शक्ति चाहिन्छ जतिसम्म देश फैलिएको हुन्छ। एउटा विशाल देशमा, जहाँ लाखौँ मानिस टाढासम्म फैलिएका हुन्छन्, त्यहाँ एउटै शक्तिशाली केन्द्रिय शक्ति–जस्तै राजा–को जरुरत हुन्छ, ताकि देश एकताबद्ध रहोस्। तर सानो शहरमा मानिसहरूले सजिलै मिलेर शासन गर्न सक्छन्।
रूसोको सम्पूर्ण छलफलको सार यही हो– सरकारको रूप महत्वपूर्ण हुन्छ, तर त्यसभन्दा पनि बढी महत्वपूर्ण कुरा के हो भने, त्यो सरकार सामान्य इच्छाको अधीनमा काम गरिरहेको छ कि छैन।
यो विचारले हामीलाई सिकाउँछ कि हामीले कुनै एक शासन प्रणालीलाई आँखा चिम्म पारेर सबै ठाउँमा लागू गर्नु हुँदैन। हामीले आफ्ना परिस्थितिहरू हेरेर निर्णय गर्नुपर्छ। रूसोको सम्पूर्ण छलफलको सार यही हो– सरकारको रूप महत्वपूर्ण हुन्छ, तर त्यसभन्दा पनि बढी महत्वपूर्ण कुरा के हो भने, त्यो सरकार सामान्य इच्छाको अधीनमा काम गरिरहेको छ कि छैन।
नागरिकहरू स्वार्थी भए भने लोकतन्त्र पनि भ्रष्ट हुन सक्छ । साँच्चिकै आफ्ना प्रजाको सेवा गरे भने राजा पनि असल हुन सक्छ । यद्यपि रूसोलाई यसको आशा कम थियो। असली प्रश्न भनेको यो हो–के सरकारले आफ्ना सीमाहरू चिन्छ? के उसले आफैंलाई जनताको सेवक ठान्छ? वा आफैंलाई मालिक ठान्न थाल्छ? किनकि हरेक सरकारभित्र, जुनसुकै रूप लियोस्, मालिक बन्ने कीरा हुन्छ। र जसै त्यो कीरा पलाउन थाल्छ, राज्यको पतन सुरु हुन्छ।
तर यो पतन कसरी हुन्छ? के–के संकेत हुन्छन् जसबाट हामी चिन्न सक्छौं कि हाम्रो देश वा हाम्रो समाज पतनतर्फ उन्मुख छ? र यसलाई रोक्नका लागि हामी के गर्न सक्छौं? यी अत्यन्तै जरुरी र गम्भीर प्रश्नहरूको उत्तर हामी अर्को अध्यायमा खोज्नेछौं, जुन कुनै पनि स्वस्थ समाजका लागि चेतावनीसरूप हुन्छ।
असली प्रश्न भनेको यो हो–के सरकारले आफ्ना सीमाहरू चिन्छ? के उसले आफैंलाई जनताको सेवक ठान्छ? वा आफैंलाई मालिक ठान्न थाल्छ? किनकि हरेक सरकारभित्र, जुनसुकै रूप लियोस्, मालिक बन्ने कीरा हुन्छ। र जसै त्यो कीरा पलाउन थाल्छ, राज्यको पतन सुरु हुन्छ।
राज्यहरूको पतन: जब समाज बिरामी हुन्छ !
अहिलेसम्म हामीले एउटा आदर्श समाजको रुपरेखा तयार गरेका छौँ। यस्तो समाज जुन सामाजिक सम्झौतामा आधारित छ जहाँ जनता नै सार्वभौम हुन्छन् र जहाँ सरकार सेवकझैँ सामान्य इच्छाअनुसार काम गर्छ। यो एउटा स्वस्थ राजनीतिक शरीरको तस्वीर हो। तर जस्तोसुकै जीवित शरीर पनि एकदिन बुढो हुन्छ, बिरामी पर्छ र मर्छ, त्यसरी नै प्रत्येक राज्य वा समाज पनि पतनतर्फ जान्छ।
रुसो एक चिकित्सकझैँ हामीलाई ती लक्षणहरूको बारेमा बताउँछन् जसले हामीलाई चिन्न मद्दत गर्छ कि हाम्रो समाज बिरामी हुँदैछ। यो अध्याय सम्भवतः यस किताबको सबैभन्दा निराशावादी तर सबैभन्दा जरुरी अंश हो।
रुसो भन्छन् कि राज्यको पतनको मूल कारण त्यही हो जसको हामीले पहिले पनि चर्चा गरेका थियौँ – सरकारद्वारा सार्वभौम शक्तिमाथि कब्जा गर्ने निरन्तर प्रयास। यो एक ढिलो प्रक्रिया हो। ढिलो विषझैँ जुन बिस्तारै पूरै शरीरमा फैलिन्छ।
राज्यको पतन दुई मुख्य तरिकाले हुन्छ। पहिलो, जब सरकार संकुचित हुन्छ। यसको अर्थ, जब सरकार आफ्नै निर्धारित रूपभन्दा झन् संकुचित बन्छ। जस्तै लोकतन्त्र जहाँ धेरै मानिसले शासन गर्छन्, त्यहाँबाट अभिजाततन्त्रतर्फ जानु जहाँ केही मानिसले शासन गर्छन्, वा अभिजाततन्त्रबाट राजतन्त्रतर्फ जानु जहाँ एउटै व्यक्तिले शासन गर्छ। प्रत्येक कदममा शासकहरूको संख्या घट्दै जान्छ र शक्ति केही हातहरूमा केन्द्रित हुँदै जान्छ। यो सरकारको प्राकृतिक झुकाव हो।
