सबै मानिसहरु ताराको धूलोको कण !
कसैले तपाईंलाई भनिदियो– हाम्रो शरीरमा रहेका सबै तत्त्वहरु ब्रम्हाण्डको प्राचीन ताराहरुबाट आएको हो । अनि वास्तविकतामा हेर्ने हो भने हामी सबै ताराका धूलोहरुको अंश मात्रै हौं !
सुन्दा मात्रै पनि हामीलाई आश्चर्य लाग्न सक्छ, यो कुरा पटक्कै पत्यार नलाग्न पनि सक्छ ! धैत, कहीँ हाँड, मासु, छाला, रगतहरु मिलेर बनेको हाम्रो शरीर पनि ताराहरुको धूलोको अवशेष हुन सक्छ र !
सामान्य बुद्धिले सोच्दा यो कुरा हामीलाई असम्भव नै लाग्न सक्छ । तर विज्ञानको आँखाले हेर्ने हो भने यो कुरा असम्भव हैन, सत्य नै हो । विज्ञानका दृष्टिले हेर्दा यो कुरा सत्य हो कि हाम्रो शरीरमा रहेका तत्त्वहरू (elements) मध्ये धेरैजसो प्राचीन ताराहरूको जीवन-चक्रमा बनेका हुन्, र त्यसै कारणलाई लोकप्रिय विज्ञानमा हामीलाई “ताराको धूलो” (stardust) पनि भनिन्छ । यो कुरालाई विज्ञानले न्युक्लियोसिन्थेसिस" को सिद्धान्तमार्फत पुष्टि गरेको छ।
|
ब्रम्हाण्ड हामीभित्रै ! प्रसिद्ध खगोलविज्ञानी कार्ल सेगनले भनेका छन्– ब्रह्माण्ड हामीभित्रै छ। हामी ताराको धूलोबाट बनेका हौं। हामी ब्रह्माण्डलाई आफैंलाई चिन्न सक्ने एउटा उपाय हौं। The cosmos is within us. We are made of star-stuff. We are a way for the universe to know itself. |
यो कुरालाई बुझ्न ब्रम्हाण्डको उत्पत्तिबाट शुरु गरौं ।
ब्रह्माण्डको सुरुमा बनेका तत्त्व
ब्रम्हाण्डको उत्पत्तिसम्बन्धी हालसम्मको सबैभन्दा मान्य सिद्धान्त महाविस्फोट (Big Bang) भएको पहिलो केही मिनेटमा केवल हाइड्रोजन (Hydrogen) र हीलियम (Helium) बनेका थिए । त्यसका साथसाथै साथै अलिकति लिथियम पनि बनेका थिए । यी सबैभन्दा हल्का र सरल तत्त्व हुन् । त्यस समयमा कार्बन, अक्सिजन, फलाम लगायतका अन्य भारी तत्त्वहरू बनेका थिएनन् ।
अर्बौं वर्षअघि, जब ब्रह्माण्ड अझै जवान थियो। त्यसबेला ताराहरू जन्मिन्थे, चम्किन्थे र आफ्नो जीवनको अन्त्यमा विस्फोट हुन्थे। यी ताराहरूको भित्री भट्टीमा, हाइड्रोजन र हिलियम जस्ता साधारण तत्त्वहरू एकअर्कासँग टकराएर जटिल तत्त्वहरू बन्न थाले—जस्तै कार्बन, नाइट्रोजन, र फलाम। जब ताराहरू सुपरनोभा भनिने विशाल विस्फोटमा फुट्थे, ती नवनिर्मित तत्त्वहरू अन्तरिक्षमा छरिन्थे।
यी छरिएका तत्त्वहरू अन्तरिक्षको धूलो र ग्यासको बादलमा मिसिए। समय बित्दै जाँदा, यी बादलहरू एकत्रित भएर नयाँ ताराहरू र ग्रहहरू बने। हाम्रो सौर्यमण्डल पनि यस्तै ताराको धूलोबाट बनेको हो। पृथ्वीमा रहेको पानी, हावा, माटो, र हाम्रो शरीरमा रहेका हरेक अणु ती प्राचीन ताराहरूको उपहार हुन्।