दोस्रो र अझ गम्भीर तरिका हो राज्यको विघटन। यो तब हुन्छ जब सरकार र सार्वभौमबीचको सम्बन्ध नै भंग हुन्छ। यो दुई अवस्थामा हुन्छ। पहिलो, जब शासक अर्थात् सरकार कानुनअनुसार शासन नगरी आफूलाई कानुनभन्दा माथि ठान्न थाल्छ र सार्वभौमको शक्तिमाथि कब्जा गर्छ। यस अवस्थामा सामाजिक सम्झौता भंग हुन्छ। सरकार तानाशाहको रूप धारण गर्छ र नागरिकहरूलाई अब त्यसको आज्ञा पालन गर्न कुनै नैतिक दायित्व रहँदैन। उनीहरू आफ्नै प्राकृतिक स्वतन्त्रतामा फर्कन्छन्, तर बल प्रयोग गरेर आज्ञा मान्न बाध्य पारिन्छ।
राज्यको विघटन जे अवस्थामा भए पनि त्यसलाई अराजकता भनिन्छ – चाहे त्यो एउटै तानाशाहको हातमा होस् वा धेरै साना–साना शासकहरूको हातमा। दुवै अवस्थामा देशको अस्तित्व समाप्त हुन्छ र केवल एक अत्याचारी शासन बाँकी रहन्छ।
राज्यको विघटनको दोस्रो अवस्था तब आउँछ जब सरकारका सदस्यहरूले सरकारी निकायका रूपमा हैन, व्यक्तिगत रूपमा सत्ता कब्जा गर्न थाल्छन् । अर्थात् सरकारभित्रै फूट उत्पन्न हुन्छ र साना–साना तानाशाहहरू जन्मिन्छन्। यो अराजकताको स्थिति हो। रुसोका अनुसार, राज्यको विघटन जे अवस्थामा भए पनि त्यसलाई अराजकता भनिन्छ – चाहे त्यो एउटै तानाशाहको हातमा होस् वा धेरै साना–साना शासकहरूको हातमा। दुवै अवस्थामा देशको अस्तित्व समाप्त हुन्छ र केवल एक अत्याचारी शासन बाँकी रहन्छ।
यी लक्षणहरू आजको संसारमा धेरै ठाउँमा देख्न सकिन्छ, जहाँ सरकारले संविधान र कानुनलाई पन्छाएर मनपरी गर्छन् र जनताको आवाज दबाउँछन्। तर यी त सरकारतर्फबाट हुने आक्रमण हुन्। रुसो भन्छन्, राज्यको रोगको अर्को गम्भीर लक्षण नागरिकहरूकै भित्रबाट जन्मिन्छ – त्यो हो सार्वजनिक सेवाको भावना समाप्त हुनु।
जब नागरिकहरूले आफ्नो देश र समाजप्रति आफ्नो कर्तव्य बिर्सन थाल्छन्, अन्त नजिक छ भनेर बुझ्नुपर्छ। यो तब हुन्छ जब मानिसहरू भन्छन् – “यससँग मेरो के मतलब?” वा “म बैठकमा जान वा मत हाल्न किन दुःख गरूँ? कसैले त गर्ने नै छ।” जब नागरिकहरूले सार्वजनिक मामिलामा रुचि लिन छोड्छन् र केवल आफ्नै व्यक्तिगत आराम, पैसा र स्वार्थमा डुब्छन्, तब उनीहरू आफ्नै सार्वभौमतालाई सरकारलाई बेचिरहेका हुन्छन्। उनीहरूले आफ्नै स्वतन्त्रताको मूल्य पैसामा तोक्न थाल्छन्। देशसेवामा सेना प्रवेश गर्नुको सट्टा भाडाका सैनिक राख्छन्। सार्वजनिक सभामा उपस्थित भई आफ्नो विचार राख्नुको सट्टा प्रतिनिधि छान्छन् र निश्चिन्त हुन्छन्।
"वित्त" भन्ने शब्द दासको शब्द हो। सच्चा नागरिकको सहरमा यो अज्ञात हुन्छ। जस क्षण तपाईं भन्नुहुन्छ “देशका मामिलासँग मेरो के सरोकार?” त्यही क्षण तपाईंको देश विनाशको कगारमा पुगेको हुन्छ।
रुसो भन्छन् – "वित्त" भन्ने शब्द दासको शब्द हो। सच्चा नागरिकको सहरमा यो अज्ञात हुन्छ। जस क्षण तपाईं भन्नुहुन्छ “देशका मामिलासँग मेरो के सरोकार?” त्यही क्षण तपाईंको देश विनाशको कगारमा पुगेको हुन्छ।
यो कति बिझ्ने सत्य हो! आज हामी आफ्नै समाजमा यही देखिरहेका छौँ। कति मानिसहरू छन् जसका लागि मत हाल्ने दिन छुट्टीको दिन मात्र हो। कति मानिसहरू छन् जसले सामाजिक समस्यामा बहस गर्नुको सट्टा मोबाइल फोनमा हराउँछन्। कति मानिसहरू छन् जसले भ्रष्टाचार देखेर “सब ठिकै छ” भन्दै बेवास्ता गर्छन्।
यो उदासीनता, अलगाव, नागरिक भावनाको मृत्यु नै कुनै पनि लोकतन्त्रको लागि सबैभन्दा घातक क्यान्सर हो। जब नागरिकहरू मौन हुन्छन्, अत्याचारीले सजिलै आफ्नो शिकार बनाउँछ।
रुसोका अनुसार, स्वस्थ समाजको चिन्ह हो कि उसका नागरिकहरू सार्वजनिक मामिलामा उत्साहका साथ भाग लिन्छन्। जब नयाँ कानुन प्रस्तावित हुन्छ, सबैलाई त्यसको बारेमा जान्न र आफ्नै राय दिन उत्सुकता हुन्छ। मानिसहरूलाई आफ्नो देशप्रति प्रेम हुन्छ, आफ्नो स्वतन्त्रताप्रति प्रेम हुन्छ।
त्यसो भए के यो पतन रोकिन सक्दैन? रुसो भन्छन्, मृत्यु टार्न त सकिँदैन, तर स्वस्थ जीवनशैली अपनाएर जीवनलाई लम्ब्याउन सकिन्छ। त्यसरी नै राम्रो संविधान र जागरूक नागरिकहरूले राज्यको जीवन पनि लम्ब्याउन सक्छन्।
यसको सबैभन्दा राम्रो उपाय हो सार्वभौम शक्तिलाई बारम्बार स्थापित गर्नु। जस्तो कि हामीले अघिल्लो अध्यायमा नियमित सभाको कुरा गरेका थियौँ। जब जनता बारम्बार भेला भएर सरकारले आफ्नो हैसियत सम्झन बाध्य बनाउँछन्, सरकारका पतनकारी प्रवृत्तिमा नियन्त्रण रहन्छ।
राज्यको पतन कुनै बाहिरी आक्रमण होइन, बरु आन्तरिक रोग हो। यो तब सुरु हुन्छ जब सरकार आफ्नो सीमा नाघ्छ र नागरिकहरू आफ्नो कर्तव्य बिर्सन्छन्।
यसका अतिरिक्त, नागरिकहरूमा शिक्षा र देशभक्तिको भावना जीवित राख्नु पनि अति आवश्यक छ। उनीहरूलाई सिकाइनुपर्छ कि नागरिक हुनु केवल अधिकारहरूको कुरा होइन, कर्तव्यहरूको पनि कुरा हो।
त्यसैले, राज्यको पतन कुनै बाहिरी आक्रमण होइन, बरु आन्तरिक रोग हो। यो तब सुरु हुन्छ जब सरकार आफ्नो सीमा नाघ्छ र नागरिकहरू आफ्नो कर्तव्य बिर्सन्छन्।
यो हामी सबैका लागि चेतावनी हो। यदि हामी हाम्रो समाजलाई जीवित र स्वस्थ राख्न चाहन्छौँ भने हामी सजग प्रहरीझैँ सधैँ जागिरहनुपर्छ। हामीले सरकारसँग प्रश्न गर्नुपर्छ र आफ्ना नागरिक कर्तव्यहरू पूर्ण ईमानदारीका साथ पूरा गर्नुपर्छ।
तर सरकारलाई नियन्त्रण गर्ने र सामान्य इच्छालाई बुझ्ने एउटा अत्यन्त व्यावहारिक उपाय छ – मतदान वा भोटिङ।
रुसोले मतदानलाई कस्तो दृष्टिले हेरेका थिए? के मतदान केवल आफ्नो मनपर्ने उम्मेदवार जिताउने खेल हो वा यसको कुनै गहिरो नैतिक अर्थ छ? र जब समाजमा मतभेद हुन्छ, किन बहुमतको निर्णय मान्नुपर्छ?
भोटको मूल्य
जब आवाजहरू बोल्छन्, हामीले देख्यौं कि कसरी एउटा समाज बिरामी पर्न सक्छ जब नागरिक उदासीन हुन्छन् र सरकार निरङ्कुश देखिन थाल्छ। यस रोगको एउटा उपचार छ, एउटा तरिका जसद्वारा नागरिकहरूले आफ्नो सार्वभौम शक्ति प्रदर्शन गर्न सक्छन् र सामूहिक इच्छालाई पत्ता लगाउन सक्छन्। त्यो तरिका हो मतदान।
आजको लोकतन्त्रमा हामी मतदानलाई एकदमै सामान्य प्रक्रिया ठान्छौं। हामी यसलाई आफ्नो रोजाइको पार्टी वा उम्मेदवारलाई जिताउने साधनका रूपमा बुझ्छौं। तर रूसोका लागि मतदानको अर्थ यसभन्दा धेरै गहिरो र पवित्र थियो। यो व्यक्तिगत रोजाइको कुरा होइन, बरु सामूहिक रूपमा सामान्य इच्छा खोज्ने प्रयास थियो।
रूसोका अनुसार जब नागरिक कुनै मुद्दामा भोट दिन भेला हुन्छन्, त्यतिबेला उनीहरूलाई यो सोधिएको हुँदैन कि तपाईं व्यक्तिगत रूपमा के चाहनुहुन्छ वा तपाईंको लागि के फाइदाजनक छ। उनीहरूलाई सोधिएको प्रश्न हो: तपाईंको विचारमा सामान्य इच्छा के हो? अर्थात्, पूरै समाजको लागि के सही छ?