|
न्युक्लियोसिन्थेसिस: ब्रह्माण्डमा रासायनिक तत्त्वहरूको निर्माण प्रक्रिया न्युक्लियोसिन्थेसिस (Nucleosynthesis) प्रक्रिया मार्फत हाइड्रोजन र हिलियम जस्ता साधारण तत्त्वहरूबाट अन्य जटिल तत्त्वहरू, जस्तै कार्बन, नाइट्रोजन, अक्सिजन, फलाम आदि, बन्छन्। यो ब्रह्माण्डको उत्पत्ति र विकासको कथामा एक महत्वपूर्ण अध्याय हो, किनकि यही प्रक्रियाले हाम्रो शरीर, पृथ्वी, र सम्पूर्ण ब्रह्माण्डमा रहेका तत्त्वहरूको आधार तयार गरेको छ। न्युक्लियोसिन्थेसिसलाई मुख्य रूपमा तीन प्रकारमा बाँड्न सकिन्छ: बिग ब्याङ न्युक्लियोसिन्थेसिस, स्टेलर न्युक्लियोसिन्थेसिस, र सुपरनोभा न्युक्लियोसिन्थेसिस। यी प्रत्येकले ब्रह्माण्डमा तत्त्वहरूको निर्माणमा फरक-फरक भूमिका खेल्छन्। मूलत: न्युक्लियोसिन्थेसिसले ब्रह्माण्डमा तत्त्वहरूको उत्पादनलाई जनाउँछ । |
ताराहरूको भित्र हुने नाभिकीय संलयन (nuclear fusion)
ताराहरूको जीवनकालमा fusion (संलयन) प्रक्रियामार्फत निरन्तर नयाँ–नयाँ तत्त्वहरू निर्माण हुने गर्छ। सुरुवातमा हाइड्रोजनमा संलयन भएर हीलियम बन्छ, त्यसपछि हीलियमको संलयनबाट कार्बन र अक्सिजन उत्पन्न हुन्छन्, र अझ ठूलो तथा विशाल ताराहरूमा भने नाइट्रोजनदेखि फलामसम्मका भारी तत्त्वहरू पनि तयार हुन्छन् । यही कारणले ताराहरूलाई तत्त्व निर्माण गर्ने कारखाना (element factories) पनि भनिन्छ ।
सुपरनोभा र भारी तत्त्वहरूको जन्म
ठूलो तारा आफ्नो जीवनको अन्त्यकालमा आइपुऊदा त्यो विस्फोटहुन्छ । त्यसलाई सुपरनोभा (supernova) भनिन्छ । यस विस्फोटमा ऊर्जा अत्यधिक हुन्छ, जसले फलामभन्दा भारी तत्त्वहरू (जस्तै तामा, चाँदी, सुन, युरेनियम) निर्माण हुन्छ । त्यसपछि यी तत्त्वहरू अन्तरिक्षमा छरिन्छन् ।
सौरमण्डल र पृथ्वीको निर्माण
महाविस्फोटबाट ब्रम्हाण्डको उत्पत्ति भएको करोडौँ वर्षपछि शुरुवातीकालको ताराको धूलो र ग्याँस एकत्रित भएर नयाँ तारा (हाम्रो सूर्य) र ग्रहहरू (पृथ्वीसहित) बनेका हुन् । त्यसैले हाम्रो शरीरमा रहेका कार्बन (Carbon), अक्सिजन (Oxygen), फलाम (Iron), क्याल्सियम (Calcium) र नाइट्रोजन (Nitrogen) जस्ता शरीर निर्माणका मूल तत्त्वहरू सबै ताराहरूको आन्तरिक संलयन प्रक्रियाबाट वा सुपरनोभा (Supernova) विस्फोटमा बनेका हुन् ।
हामी किन "ताराको धूलो" हौं ?