मतदान स्वार्थको प्रदर्शन होइन, बरु नागरिक कर्तव्यको पालन हो। जब मतगणना हुन्छ र बहुमतको निर्णय आउँछ, त्यसलाई सामान्य इच्छाको घोषणा मानिन्छ।
हरेक नागरिकले आफ्नो हृदयमा हात राखी आफ्ना निजी स्वार्थलाई एकातिर राखेर यस प्रश्नको उत्तर दिनुपर्छ। जब ऊ आफ्नो भोट हाल्छ, ऊ आफ्नो निजी विचार व्यक्त गरिरहेको हुँदैन, बरु सामान्य इच्छाबारे आफ्नो अनुमान दिइरहेको हुन्छ।
यो एक महत्वपूर्ण वैचारिक परिवर्तन हो। यसको अर्थ मतदान स्वार्थको प्रदर्शन होइन, बरु नागरिक कर्तव्यको पालन हो। जब मतगणना हुन्छ र बहुमतको निर्णय आउँछ, त्यसलाई सामान्य इच्छाको घोषणा मानिन्छ।
अब यहाँ एउटा रोचक प्रश्न उठ्छ। जो अल्पमतमा रहे, जसले अर्को पक्षमा भोट दिएका थिए, उनीहरूको के हुन्छ? के उनीहरूलाई बहुमतको निर्णय थोपरिएको हो? के उनीहरूको स्वतन्त्रताको उल्लङ्घन भइरहेको हो?
रूसो यसमा अनौठो उत्तर दिन्छन्। उनी भन्छन्, होइन। जब बहुमतको निर्णय आउँछ, त्यो यस कुराको प्रमाण हुन्छ कि अल्पमतमा रहेका मानिसहरूले सामान्य इच्छालाई पहिचान गर्नमा गल्ती गरेका थिए। जसलाई उनीहरूले समाजको लागि सही ठानेका थिए, त्यो वास्तवमा सही थिएन। त्यसैले जब उनीहरूलाई बहुमतको निर्णय मान्न भनिन्छ, त्यसको अर्थ अरूको इच्छा मान्नु होइन, बरु आफ्नै वास्तविक नागरिक इच्छालाई मान्नु हो, जसलाई उनीहरूले त्यो बेला चिन्न सकेका थिएनन्। यसरी उनीहरू आफ्नो गल्तीबाट स्वतन्त्र हुन्छन्।
यो सुन्दा अचम्म लाग्न सक्छ। तर यसको गहिरो अर्थ के हो भने, साँचो नागरिकका रूपमा हाम्रो अन्तिम इच्छा सधैं सामान्य इच्छाको पालन गर्नु नै हो, चाहे कहिलेकाहीं हामी त्यसलाई चिन्न असफल नै किन नहोऔं।
तर यो सबै कुरा केवल त्यतिबेला मात्र सत्य हुन्छ जब मतदानको प्रक्रिया शुद्ध हुन्छ। यसका लागि रूसोले केही सर्तहरू उल्लेख गरेका छन्। पहिलो र सबैभन्दा जरुरी शर्त समाजमा कुनै गुट वा राजनीतिक दल नहुनु हो ।
रुसोको तर्कमा दल बनेपछि मानिसहरूले सामान्य इच्छाबारे सोच्न बन्द गर्छन् र आफ्नै पार्टीको इच्छाअनुसार भोट दिन थाल्छन्। त्यसबेला मतदानले समाजको भलो होइन, दलहरूको संघर्ष देखाउँछ।
दोस्रो शर्त, नागरिकलाई मुद्दाबारे पूर्ण जानकारी हुनुपर्छ र उनीहरूमा कुनै बाह्य दबाब हुनु हुँदैन। उनीहरूलाई स्वतन्त्र रूपमा सोच्ने र निर्णय गर्ने अवसर मिल्नुपर्छ।
रूसोले भिन्न-भिन्न खालका निर्णयका लागि भिन्न-भिन्न बहुमतको आवश्यकता पर्ने कुरा पनि गरेका छन्। उनका अनुसार, जुन विषयहरू जति बढी महत्वपूर्ण र गम्भीर हुन्छन्, तिनलाई पारित गर्न त्यति नै ठूलो बहुमत चाहिन्छ, लगभग सर्वसम्मतिको नजिक।
जस्तै, सामाजिक सम्झौतामा नै कुनै परिवर्तन गर्नुपरे त्यसका लागि लगभग सबैको सहमति आवश्यक हुन्छ। तर दैनिक सरकारी कामकाजसँग सम्बन्धित, छिटो टुंग्याउनुपर्ने मामिलाहरूका लागि साधारण बहुमत, अर्थात् ५० प्रतिशतभन्दा बढी भए पनि पर्याप्त हुन्छ।
यो एकदमै व्यावहारिक सुझाव हो । यसले हरेक निर्णयलाई एउटै तराजुमा तौलिनु हुँदैन भन्ने देखाउँछ ।
जब मानिसहरूले खुलेआम आफ्नो भोट बेच्न थाल्छन्, वा धम्की-धम्काएर भोट लिन थालिन्छ, त्यसबेला राज्य पतनको छेउमा पुगेको छ र त्यहाँ सामान्य इच्छा बाँकी छैन भन्ने बुझ्नुपर्छ ।
मतदानको प्रक्रियाबाट समाजको स्वास्थ्यको स्थिति पनि थाहा हुन्छ। रूसो भन्छन्, जहाँ कुनै मुद्दामा लगभग सर्वसम्मति हुन्छ, त्यो स्वस्थ र एकजुट समाजको लक्षण हो। यसको मतलब त्यहाँ सामान्य इच्छा बलियो छ।