मानव शरीरको लगभग ९९% हिस्सा (हाइड्रोजन, अक्सिजन, कार्बन, नाइट्रोजन, क्याल्सियम, फलाम) ताराहरूमा बनेका तत्त्वहरू हुन् । हाइड्रोजन बिग बैंकको अवशेष हो भने बाँकी सबै तत्त्व प्राचीन ताराहरूको योगदान हो ।
त्यसैले जब कसैले तपाईंलाई “हामी ताराको धूलो हौं” भन्छ भने त्यो कुरा सत्य नै हो । हाम्रो शरीरका सबै तत्त्वहरू प्राचीन ब्रह्माण्डीय प्रक्रियाबाट आएका हुन्, र हामी साँच्चिकै ताराहरूको धूलोका अंश हौं । वास्तवमा हाम्रो रगतमा रहेको फलाम, हड्डीमा रहेको क्याल्सियम, र श्वासमा रहेको अक्सिजन—यी सबै कुनै बेला कुनै टाढाको ताराको मुटुमा बनेका थिए। हामी केवल जीवित प्राणी मात्र होइनौं, हामी ब्रह्माण्डको कथा बोकेर हिँड्ने जीवन्त इतिहास हौं। हाम्रो हरेक सासमा ब्रह्माण्डको अर्बौं वर्षको यात्रा जीवित छ।यो कुरा केवल वैज्ञानिक तथ्य मात्र होइन, यो हाम्रो अस्तित्वको काव्यात्मक सत्य पनि हो। हामी सबै ताराहरूका सन्तान हौं, र हाम्रो शरीरमा ब्रह्माण्डको चमक बाँचिरहेको छ।
|
हाम्रो शरीरको तत्त्व संरचना हामीले हाम्रो शरीरका अङ्गहरुमा हाम्रो शरीरका अङ्गहरूमा कुन–कुन तत्त्वहरू प्रधान छन् र तिनीहरू कसरी तारामूल (stellar origin) भएका हुन् भन्ने कुरा बुझ्नु आवश्यक छ । त्यसरी हेरियो भने साँच्चै “हामी ताराको धूलो” (stardust) भन्ने कुरा अझ प्रस्ट हुन्छ । मानव शरीरको लगभग ९९ प्रतिशत हिस्सा छवटा प्रमुख तत्त्वहरूले बनेको हुन्छ । तीमध्ये औसत रुपमा अक्सिजन ६५ प्रतिशत, कार्बन १८ प्रतिशत, हाइड्रोजन १० प्रतिशत, नाइट्रोजन ३ प्रतिशत, क्याल्सियम १.५ प्रतिशत र फलाम ०.०६ प्रतिशत पाइन्छ । बाँकी सानो मात्रामा फस्फोरस, पोटासियम, सल्फर, सोडियम, म्याग्नेसियम, जिंक, तामा, आयोडिन लगायतका अन्य तत्त्वहरू पनि रहेका हुन्छन् । अङ्ग–अङ्गमा प्रमुख तत्त्व र तिनको तारामूल रगतमा रहेका तत्त्वहरूमध्ये फलाम हेमोग्लोबिन निर्माणका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ । यसले अक्सिजन बोक्ने काम गर्दछ । यो फलाम विशाल ताराहरूको विस्फोटमा उत्पन्न हुन्छ । त्यसैगरी अक्सिजन पानी तथा हेमोग्लोबिनमा पाइन्छ । यसको मूल उत्पत्ति ताराहरूको नाभिकीय संलयन प्रक्रियामा हुन्छ । त्यसैले जब हामी सास फेर्छौँ, हाम्रो रगतभित्र बग्ने अक्सिजन र फलाम दुबै ताराहरूले दिएको अनमोल उपहार हुन् । हड्डी (Bones) को संरचनामा प्रमुख रूपमा क्याल्सियम (Ca) र फस्फोरस (P) पाइन्छन् । क्याल्सियम