तर जति-जति समाजमा बहस र मतभेद बढ्छन्, त्यो संकेत हो कि निजी स्वार्थ हावी भइरहेको छ। अनि जब मानिसहरूले खुलेआम आफ्नो भोट बेच्न थाल्छन्, वा धम्की-धम्काएर भोट लिन थालिन्छ, त्यसबेला राज्य पतनको छेउमा पुगेको छ र त्यहाँ सामान्य इच्छा बाँकी छैन भन्ने बुझ्नुपर्छ ।
त्यसैले भोटको मूल्य केवल सरकार बनाउन वा गिराउन सीमित छैन। तपाईंको हरेक भोट यस कुराको प्रमाण हो कि तपाईं जिम्मेवार नागरिक हो वा उदासीन व्यक्ति। तपाईंको भोट सामान्य इच्छा खोज्ने एक पवित्र प्रक्रियाको हिस्सा हो।
यसले तपाईंलाई समाजको दिशा निर्धारण गर्न सक्ने शक्ति दिन्छ । तपाईं अर्को पटक मतदान गर्न जाँदा रूसोको यो कुरा सम्झनुहोस्। मेरो एक भोटले के फरक पार्छ भन्ने पटक्कै नसोच्नुहोस् ।
तपाईंको भोट केवल तपाईंको होइन। त्यो पूरै राष्ट्रको भविष्य लेख्ने सामूहिक विवेकको एउटा हिस्सा हो। त्यसलाई आफ्ना निजी रोजाइ, मनपराइ वा साना लोभको कारण बर्बाद नगर्नुहोस्। आफ्नो विवेकअनुसार पूरै समाजको भलो ध्यानमा राखेर दिनुहोस्।
तर समाजलाई चलाउनका लागि केवल कानून र मतदान मात्र पर्याप्त हुँदैन। समाजलाई एकसाथ बाँध्न अर्को कुरा चाहिन्छ। गमले झैँ टाँसेर राख्ने तत्व। त्यो हो–साझा विश्वास, साझा नैतिकता।
रूसो यसलाई एउटा विवादास्पद नाम दिन्छन्: नागरिक धर्म। यो के हो? के यसको अर्थ राष्ट्रको एउटा मात्र धर्म हुनुपर्छ? वा यसको अर्थ केही अरू हो?
नागरिक धर्म
समाजलाई मिलाउन आवश्यक कुरा। अहिलेसम्म हामीले एउटा राजनीतिक समाजको सम्पूर्ण संरचना बुझिसकेका छौं। सामाजिक सम्झौता, सार्वभौम जनता, सामान्य इच्छा, कानून, सरकार र मतदान। यी सबै मिलेर एउटा मेसिनझैं काम गर्छन्।
तर रूसोलाई लाग्यो कि केवल राम्रो मेसिन हुनु मात्र पर्याप्त छैन। त्यस मेसिनलाई चलाउने पुर्जाहरू, अर्थात् नागरिकहरूलाई आपसमा जोड्न पनि एउटा विशेष तत्त्व चाहिन्छ। एउटा यस्तो भावना जसले उनीहरूलाई एकअर्कासँग र आफ्नो देशसँग प्रेम गर्न सिकाओस्। एउटा यस्तो विश्वास जसले उनीहरूलाई सामाजिक सम्झौता र कानूनहरूको हृदयदेखि सम्मान गर्न प्रेरित गरोस्।
धर्म भन्ने शब्द सुन्दा हाम्रो दिमागमा पूजा–पाठ, मन्दिर, मस्जिद र ईश्वरको कल्पना आउँछ। तर रूसोको नागरिक धर्म यसबाट बिल्कुलै फरक थियो। उनी कुनै परम्परागत धर्मको कुरा गरिरहेका थिएनन्।
यस भावनालाई, यस विश्वासलाई रूसोले “नागरिक धर्म” नाम दिएका थिए। यो ‘द सोशल कन्ट्र्याक्ट’को सबैभन्दा बढी बहस गरिएको र सायद सबैभन्दा बढी गलत बुझिएको विचार हो। धर्म भन्ने शब्द सुन्दा हाम्रो दिमागमा पूजा–पाठ, मन्दिर, मस्जिद र ईश्वरको कल्पना आउँछ। तर रूसोको नागरिक धर्म यसबाट बिल्कुलै फरक थियो। उनी कुनै परम्परागत धर्मको कुरा गरिरहेका थिएनन्। उनी एउटा यस्तो नागरिक आस्थाको कुरा गरिरहेका थिए, जसका सिद्धान्त हरेक नागरिकले मान्नैपर्छ।
त्यसको पालना गर्नुको कारण स्वर्ग प्राप्ति होइन, बरु त्यसले त्यो पालना गर्ने व्यक्तिलाई राम्रो र विश्वासिलो नागरिक बनाउँछ र समाज शान्तिपूर्वक चल्छ। रूसोका अनुसार मानिसले कुन ईश्वरको पूजा गर्ने वा कस्ता धार्मिक कर्मकाण्ड गर्ने भनेर बताउने अधिकार राज्यलाई छैन । त्यो प्रत्येक व्यक्तिको निजी विषय हो। तर राज्यलाई उसका नागरिकहरूले समाजलाई चलाउन आवश्यक केही नैतिक सिद्धान्तमा विश्वास गरून् भनी सुनिश्चित गर्ने अधिकार र कर्तव्य छ ।
रूसोले धर्मका तीन प्रकारको कुरा गरेका छन्। पहिलो हो मनुष्यको धर्म। यो शुद्ध र सरल धार्मिक आदर्श झैं छ, जुन कुनै देश वा राजनीति सँग मिलेको छैन। यसले सबै मानिसलाई दाजुभाइ मान्न र सार्वभौमिक प्रेम सिकाउँछ। यो हृदयका लागि धेरै राम्रो हो। तर रूसोका अनुसार समाजका लागि यो राम्रो छैन। किनभने यसले नागरिकको ध्यान यस संसारका समस्याबाट हटाएर परलोकतिर मोडिदिन्छ। यसले उनीहरूलाई असल सैनिक वा देशभक्त नागरिक बनाउनुभन्दा संसारबाट विरक्त पार्छ।