हड्डी र दाँतको आधारभूत संरचना हो, जसको उत्पत्ति तारामध्यभागमा helium संलयन (helium fusion) बाट क्रमशः carbon, oxygen हुँदै calcium निर्माण हुने प्रक्रियाबाट हुन्छ । यस्तै, फस्फोरस (P) हड्डी मात्र नभई DNA को संरचनामा समेत महत्त्वपूर्ण हुन्छ, र यसको मूल उत्पत्ति विशाल ताराहरूको supernova विस्फोटमा भएको हो । मस्तिष्क मांसपेशी मांसपेशीको धेरैजसो भाग पानी हो, जसमा अक्सिजन र हाइड्रोजन हुन्छन्। तर तिनीहरूको गति—खिच्ने र फुकाउने प्रक्रिया—पोटासियम, सोडियम र म्याग्नेसियमबिनाको सम्भव हुँदैन। यी सबै भारी तत्त्वहरू सुपरनोभा विस्फोटको उपहार हुन्। त्यसैले, जब हामी हात खुम्चाउँछौँ वा खुट्टा तन्काउँछौँ, त्यो वास्तवमा ब्रह्माण्डकै गहिराइबाट आएको ऊर्जा काम गरिरहेको हुन्छ। हृदय हृदय निरन्तर धड्किरहन्छ, र यसलाई चलाइराख्न ऊर्जा चाहिन्छ। त्यो ऊर्जा एटीपी नामक अणुबाट आउँछ, जसलाई बनाउन फस्फोरस अनिवार्य हुन्छ। तर फस्फोरस सामान्य तत्त्व होइन—यो केवल सुपरनोभा वा न्यूट्रोन ताराको टक्कर जस्ता असाधारण खगोलीय घटनाबाट बनेको हो। यसैले, हाम्रो मुटुको धड्कन आफैंमा ब्रह्माण्डको विस्फोटको प्रतिध्वनि हो। डीएनए हाम्रो जीवनको नक्सा, डीएनए, चार आधारभूत अक्षर (A, T, C, G) बाट बनेको छ। यी अक्षरहरू बनाउन कार्बन, हाइड्रोजन, अक्सिजन, नाइट्रोजन र फस्फोरस चाहिन्छ। यी सबै तत्त्व ताराको भित्रको संलयन वा विस्फोटबाट बनेका हुन्। यसर्थ, हाम्रो वंशानुगत जानकारी पनि ताराको धूलोमा सुरक्षित छ भन्न सकिन्छ। निचोडमा भन्दा हाइड्रोजन बिग बैंकको अवशेष हो। कार्बन, नाइट्रोजन, अक्सिजन र क्याल्सियम तारा भित्रै जन्मिएका हुन्। फलाम, फस्फोरस, सुन, युरेनियम जस्ता भारी तत्त्वहरू सुपरनोभा वा न्यूट्रोन ताराको ठोक्किँदा बनेका हुन्। यसरी हेर्दा हाम्रो शरीरको प्रत्येक अणुको कथा कुनै न कुनै रुपमा ब्रह्माण्डकै उत्पति र त्यसको संरचनासँग जोडिन पुग्छ । यसरी गहिराइमा गएर विज्ञानको आँखाले हेर्ने हो भने “हामी ताराहरूको धूलो हौं” भन्ने कुरा वास्तविक सत्य हो भनी स्वीकार्न करै लाग्छ। |
तेस्रो अन्तरतारकीय आगन्तुक – 3I/ATLAS
आइसल्यान्डमा पहिलो पटक लामखुट्टे भेटिए !
पृथ्वीबाहिर जीवन छ कि छैन ?
वर्षामापनको विज्ञान
ओल रोमर : प्रकाशको गति हुन्छ भनी पत्ता लगाउने वैज्ञानिक
सौर्य आँधीको प्रहारबाट कसरी बच्छ भूउपग्रहहरु ?
वैज्ञानिक क्रान्तिको संरचना : एक विज्ञान-दर्शन



प्रतिक्रिया