एउटा समाज जहाँ सबै सच्चा धार्मिक हुन्छन्, त्यो सायद धेरै पवित्र हुन्छ। तर त्यसले कुनै पनि बाह्य आक्रमणलाई सामना गर्न सक्दैन।
दोस्रो हो नागरिकको धर्म। यो प्राचीन रोम वा स्पार्टाजस्ता राज्यहरूको धर्म थियो। जहाँ देशकै आफ्नै धर्म, आफ्ना देवता र आफ्ना संरक्षक हुन्थे। यस धर्ममा ईश्वरको सेवा गर्नु र देशको सेवा गर्नु एउटै कुरा थियो। यो निकै शक्तिशाली थियो किनभने यसले मानिसहरूमा अद्भुत देशभक्ति र एकता पैदा गर्थ्यो। यसले उनीहरूलाई देशका लागि मार्न र मर्न तयार गर्थ्यो।
तर यसको पनि ठूलो त्रुटी थियो। यो धर्म असहिष्णुता र अन्धविश्वासमा आधारित थियो। यसले आफ्नै देशबाहेक अरू सबैलाई शत्रु ठान्थ्यो र उनीहरूको विरुद्ध रक्तपातपूर्ण युद्धलाई जायज ठहराउँथ्यो। यसले “हामी र उनीहरू” भन्ने खतरनाक भावना पैदा गर्थ्यो।
यी दुईको कमजोरी हेरेर रूसोले तेस्रो र राम्रो विकल्प प्रस्तुत गरे, जसलाई उनले नागरिक धर्म भने। यो मिश्रित रूप हो। यसमा केही मान्यताहरू छन् जुन हरेक नागरिकले मान्नैपर्छ। यी मान्यताहरू धेरै सरल र सार्वभौमिक छन्।
पहिलो, एउटा शक्तिशाली, बुद्धिमान र परोपकारी ईश्वरको अस्तित्व छ, जसले भविष्य देख्छ र सबैको ख्याल राख्छ।
दोस्रो, एउटा भविष्य जीवन छ, जहाँ असल मानिसलाई इनाम र खराबलाई सजाय मिल्छ।
तेस्रो, र सबैभन्दा महत्वपूर्ण, सामाजिक सम्झौता र कानूनहरूको पवित्रता।
चौथो, असहिष्णुताको निषेध, अर्थात् कुनै पनि धर्म जसले भन्छ कि उसबाहेक मोक्ष छैन, त्यस्तो धर्मलाई सहन गरिँदैन।
जो धर्मले अरू धर्मप्रति घृणा सिकाउँछ, उसलाई राज्यबाट हटाउनुपर्छ। रूसोका अनुसार सार्वभौम जनता यी मान्यताहरूलाई नागरिक आस्था स्वरूप स्थापित गर्ने अधिकार राख्छ। जो कोही यसलाई मान्छ, ऊ समाजको हिस्सा बन्न सक्छ। तर यदि कुनै नागरिकले सार्वजनिक रूपमा यी मान्यताहरू स्वीकार गरेर पनि त्यसअनुसार व्यवहार गरेन भने, जस्तै कानून भंग गर्नु वा समाजलाई धोका दिनु, उसलाई मृत्युदण्ड दिनुपर्छ।
यो यसकारण होइन कि उसले कुनै धार्मिक अपराध गरेको छ, बरु उसले सबैभन्दा ठूलो सामाजिक अपराध गरेको छ। उसले कानून अगाडि झूट बोलेको छ। उसले आफ्नो देशलाई धोका दिएको छ।
नागरिक धर्मको विचार आज हामीलाई अचम्म लाग्न सक्छ, विशेष गरी जब हामी धर्मनिरपेक्षताको कुरा गर्छौं।तर हामीले यसको पछाडिको भावना बुझ्यौं भने यो अत्यन्त सान्दर्भिक छ। रूसो वास्तवमा संवैधानिक देशभक्तिको कुरा गरिरहेका थिए।
यो एकदमै कठोर सजाय हो। तर यसले देखाउँछ कि रूसोले सामाजिक विश्वासलाई कति महत्व दिएका थिए। नागरिक धर्मको विचार आज हामीलाई अचम्म लाग्न सक्छ, विशेष गरी जब हामी धर्मनिरपेक्षताको कुरा गर्छौं।तर हामीले यसको पछाडिको भावना बुझ्यौं भने यो अत्यन्त सान्दर्भिक छ। रूसो वास्तवमा संवैधानिक देशभक्तिको कुरा गरिरहेका थिए। उनी भन्थे, देशलाई जोड्नका लागि केवल कानून पर्याप्त छैन। मानिसहरूको हृदयमा तिन कानून र संविधानप्रति भावनात्मक लगाव, श्रद्धा हुनैपर्छ।
नागरिक धर्मको उद्देश्य कुनै एक धर्म लाद्नु होइन, बरु साझा नैतिक आधार तयार गर्नु हो, जसमा स्थिर र एकताबद्ध समाज टेकी रहोस्। यसले हामीलाई सिकाउँछ कि सहिष्णुताको पनि सीमा हुन्छ।
आज हामीले आफ्ना राष्ट्रिय प्रतीक, झण्डा, राष्ट्रिय गान, संविधानको सम्मान गर्दा हामी रूसोको नागरिक धर्मको नै पालन गरिरहेका हुन्छौं। लोकतन्त्र, समानता, न्याय र भ्रातृत्वजस्ता मूल्य पवित्र हुन् र तिनको रक्षा गर्नु हाम्रो परम कर्तव्य हो भन्ने हामी विश्वास गर्छौं ।
हाम्रा व्यक्तिगत धार्मिक विश्वास जे भए पनि यी मान्यताहरूले हामीलाई राष्ट्रका रूपमा एक बनाउँछन् । त्यसैले नागरिक धर्मको उद्देश्य कुनै एक धर्म लाद्नु होइन, बरु साझा नैतिक आधार तयार गर्नु हो, जसमा स्थिर र एकताबद्ध समाज टेकी रहोस्। यसले हामीलाई सिकाउँछ कि सहिष्णुताको पनि सीमा हुन्छ। हामी असहिष्णुता सहन सक्दैनौं। यसले हामीलाई सम्झाउँछ कि राम्रो नागरिक हुन केवल कानून पालना गर्नु मात्र पर्याप्त छैन, ती कानूनहरूको भावनामा विश्वास गर्नु पनि जरुरी छ।
बन्धनहरुमा स्वतन्त्रता
एउटा व्यक्ति समाजका नियमहरू पालना गर्न विवश हुँदा पनि स्वतन्त्र कसरी हुन्छ? यी बन्धनहरु स्वतन्त्रता कसरी बन्छन्? यसको उत्तर स्वतन्त्रता शब्दकै अर्थमा लुकेको छ। रूसोले दुई किसिमका स्वतन्त्रता छुट्याउँछन्। पहिलो हो प्राकृतिक स्वतन्त्रता। यो त्यो स्वतन्त्रता हो जुन कुनै जनावर वा प्राकृतिक अवस्थामा बस्ने मानिससँग हुन्छ। उसको शारीरिक शक्ति बाहेक यसको कुनै सीमा हुँदैन, तपाईं जे चाहनुहुन्छ त्यही गर्न सक्नुहुन्छ, जे चाहनुहुन्छ त्यही खोस्न सक्नुहुन्छ। तर यो स्वतन्त्रता वास्तवमा एक धोखा हो। यो भय, असुरक्षा र इच्छाहरूको दासत्व हो। मानिस सधैं आफ्नो भोक, लोभ र भावनाको कैदी बन्छ। उसमाथि कुनै बाह्य नियम लागू हुँदैन, तर ऊ आफ्नै प्रवृत्तिको जेलमा हुन्छ।
दोस्रो किसिमको स्वतन्त्रता हो नागरिक स्वतन्त्रता। यो त्यो स्वतन्त्रता हो जुन सामाजिक सम्झौतामा सामेल भएपछि पाइन्छ। यो असीमित हुँदैन। यसको सीमा हुन्छ सामान्य इच्छा अर्थात् कानुन। हामी कानुनले निषेध नगरेको सबै कुरा गर्न स्वतन्त्र हुन्छौं। हामी आफ्नै सम्पत्तिका मालिक हुन्छौं र समाजले त्यसको रक्षा गर्छ। हाम्रो जीवन सुरक्षित हुन्छ। तर नागरिक स्वतन्त्रताको सबैभन्दा ठूलो फाइदा अरू केही हो। रूसोका अनुसार, सामाजिक सम्झौताबाट हामीले अझै उच्च स्तरको स्वतन्त्रता पाउँछौं । यसलाई उनले नैतिक स्वतन्त्रता भनेका छन्। र यही मात्र स्वतन्त्रता हो जसले मानिसलाई साँच्चिकै आफ्नो मालिक बनाउँछ। किनभने केवल इच्छाको आवेगमा बग्नु दासत्व हो, तर आफ्नै बनाएका नियमहरूको पालना गर्नु नै स्वतन्त्रता हो।
जब हामी कानुन पालना गर्छौं, वास्तवमा हामी आफ्नै विवेकपूर्ण र नैतिक इच्छाको पालन गरिरहेका हुन्छौं। हामी आफ्ना भित्रका जनावरलाई आफ्नै भित्रका मानवको अधीनस्थ बनाइरहेका हुन्छौं।
जब हामी सामाजिक सम्झौताअन्तर्गत बनेका कानुनको पालना गर्छौं, हामी कसको आदेश मान्छौं? कुनै राजा? कुनै सरकार? होइन। कानुन सामान्य इच्छाको अभिव्यक्ति हो, र सामान्य इच्छा हामी सबै नागरिकहरूको सामूहिक इच्छा हो, जुन हाम्रो आफ्नै भलाइका लागि हुन्छ। त्यसैले जब हामी कानुन पालना गर्छौं, वास्तवमा हामी आफ्नै विवेकपूर्ण र नैतिक इच्छाको पालन गरिरहेका हुन्छौं। हामी आफ्ना भित्रका जनावरलाई आफ्नै भित्रका मानवको अधीनस्थ बनाइरहेका हुन्छौं। हामी क्षणिक स्वार्थी आवेगलाई जितेर दीर्घकालीन साझा हितअनुसार बाँचिरहेका हुन्छौं। यही हो साँचो स्वतन्त्रता।
आफ्ना खराब बानी र लोभको दास हुनु स्वतन्त्रता होइन। विवेक र तर्कअनुसार बाँच्नु नै वास्तविक स्वतन्त्रता हो। त्यसैले जब समाजले कुनै अपराधीलाई कानुन तोड्नेलाई सजाय दिन्छ र उसलाई कानुन पालना गर्न विवश बनाउँछ, त्यो के गरिरहेको हुन्छ? त्यो उसलाई आफ्नै विनाशकारी प्रवृत्तिबाट मुक्त गरिरहेको हुन्छ। उसलाई सम्झाइरहेको हुन्छ कि उसको साँचो पहिचान एउटा जंगली जनावरको रूपमा होइन, बरु तर्कसंगत र नैतिक नागरिकको रूपमा हो, जसले आफैं यी नियम बनाउन सहमति दिएको थियो। यो उसको उच्च स्वरूपतर्फ फर्काइरहेको हुन्छ।
यो क्रान्तिकारी विचार हो जसले सजायलाई केवल दण्ड होइन, बरु सुधार र स्वतन्त्रताको प्रक्रिया ठान्छ। यसरी ती जंजीरहरू, जुन सुरुमा दासत्वको प्रतीक लागेका थिए, अब नयाँ अर्थ पाउँछन्। यदि यी बन्धनहरू कुनै तानाशाहले लगाइदिएका हुन् भने, ती वास्तवमै दासत्व हुन्। तर यदि यी बन्धनहरू अर्थात् कानुन हामीले आफ्नै सुरक्षा, समानता र नैतिक उन्नतिका लागि बनाएका हौं भने, ती दासत्व होइनन्, बरु हाम्रा सबैभन्दा महान् स्वतन्त्रताका रक्षक हुन्।
यिनले हामीलाई एकअर्काको अत्याचारबाट जोगाउँछन्। हामीलाई आफ्नै अनियन्त्रित इच्छाबाट जोगाउँछन्। यिनले हामीलाई त्यस्तो सुरक्षित र स्थिर वातावरण दिन्छन् जसमा हामी मानिसका रूपमा आफ्ना सम्पूर्ण क्षमताको विकास गर्न सक्छौं। हामीले केही प्राकृतिक स्वतन्त्रता त्यागेर बढी मूल्यवान नागरिक र नैतिक स्वतन्त्रता पाउँछौं। जुन हामीले गुमायौं, त्यो जंगली जनावरको मनपरी स्वतन्त्रता थियो; जुन हामीले पायौं, त्यो तर्कसंगत मानिसको साँचो स्वतन्त्रता हो।
"द सोशल कन्ट्र्याक्ट"ले हामीलाई यही सिकाउँछ। यसले हामीलाई निष्क्रिय प्रजाबाट सक्रिय र जिम्मेवार नागरिकमा रूपान्तरण गर्छ। यसले हामीलाई वास्तविक शक्ति हाम्रै हातमा छ र साँचो स्वतन्त्रता केवल अधिकार माग्नमा होइन, कर्तव्य पूरा गर्नमा पनि छ भन्ने सम्झाउँछ । यसले हामीलाई हाम्रो समाज, हाम्रो कानुन र हाम्रो लोकतन्त्रलाई नयाँ दृष्टिले हेर्न बाध्य पार्छ। यसले हामीलाई सम्झाउँछ कि हामी केवल व्यक्तिको समूह होइनौं, बरु साझा उद्देश्यले बाँधिएको एक राजनीतिक शरीर हौं।
रूसोका विचार आदर्शवादी हुन सक्छन्। तिनलाई कार्यान्वयन गर्न कठिन पनि हुन सक्छ। तर ती एक ध्रुवताराजस्ता छन् जसले हामीलाई एक न्यायपूर्ण र स्वतन्त्र समाज कस्तो हुनसक्छ भनेर निरन्तर सम्झाइरहन्छन् । यो यात्रा कहिल्यै समाप्त हुँदैन। हरेक पुस्ताले यसलाई आफ्नै लागि पुनः तय गर्नुपर्ने हुन्छ।
जँ जाक रूसोका यी क्रान्तिकारी विचारहरु केवल इतिहासको हिस्सा होइनन्। आज पनि ती विचारहरु अति नै प्रासंगिक र शक्तिशाली छन्। यी हामीलाई हरेक दिन यो प्रश्न सोध्न प्रेरित गर्छन् – के हामी साँच्चै स्वतन्त्र छौं? के हाम्रो सरकार हाम्रो सेवक हो? के हामीले राम्रो नागरिकको जिम्मेवारी पूरा गरेका छौं?
रुसोको प्रस्तुत पुस्तक "द सोशल कन्ट्र्याक्ट"ले हामीलाई सिकाइरहन्छ– साँचो स्वतन्त्रता मनपरीमा होइन, आफ्नै बनाएका नियम पालना गर्नमा छ। लोकतन्त्र केवल मत हाल्नमा होइन, सामान्य इच्छामा सक्रिय रूपमा सहभागी हुनमा छ भन्ने पनि हामीले बुझ्यौं। हामीले कि समाजका रूपमा केही व्यक्तिगत स्वतन्त्रता त्यागेर सुरक्षा, समानता र नैतिक जीवन प्राप्त हुन्छ, जुन धेरै मूल्यवान हुन्छ भन्ने पनि अनुभव गर्यौं । रुसोले हामीलाई सिकाउँछन् – सरकार हाम्रो मालिक होइन, बरु हाम्रो सेवक हो। वास्तविक शक्ति सधैं जनताकै हातमा रहनुपर्छ।
मूल स्रोत: अडियो बुक लिजेन्ड्स
अनुवाद, सम्पादन एवं पुनर्लेखन: चन्द्र खाकी

ला हिगुएराको अन्तिम बिहान: क्रान्तिनायक चे ग्वेभाराको विभत्स हत्या

प्रत्यक्ष कार्यकारी: माओवादीहरु भ्रम मुक्त हौ

परिबन्द

शत्रु

रातभरि हुरी चल्यो

दुनियाभरमा विरोध र विद्रोह किन उठिरहेछ ?

जेन–जीले चाहेको भनेको पुराना, अप्रासंगिक शक्तिहरूलाई देशको राजनीतिक प्रणाली…

प्रतिक्रिया